साेह्राैँ चरणको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । साहित्यपाेस्टले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर लघुकथा, गजल तथा मुक्तक प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन गर्दै आइरहेकाे हाे ।
प्रतियोगिताकाे साेह्राैँ साताकाे लागि कृषि र किसानलाई विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले कृषि र किसानलाई केन्द्रमा राखेर लघुकथाकाे कथानक बनाउनुपर्ने छ ।
साेह्राैँ साताकाे प्रतियोगिताका लागि प्रमुख निर्णायकमा बर्मा (म्यानमार) का नेपाली साहित्यकार ज्ञानबहादुर थापा ‘बगाले’ रहनुभएकाे छ । ‘बगाले’ पछिल्लो नेपाली हास्यव्यङ्ग्य विधाका अनिवार्य नाम हो । १ सय ५० वर्षअघि नै नेपाल छाडेर बर्मामा बसेका उनका पुर्खाले दिएको भाषा र संस्कृतिको नासोलाई सम्हाल्ने काममा थापा गम्भीरतापूर्वक लागेका छन् । आफ्नो सम्पूर्ण जीवन नेपाली भाषा र साहित्यमा समर्पण गरेका थापालाई नेपालले गोपाल पाँडे ‘असिम’ पुरस्कारले सम्मान गरेको छ ।
कलेज पढ्दै गर्दा बर्माको प्रजातान्त्रिक आन्दोलनमा लागेका थापा त्यहाँ सैनिक शासन सुरू भएपछि लुकिछिपी नेपाल आए । त्याेबेला नेपालमा पनि पञ्चायती व्यवस्थाविरूद्धकाे आन्दाेलन चलिरहेकाे थियाे । जसमा उनले सक्रिय भूमिका निभाए । प्रजातन्त्र प्राप्तिपछि उनी बर्मा फर्किएयताका ३० वर्ष नेपाली भाषा र साहित्यमा अनवरत लागिरहेका छन् । गोर्खा समुदायको शिक्षा विभाग प्रमुख रहेका थापाले नयाँ पुस्तालाई पनि आफ्नो विरासतका लागि तयार गरिरहेका छन् ।
दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।
“अघिल्लाे साता (पन्ध्राैँ चरण) काे नतिजा प्रकाशनमा अगाडि नै विजयी भइसक्नुभएकाे स्रष्टालाई पुनः विजेता बनाउन पुगिएछ, जसलाई क्षमायाचनासहित सुधार गरिएकाे छ ।”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “हामीले लघुकथा आव्हान गर्दै एकपटक विजयी भइसक्नुभएका स्रष्टालाई आफ्नै रचनाका माथिपट्टि “अप्रतियोगी” लेखेर पठाउन हुन अनुराेध गर्ने गरेका छाैँ । फेरि पनि उक्त अनुराेध गर्न चाहान्छु ।”
लघुकथामा रुची भएका साहित्यकारहरुले वातावरणसँग सम्बन्धित आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।
चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।
वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।
प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः
क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
ख) यसपटकको लघुकथाको विषय कृषि र किसान रहेको छ । लघुकथाहरुकाे शीर्षक फरक फरक भए पनि कथा कुनै न कुनै रूपमा कृषि र किसानसँग सम्बन्धित हुनुपर्ने छ ।
ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।
घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।
ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।
च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।
छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर असार २२ गते (मङ्गलबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।