हरेक साता गरिने मुक्तक प्रतियोगिताको तेइसाैँ चरण सुरु भएको छ । यसअघि यसका २० चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यस चरणकाे मुक्तक प्रतियोगिताका लागि मुक्तककार स्वयंले तीन विषय छनाेट गरी एक विषयमा एक मुक्तक पठाउनुपर्ने छ ।
साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ ।
मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएकाे छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादनसमेत गर्नुभएकाे छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।
अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनुभएकाे छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएकाे छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्येकी एक हुनुहुन्छ ।
अन्य दुई निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएकाे छ ।
निर्णायकहरूबाट छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ ।
साथै, उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।
यस चरणका लागि कुनै विषय ताेकिएकाे छैन । प्रतियोगितामा सहभागी हुन् प्रतियोगी मुक्तककारहरूले स्वतन्त्ररूपमा तीन फरक शीर्षक छनोट गरेर एक शीर्षकमा एक मुक्तक यसै पेजकाे तल कमेन्ट बक्समा पाेस्ट गर्नुपर्नेछ । मेल तथा फेसबुकमार्फत् प्राप्त मुक्तक प्रतियोगितामा समावेश हुने छैनन् ।
नियम यसप्रकारका छन्ः
— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक-एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलाई प्रतियोगितामा समावेश गरिने छैन । (चौथो चरणबाट थप गरिएको)
— यसअघि अनलाइन, छापा वा स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।
यो साताको प्रतियोगिताकाे समय-सीमा अहिल्यैबाट सुरु भई अर्को साताको शनिबार (फागुन २२ गते) रातको ११ बजेर ५९ मिनेट जाँदा बजेसम्म रहनेछ ।
यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।