बीसाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ ।
याे साताकाे लागि कुनै विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले स्वतन्त्ररूपमा विषय छनाेट गरी लघुकथा पठाउन सक्नुहुनेछ ।
“उन्नाइसाैँ चरणसम्म आइपुग्दा हामीले बाह्राैँ चरण स्वतन्त्र (खुल्ला) रूपमा र बाँकी सबै चरणहरूमा विषयवस्तुमा रहेर प्रतियोगिता सञ्चालन गर्याैँ । पुनः बीसाैँ चरणका लागि खुल्ला रूपमा (विषय नदिईकन) लघुकथा आव्हान गरिएकाे छ ।”, निरर्णाकमध्येका एक श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “सबै कथाकारहरूले विषयवस्तुमा केन्द्रित हुँदा उत्कृष्ट सिर्जना गर्न नसक्ने हुँदा बीसाैँ चरणलाई खुल्ला गरिएकाे हाे । एक्काइसाैँबाट पुन प्रतियोगिता विषयवस्तुमा केन्द्रित हुनेछ ।”
लघुकथामा रुची भएका साहित्यकारहरुले आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।
चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।
वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।
“हामीले लघुकथा एकपटक विजयी भइसक्नुभएका स्रष्टालाई आफ्नो रचनाका माथिपट्टि “अप्रतियोगी” लेखेर पठाउन हुन अनुराेध गर्ने गरेका छाैँ । फेरि पनि उक्त अनुराेध गर्न चाहान्छु ।” निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे ।
बीसाैँ साताका लागि प्रमुख निर्णायकमा सालीन कवि तथा गीतकार एसपी काेइराला रहनुभएकाे छ । पूर्व-अर्थमन्त्री तथा पूर्व-प्रशासक काेइरालाले ‘जिन्दगानी उकाली ओराली रहेछ, आउनुअघि जहाँ थिएँ जानु त्यहीँ रहेछ’ जस्ता दर्जनाैँ कालजयी गीतहरूकाे रचनासमेत गर्नुभएकाे छ । ४० काे दशकमा लघुकथाकाे विकासकाे क्षेत्रमा सक्रियरूपमा लाग्नुभएकाे उहाँका ‘टाँकीको घाँस, २०५७’, ‘निर्वस्त्र नगरी, २०६४’ नेपाली भाषाका कविताकृति र ‘सङ्ग्स अफ स्वालोज, २०७४’ अङ्ग्रेजी कविताकृति प्रकाशित छन् ।
दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।
प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः
क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
ख) यसपटकको लघुकथाको विषय दिइएकाे छैन । लघुकथाहरुकाे स्वतन्त्ररूपमा विषय छनाैट गरी लघुकथा सिर्जना गरेर पठाउनु पर्ने छ ।
ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।
घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।
ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।
च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।
छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर साउन २८ गते (बिहीबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।