पोइट आइडलबाट आउट भएँ भनेर मन दुखाएको छैन

द पोइट आइडलको भोटिङ राउण्ड सुरु भएसँगै अन्तिम प्रतिस्पर्धीको रुपमा छानिएका १४ जनामध्ये आइडलको मञ्चबाट कविहरु बाहिरिने क्रम पनि सुरु भइसकेको छ । पहिलो पटक आयोजना गरिएको पोइट आइडलको भोटिङ राउण्डबाट बाहिरिने पहिलो कवि रोल्पाका युग सर्वनाम बन्नु भएको छ । गत माघ १२ गते बिहीबार आइडलको ०९ औँ एपिसोडबाट उहाँ बाहिरिनु भएको हो । समूह  A मा रहनु भएका कवि सर्वनाम भारत सिक्किमकी कवि नीलम गुरुङसँग बटम टुमा पर्नु भएको थियो । हरेक हप्ता सबैभन्दा कम्ती भोट प्राप्त गर्ने दुई जना कवि बटम टु अर्थात रातो घेरामा पर्ने गर्छन् । उनीहरू बिच पुन: प्रतिस्पर्धा गराइन्छ । त्यसका लागि आइडलको मञ्चमै कुनै एउटा विषय दिएर ३० मिनेट भित्रमा कविता लेख्न लगाइन्छ । साथमा वाचन पनि । ती दुई मध्ये उत्कृष्ट एक कविको  पोइट आइडलमा यात्रा निरन्तर रहन्छ भने अर्को एक कवि बाहिरिन्छन् । यस किसिमको प्रक्रियाबाट बाहिरिने युग सर्वनाम पहिलो कवि बन्नुभयो । दुई सय पूर्णाङ्कको अन्तिम प्रतिस्पर्धामा कवि सर्वनामले १४४ अङ्क र कवि गुरुङले १५४.५ अङ्क प्राप्त गर्नुभएको थियो । यसको मूल्याङ्कन चार जना निर्णायकहरुले गर्नुहुन्छ ।

कवि युग सर्वनामको स्थायी बसोबास रोल्पा भए पनि हाल काठमाडौँमा रहँदै आउनु भएको छ । उहाँको जन्म रोल्पाकै सुनछहरी गा.पा. -६ फगाममा वि.सं. २०५५ साल माघ १२ गते भएको थियो । कस्तो संयोग पर्न गएछ यसपालि, उहाँको जन्मदिनकै दिन कवि सर्वनाम पोइट आइडलबाट बाहिरिनुभयो । माता कुन्ती पुन र पिता नल बहादुर पुनका उहाँ कान्छो छोरा हुनुहुन्छ । २० वर्षको उमेरबाट कविता लेखनको यात्रा सुरु गर्नुभएका कवि सर्वनाम प्रेमप्रतिको पागलपनले आफूलाई कवितामा ल्याइपुर्याएको बताउनुहुन्छ । प्रेमको ह्याङओभर सकिए पनि कविताप्रतिको पागलपन भने रहिरहने उहाँ उल्लेख गर्नुहुन्छ । यिनै कवि सर्वनामसँग समग्रमा पोइट आइडलको यात्रा कस्तो रह्यो त ? भन्ने विषयमा मैले उहाँसँग छोटो कुराकानी गरेको थिएँ । साथै आगामी दिनमा हरेक हप्ता आइडलबाट बाहिरिँदै जाने कविहरुसँग यसरी नै कुराकानी गरिनेछ ।

१) अहिले कस्तो लागिरहेको छ ?

– मलाई केही लागिरहेको छैन । म पहिले जस्तै नर्मल अवस्थामै छु ।

२) आइडलबाट बाहिरिँदै गर्दा  “म आउट भएँ” भनेर सोच्नु भयो कि “हैन, यहाँसम्म भए पनि म आइपुगेँ” भनेर चित्त बुझाउनु भयो ?
– यहाँसम्म आएर आफूलाई चित्त बुझ्दो कविता लेखेँ । केही अग्रज र समकालीन साथीहरूलाई यसले कविता लेख्छ है भन्ने विश्वास दिलाउन सकेँ । म आउट भएँ भनेर मन दुखाएको छैन ।

३) कवि नीलम गुरुङसँगै बटम 2 मा आफू पनि पर्दा के सोच्नु भएको थियो ? यो भन्दा अघि जान्छु/जाँदिन के लागेको थियो त्यतिबेला ?

-केही सोचिन । म खेलाडी हो । यो मैदानमा मैले मेरो विपक्षीलाई टक्कर दिन आको हुँ । म यो बाजी सकेसम्म आफ्नो पोल्टामा पार्छु भनेर सकेको आफ्नो बल प्रयोग गरेँ ।

४) बटम 2 मा परेपछि एउटा फोटो देखाइएको थियो र त्यस फोटोमाथि ३० मिनेट भित्रमा कविता लेखिसक्नु पर्ने थियो, कत्तिको गाह्रो महसुस गर्नु भयो ?

“खाए खा, नखाए घिच” हो नि त । गाह्रो त परिहाल्छ नि । हा ! हा !….

५) आइडलमा हरेक हप्ता एउटा विषय दिइन्छ । त्यसैमा केन्द्रित रहेर कविता लेख्नु पर्ने हुन्छ । अनि बटम 2 मा पर्नेहरुलाई पनि कुनै विषय दिइन्छ । त्यसमा कविता लेख्नु पर्छ । कविता लेखाउने पोइट आइडलको यो तरिका कस्तो लाग्यो ?

– गजब नै लाग्यो । किनभने हामी आफूलाई परिस्थिति अनुसार ढाल्न सक्दैनौँ भने त किन प्रतिस्पर्धामा जानु पर्‍यो र ? पोइट आइडलको सन्दर्भमा । तर मुड अनुकूल लेखिरहेका हामीलाई केही असहज र डर महसुस चाहिँ भयो, कतै यो कवितामा कवित्व नआउने पो हो कि ? भनेर ।

५) अबको तपाईंको कविता लेखन यात्रा कसरी अघि बढ्ला ?

– अझै चुनौती र जिम्मेवारपूर्ण तरिकाले अघि बढ्छ ।

६) हिजोको कवि युग सर्वनाम र अहिले आइडलपछिको कवि युग सर्वनाममा केही परिवर्तन त भइसकेको छ । यो परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?

– त्यति धेरै परिवर्तन त पाएको छैन । किनभने आफूलाई अझै एस्प्लोर गर्ने मौका नै पाइनँ । केही परिवर्तन भने भयो । जस्तैः कविताकै कुरा गर्दा विविधतामा बाँच्नु पर्छ भन्ने महसुस भयो । अरुलाई पनि स्वीकार गर्नु पर्छ भन्ने भएँ । नत्र आफ्नो क्राफ्ट्को मात्र कविता हो भन्ने मानसिकता बोकेको मान्छे हुँ म । फरक-फरक व्यक्तिहरूसँग कसरी आफूलाई एड्जस्ट गर्ने भन्ने लगायत कुराहरूमा आफूलाई सुधार्ने मौका पाएँ ।

७)  पोइट आइडलको खरो रुपमा विरोध गर्ने केही साथीहरूले पनि तपाईंलाई भोट गरेको भनेर सार्वजनिक रुपमै घोषणा गर्नुभएको थियो । के भन्नुहुन्छ उहाँहरूलाई ?

-पोइट आइडल टिमले मलाई विषेश धन्यवाद दिनुपर्छ,  जो मैले त्यस्तो माहोल बनाउने कोसिस गरेँ । हा हा हा………

८) केही समयसम्म आइडलको क्लोज क्याम्पमा बस्नु भयो, कस्तो थियो त्यहाँको माहोल चाहिँ ?

-दामी भयो । विभिन्न ठाउँबाट प्रतिनिधित्व गरेर आउनु भएका आ-आफ्नो क्राफ्ट्मा कविता लेख्ने सर्जकहरूसँग घुलमेल भइयो । आ-आफ्नो धारणाहरू मज्जाले राख्न पाइयो । समग्रमा धेरै राम्रो भयो ।

९) १४ जना कविहरु नै एक अर्काको प्रतिस्पर्धीको रुपमा हुनुहुन्थ्यो । आपसी सम्बन्ध चाहिँ कस्तो रह्यो एक अर्कामा ?

– मेरो तर्फबाट त सबैसँग समान व्यवहार नै भयो । राम्रो नै गरे जस्तो लाग्छ । अरु साथीहरूको मनमा चाहिँ पस्न सकिन्न । हा हा… । तर जहाँसम्म लाग्छ उहाँहरू पनि सकारात्मक नै हुनुहुन्छ ।

१०) चार जना निर्णायकहरु हुनुहुन्छ । उहाँहरू मध्ये कुनै निर्णायकको यो कुराले चाहिँ  एकदमै प्रभावित  भएँ भन्ने त्यस्तो केही छ ?

– यसरी एक जनाको मात्र नाम लिएर अरुलाई कसरी बाइकट गर्न सक्छु र ? चारै जना जजहरूको कुराहरूलाई शिरोपर गर्नेछु/गरेको छु ।

११)  द पोइट आइडल हुँदैछ भनेर कहिले/कसरी थापा पाउनु भएको थियो ? र यो समाचार पहिलो पटक सुन्दा/पढ्दा कस्तो महसुस गर्नुभएको थियो ?

– सोसल मिडियाबाटै थाहा भएको थियो । मलाई कुनै पनि प्रकारको रियाक्सन भएन । तर कताकता विरोध चलिरहँदा चाहिँ नजाऊँ की ? भन्ने पनि लागेको थियो ।

१२)  द पोइट आइडलमा भाग लिएर कहाँसम्म पुग्छु भन्ने सोच्नु भएको थियो  सुरुमा चाहिँ ?

– कतै न कतै ।  डिजिटल अडिसनबाट छानिन्छु होला जस्तो नै लागेको थिएन । म त्यहीँसम्म पुग्छु भन्ने कुनै पूर्व-योजना थिएन । जहाँसम्म पुग्छु, राम्रो गर्छु भन्ने मानसिक तयारीमा मात्र थिएँ ।

१३) पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धि ?

– नसिक्नु पर्ने कुरा सिकेँ । कवितामा पनि ड्रामा, अभिनय आदिआदि हुन्छ भनेर । हा हा…

१४) समग्रमा पोइट आइडलको यात्रा कस्तो रह्यो ? र पोइट आइडललाई सम्रगमा कसरी हेर्नुहुन्छ ?

– यात्रा एकदमै दामी रह्यो । पोएट आइडललाई सकारात्मक रुपमा नै लिन्छु । नराम्रा कुराहरू पनि धेरै होलान् ।  तर हामीले जहिल्यै नराम्रो कुराहरूको मात्र प्रोमोट गर्‍यौँ । म चाहिँ राम्रो कुराहरू मात्र प्रोमोट गरौँ भन्नेमा छु । यसको बारेमा अहिले लेखेर साध्य छैन । कति राम्रा छन्-छन् ।