साहित्यपोस्टले हरेक साता सञ्चालन गर्दै आएको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको ‘प्रेम’ विषयक लघुकथा पुनः सुरु गरेको छ । गएको साता साहित्यपोस्टको सर्वर परिवर्तन हुँदा साहित्यकारले प्रतिस्पर्धाका लागि पोस्ट गर्नुभएका लघुकथाहरु नयाँ सर्वरमा प्राप्त नभएका कारण यो प्रतियोगिता पुनः प्रारम्भ गर्नुपरेको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनु भएको छ ।
‘हामीले साहित्यपोस्टको कलेवर परिवर्तन र सर्वरको ठेगाना एकसाथ परिवर्तन गरेका थियौँ । यसो गर्दा केही सामग्रीहरु नयाँ सर्वरमा देखिएनन् ।’ कोइरालाले भन्नुभयो, ‘हामी सबै साहित्यकारज्यूहरुसँग हृदयदेखि नै क्षमा माग्दै ती लघुकथाहरु पुनः पोस्ट गर्न आह्वान गर्दछौँ ।’
५० साता चल्ने पहिलो चरणको लघुकथा प्रतियोगितामा यो साता प्रमुख निर्णायकमा सरुभक्त हुनुहुन्छ । सरूभक्तलाई उपन्यास पागलबस्तीका लागि २०४८ सालकाे मदन पुरस्कार प्रदान गरिएकाे थियो । पागलबस्तीकाे अलवा उहाँका तरूनीखेती र चुली उपन्यास पनि चर्चित छ । संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानकाे पूर्वकुलपति सरूभक्तका लघुकथा पनि सशक्त रहेका छन् । उहाँकाे लघुकथासंग्रह बिरूपाक्ष र देश प्रकाशित छ ।
अन्य निर्णायकहरुमा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी रहनु भएको छ ।
साहित्यपोस्टले भ्यालेन्टाइनको अवसर पारेर यो साताको विषयमा प्रेम छानेको थियो । प्रतियोगिता सुरु भएको ५ दिनमा ५० भन्दा बढी लघुकथाहरु प्राप्त भएका थिए । तर प्रतियोगिता समाप्त हुनुअघि नै साहित्यपोस्टको प्राविधिक कामअघि बढाउँदा ती लघुकथाहरु सर्वरमा नदेखिने समस्या उत्पन्न भएपछि पुनः त्यही विषयमा प्रतियोगिता गर्नुपरेको साहित्यपोस्टका प्रमुख प्राविधिक विशेषज्ञ एवं चर्चित गजलकार करुण थापाले जनाउनु भएको छ ।
‘प्राविधिक कारणले नयाँ सर्वरमा ती कथा नदेखिने समस्या उत्पन्न भएको हो । त्यसैले यो साताका लागि प्रतियोगिता दोहोर्याउनुको विकल्प भएन ।’ साहित्यपोस्टका प्रमुख प्राविधिक सल्लाहकार करुण थापाले भन्नुभयो, ‘यो अप्ठ्यारोलाई साहित्यकारज्यूहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।
साहित्यपोस्टका निर्णायकहरु श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीले पनि प्राविधिक कारणले प्रतियोगिता दोहोर्याउनु परेकोमा क्षमा याचना माग्नु भएकाे छ ।
‘दुर्घटना अचानक हुने हो । जसको विकल्प क्षमा माग्नुबाहेक अर्को छैन ।’ रोदनले भन्नुभयो, ‘अब प्राविधिकरुपमा बलियो भएका कारण यस्ता समस्या आउँदैनन् भन्ने विश्वास गरेका छौँ ।’
लघुकथामा रुची भएका साहित्यकारहरुले प्रेमसँग सम्बन्धित आफ्ना लघुकथाहरुलाई तलको कमेन्ट बक्समा राख्नुपर्ने छ । तीमध्ये सर्वोत्कृष्ट तीन लघुकथाहरु छानिने छन् । हरेक साता छानिने ती उत्कृष्ट कथाहरुलाई आगामी वर्ष वर्षका उत्कृष्ट लघुकथाका रुपमा प्रकाशन गरिनेछ ।
चयन गरिएका ती कथाका स्रष्टाहरुलाई हरेक साता १० वटा लघुकथाका सिद्धान्तका पुस्तक र नेपाली साहित्यका चर्चित लघुकथासंग्रह पुरस्कारका रुपमा वितरण गरिनेछ ।
वर्षका अन्त्यमा ती कथाहरुलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । अन्त्यमा कृतिमा परेका १ सय ५० लघुकथाहरुमध्येबाट ३ वटा सर्वोत्कृष्ट कथाहरु छानिनेछ । ती स्रष्टाहरुलाई नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृति पनि उपहार दिइनेछ ।
अघिल्लाे साता विषयका बाहिरका केही राम्रा लघुकथा प्राप्त भएका थिए । जसलाई चाहेर पनि पुरस्कृत गर्न सकिएन । यसपटक त्याे गल्ती दाेहाेरिन नदिन प्रतियाेगिताका लागि पाेस्ट भएका रचना कुनै न कुनै रूपमा प्रेम (वैवाहिक प्रेम, प्रणय प्रेम, नातागत प्रेम, साथीभाइकाे प्रेम ) का विषय छाेएकाे हुनुपर्नेछ ।
प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यवसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म झण्डै दुई सय पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरुका लागि सिर्जनात्मक कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि निम्न कुराहरुलाई ध्यान दिइनुपर्ने बताइएको छः
क) यो खुलाप्रतियोगिता हो । प्रतियोगितामा सामेल भएका लघुकथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ । यसमा सबै वर्ग, क्षेत्र र उमेरका साहित्यकारहरुले भाग लिन पाउनु हुनेछ । कथालाई तल कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
ख) यसपटकको लघुकथाको विषय प्रेम रहेको छ । प्राप्त लघुकथाहरु शीर्षक फरक फरक भए पनि कथाले कुनै न कुनै रुपमा प्रेमलाई छोएको हुनुपर्नेछ ।
ग) लघुकथा बढीमा २ सय ५० शब्दको हुनुपर्नेछ । त्यसभन्दा लामो कथा पोस्ट भए पनि त्यसलाई प्रतियोगी कथाका रुमपा सामेल गरिने छैन ।
घ) लघुकथा पूर्वप्रकाशित भए पनि फरक पर्दैन । तर यसअघि प्रतिस्पर्धामा पुरस्कृत कथालाई पुनःप्रतियोगितामा सामेल गर्न पाइने छैन ।
ङ) लघुकथा मौलिक हुनुपर्नेछ । कुनै लेखकले आफ्नो कथा चोरिएको दाबी गरेमा र त्यो प्रमाणित भएमा पुरस्कार रद्द गरिनेछ ।
च) कुनै स्रष्टाले आफ्नो लघुकथालाई प्रतिस्पर्धामा सामेल गराउन नचाहेमा त्यसको माथि स्पष्टरुपमा अप्रतियोगी लघुकथा लेखेर पोस्ट गर्नुपर्नेछ । अप्रतियोगी लेखिएका कथालाई प्रतियोगितामा सामेल गरिने छैन ।
छ) यो प्रतियोगिताको समय अहिलेदेखि सुरु भएर फागुन १४ गते (शुक्रबार) राति ११ बजेर ५९ मिनेटसम्म कायम रहनेछ । त्यसपछि पोस्ट गरिएको कथालाई मान्यता दिइने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।