चौतीसौँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । साहित्यपाेस्टले विभिन्नसङ्घसंस्थासँग सहकार्य गरेर लघुकथा, गजल, बाछिटा तथा मुक्तक प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन गर्दै आइरहेकाे हाे ।

प्रतियोगिताकाे चौतीसौँ साताका लागि कुनै पनि विषय तोकिएको छैन । यस चरणमा प्रतियोगी कथाकारहरूले स्वतन्त्र रूपमा विषय छनोट गरी लघुकथाकाे कथानक बनाउनुपर्ने छ  ।

चौतीसौँ साताकाे प्रतियोगिताका लागि आमन्त्रित निर्णायकमा साहित्यकार मणिकुमार पोखरेल रहनुभएकाे छ । पोखरेल लघुकथा समाज नेपालका कर्णाली प्रदेश समितिको अध्यक्ष हुनुहुन्छ । उहाँका श्रद्धाञ्जिल (कवितासङ्ग्रह), गोमा-रत्न (खण्डकाव्य) लगायतका कृतिहरू प्रकाशित छन् । साथै, उहाँका काव्य तथा लघुकथाहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।

नियमित निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

श्रेष्ठले एकपटक विजेता भइसक्नुभएका कथाकारलाई आफ्नो लघुकथा “अप्रतियोगी”का रूपमा पठाउन अनुराेध गर्नुभएको छ ।

त्यस्तै, अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।

लघुकथामा रुची भएका साहित्यकारहरुले स्वतन्त्ररूपमा लेखिएका आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट लघुकथा छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।

चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।

वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।

प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः

क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

ख) यसपटकको लघुकथाका लागि कुनै विषय तोकिएको छैन । लघुकथाकारले स्वतन्त्र रूपमा लेखिएका लघुकथाहरू प्रतियोगितामा पठाउन सक्नुहुने छ ।

ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।

घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।

ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।

च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।

छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर चैत २० गते (आइबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।