
गोपी मैनाली मुख्यतः निबन्धकार एवम् समालोचक हुन् । केही समयअघि मात्र उनको समालोचना कृति ‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशनमा आएको छ । उनका ‘अवसाद अभिनयी’, ‘युगकवि सिद्धि चरणः कृति र प्रवृत्ति विश्लेषण’, ‘आँखाभरि रमिता मनभरि वेदना’, ‘अपेक्षा र अनुभूति’, ‘घाउ आफैलाई दुख्छ’ कृतिहरु तथा दर्जनौँ फुटकर कथा, कविता, निबन्ध एवम् समालोचना प्रकाशित छन् भने ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ छिट्टै प्रकाशनमा आउँदैछ ।
प्रस्तुत छ, उनै मैनालीसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले गरेको साहित्यिक संवादको सम्पादित अंश;
सर्वज्ञ – आजभोलि तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?
मैनाली – म निकै व्यस्त छु । मेरो व्यस्तताका दुई पक्ष छन्, साहित्य साधनाको पक्ष र नीति व्यवस्थापनको पक्ष । पहिलो पक्ष मेरो निकै रुचिको विषय हो । असल र जीवनवादी साहित्य सिर्जना पढ्न मन पराँउछुु । केही कथा, निबन्ध र नियात्रा पनि लेखिरहेको छु । साथै उत्कृष्ठ साहित्य, छानिएका कृति, जसले मलाई हृदयमा प्रभाव छाेड्छ, मथिङ्गल रन्फनाउने बनाउँछ, त्यस्ता कृतिहरुको अक्षरभित्र पसेर विवेचना गर्न, भनौँ समालोचना गर्न मन लाग्छ । समालोचनालाई म पुनर्सिजना भन्न मन पराउँछु, किनकि समालोचकले कृतिको आस्वाद मात्र गर्दैन, त्यसमाथि आफ्ना दृष्टिकोण, प्रभाव र मूल्यचेतका आधारमा पुनसिर्जना पनि गर्दछ । मलाई त्यस्ता कृतिहरुले छुन्छ, जो सर्जक सिर्जना पनि उत्कृष्ठ गर्छन् र उनीहरुको व्यक्तिगत जीवन (व्यवहार) पनि पनि सिर्जना जस्तै सग्लो हुन्छ, आदर्श हुन्छ ।
आजभोलि अलि बढी समय ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ नामको कृति लेखनमा बिताएको छु । केही समयभित्रै यसलाई पूरा गर्नुछ । रमेश विकल नेपाली आख्यानको धरोहर, एउटा युग नै हो । कृति पूरा गरेर नेपाली साहित्यलाई उपहार दिन मन छ, विकलप्रति सम्मान गर्न मन छ ।
व्यस्तताको अर्को पक्ष नीति व्यवस्थापनमा विवेचना गर्ने, विश्लेषण गर्ने, सुशासन र आर्थिक अनुशानका विषयमा निजामती सेवामा रहँदाको आर्जित अनुभव र त्यसबाट बनेका मेरा दृष्टिकोणहरु प्रवचन, उत्प्रेरणात्मक अन्तरक्रिया र स्तम्भमार्फत नयाँ पुस्तालाई बाँडिरहेको छु । नीति निर्मातालाई बाँडिरहेको छु । मुलुक समृद्धि र सुशासनमा पछि परेकोमा दुख लाग्छ । यसलाई पनि सिर्जनाकै आयाममा लिएको छु ।
सर्वज्ञ – तपाईं साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?
मैनाली – साहित्यलाई मैले जीवनको अभिव्यक्तिका रुपमा लिएको छु । साहित्यले भोगाइ, अनुभूति, अपेक्षा र आकाङ्क्षालाई कलात्मक रुपमा अभिव्यक्ति दिन्छ । अनुभूति, अकाङ्क्षा, भोगाइ र अपेक्षा सबैका हुन्छन्, त्यसैले सबै व्यक्ति साहित्यानुरागी हुन्छ । त्यसलाई अक्षरमा उठाउन सक्नेले सिर्जना गर्छ । सामर्थ्य वा चाहना भएमा मात्र सर्जना जन्मिन्छ । सर्जकले सन्देश दिन, प्रभाव उत्पादन गर्न कल्पना (इमाजिनेशन), भावना, विचार र सन्देशहरु शिल्पसाथ प्रस्तुत गर्दछ । सिर्जनामार्फत साहित्यले छुट्टै संसार रचना गर्छ । ज्ञान, विचार, आविस्कार र निर्माण/विनिर्माणको भोक जगाउँछ ।
जीवन चाहिँ भोगाइकोे स्वयम् साछी हो । शाश्वत हो । यसलाई सिद्धान्त र सूत्रमा बताउन सकिँदैन । यसले सरलरेखीय यात्रा पनि गर्दैन । अपेक्षा र उच्छवासमा पाउन सकिँदैन तर जे भएपनि ऊ आफैँलाई स्वीकार्छ र सङ्घर्षको स्वाद लिन्छ । जीवन अनौठो हुन्छ ।
दर्शनचाँहि दृष्टिकोण हो । जीवन, जगत, प्रणालीका विषयमा राखिने मत, अवधारणा र दृष्टिकोण । दर्शनले जीवन र जगतलाई सुन्दर बनाउन सोच, विचार र अवधारणा दिन्छ । दर्शन नीति, सिद्धान्त, आचारणको स्रोत हो ।
सर्वज्ञ – तपाईंका सबै दाजुभाइ प्रशासनको उच्च ओहोदामा काम गर्नु भएको हुुनुहन्छ । तपाईं पनि मन्त्रालयको सचिव भएर रिटायर्ड हुनु भएको हो । तैपनि साहित्यमा यति धेरै लगाव र अग्रपङ्क्तिमा कसरी पुग्नुभयो ?

गोपी मैनाली
मैनाली – हो, हामी सबै दाजुभाइ निजामती सेवामार्फत राष्ट्र्रसेवामा लाग्यौं । त्यतिखेर सरकारी सिन्दूर पर्नु शायद राम्रो मानिन्थ्यो । मेरो काका शशिकान्त मैनाली काठमाडौं आएर पढ्दै जागिर गर्दै हुनुहुन्थ्यो । पछि जेठो दाजु केशव, माहिलो दाजु श्याम, साहिलो दाजु उमेश, काइलो दाजु युवराज निजामती सेवाको सानो तहमा प्रवेश गरेर जिम्मेवारी बढाउँदै लानुभो । मैले पनि त्यही बाटो अङ्गालेछु । मेरा भाइ देवराज (जो पढाइमा निक्कै अब्बल थियो) शोभियत सङ्घबाट इन्जिनियरिङ्गको उच्च उपाधि लिएर सेवामा आयो र केहीपछि जागिर छोड्यो ।
भाइ नारायण र कान्छो डा.रामले पनि त्यही बाटो समाते । काका, श्यामदाजु, उमेश दाजु र म सचिवको जिम्मेवारीमा पुग्यौं । युवदाजु प्रमुख जिल्ला अधिकारी बन्नुभयो, उहाँ साहित्य साधनामा स्थापित नाम हो । अहिले नारायण र राम मात्र सेवामा छन् । जिम्मेवारीका सन्दर्भमा मेरो घरका सबै जनाले उत्पीडन भोग्नुपर्यो । राजाले शासन लिएको समयमा सातजना अब्बल भनिएका सचिवहरुलाई जगेडामा राखियो, मेरो घरबाट दुईजना पर्नुभो । नीति, विधि र सार्वजनिक सेवाका मूल्यमा काम गर्दा मलाई जगेडामा राखियो, पटक पटक जागिर छाड्ने प्रयास गरेँ । उच्च ओहोदामा पुग्ने मात्र होइन, नीतिनिष्ठामा रहँदा पीडा भोग्ने परिवार पनि हो मेरो परिवार ।
म सानैदेखि साहित्य लेख्थेँ, पढ्थेँ । प्राथमिक तहको स्कुलमा पढ्दा नै लेख्ने हुटहुटीले जे जाने त्यही लेखेँ । जीवन सङ्घर्षमय हुँदै गयो, त्यसलाई अक्षरमा बताउने बाहेक अर्को सहारा पाइनँ, त्यसैले लेखेँ । रोशी (काभ्रेपलाञ्चोकको मेरो गाउँ) मा केही व्यक्तिहरुले हाम्रो जग्गा जमिन सबै लुटिदिए । बालक मन रोयो, अन्याय सह्यो, आमा, भाउजूहरु, दाजुहरु र भाइहरुले पाएको दुखले लेखेँ । सानैमा आमा गुमायौँ, त्यो पीडाले लेख्ने आदत बढ्यो । जागिरको सिलसिलामा पनि धेरै सङ्घर्ष मेरो भागमा पर्यो, अक्षरमा लेख्न बाहेक सहारा भएन । श्रीमती र बच्चालाई बताएर उनीहरुलाई दुखी बनाउन चाहिनँ । जगिरले नेपाली जनजीवन, दुख र उत्पीडनलाई राम्ररी देखेँ, जति सकेँ काम गरेँ, गर्न बाँकीहरु कथा, निबन्ध, नियात्राहरुमा लेखेँ । धेरै दुख, जटिलता र पीडामा रहेको जीवनसँग साक्षत्कार भएपछि लेख्न मन अरु लाग्यो । राष्ट्रको प्रतिनिधित्व गरेर विदेश गएँ, समृद्धि र सम्पन्नता देखेँ, देशको चिन्ता लाग्यो, सकेजति नीति कार्यक्रम र सेवा व्यवस्थापनमा अनुवाद गरेँ, नसकेका कुराहरु अक्षरमा पोखेँ । मेरा सिर्जनाहरु त्यसैले जीवनका वास्तविक भोगाइ, देखाइ र बुुझाइ हुन् ।
‘घाउ आफैलाई दुख्छ’ निबन्धको शैलीमा म आफू भएर नेपालको जीवनशैलीलाई पोखको छु, ‘आँखाभरि रमिता मनभरि वेदना’ मेरा आँखा र मनले नेपाल र जापानलाई गरेको तुलना हो, आँखा जापानमा रहे पनि मन नेपालमै रह्यो । ‘अपेक्षा र अनुभूति’ मा म बाँचेको समयको अपेक्षा र सो पूरा नहुँदाको अनुभूति छ । र, अरु पनि यस्तै कुरालाई लेखेको छु । चाहेजति लेख्न सकेको छैन, किनकि राष्ट्रसेवामा लागेको व्यक्तिले आफ्नो समय राष्ट्रलाई, जनतालाई दिनुपर्छ । व्यक्तिगत चाहना राष्ट्रलाई नै समर्पण गर्नुपर्छ । बचेको समय समाज र परिवारलाई दिनुपर्यो । त्यसबाट बचेको थोरै समय मात्र अक्षरलाई दिएको छु । धेरै लेख्नुपर्ने कुराहरु मनमा छन्, कति त विस्मृतिमा गैसके । तर लेख्ने इच्छा छ, स्मृति उघार्दै लेख्दैछु । चाहेजति लेख्न सकेको छैन ।
सर्वज्ञ – अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नुहुन्छ ?
मैनाली – यो एउटा अभियान जस्तो लागेको छ, यस अभियानमा धेरै साथीहरु नेपाली मन लिएर जहाँ भएपनि नेपाली पहिचान फिँजाइरहेका छन् । राष्ट्रलाई विस्तार गरिरहेका छन् । नेपाल राष्ट्रलाई गोलाद्र्धका कुना कुना पुर्याइरहेका छन् । एक्काइसौँ शताब्दीमा राष्ट्रवादलाई विस्तार गर्ने अभियान यस्तै हुन्छ जस्तो लाग्छ । म सुत्दा पनि अनेसासको कार्यक्रम भैरहेको देख्छु, उठ्दा पनि चालु देख्छु । थोरैमा मात्र म आफू भाग लिएको छु । तर साथीहरुले नेपाली भाषा, साहित्य, संस्कृति, कला, मौलिकता र गौरबलाई अनवरत रुपमा फैलाइ रहनुभएको छ । यो महान राष्ट्रवादी काम हो । यो भावनालाई भूगोलले छेकेको छैन । डायस्पोरिक चेतना पनि फैलाइरहेको पाएको छु । कर्म अन्यत्र गर्ने बाध्यताका साथीहरुको मन नेपालमा देखेको छु । अनेसासले जनस्तरको कुटनीति (पिपुल्स डिप्लोमेसी) गरिरहेको महसुस गरेको छु । यस अर्थमा अनेसास बहुआयामिक आन्दोलनमा छ, जसको केन्द्रस्थलमा नेपाल छ । यो भन्दा महान काम अरु शायदै हुन सक्छन् । योभन्दा बढी भन्ने मसँग शब्द छैन ।
सर्वज्ञ – शुरुका दिनमा साहित्यमा लाग्न कसरी प्रेरणा मिल्यो ?
मैनाली – यही कुराले मात्र प्रेरणा दियो भन्न सक्दिन । हजुर बुबा महाभारत, दुर्गा सप्तशती, रामायणहरु वाचन गर्नुहुन्थ्यो । त्यसले आनन्दको अनुभूति हुन्थ्यो । तल्लो गाउँका हजुरबुबा पर्ने गुरुप्रसाद मैनालीको कुरा सुनेको थिएँ । बुबाले गाउँमा स्कुल स्थापना गर्नु भएको थियो । दाजुहरु पढाउनु हुन्थ्यो । कविता, निबन्ध, वक्तृत्व प्रतियोगिता हुन्थ्यो । म पनि सहभागी हुन्थेँ । जित्थेँ र किताब, कापी, कलम पुरस्कार पनि पाउँथेँ । यसले पनि बालमनलाई थाहै नपाई साहित्य लेखन र अध्ययन गर्न डोर्याएको थियो होला ।
मेरो गाउँ महाभारत र तिमाल पर्वत शृङ्खलाको बीचतिर पर्थ्याे, अजङ्का हरिया डाँडा घरको आँगन, पर्खालबाट देखिन्थ्यो । घरबाट केही तल रोशीखोला नागवेली भएर पूर्वीयात्रामा हानिएको देख्थेँ । रोशीसँग थुप्रै सिँगौरी खेलियो, जर्जर डाँडाकाँडामा ओराली उकाली गरियो । खेतीपाती, मेलापात, गोठालो जाँदा पनि प्रकृति र परिश्रमका केही अनुभूति झाँगिए । फुर्सद मिल्दा रेडियो नेपालको बाल कार्यक्रम, गीतिकथा र साहित्य संसार सुन्न थालेँ ।
निम्नमाध्यमिक तहको पढाइ पछि अध्ययनका लागि काठमाडौं आएँ । शुरुमा काठमाडौंको कोलाहलमा हराइयो पनि तर विस्तारै त्यो कोलाहलभित्रका एकान्तपनले रोशीदेखि काठमाडौं सम्मको सम्बन्ध तान्थ्यो । पद्योदय हाइस्कुलमा साहित्य पढाउने गुरु उपेन्द्र प्रेमीको साहित्यसँग साक्षत्कार भएँ । त्यहाँ बार्षिक एकपटक कमला पुरस्कार प्रतियोगिता हुन्थ्यो, कविता, निबन्ध र वक्तृत्वमा सहभागी हुन्थे । क्याम्पसको माहौल साहित्यमय थियो । श्रीहरि रुपाखेती सर साहित्य पढाउनुुहन्थ्यो । आफै साहित्यकार हुनुहुन्थ्यो, उहाँको शोककाव्य ‘छाडिजानेको सम्झना’ ‘गौरी’ भन्दा तल थिएन ।
उहाँबाट लेख्ने प्रेरणा मिल्यो । सङ्गीत पनि पढ्थेँ । हिमचिमका साथहीहरु कलाकार, साहित्यकार थिए । केही सिर्जना प्रकाशन गर्न लागेको थिएँ । मेरा दाजु युवराज मैनाली साहित्य (कथा, व्यङ्ग्य र कविता) लेख्नुहुन्थो । उहाँका साथीहरु लव गाँउले, श्रीहरि फुयाँल, धीरेन्द्र मल्लहरु कोठामा आउनुहुन्थ्यो । केही सम्पादकहरु आउँथे । यसै समय युगकवि सिद्धिचरण श्रेष्ठसँग चिनजान भयो, लामो सङ्गत भयो । युवदाजु र मलाई माया गर्नुहुन्थ्यो । युगकवि भन्ने र मैले लेख्ने गरेर उहाँबाट केही काव्य सिर्जना भएको थियो (उमेरले होला उहाँको आँखा कमजोर थियो) । यिनै कारण र परिस्थितिले होला, म साहित्यतिर थाहै नपाई अकार्षित भएछु ।
सर्वज्ञ – तपाईंलाई साहित्य राम्रो हुन के गर्नुपर्छ जस्तो लाग्छ ?
मैनाली – साहित्य राम्रो हुन भित्रैबाट फुर्नपर्छ जस्तो लाग्छ । कर वा देखिसिखी र अनुकरणले सिर्जना फुर्दैन । चाहना राख्दैमा साहित्य आउँदैन । प्रतिभा र साधना चाहिन्छ । चेतना र प्रज्ञा चाहिन्छ । किनकि साहित्य भावना मथिङ्गलमा मथेर शिल्पसाथ प्रस्तुत हुन्छ । जीवन नबोक्ने साहित्य राम्रो हुँदैन । प्रभाव छोड्ने, दृष्टिकोण दिने र जैवनिक संस्कार बसाउने साहित्य राम्रो हो । पर्दा साहित्यले विनिर्माणको सामर्थ्य दिनुपर्छ । सत्यम् शिवम् सुन्दरम भनिन्छ । आग्रह नराखी यी कुरा स्वाभाविक भएमा त्यो साहित्य राम्रो पनि हुन्छ, जैवनिक पनि हुन्छ र कालजयी पनि ।
सर्वज्ञ – तपाईंले सोचे जस्तो लेख्न र अध्ययन गर्न सक्नु भएको छ ?
मैनाली – त्यो त कसले सक्छ र ? म अपवाद कसरी हुनसक्छु ? लेख्न मन लागेको समयमा समय हुन्न, समय भएको बेलामा भाव हुन्न, यी दुवै हुँदा परिवेश हुँदैन । यी तीनै हुँदा अक्षर वा अभिव्यक्तिले साथ दिँदैन । त्यसैले सोचे जस्तो लेख्न पाएको छैन । लेख्नका लागि मानसिक रचना वा आकृति बनाएको समयमा लेख्न पायो भने त्यो शाश्वत हुन्छ, सर्वजनीन हुन्छ र साँच्चैको साहित्य हुन्छ । एउटा उदाहरण लिऔँ, म निर्वाचन आयोगको सचिव थिएँ, निर्वाचनलाई मितव्ययी बनाऔँ, गरिब जनताको पैसा (कर) उरलधुरल नगरौँ भन्ने भावनाले काम गर्दै थिएँ । आन्तरिक सङ्घर्ष गर्दागर्दै सरुवा गरियो, सरुवा मात्र होइन, काम नदिई जगेडामा लगेर थन्क्याउन आयोगको राजनैतिक नेतृत्व सफल भयो । मैले ‘विचरा निजामती’ भन्ने निबन्ध लेखेँ । निष्ठामा कम गर्ने सबै कर्मचारी ‘विचरा’ हुन्छन् भन्ने बिम्ब थियो यो । हजारौँले शेयर गरे । अर्को क्षणमा लेखेको भए त्यस्तै अन्तरवोध हुने थिएन, प्राविधिक हुने थियो ।
शिक्षा मन्त्रालयमा केही सुधारको काम गर्दै थिएँ, फेरि सरुवा गरिएछ । लक्ष्मीप्रसाद देवकोटालाई सम्झिएर (उनी थोरै समय शिक्षा मन्त्री, पनि थोरै समयको शिक्षा सचिव, समय फरक, परिस्थिति भने झण्दै उही) ‘लक्ष्मी तिमी भएको भए’ भन्ने निबन्ध लेखेँ । आफैलाई टच गर्यो । लक्ष्मी जयन्तीमा प्रकाशित गरेँ । मेरा निजात्मक निबन्धहरु, जो केही घाउ ‘आफैलाई दुख्छ’ मा सङ्ग्रहित छन्, यस्तै भोगाइ विम्बहरु हुन् । मलाई लाग्छ, त्यहाँका अक्षरहरुमा अनुभूति छचल्किएका छन् । तर सबै परिवेशका सिर्जनाले यो मूल्य कहाँ पाउँछन् र ?
अँ, भनेजति अध्ययन गर्न पाएको छैन । लेखनभन्दा अध्ययन सजिलो हो । अरुका दृष्टिकोण, सिर्जना पढ्न सजिलो हुन्छ । पढ्न पनि भाषाले रोक्छ । भारवी, कालिदास र व्यास पढ्न कहाँ सक्छु र ? इमिली डिकिन्सनको ‘बोल्ट्स् अफ मेलोडी’ पढेँ । उनले के लेखेकी थिइन्, मैले के बुझेँ ? हाम्रै जगदीश शमशेरको ‘नरसिंह अवतार’, मदनमणिको ‘माधवी’ सन्दर्भको सापेक्षमा पढ्न सक्दिनँ । मोहन कोइराला, ईश्वर बल्लभ, साहित्य समालोचनाका इन्द्रबहादुर राई, अभि सुवेदी, दुर्गा भण्डारी पढ्न गाह्राे छ । तर दर्शन, चिन्तन पढ्न अलि सजिलो छ । विश्वेश्वर कोइराला, प्रदीप गिरि रमाएर, सजिलै पढ्छु । युभल नोह हरारी, जिव्लान्ट, सर्गेइ पढ्छु । पिकेटी, नोएम चम्स्की, जुडियाथ बट्लर, स्टेफन हकिनहरु पढ्न भाषा र स्तरले पनि सधैँ सम्मति दिदैँन । किताबमा पसेर संसार बुझ्न, घुम्न र आस्वाद गर्न चोहजति सकिँदो रहेनछ ।
सर्वज्ञ – नेपाली साहित्य र साहित्यकारको भविष्य कस्तो देख्नुहुन्छ ?
मैनाली – नेपाली साहित्यको भविष्य आशालाग्दो छ । केही जाज्वल्यमान साहित्यकार, कला सर्जक आएका छन् । अनेसास जस्तो स्वचालित अभियानले पनि सर्जकहरुलाई प्रोत्साहन गरेको छ । माध्यम र मञ्चहरु धेरै छन्, जसले लेख्न, पढ्न इतिहासमा नभएको अवसर दिएको छ । कहिले त सोच्छु, यो अवसर र माध्यम महाकवि लक्ष्मीप्रसाद देवकोटाले पाएको भए ? तर सबै सर्जक राम्रा छैनन् । साधना नभए चाहनाले मात्र सिर्जना हुँदैन । साहित्य सेलेव्रेसन र प्रयोजनको विषय नबनोस, नक्कल र ईर्ष्याकाे विषय नबनोस्, यान्त्रिकताको विषय नबनोस्, पाइरेसी र व्यवसायको विषय पनि नबनोस् । सर्जकहरु सधैँ असलका लागि, सभ्यता र सौहाद्रताका लागि आचरणदेखि लाग्नुपर्छ । बस् यत्ति भए नेपाली साहित्यको ओज र आयतन आशामय छ । साहित्यकारको भविष्य उसको सिर्जनाले निर्धारण गर्ने हो, सिर्जना चाहिँ उसको सामर्थ्य र आचरणले ।
सर्वज्ञ – तपाईंले कतिवटा पुस्तक लेख्नु भएको छ ? अहिले के लेख्दै हुनुहुन्छ ?
मैनाली – मैले ‘अवसाद अभिनयी’ (निबन्धसङ्ग्रह) २०४० तिर लेखेँ । त्यसपछि ‘आँखाभरि रमिता मनभरि वेदना’ (नियात्रा), ‘युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण’ (समालोचना), ‘अपेक्षा र अनुभूति’ (निबन्धसङ्ग्रह), ‘घाउ आफैलाई दुख्छ’ (निबन्धसङ्ग्रह), ‘अभिव्यञ्जना यात्राप्रति’ (समालोचना) गरी सातवटा साहित्यिक कृति प्रकाशन गरेको छु । ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ प्रकाशाधिन छ, यसलाई फिनिसिङ् टच गर्दैछ । एउटा कथा सङ्ग्रह पनि प्रकाशनोन्मुख छ, त्यसलाई अन्तिम रुप दिदैँछु । केही साथीहरुसँग मिलेर नयाँ विधा विकास साहित्य पनि अगाडि ल्याएका छौँ । नेपालमा निराशा र नकारात्मक सोच हटोस, केही गर्न सकिन्छ भन्ने भावना विकास गर्न सकियोस् र विकास संस्कृति बसोस् भनेर विकास र साहित्यको यौगिक रचनाको अभियानमा पनि छु ।
साहित्य बाहेक व्यवस्थापनका ६ पुस्तकहरु ‘प्रत्यक्ष शासन र जनआन्दोलन’, ‘राज्य सञ्चलनका आधारहरु’, ‘नेपालमा बजेट र योजना’, ‘प्रशासन र सुशासन’, ‘विकास, व्यवस्थापन र व्यावसायिकता’ प्रकाशित छन् ।
सर्वज्ञ – कस्तो पुस्तक पढ्न मन पराउनुहुन्छ ?
मैनाली – दृष्टिकोण भएको, जीवन भएको, मिय र समाज बाेक्ने, प्रभाव छाड्ने पुस्तक मन पराउँछु । पढ्दा मस्तिष्कलाई रन्थनाएर मनमा आसन जमाउन सक्ने पुस्तक खोजीखोजी पढ्छु । अलि फराकिलो चिन्तन भएको किताब पाउँदा भोकतिर्खा हराउँछ । कोभिडले बन्दाबन्दी हुँदा हरारीका किताबको सफ्ट कपि बाबुहरुलाई भनेर अमेरिकाबाट मगाएँ, पढेँ । बाबुले मेरो चाख अनुरुपको गर्ड गिगरेन्जरको ‘हाउ टुस्टे स्मार्ट लाइफ’, सेर्गेइ र डेनियलको ‘स्पीन डिक्टेटरसीप’, स्टीभान लेभित्स्की र डानियल जिब्लान्टको ‘हाउ डेमोक्रेसी डाइ ?’ सामयिक चिन्तन भएका दिमाग रन्थनाउने कृति पठाएको छ ।
साहित्यले डिस्रप्टिभ आइडिया दिए वा धुरुधुरु रुवाए मेरो भोक तिर्खा हराउँछ । दोभ्स्तोएभ्स्की, सात्र्र, अल्वेएर कामु, टाल्सटाय, पर्ल एस वक, पाव्लो नेरुदा, वर्टाण्ड रसेल, अरुन्धती राय, अमृता प्रीतम, शशी थरुर, हुमायू अहमद, खलिल जिव्रान, युसेफ जिदान, जामना हद्दाद, प्रेमचन्द, रविन्द्रनाथहरुका कितावले अनौठो प्रभाव छोड्छ । महात्मा गान्धी, नेहरु, बाराक ओवामा, वील क्लीन्टन, विश्वेश्वर कोइराला र मण्डेलाका जीवनी र अत्मसंस्मरणहरुले धेरै प्रभाव छोडेको छ ।
हिट्लरको ‘माइन केम्फ’ पढ्न पाएको छैन । ओशो रजनीसको ‘अटोवायोग्राफी अफ स्पीरिच्युएल ओशो’ र परमहंश योगानन्दको ‘अटोवायोग्राफी अफ योगी’ पनि पढ्ने इच्छा छ । नेपालका देवकोटा, विश्वेश्वर, पारिजात, बल्लभ, विकल, भिक्षुु, हरिभक्त कटुवाल, बानिरा गिरी, शङ्कर लामिछानेहरु मन पराउँछु । हालै पढेको पुनर्वास, मकैको फूलले पनि छुट्टै प्रभाव छाड्यो । मैले नाम छुटाएका लेखकहरुप्रति अन्याय होला । पढ्न पाएपछि नै स्वाद थाहा पाइने हो । विश्व बैंक, मुद्रा कोष, राष्ट्रसङ्घका प्रतिवेदनहरु पनि पढ्छु । त्यसले विश्वको शासकीय अवस्था र ग्लोवल गभर्नेन्सको जानकारी हुन्छ । लि क्वान युले सिङ्गापुर निर्माण गर्दाको कथा केही पढेँ । मनमोहन सिंहको ‘चेन्जिङ् इण्डिाया’ र सी जीन फीनको ‘दी गभनेृन्स अफ चाइना’ किनेर ल्याएको छु, पढ्न बाँकी छ । यसले देश विकासका कठिन यात्राको जानकारी हुन्छ ।
सर्वज्ञ – तपाईंलाई मन पर्ने साहित्यकार को को हुनुहुन्छ ?
मैनाली – साहित्यकार भन्दा पनि उसका सिजना मन पर्ने हो । विश्व साहित्य र संस्कृत साहित्य धेरै पढ्न पाएको छैन । पढेका र मन पराएकाहरुको नाम अगि बताएँ । देवकोटा, भिक्षु, सम, लेखनाथ, गुरुप्रसाद मैनाली, माधव घिमिरे, पारिजात, विश्वेश्वर, प्रदीप गिरि, बानिरा गिरि, आयामेली प्रतिष्ठाता बल्लभ, राई र काइला, विकल, भूपि, मल्ल बन्धु, दौलत विक्रम, श्रीहरि रुपाखेतीले मलाई प्रभाव छाडेका छन् । पछिल्ला समयका युवराज मैनालीका लघुकथा, विजय चालिसको सामयिक निबन्ध, कलानिधि दाहाल, तीर्थराज अधिकारी र श्रीहरि फुयाँलका कविता, अशेष मल्लका नाटक राम्रा छन् ।
सिर्जना र सर्जक दुवै असल भए हुने भन्ने मनले सोच्छ । समकालीन सर्जकहरुको व्यवहार र लेखाइ नमिल्दा भने कता कता कस्तो कस्तो लाग्छ । समाज डोर्याउने मानिसले राम्रै गर्नपर्छ । असल बुझाइ, असल सोच र असल कार्यको परिणाम नै निर्माण वा सभ्यता (सिर्जना) हो । तर असल लेखाइ भएका असल मानिसहरु त्यति भेटिँदैन । साहित्यकारले आफैप्रति, आफ्नो विवेकप्रति अन्याय नगरोस् ।
सर्वज्ञ – अन्तमा मैले सोध्न विर्सेकाे र यहाँलाई भन्न मन लागेको कुनै कुरा भए भन्न सक्नुहुन्छ ?
मैनाली – त्यस्तो केही छैन । सर्जक लेखकहरु चाहनाले मात्र होइन, चेष्ठा र चिन्तन साथ लेखून भन्ने मेरो धारणा हो । युगलाई प्रतिनिधित्व गरेर लेख्नुपर्छ । द्वेष, आग्रह, विचार, जात, समुदाय र लैङ्गिकतामा विभाजित नभई मानिस भएर साहित्य लेखियोस् । बजार, पुरस्कार, प्रतिष्ठा र तृष्णाभावमा साहित्य सिर्जना नहोस् । साहित्यकार विचार, आदर्श र अभिव्यक्तिमा फराकिलो बनोस् । फूल फक्रक्क फक्रे जस्तै निश्छल भावनामा रहेर लेखोस् । बरु थोरै लेखोस्, बजोड लेखोस्, मस्तिष्क रन्थनाउने, मन जित्ने लोखोस् । प्रविधि र अवसरको पौलमा रहेको वर्तमान पुस्ताले आशाको भविष्य देखाउन सकोस् । त्यसो हुन सके आगामी पुस्ता झनै फराकिन्छ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

