साहित्यपोस्ट

साहित्यपोस्टले मुक्तक प्रतियोगिताको पाँचौँ चरण सुरु गरेको छ । यसअघि यसका चार चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । मुक्तक सम्पादक निसा केसीका अनुसार चारै प्रतिस्पर्धामा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ । त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ ।

त्यसैगरी उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।

मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुनुहुन्छ ।

अर्का निर्णायकमा ज्ञानु अधिकारी रहनुभएको छ । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गर्नुभएको छ । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्ये पर्नुहुन्छ ।

तेस्रा निर्णायकमा राजन सिलवाल रहनुभएको छ । २०४४ सालदेखि मुक्तक लेखनमा सक्रिय साहित्यकार राजन सिलवालको ‘दुई हजार सोह्र पाइला’ नामक मुक्तक संग्रह प्रकाशित छ । अन्य दुई जना निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको छ ।

काेराेनाका कारण हामी बीच असहज परिस्थिति खडा भएकाे छ । जसका कारण हामीमध्ये कतिले जागिर गुमाएका छाैँ, कति व्यावसाय बन्द गर्ने अवस्थामा पुगेका छौँ । धेरैभन्दा धेरै समय साेचाइमा खर्च भएकाे अवस्थामा मनाेराेगकाे दर पनि उच्च हुन पुगेकाे छ । यसै समय आत्महत्याकाे दर पनि सामान्य अवस्थाकाे तुलनामा बढेर गएकाे छ ।  साहित्यपोस्टले यस वर्तमान अवस्थालाई विचारमा राखेर यो हप्ताका लागि निम्न तीन वटा विषय प्रस्तुत गरेको छुः

पहिलो मुक्तकको विषयः जागिर (यसलाई छुने जुनसुकै विषय वा घटना)

दोस्रो मुक्तकको विषयः मनोरोग (यसलाई छुने जुनसुकै विषय वा घटना)

तेस्रो मुक्तकको विषयः आत्महत्या (यसलाई छुने जुनसुकै विषय वा घटना)

नियमहरू:

— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलार्इ प्रतियोगितामा समावेश गरिने छैन । ( चौथो चरणबाट थप गरिएको)
— यसअघि अनलाइन,छापा वा कुनै पनि स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन । तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।

यो साताको प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको शनिबार (भदौ ६ गते) रातको १२ बजेसम्म रहनेछ ।

पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्;

पहिलो मुक्तकको विषयः जागिर (यसलाई छुने जुनसुकै विषय वा घटना)

दोस्रो मुक्तकको विषयः मनोरोग (यसलाई छुने जुनसुकै विषय वा घटना)

तेस्रो मुक्तकको विषयः आत्महत्या (यसलाई छुने जुनसुकै विषय वा घटना)

यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीन वटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।