साहित्यपोस्ट
साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगितामा भवानी तिमल्सिना, विनोद पौडेल र सुदेश पन्त सर्वोत्कृष्ट हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका ३३ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने तिमल्सिना, पौडेल र पन्तका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
गएको सातादेखि सुरु भएको यो खुला प्रतियोगितामा अघिल्लो साता मिना चौलागाईँ, मिलन समीर र रेहित सैजु सर्वोत्कृष्ट हुनुभएको थियो ।
यो साता चित्रा पौडेल, रामबहादुर परियार, गोपाल खनाल, प्रकाश खड्का र अमर त्यागीले पनि निकै राम्रो अंक प्राप्त गर्नुभएको निर्णायकहरूले जनाउनुभएको छ ।
‘हामीलाई उत्कृष्ट छान्न सजिलै भयो । तर उत्कृष्टहरूमध्ये तीन सर्वोत्कृष्ट छान्न निकै गाह्रो भयो ।’ साहित्यपोस्टकी सम्पादक निशा केसीले भन्नुभयो, ‘एकभन्दा कम अंकले मात्र चित्रा, रामबहादुर, गोपाल, प्रकाश, भवानी र अमरजस्ता मुक्तककारहरू पछि पर्दा दुःख पनि लाग्यो । प्रतिस्पर्धामा जर्ज हुन गाह्रो हुन्छ भन्ने कुराको अनुभव पनि गर्न पाइयो ।’
डा.लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी, मुक्तककार राजन सिलवाल र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहनुभएको थियो । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गर्नुभएको थियो ।
‘तोकिएको नियममा रहेर ३३ मुक्तक प्राप्त भएका थिए । तोकिएका नियमबाहेक पनि सय वटा जति मुक्तक प्राप्त भएका थिए ।’ प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भन्नुभयो, ‘धेरैजसो मुक्तकहरू इमेल र साहित्यपोस्टको फेसबुक पेजमा आएका थिए । ती असाध्यै राम्रा भए पनि नियम विपरित भएकाले प्रतिस्पर्धामा परेनन् । जसले हामीलाई असहज पनि बनायो ।’
दुई सातादेखि सुरु भएको मुक्तक तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ । सुस्त इन्टरनेट सेवा र नियम बुझाउन नसकेका कारण पनि मुक्तकहरू इमेल र फेसबुकमा आएको हुनसक्ने आँकलन गरिएको छ ।
नेपाली नेता, नेपाली राजनीति र नेपाली जनता गरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । ती मुक्तकहरूमध्ये रीत पुगेका, मुक्तकका सबै अङ्ग बलिष्ठ भएका र मुक्तकको गहिराइ छुन सफल भवानी तिमल्सिना, विनोद पौडेल र सुदेश पन्तका रचनाहरू सर्वोत्कृष्ट भएका हुन् ।
५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसंग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।
अर्को साताको मुक्तक प्रतियोगिता शनिवारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ ।
विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।
अब बढौँ यो साता पहिलो हुने उत्कृष्ट तीन मुक्तकहरू :
==============
================



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

