साहित्यपोस्ट

साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगितामा मदन घिमिरे, मन्दा पाैडेल, विष्णुप्रसाद आचार्य ‘अतृप्त’ सर्वोत्कृष्ट हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका २५ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने मदन, मन्दा र अतृप्तका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

साप्ताहिक रूपमा सञ्चालन हुने यो खुला प्रतियोगितामा अघिल्लो अङ्कमा आचार्य प्रभा, गोपाल खनाल र शिवलाल सुवेदी ‘परिवर्तन’ सर्वोत्कृष्ट हुनुभएको थियो ।

‘हामीलाई उत्कृष्ट छान्न सजिलै भयो । तर उत्कृष्टहरूमध्ये तीन सर्वोत्कृष्ट छान्न निकै गाह्रो भयो ।’ साहित्यपोस्टकी सम्पादक निशा केसीले भन्नुभयो, ‘एकभन्दा कम अंकले मात्र विन्द्र कार्की, पार्वती पहारी, सुधा बाँस्कोटा, इन्दिरा चापागाईं, अनिता शर्मा, शर्मिला पोखरेल जस्ता मुक्तककारहरू पछि पर्दा दुःख पनि लाग्यो । प्रतिस्पर्धामा जर्ज हुन साँच्चै नै गाह्रो काम हरेछ । प्रतियोगितामा प्राप्त मुक्तकहरूले यो कुराको अनुभव गराइरहेका छन् ।’

डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएको थियो । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गर्नुभएको थियो ।

‘तोकिएको नियममा रहेर २० मुक्तक प्राप्त भएका थिए । तोकिएका नियमबाहिर रहेर प्राप्त मुक्तक एक दर्जनमा सीमित भएका छन् । नियमविपरीत रहेर इमेल तथा साहित्यपोस्टको फेसबुक पेजमा आएका मुक्तक असाध्यै राम्रा भए पनि प्रतिस्पर्धामा परेनन् ।’ प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भन्नुभयो, ‘हामीले राष्ट्रकवि माधव घिमिरे गुमायौँ र उनको याेगदानको स्मरणस्वरूप माधव घिमिरे , नेपाली साहित्य लेखन र राष्ट्रकवि र योगदान गरी तीन विषय दिएर  मुक्तक आव्हान गरेका थियौँ । मुक्तककारहरूको सहभागिता र प्राप्त मुक्तकहरूको स्तरीयताले हाम्रा मुक्तककारहरूको स्तरीयता र विशिष्ठता साथै घिमिरेले नेपाली साहित्यमा गरेको अतुलनीय याेगदान देखाएको छ ।’

दुई सातादेखि सुरु भएको मुक्तक तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ ।

माधव घिमिरे , नेपाली साहित्य लेखन र राष्ट्रकवि र योगदान गरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । ती मुक्तकहरूमध्ये रीत पुगेका, मुक्तकका सबै अङ्ग बलिष्ठ भएका र मुक्तकको गहिराइ छुन सफल मदन घिमिरे, मन्दा पाैडेल, विष्णुप्रसाद आचार्य ‘अतृप्त’का रचनाहरू सर्वोत्कृष्ट भएका हुन् ।

५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।

अर्को साताको मुक्तक प्रतियोगिता बुधबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।