साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

क्षमा याचनासहित पुनः सुरू भयो गजल प्रतियोगिताकाे बीसाैँ चरण

गजल पठाउने समय कात्तिक १२ गतेसम्म

ratna book ads

प्राविधिक समस्याका कारण गजल मुशायराले साहित्यपोस्टसँग मिलेर गरेकाे गजल प्रतियोगिताकाे बीसाैँ साता पुनः सुरु भएको छ । साहित्यपाेस्टकाे वेवसाइडमा देखिएकाे प्राविधिक समस्याका कारण कमेन्टहरू सहजरूपमा अपलाेट हुन नसकेका कारण बीसाैँ साताकाे प्रतियोगिता पुनः प्रारम्भ गर्नुपरेको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनुभएको छ ।

“वेवसाइटको कमेन्ट सेक्सनमा कमेन्ट गर्दा अपलोड नभएको गुनासाहरू आएपछि हामीले प्राविधिक समस्याको चेकजाँच गर्यौँ ।”, कोइरालाले बताउनुभयो, “प्राविधिक समस्याकै कारण कमेन्टहरू अपलोड नहुने समस्या देखिएको रहेछ । उक्त समस्यालाई प्राविधिक टीमले समाधान गरिसकेको छ । पाठक तथा साहित्यकार वर्गमा पर्न गएको असुविधाप्रति साहित्यपोस्ट परिवार क्षमा माग्दछ ।”

साथै, उहाँले अघिल्लोपटक गजल पठाउनुभएका गजलकारहरूलाई पुनः यसै पोस्टको कमेन्ट सेक्सनमा आफ्ना लघुकथा पोस्ट गरिदिनुहुनसमेत अनुरोध गर्नुभएको छ ।

“प्राविधिक कारणले सर्वरमा कमेन्ट गरिएका केही गजलहरू नदेखिने समस्या उत्पन्न भयो । त्यसैले यो साताका लागि प्रतियोगिता दोहोर्याउनुको विकल्प भएन ।” साहित्यपोस्टका प्रमुख प्राविधिक सल्लाहकार तथा गजल प्रतियोगिताका निर्णायकमध्येका करुण थापाले भन्नुभयो, “यो अप्ठ्यारोलाई साहित्यकारज्यूहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।”

गजल विधालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलाइरहेको गजल मुशायरा र साहित्यलाई नै केन्द्रविन्दु बनाएर दैनिक अनलाइन पत्रिका चलाइरहेको साहित्यपोस्टकाे आयाेजनामा साप्ताहिक रूपमा गजल प्रतियोगिता सञ्चालन हुँदैआएकाे छ  ।

प्रतियोगिताका लागि गजलका निर्णयकहरुमा गजलकार करुण थापा, गजलकार जितेन्द्र मल्ल, गजलकार रवि प्राञ्जल र गजलकार जय गौडेल रहनुहुनेछ ।

निर्णायक मण्डलका अनुसार एकपटक पुरस्कृत भइसक्नुभएका गजरकारहरूलाई पुनः प्रतियोगितामा समावेश गराइने छैन, तर “अप्रतियोगी” गजलकार रूपमा प्रतियोगितामा सहभागिता जनाउन भने सक्नुहुनेछ ।

निर्णायक करुण थापा नेपाली साहित्यमा गजलकार, चलचित्र क्षेत्रमा सम्पादक, कम्प्युटरका क्षेत्रमा एनिमेटर र बेब डिजाइनरका रुपमा प्रख्यात हुनुहुन्छ । करुणलाई नेपालमा थ्रिडी एनिमेसन र डिजिटल प्रविधि भित्राएको श्रेय पनि जान्छ । करुण थापा हाल सिल्भरगेट सफ्टवेयर, सिल्भरगेट एकेडेमीका निर्देशक एवं सिइओ, एभरेष्ट फिल्म एकेडेमीका प्रशिक्षक तथा बुकवर्ड नेपालका उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँ राष्ट्रिय स्तरका दर्जनौँ प्रतियोगिताका निर्णायक बनिसक्नुभएको छ ।

अर्का निर्णायक रवि प्राञ्जलका ७ वटा कृति प्रकाशित छन् । उहाँले मधुमास, सोपान र अतुलनीय अतुल पत्रिकाहरु सम्पादन गर्नुभएको छ । उहाँलाई गजलश्री सम्मान पनि प्राप्त भएको छ ।

अर्का निर्णायक जय गौडेल नेपाली साहित्यमा आफ्नो फरक पहिचान बनाउन सफल हस्तिमध्येका एक हुनुहुन्छ । रेडियोका स्रोताबीच निकै लोकप्रिय रहनुभएका गौडेल ‘रचना वाचन‘ युट्युब च्यानलका संयोजक पनि हुनुहुन्छ । कुनै बेला उहाँले अनाम मण्डलीको सचिवको कार्यभार संम्हाल्नु भएको थियो ।

निर्णायक जितेन्द्र मल्ल गजल मुशायराका प्रमुख हुनुका साथै चर्चित गजलकार पनि हुनुहुन्छ । मल्लकै संयोजनमा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएका डिला खरेल र उहाँको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेकाे छ । पेशाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र बैँकिङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिनुभएको हो ।

प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । हरेक साता पाठकले आफ्नो एउटा गजल तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट गजलहरुलाई हरेक साता पाँच सय नगद अथवा एक हजार रुपैँया बराबरको पुस्तकले सम्मान गरिने छ ।

त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुशायराको आधिकारिक च्यानलमार्फत् प्रशारण गरिने निर्णायकमध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाउनु भएको छ ।

वर्षको अन्त्यमा छानिएका १ सय ५० गजलहरूमध्येबाट पनि उत्कृष्ट तीन छानिने छन् । सर्वोत्कृष्ट तीनवटा गजल छान्दा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । वर्षकाे अन्तिममा सर्वाेत्कृष्ट गजलहरूलाई ३० हजार, २० हजार र १० हजार नगद एवं गजलका केही महत्वपूर्ण पुस्तकहरूले सम्मान गरिनेछ ।

संयोजक मल्लका अनुसार प्रतियोगितामा भाग लिन निम्न लिखित कुरामा ध्यान दिनुपर्नेछः

१) गजल प्रतियोगिता हरेक साता सञ्चालन हुनेछ र प्रतियोगिता सुरु भएदेखि सातौँ दिनसम्म तलको कमेन्ट बक्समा गजल पोस्ट गरिसक्नु पर्नेछ ।

२) प्रतियोगिताका लागि पठाइने गजलहरुले गजलका सबै नियम पालना गर्नुपर्छ भन्ने छैन तर त्यसमा गजलको समान्य आधारभूत संरचनाचाहिँ पुगेको हुनुपर्नेछ ।

३) प्रतियोगिताका लागि पठाइने गजलहरु फेसबुकलगायत अन्य तिर प्रकाशित भैसकेको भए पनि फरक पर्दैन । तर उक्त गजल लेखकको मौलिक रचना हुनुपर्नेछ । कसैले उक्त गजलमाथि दावी गरेर प्रमाणित गरेमा उक्त गजललाई प्रतियोगितामा स्वतः अस्वीकृत गरिनेछ ।

४) रचना पोस्ट गर्दा आफ्नो पूरा नाम र सजिलो सम्पर्क ठेगाना उल्लेख गर्नुपर्नेछ ।

५) एक जना गजलकारले एक सातामा एउटा मात्र गजल पोस्ट गर्न पाइने छ । कसैले दुईवटा गजल पोस्ट गरे पहिलो गजललाई मात्र मान्यता दिइनेछ ।

६) कुनै स्रष्टालाई कुनै साता प्रतियोगितामा भाग लिन मन नलागेमा गजलको मुन्तिर अप्रतियोगि गजल भनेर लेख्नु पर्नेछ ।

७) अन्य प्रतियोगितामा पठाइएको गजल यो प्रतियोगितामा पठाउन पाइने छैन । त्यसैगरि एकपल्ट यो प्रतियोगितामा पठाइएको गजल पुनः अर्को साता त्यही गजल पठाउन पाइने छैन ।

८) यो प्रतियोगिता गजल लेखनको अभ्यासको थलो पनि होस् भन्ने चाहाना भएकाले यसमा हरेक साता हरेक लेखकले आफ्ना फरक रचना पोस्ट गर्न सक्नुहुनेछ । सबैखालका लेखकले हरेक साता आफ्ना रचना पोस्ट गर्न सक्नुहुनेछ । तर सबै साता सबैले भाग लिनै पर्छ भन्ने चाहिँ छैन ।

९) हरेक साता पुरस्कृत गजलकारहरुलाई साहित्यपोस्टले सम्पर्क राखेर पुरस्कार पुर्याउने प्रयास गर्नेछ । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत गजलकारलाई सम्पर्क गर्न नसकेमा पुरस्कृत गजलकारहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका गजलकारहरुले ९८४९०७०५७१ मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिन्छ । त्यसैगरी विदेशमा रहनु भएका गजलकारहरुले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा वा sahityapost2020@gmail.com मा पुरस्कार र थप विवरणका लागि सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

बीसाैँ साताका लागि गजल पोस्ट गर्ने समय अहिलेदेखि सुरु भएर कात्तिक १२ गते (शुक्रबार) रातिको ११ बजेर ५९ मिनेटसम्म रहनेछ । त्यसपछि प्राप्त गजलहरूलाई प्रतियोगितामा समावेश गराइने छैन ।

प्रतिक्रिया
Loading...