साहित्यपोस्टले मुक्तक प्रतियोगिताको चौधौँ चरण सुरु गरेको छ । यसअघि यसका तेह्रौँ चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिनेछ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिनेछ । त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइनेछ ।

उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहेका छन् । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गरेका छन् । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुन् ।

अर्का निर्णायकमा ज्ञानु अधिकारी रहेकी छन् । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गरेकी छन् । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्येकी एक हुन् । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहेका छन् ।

साहित्यपोस्टका प्रधानसम्पादक कोइरालाका अनुसार, ‘तिहारलाई मध्यनजर गर्दै यस श्रृंखलाको समावधि पनि अघिल्लाेको झैं १५ दिनको रहनेछ । यस श्रृंखलाका लागि कुनै शीर्षक दिइएको छैन । प्रतियोगीले स्वतन्त्ररूपमा तीन फरक शीर्षक छनोट गरेर मुक्तक प्रतियोगितामा भाग लिन सक्नेछन् ।’

यो शृङखलाको नियम यसप्रकारका छन्ः

— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक-एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलाई प्रतियोगितामा समावेश गरिने छैन । (चौथो चरणबाट थप गरिएको)
— यसअघि अनलाइन, छापा वा स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।

यस प्रतियोगिताको चौधौँ चरण अहिल्यैबाट सुरू भई मङ्सिर ९ गते (मंगलबार) रातको १२ बजेसम्म रहनेछ ।

यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।