कमिलाका जस्तै मान्छेका लामा लामा ताँती उज्यालोतिर लाग्दै थिए वर्षौंदेखि।

“कति हतार भएको मान्छेलाई ? अझ प्वाँख पलाउँथे भने त संसारै ढाक्थे होला । म यो बाटो पार हुन नसकेर दश वर्षदेखि यहाँ बसेको छु ।” एउटा लुप्तप्राय: चराले छेउको सालिकलाई सुनाउँछ।

“त्यसो भए यहाँको दश वर्षको अभिज्ञता मलाई भन त ?” सालिकले प्रश्न तेर्स्याउँछ ।

चराले पखेटाको धुलो टक्टक्याउँदै, उडाउँदै देखाउँछ । धुलो, धुवाँ, कालो मोसो …।

“म पनि मेरा अनुगामीहरूलाई हौसला दिन यहाँ उभिएको वर्षौं भयो। कतै आधुनिकीकरणमा परेर आफ्नो जाति, धर्म, संस्कृति र परम्परालाई बिर्सिएका पक्षधरले सुन्दैनन् भन्ने डर छँदै छ। त्यहीमाथि जातीय दङ्गा भयो भने, आफ्नै काल।”

“त्यो तपाईंले हातमा लिएको लामो हतियार चैँ के हो ?”

“कमिला पनि पखेटा पलाएपछि मासिन्छ भन्छन्। मेरा अनुगामी तथा हितमा रहेर काम गर्नेहरूको शरीरमा एउटा पखेटा पलायो भने यसैले छिनाउँछु भन्दै औजार लिएको । यसलाई हाम्रो जातीयताको प्रतीक मानिन्छ ।”

सालिकको कुरामा चरोले मरीमरी हाँस्दै भन्यो, ” यत्रो वर्षपछि बल्ल आज कडा बोली सुन्दैछु ।”

“काग मरुञ्जेल कराउँछ तर उसलाई कसैले मायाले पाल्दैनन् । सबै उसको कर्कश आवाजदेखि टाढा बस्छन्। सबैभन्दा कम बोल्ने मैना सबैको प्यारो हुन्छ। तेरो कुल विलुप्तको अवस्थामा रहेको छ । तेरो भाषा बोल्ने एउटा चरो खोजेर पाइँदैन। त्यसैले सहरको बिचमा मेरो सालिक छेउ तँलाई पनि संरक्षणको लागि राखिएको हो ।”

आफ्नो संरक्षणको कुरा सुनेर चरो उड्न फर्फराउँछ । तर आफ्ना पखेटाका प्वाँख काटिएर अर्काको कैदमा रहेको थाहै थिएन यतिञ्जेलसम्म उसलाई । उसका प्रजातिलाई पहिला विलुप्त पार्ने र पछि संरक्षण गर्नुपर्छ भन्दै जुलुस लगाउने ती मान्छेका लामा ताँततिर एकोहोरो हेरिरहन्छ … हेरिरहन्छ।