गजल मुशायराले साहित्यपोस्टसँग मिलेर गरेकाे गजल प्रतियोगिताकाे छैटौँ साता सुरु भएको छ ।

गजल विधालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलाएको गजल मुुशायरा र साहित्यलाई नै केन्द्रविन्दु बनाएर दैनिक अनलाइन पत्रिका चलाइरहेको साहित्यपोस्टकाे आयाेजनामा निर्णायक मण्डलले प्रतियोगिताकाे छैटौँ साता सुरु भएकाे घाेषणा गरेकाे हो ।

निर्णायक मण्डलका अनुसार एकपटक पुरस्कृत भइसक्नुभएका गजरकारहरूलाई पुनः प्रतियोगितामा समावेश गराइने छैन, तर “अप्रतियोगी” गजलकार रूपमा प्रतियोगितामा सहभागिता जनाउन भने सक्नुहुनेछ ।

हरेक साताका लागि गजलका निर्णयकहरुमा गजलकार करुण थापा, गजलकार जितेन्द्र मल्ल, गजलकार रवि प्राञ्जल र गजलकार जय गौडेल रहनुहुनेछ ।

निर्णायक करुण थापा नेपाली साहित्यमा गजलकार, चलचित्र क्षेत्रमा सम्पादक, कम्प्युटरका क्षेत्रमा एनिमेटर र बेब डिजाइनरका रुपमा प्रख्यात हुनुहुन्छ । करुणलाई नेपालमा थ्रिडी एनिमेसन र डिजिटल प्रविधि भित्राएको श्रेय पनि जान्छ । करुण थापा हाल सिल्भरगेट सफ्टवेयर, सिल्भरगेट एकेडेमीका निर्देशक एवं सिइओ, एभरेष्ट फिल्म एकेडेमीका प्रशिक्षक तथा बुकवर्ड नेपालका उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँ राष्ट्रिय स्तरका दर्जनौँ प्रतियोगिताका निर्णायक बनिसक्नुभएको छ ।

अर्का निर्णायक रवि प्राञ्जलका ७ वटा कृति प्रकाशित छन् । उहाँले मधुमास, सोपान र अतुलनीय अतुल पत्रिकाहरु सम्पादन गर्नुभएको छ । उहाँलाई गजलश्री सम्मान पनि प्राप्त भएको छ ।

अर्का निर्णायक जय गौडेल नेपाली साहित्यमा आफ्नो फरक पहिचान बनाउन सफल हस्तिमध्येका एक हुनुहुन्छ । रेडियोका स्रोताबीच निकै लोकप्रिय रहनुभएका गौडेल ‘रचना वाचन‘ युट्युब च्यानलका संयोजक पनि हुनुहुन्छ । कुनै बेला उहाँले अनाम मण्डलीको सचिवको कार्यभार संम्हाल्नु भएको थियो ।

निर्णायक जितेन्द्र मल्ल गजल मुशायराका प्रमुख हुनुका साथै चर्चित गजलकार पनि हुनुहुन्छ । मल्लकै संयोजनमा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएका डिला खरेल र उहाँको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेकाे छ । पेशाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र बैँकिङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिनुभएको हो ।

प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । हरेक साता पाठकले आफ्नो एउटा गजल तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट गजलहरुलाई हरेक साता पाँच सय नगद अथवा एक हजार रुपैँया बराबरको पुस्तकले सम्मान गरिने छ ।

त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुशायराको आधिकारिक च्यानलमार्फत् प्रशारण गरिने निर्णायकमध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाउनु भएको छ ।

वर्षको अन्त्यमा छानिएका १ सय ५० गजलहरूमध्येबाट पनि उत्कृष्ट तीन छानिने छन् । सर्वोत्कृष्ट तीनवटा गजल छान्दा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । वर्षकाे अन्तिममा सर्वाेत्कृष्ट गजलहरूलाई ३० हजार, २० हजार र १० हजार नगद एवं गजलका केही महत्वपूर्ण पुस्तकहरूले सम्मान गरिनेछ ।

संयोजक मल्लका अनुसार प्रतियोगितामा भाग लिन निम्न लिखित कुरामा ध्यान दिनुपर्नेछः

१) गजल प्रतियोगिता हरेक साता सञ्चालन हुनेछ र प्रतियोगिता सुरु भएदेखि सातौँ दिनसम्म तलको कमेन्ट बक्समा गजल पोस्ट गरिसक्नु पर्नेछ ।

२) प्रतियोगिताका लागि पठाइने गजलहरुले गजलका सबै नियम पालना गर्नुपर्छ भन्ने छैन तर त्यसमा गजलको समान्य आधारभूत संरचनाचाहिँ पुगेको हुनुपर्नेछ ।

३) प्रतियोगिताका लागि पठाइने गजलहरु फेसबुकलगायत अन्य तिर प्रकाशित भैसकेको भए पनि फरक पर्दैन । तर उक्त गजल लेखकको मौलिक रचना हुनुपर्नेछ । कसैले उक्त गजलमाथि दावी गरेर प्रमाणित गरेमा उक्त गजललाई प्रतियोगितामा स्वतः अस्वीकृत गरिनेछ ।

४) रचना पोस्ट गर्दा आफ्नो पूरा नाम र सजिलो सम्पर्क ठेगाना उल्लेख गर्नुपर्नेछ ।

५) एक जना गजलकारले एक सातामा एउटा मात्र गजल पोस्ट गर्न पाइने छ । कसैले दुईवटा गजल पोस्ट गरे पहिलो गजललाई मात्र मान्यता दिइनेछ ।

६) कुनै स्रष्टालाई कुनै साता प्रतियोगितामा भाग लिन मन नलागेमा गजलको मुन्तिर अप्रतियोगि गजल भनेर लेख्नु पर्नेछ ।

७) अन्य प्रतियोगितामा पठाइएको गजल यो प्रतियोगितामा पठाउन पाइने छैन । त्यसैगरि एकपल्ट यो प्रतियोगितामा पठाइएको गजल पुनः अर्को साता त्यही गजल पठाउन पाइने छैन ।

८) यो प्रतियोगिता गजल लेखनको अभ्यासको थलो पनि होस् भन्ने चाहाना भएकाले यसमा हरेक साता हरेक लेखकले आफ्ना फरक रचना पोस्ट गर्न सक्नुहुनेछ । सबैखालका लेखकले हरेक साता आफ्ना रचना पोस्ट गर्न सक्नुहुनेछ । तर सबै साता सबैले भाग लिनै पर्छ भन्ने चाहिँ छैन ।

९) हरेक साता पुरस्कृत गजलकारहरुलाई साहित्यपोस्टले सम्पर्क राखेर पुरस्कार पुर्याउने प्रयास गर्नेछ । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत गजलकारलाई सम्पर्क गर्न नसकेमा पुरस्कृत गजलकारहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका गजलकारहरुले ९८४९०७०५७१ मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिन्छ । त्यसैगरी विदेशमा रहनु भएका गजलकारहरुले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा वा sahityapost2020@gmail.com मा पुरस्कार र थप विवरणका लागि सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

पाँचाैँ साताका लागि गजल पोस्ट गर्ने समय अहिलेदेखि सुरु भएर वैशाख ११ गते (शनिबार) रातिको ११ बजेर ५९ मिनेटसम्म रहनेछ । त्यसपछि प्राप्त गजलहरूलाई प्रतियोगितामा समावेश गराइने छैन ।