हरेक साता गरिने मुक्तक प्रतियोगिताको सत्ताइसाैँ चरण सुरु भएको छ । यसअघि यसका २६ चरणहरू लक्ष्मणप्रसाद गाैतमकाे नेतृत्वमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

गाैतमकाे नेतृत्व मण्डलमा मुक्तकमणि तीर्थराज, समालाेचक ज्ञानु अधिकारी तथा साहित्यपाेस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएकाे छ ।

छब्बीसाैँ चरणदेखि नयाँ निर्णायकमा मुक्तकमणि तीर्थराज अधिकारी थपिनुभएकाे छ भने साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइराला निर्णायक मण्डलबाट बाहिरिनुभएकाे छ । अबकाे निर्णायक मण्डलमा मुक्तकमणि अधिकारीका साथमा लक्ष्मणप्रसाद गाैतम, ज्ञानु अधिकारी र निशा केसी रहनुहुनेछ ।

त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएकाे छ । त्यस्तै, नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।

राजनीतिशास्त्रमा स्नातकाेत्तर गर्नुभएका तीर्थराज अधिकारीका जूनकीरी, तीन लय तेह्र गीत, झटाराे, याे कस्काे हात हाे ? लगायत कृतिहरू प्रकाशित छन् । त्यस्तै उहाँका कथा, गीत, कविता, समसामयिक लेख तथा मुक्तकहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् । विद्यार्थीकालमा राजनीतिक मुद्धामा ६ महिना जेल सजाय भाेग्नुभएका अधिकारी मुक्तकमणिकाे विशेषणबाट विभुषित हुनुहुन्छ ।

समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएकाे छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये एक हुनुहुन्छ ।

एकपटक पुरस्कृत भइसक्नुभएका मुक्तककारहरूका मुक्तक पुनः प्रतियोगितामा समावेश गरिने छैन । तर यसअघि नै विजेता भइसक्नुभएका मुक्तककारहरूले पनि अप्रतियोगीका रूपमा सहभागिता जनाउन सक्नुहुनेछ । यसरी सहभागिता जनाउँदा आफ्ना तीन मुक्तककाे माथिपट्टि “अप्रतियोगी” भनेर उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै, मेल तथा फेसबुकमार्फत् प्राप्त मुक्तकहरू पनि प्रतियोगितामा समावेश हुने छैनन् ।

मुक्तक प्रतियोगिताकाे सत्ताइसाैँ चरणका लागि कुनै विषय ताेकिएकाे छैन । प्रतियोगितामा सहभागी हुन् प्रतियोगी मुक्तककारहरूले स्वतन्त्ररूपमा तीन फरक शीर्षक छनोट गरेर एक शीर्षकमा एक मुक्तक यसै पेजकाे तल कमेन्ट बक्समा पाेस्ट गर्नुपर्नेछ ।

निर्णायकहरूबाट छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको सङ्गालो प्रकाशन गरिनेछ । त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । साथै, उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।

नियम यसप्रकारका छन्ः

— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।

— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।

— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक-एक नम्बर प्राप्त गर्नेछन् ।

— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।

– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलाई प्रतियोगितामा समावेश गरिने छैन । 

— यसअघि अनलाइन, छापा वा स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।

यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको आइबार (चैत २९ गते) रातको ११ बजेर ५९ मिनेटसम्म रहनेछ ।

यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ ।