साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको पहिलो अंकमा रमेश भट्टराई “पुजारी”, दुर्गा वनवासी र अमर त्यागी विजयी भएका छन् । गएको सातादेखि सुरु भएको यो प्रतियोगितामा केही कथाकारहरु थोरै अंकले पछाडि परेको निर्णायकमध्येका प्रमुख निर्णायक परशु प्रधान बताए ।
विजयी तीन लघुकथाहरु विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले परशु प्रधान, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
प्रतियोगिताका लागि ५१ वटा लघुकथाहरु प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
‘प्रतियोगिताका लागि प्राप्त धेरै लघुकथाहरु उत्कृष्ट थिए । तर सीमितताका कारण उत्कृष्ट हुँदाहुँदै पनि सबै लघुकथालाई हामीले पुरस्कृत गर्न सकेनौँ ।’ निर्णायक श्रीओम श्रेष्ठ रोदनले साहित्यपोस्टसँग बताए, ‘हामीले विषयवस्तु केन्द्रित भएर लघुकथा पठाउन आव्हान गरेका थियौँ । तर आधाजति लघुकथा हामीले दिएको विषयबाट विमुख थिए । जुन आफैँमा उत्कृष्ट हुँदाहुँदै पनि विषयभन्दा बाहिर भएकाले पुरस्कृत हुन सकेनन् ।’
आयोजकका अनुसार राजनीतिमा केन्द्रित लघुकथा पठाउनु पर्नेमा कतिपय राम्रा लघुकथाहरुले राजनीतिलाई नछोएका कारणले सर्वोत्कृष्ट हुनबाट वञ्जित बने ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजार बारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको दोस्रो चरण भोलि अर्थात् शुक्रबारबाट सुरु हुनेछ ।
पढ्नुहाेस् विजयी लघुकथाहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।