साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सुरू भयो लघुकथा प्रतियोगिताकाे अठतीसौँ चरण; आमन्त्रित निर्णायकमा पवन आलोक

Chovar Blues Mobile Size

अठतीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे यो साताका लागि कुनै पनि विषय तोकिएको छैन । प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ  ।

अठतीसौँ साताकाे प्रतियोगिताका लागि आमन्त्रित निर्णायकमा साहित्यकार पवन आलोक रहनुभएकाे छ । भोजपुरको कुलुङ जन्मनुभएका आलोक हाल काठमाडौँमा बस्नुहुन्छ । उहाँ नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष तथा संरक्षकसमेत हुनुहुन्छ । नेपालमा पहिलोपटक स्थापित योगमाया राष्ट्रिय स्रष्टा सम्मान, पवन आलोक नियात्रा पुरस्कार, नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारजस्ता विशेष पुरस्कारका संस्थापकसमेत हुनुहुन्छ ।

पवन आलोक

नियमित निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

श्रेष्ठले एकपटक विजेता भइसक्नुभएका कथाकारलाई आफ्नो लघुकथा “अप्रतियोगी”का रूपमा पठाउन अनुराेध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “अघिल्लो साता अत्यन्तै कम लघुकथा प्राप्त भएकाले एक लघुकथालाई मात्र विजेता घाेषित गरेका थियाैँ । सम्पूर्ण स्रष्टाहरूमा आफ्ना लघुकथाहरू सम्प्रेषण गरी प्रतियोगितामा सहभागी हुन निर्णायक मण्डल अनुरोध गर्दछ ।”

sagarmani mobile size

त्यस्तै, अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।

लघुकथामा रुची भएका साहित्यकारहरुले स्वतन्त्ररूपमा लेखिएका आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट लघुकथा छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।

चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।

वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।

प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः

क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

ख) यसपटकको लघुकथाका लागि कुनै विषय तोकिएको छैन । लघुकथाकारले स्वतन्त्र रूपमा लेखिएका लघुकथाहरू प्रतियोगितामा पठाउन सक्नुहुने छ ।

ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।

घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।

ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।

च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।

छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर असार २४ गते (शुक्रबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।

प्रतिक्रिया
Loading...