नवाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ । पुनः बढेकाे काेराेना प्रकाेपलाई ध्यानमा राखेर याे साताकाे लागि काेराेना आतङ्कलाई  विषय बनाइएको छ । चरणमा प्रतियोगी कथाकारहरूले काेराेनाले ल्याएकाे आतङ्क तथा जनजीवनमा पारेकाे असरलाई  लघुकथाकाे कथानक बनाउनुपर्ने छ  ।

एकपटक पुरस्कृत भइसक्नुभएका कथाकारहरूले यस प्रतियोगितामा पुनः सहभागिता जनाउने पाउनेहुने छैन । तर “अप्रतियोगी”का रूपमा आफ्नाे सिर्जनाकाे माथिपट्टि “अप्रतियोगी लघुकथा” लेखेर भने आफ्नाे कथा पाेस्ट गर्न सक्नुहुने छ ।

लघुकथामा रुची भएका साहित्यकारहरुले काेराेना आतङ्कसँग सम्बन्धित आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।

चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासङ्ग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।

वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।

महेश प्रसाईं

नवाैँ साताका लागि प्रमुख निर्णायकमा वरिष्ठ साहित्यकार महेश प्रसाईं रहनुभएकाे छ । वि.स. २०१३ सालमा जन्मनु भएका प्रसाईं लामाे समयदेखि प्राध्यापन कर्मका साथै आख्यान लेखक, सम्पादन र खाेज तथा अनुसन्धानमूलक लेखनमा सक्रिय हुनुहुन्छ । वि.स. २०२९ सालमा पहिलाेपटक रघुकथा रचना प्रकाशनमा ल्याउनुभएका उहाँका फूलैफूलका अलाप र अतिरिक्त स्वरहरू  (लघुकथाकृति) प्रकाशित छन् । उहाँलाई लघुकथा लेखनमा याेगदानका लागि बाटुली खिलध्वज लघुकथा सम्मान (२०७६) समेत प्रदान गरिएकाे छ ।

त्यस्तै प्रसाईंकाे लघुकथासङ्ग्रह एउटा कथाकाे पुनर्जन्म गत वर्ष काेराेना आतङ्ककै बीचमा प्रकाशनमा आएकाे छ ।

दोस्रा निर्णायकमा लघुकथा समाजका अध्यक्ष तथा गोरखापत्रका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन रहनुभएको छ । नेपाली लघुकथाकारहरुलाई गोलबद्ध गर्ने काममा लाग्नुभएका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथाको नियमलाई व्यवस्थित बनाउनेमध्ये पर्नुहुन्छ । उहाँका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

अर्का निर्णायकमा साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनुभएकाे छ । साहित्यपोस्टमार्फत् लघुकथासम्बन्धी खोज अनुसन्धान गरिरहनुभएका दीपक दुई दशकयता साहित्यिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोहनीका लघुकथासहित केही पुस्तकहरु प्रकाशित छन् ।

प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।

प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः

क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

ख) यसपटकको लघुकथाको विषय काेराेना आतङ्क रहेको छ । प्राप्त लघुकथाहरु शीर्षक फरक फरक भए पनि कथाले कुनै न कुनै रूपमा नयाँ वर्षले ल्याउने उमङ्गलाई छोएको हुनुपर्नेछ ।

ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।

घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।

ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।

च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।

छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर वैशाख १८ गते (शनिबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।