सत्राैँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ ।

साहित्यपाेस्टले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर लघुकथा, गजल तथा मुक्तक प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन गर्दै आइरहेकाे हाे ।

प्रतियोगिताकाे सत्राैँ साताकाे लागि नारी हिंसा (महिला हिंसा)लाई  विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले नारी हिंसालाई केन्द्रमा राखेर लघुकथाकाे कथानक बनाउनुपर्ने छ  ।

पद्मावती सिंह

सत्राैँ साताकाे प्रतियोगिताका लागि प्रमुख निर्णायकमा वरिष्ठ साहित्यकार पद्मावती सिंह रहनुभएकाे छ । मुख्यतः कथा तथा उपन्यास लेखनमा कलम चलाउने सिहंकाे पहिलो प्रकाशित कृति कथासङ्ग्रह कथादि हाे, जुन वि.स. २०३८ सालमा प्रकाशित भएकाे थियो । त्यस्तै, उहाँका समानान्तर आकाश, माैन अक्षर, निःशब्द यात्रा (उपन्यास) तथा ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावती सिंहका कथाहरु’, ‘समयदंश’ र ‘मौन स्वीकृति’लगायतका कथासङ्ग्रह प्रकाशित छन् । सिंह साझा पुरस्कारबाट सम्मानितसमेत भइसक्नुभएकाे छ ।

दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।

“हामीले लघुकथा एकपटक विजयी भइसक्नुभएका स्रष्टालाई आफ्नै रचनाका माथिपट्टि “अप्रतियोगी” लेखेर पठाउन हुन अनुराेध गर्ने गरेका छाैँ । फेरि पनि उक्त अनुराेध गर्न चाहान्छु ।” निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे  ।

लघुकथामा रुची भएका साहित्यकारहरुले नारी हिंसासँग सम्बन्धित आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।

चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।

वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।

प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः

क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

ख) यसपटकको लघुकथाको विषय नारी हिंसा रहेको छ । लघुकथाहरुकाे शीर्षक फरक फरक भए पनि कथा कुनै न कुनै रूपमा नारी हिंसासँग सम्बन्धित हुनुपर्ने छ ।

ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।

घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।

ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।

च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।

छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर असार ३१ गते (बिहीबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।