पन्ध्रौँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ ।

प्रतियोगिताकाे पन्ध्रौँ साताकाे लागि मनसुनलाई  विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले मनसुनलाई केन्द्रमा राखेर लघुकथाकाे कथानक बनाउनुपर्ने छ  ।

नारायण तिवारी

पन्ध्रौँ साताकाे प्रतियोगिताका लागि प्रमुख निर्णायकमा साहित्यकार नारायण तिवारी रहनुभएकाे छ । तिवारी विशेष आख्यानको क्षेत्रमा कलम चलाउनु हुन्छ । उहाँका सपनाहरू जिन्दगीका (मुक्तकसङ्ग्रह), पिताम (लघुउपन्यास), अर्थात् (कवितासङ्ग्रह), राेबोट मेराे साथी (बालकथासङ्ग्रह), स्मृति कतिकति (संस्मरण), अस्थिरपञ्जर, शत्रु, काठमाडाैँमा सूर्यस्नान (कथासङ्ग्रह), दसैँ खर्च र महँगी, भाेक र सर्वभाैमसत्ता (लघुकथासङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् । साथै, उहाँले दर्जन बढी पुरस्कार तथा सम्मान पनि प्राप्त गरिसक्नुभएकाे छ ।

दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।

“अघिल्लाे साता (चाैधाैँ चरण) मा शब्दसीमाका कारण अब्बल लघुकथा पनि प्रतियोगितामा समावेश गर्न सकिएन ।”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नु भयाे, “लघुकथाकारहरूमा लघुकथा पठाउँदा शब्द सीमालाई ध्यान राखेर २५० शब्दमा सीमित लघुकथा प्रतियोगिताका लागि सम्प्रेषण गर्नुहुन निर्णायक मण्डल अनुराेध गर्दछ ।”

साथै, राेदनका अनुसार एकपटक पुरस्कृत भइसक्नुभएका कथाकारहरूले यस प्रतियोगितामा पुनः सहभागिता जनाउने पाउनु हुने छैन । तर “अप्रतियोगी”का रूपमा आफ्नाे सिर्जनाकाे माथिपट्टि “अप्रतियोगी लघुकथा” लेखेर भने आफ्नाे कथा पाेस्ट गर्न सक्नुहुने छ ।

लघुकथामा रुची भएका साहित्यकारहरुले वातावरणसँग सम्बन्धित आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।

चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।

वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।

प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः

क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

ख) यसपटकको लघुकथाको विषय मनसुन रहेको छ । लघुकथाहरुकाे शीर्षक फरक फरक भए पनि कथा कुनै न कुनै रूपमा मनसुनसँग सम्बन्धित हुनुपर्ने छ ।

ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।

घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।

ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।

च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।

छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर असार १३ गते (आइबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।