चालीसौँ (अन्तिम) चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे यो चरणका लागि कुनै विषय तोकिएको छैन । प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ ।
चालीसौँ चरणकाे प्रतियोगिताका लागि आमन्त्रित निर्णायकमा साहित्यकार प्रमोद प्रधान रहनुभएकाे छ । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्ष प्रधानका एकान्त गीत, केही अध्ययन : केही अनुसन्धान, सधैँभरि लुकामारी (बालकविता सङ्ग्रह) लगायत पुस्तकहरू प्रकाशित छन् । प्रधानले बाल साहित्यको क्षेत्रलाई समृद्ध बनाउन विशेष भूमिका निर्वाह गरिरहनुभएको छ ।
नियमित निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
श्रेष्ठले एकपटक विजेता भइसक्नुभएका कथाकारलाई आफ्नो लघुकथा “अप्रतियोगी”का रूपमा पठाउन अनुराेध गर्नुभएको छ । उहाँले भन्नुभयो, “लघुकथा प्रतियोगितालाइ ५० औँ सातासम्म सञ्चालन गर्ने उदेश्य राखेर सुरू गरिएको थियो । तर पछिल्ला केही सातादेखि कम र कमजोर लघुकथा प्राप्त हुँदा केही चरणहरूमा उत्कृष्ट तीन छनोट गर्नै समस्या देखिएकाले चालीसौँ चरणलाई नै प्रतियोगिताको अन्तिम चरणका रूपमा घोषणा गरिएको हो ।”
त्यस्तै, अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।
लघुकथामा रुची भएका साहित्यकारहरुले स्वतन्त्ररूपमा लेखिएका आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथा हरेक साता छानिँदै आएका छन् । यसरी चयन गरिएका लघुकथाका स्रष्टाहरुलाई हरेक साता लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रूपमा वितरण गर्दै आइएकाे छ ।
हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी काेइरालले जनाउनुभएकाे छ । काेइरालाले भन्नुभयो, “प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । साथै, पुस्तकका लागि छानिएका उत्कृष्ट लघुकथामध्येबाट पनि सर्वोत्कृष्ट तीनको छनोट गरी ती स्रष्टाहरूलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।”
प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः
क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
ख) यसपटकको लघुकथाका लागि कुनै विषय तोकिएको छैन । लघुकथाकारले स्वतन्त्र रूपमा लेखिएका लघुकथाहरू प्रतियोगितामा पठाउन सक्नुहुने छ ।
ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।
घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।
ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।
च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।
छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर भदौ १० गते (शुक्रबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।