साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

क्षमा याचनासहित पुनः सुरू भयो लघुकथा प्रतियोगिताको चाैबीसाैँ चरण

लघुकथा पठाउने अन्तिम समय कात्तिक १० गतेसम्म

प्राविधिक समस्याका कारण साहित्यपोस्टले हरेक साता सञ्चालन गर्दै आएको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको ‘दसैँ’ विषयक लघुकथा प्रतियोगिता पुनः सुरु गरेको छ । साहित्यपोस्टको वेवसाइडमा कमेन्टहरू सहजरूपमा अपलोट हुन नसकेका कारण चौबीसौँ साताको प्रतियोगिता पुनः प्रारम्भ गर्नुपरेको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनुभएको छ ।

“वेवसाइटको कमेन्ट सेक्सनमा कमेन्ट गर्दा अपलोड नभएको गुनासाहरू आएपछि हामीले प्राविधिक समस्याको चेकजाँच गर्यौँ ।”, कोइरालाले बताउनुभयो, “प्राविधिक समस्याकै कारण कमेन्टहरू अपलोड नहुने समस्या देखिएको रहेछ । उक्त समस्यालाई प्राविधिक टीमले समाधान गरिसकेको छ । पाठक तथा साहित्यकार वर्गमा पर्न गएको असुविधाप्रति साहित्यपोस्ट परिवार क्षमा माग्दछ ।”

bahulako diary small and inside post

साथै, उहाँले अघिल्लोपटक लघुकथा पठाउनुभएका कथाकारहरूलाई पुनः यसै पोस्टको कमेन्ट सेक्सनमा आफ्ना लघुकथा पोस्ट गरिदिनुहुनसमेत अनुरोध गर्नुभएको छ ।

“साहित्यपोस्टले दसैँको अवसर पारेर यो साताको विषयमा ‘दसैँ’ छानेको थियो । प्राविधिक कारणले सर्वरमा कमेन्ट गरिएका केही लघुकथा नदेखिने समस्या उत्पन्न भयो । त्यसैले यो साताका लागि प्रतियोगिता दोहोर्याउनुको विकल्प भएन ।” साहित्यपोस्टका प्रमुख प्राविधिक सल्लाहकार करुण थापाले भन्नुभयो, “यो अप्ठ्यारोलाई साहित्यकारज्यूहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।”

५० सातासम्म चल्ने यस प्रतियोगिताको चौबीसौँ साताका लागि आमन्त्रित निर्णायकमा साहित्यकार खेमराज पोखरेल रहनुभएको छ । कविता‚ कथा‚ लघुकथा‚ समालोचना‚ संस्मरणजस्ता अनेक विधामा समान किसिमले संलग्न पोखरेलका दुई दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयमा ३ दशकभन्दा बढी अध्यापन गराउनुभएका उहाँले सेवा निवृत्त जीवन अमेरिका बसेर नेपाली साहित्यको उन्ययनमा सक्रिय रहि बिताइरहनुभएको छ ।

दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व-प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

‘दुर्घटना अचानक हुने हो । क्षमा माग्नुबाहेक अर्को विकल्प छैन ।’ रोदनले भन्नुभयो, ‘भोलिका दिनमा यस्ता समस्या आउँदैनन् भन्ने विश्वास गरेका छौँ ।’

अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज-अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।

लघुकथामा रुची भएका साहित्यकारहरूले दसैँसँग सम्बन्धित आफ्ना लघुकथाहरूलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरू छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरूलाई आगामी वर्ष ‘वर्षका उत्कृष्ट लघुकथा’का रुपमा प्रकाशन गरिनेछ । चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।

वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ ।

प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः

क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

ख) यसपटकको लघुकथाको विषय दसैँ अथवा रहेको छ । प्राप्त लघुकथाहरु शीर्षक फरक फरक भए पनि कथाले कुनै न कुनै रुपमा दसैँलाई छोएको हुनुपर्नेछ ।

ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।

घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।

ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।

च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।

छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर कात्तिक १० गते (बुधबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।

प्रतिक्रिया
Loading...