१. आमुख
गीतलाई छुट्टै विधा मान्नुभन्दा कविताकै एउटा उपविधा मान्नु उचित देखिन्छ। यसमा मानसिक अवस्थाको तीब्र अभिव्यक्ति हुन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, गेयात्मकता, सङ्गीतात्मकता, भावुकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार जस्ता तत्त्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, वैयक्तिकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादिजस्ता विशेषता रहेका हुन्छन्। गीतमा कोमल र मधुर शब्दहरूबाट मानिसका मर्म खोतल्न सक्ने सामर्थ्य हुन्छ। मानिसको जीवनमा खुसी र दुःखका अनेक कारण हुन्छन्। यस्ता खुसी र दुःखलाई गीतले सही अभिव्यक्ति दिन सक्छ भन्ने आम धारणा छ।
साहित्यमा कवितारूपी वंशको ठुलो परिवार देखिन्छ। साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौँ हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन्। कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ। यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो। गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ।
गीत एउटा लयात्मक संरचना भएको उपविधा हो। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन सङ्गीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट सङ्गठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूले त्यस स्थायीलाई पुष्टि गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा १) भाव वा विचार २) उद्देश्य ३) भाषा र ४) शैली। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ।
===
२. नेपाली गीतको सन्दर्भमा भारत –
नेपाली गीतको फाँटमा भारतका प्रतिभाहरूको योगदान अत्यन्त उल्लेखनीय छ। चाहे गीत लेखन होस्, चाहे सङ्गीत पक्षमा वा गायनको क्षेत्र होस्, यहाँबाट ठुलो योगदान रहेको पाइन्छ। बीसौँ शताब्दीको सुरुदेखि नै भारतमा नेपाली सङ्गीतको इतिहास पाइन्छ। नेपाली गीतको प्रारम्भतिरका मित्रसेन थापा, बहादुरसिंह बराल देहरादुनका थिए। उनीहरूले गीतको माध्यमद्वारा नेपाली समाजको जागरण, धार्मिक सन्देश दिन्थे। नेपाली सङ्गीतको अमर सङ्गीतकार गोपाल योन्जन, अम्बर गुरुङ, शान्ति ठटाल, प्रकाश गुरुङ, दिव्य खालिङ, अरूणा लामा, दिलमाया खाती, डेजी बराइली, दावा ग्याल्मो आदि दार्जिलिङकै हुन्। असममा पनि नेपाली सङ्गीत उचाइँमा पाइन्छ।
२.१. भारतमा नेपाली गीत लेखनको कालक्रमिक चरण विभाजन –
नेपाली गीत लेखनका क्षेत्रमा भारतबाट धेरैजना रहेका छन्। यसो त प्रायः सबैजसो सङ्गीतकारले गीत लेखेकै हुन्छन्। यस्तो अवस्थामा यो छोटो लेखमा सबैको नामोल्लेख गरेर साध्य छैन। यद्यपि उपलब्ध केही गीतकारहरू हुन्- हाँसे, चौदे, गीता चहार, कार्तिके, पुरणसिंह नेपाली, एल टी लामा, कालुसिंह गहतराज, भैयासिंह, मानध्वज गुरुङ, अम्बर गुरुङ, फटिकधर ब्राह्मण, कालुसिंह गहतराज, हर्कबहादुर कुमाई, डोरोथी सितलिङ, मनबहादुर सुन्दास, माया ठटाल, एस रविदास, गोपाल योन्जन, गगन गुरुङ, पुरण गुरुङ, मनबहादुर गुरुङ, अगमसिंह गिरी, लक्खीदेवी सेवा, नवीन बरदेवा, जितेन्द्र बरदेवा, एस रविदास, एम बी सुन्दास, आई. के. सिंह, दलसिंह गहतराज, बी बी. मुखिया, गोविन्दसिंह घतानी, काजीसिंह विद्यार्थी, मनबहादुर मुखिया, दिव्य खालिङ, शिलाबहादुर मोक्तान, पी. अर्जुन, दलसिंह अकेला, नन्द हाङखिम, जस योन्जन प्यासी, नरबहादुर तोया, मदन ओझा, चन्द्रमित लक्सम, शान्ति ठटाल, शशि ठटाल, प्रतापसिंह लोहार, केसाङ लामा, सन्तवीर लकान्द्री, पासाङ बाङबल, हिमानन्द खाती, बिसासन लामा, तेजेन्द्र गुरुङ, शरण प्रधान, नरदेन रुम्बा, नोर्ज्याङ स्याङ्देन, चन्द्रकला नेवार, अविनाश श्रेष्ठ, कृष्णनारायण प्रधान, पवन चामलिङ किरण, रूद्र पौड्याल, राजेन घिमिरे, सचिन सिंह, ब्राइन मोक्तान, सी के श्रेष्ठ, कुसुम गजमेर, कपिलराज सुब्बा, सन्तवीर लकान्द्री, अशोक राई, तुलसी गजमेर, तुलसी घिमिरे, शरण प्रधान, मङ्गलसिंह गुरुङ, हरिमदन गुरुङ, सागर थापा, ललित न्यासुर, डी बी घिसिङ, पासाङ बाङबल, कालुसिंह गहतराज, बलु बराइली, गोपाल भण्डारी, लक्ष्मण श्रीमल, पवन नामदुङ, सुरेन्द्र थिङ, मनदीप लामा, खेमनारायण सुब्बा, अजीत बस्नेत निराशा, रञ्जीत सुब्बा, मनप्रसाद सुब्बा, शरण खालिङ, मोतीकुमार राई, कालुसिंह रनपहेँली, श्याम प्रधान,पुष्प राई, पुरण गिरी, पुष्कर पराजुली, केवलचन्द्र लामा, उदय सोताङ, असीम सागर, दावा पाखरिन, कृष्ण प्रधान, विपिन स्याङदेन, सञ्जय बान्तवा, पी बी प्रधान, जीवन राई, कमल रेग्मी, सतीश छेत्री, अजनीश राई, शान्ति थापा, पूर्ण बान्तवा, सुरज मोक्तान, वासुदेव पुलामी, कर्ण थामी, ध्रुब चौहान, विनोद स्याङदेन, अनित खाती, सुदर्शन तामाङ, अमर रसाइली, मधुसूदन लामा, योगेन्द्र घतानी, सरोज कार्थक, अनिल राई, सिलभेस्टर सितलिङ, ब्रायन मोक्तान, दिलीप भुजेल, दीनदयाल अगरवाल, प्रशान्त धमाला दोषी, जय क्याक्टस, सरिता समदर्शी, प्रदीप लोहागुण, अल्बर्ट गुरुङ, मपन परियार, मोहन हिङमाङ, भवानी बागदास, विमल गजमेर, पेमा वाङदी, आनन्दराज प्रधान, सरिता प्रधान, रामलाल त्रिखत्री, दोर्जी लेप्चा, तुलसी गजमेर, तुलसी घिमिरे, शशि सुनाम, डेनिश कार्थक, रोबर्ट सुब्बा, राजेन घिमिरे, राजु घिमिरे, अनुराधा गजमेर, गञ्जवीर गुरुङ, अरूणप्रकाश राई, विलियम योन्जन, मणिकुमार रसाइली, उज्ज्वल बमजन, कमल रेग्मी, पुरण थापा, दिपेन राई, सुमन प्रधान, अजय राई, सुवास सोताङ, सूरज रोसूरी, अरूण साङपाङआदिको नाम स्मरणीय छ।
२.२.सिक्किममा नेपाली गीत लेखन परम्परा–
यता सिक्किमेली गीतकारहरूको सूची पनि लामो छ। बली सुब्बा (गीतसङ्ग्रह गीतै भो आधार,१९९७), दुश्यन्त लामा, तुलसी कश्यप (कलाकमल १९६७) देवीप्रसाद कौशिक (गीतसङ्ग्रह सुस्केराहरू, १९७०), चन्द्रबहादुर सुवेदी (गीतसङ्ग्रह हारेको कर्म, १९७०),शैलेशचन्द्र प्रधान (मेरा कविताहरू मेरा गीतहरू २००३), टीबी चन्द्र सुब्बा, दुःखसागर, १९९८), पवन चामलिङ किरण, (मान्छेको साइनो २००८, मेरो मुर्छना, मुस्कानको भाषा), सानु लामा (जहाँ बग्छ टिस्टा रङ्गीत,२००१), कृबु संयमी (गीतसङ्ग्रह गीतगङ्गा,२००९), बी बी सुब्बा, चुनिलाल घिमिरे, सानुभाइ शर्मा, कृष्णनारायण प्रधान, रूद्र पौड्याल, डा रत्नकमल देवान, यता सिक्किमेली गीतकारहरूको सूची पनि लामो छ। बली सुब्बा (गीतसङ्ग्रह गीतै भो आधार,१९९७), दुश्यन्त लामा, तुलसी कश्यप (कलाकमल १९६७), देवीप्रसाद कौशिक (गीतसङ्ग्रह सुस्केराहरू, १९७०), चन्द्रबहादुर सुवेदी (गीतसङ्ग्रह हारेको कर्म,१९७०),शैलेशचन्द्र प्रधान (मेरा कविताहरू मेरा गीतहरू २००३), टीबी चन्द्र सुब्बा, दुःखसागर, १९९८), पवन चामलिङ किरण, (मान्छेको साइनो २००८, मेरो मुर्छना, मुस्कानको भाषा), सानु लामा (जहाँ बग्छ टिस्टा रङ्गीत,२००१), कृबु संयमी (गीतसङ्ग्रह गीतगङ्गा,२००९), बी बी सुब्बा, चुनिलाल घिमिरे, सानुभाइ शर्मा, कृष्णनारायण प्रधान, रूद्र पौड्याल, डा रत्नकमल देवान, बेन्जामिन राई,मधुसूदन लामा, ध्रुव लोहागन, पूजन लोहागन, पूर्ण राई, भानु रामुदामु, दयानन्द सापकोटा-कृपानन्द सापकोटा (गीतसङ्ग्रह नन्द–नन्दन,२००९), विक्रम गौतम, प्रद्युम्न श्रेष्ठ आदि हुन्।
यसै गरी २००८ मा स्वर सिक्किमको तत्त्वावधानमा आयोजित गीत लेखन प्रतियोगितामा सङ्कलित गीत-सङ्ग्रह गीत मञ्जरी पनि एउटा उल्लेखनीय रहेको छ। यसमा विभिन्न गीतकारका (क) र (ख) गरी दुईवटा खण्ड छन् भने खण्ड (क) मा सिक्किम विषयक छत्तीसवटा र खण्ड (ख) मा विभिन्न विविध विषययुक्त एकसय तेत्तीसवटा गीत सङ्कलित छन्। भारतीय परिप्रेक्ष्यमा यो गीतसङ्ग्रह अत्यन्त महत्त्वपूर्ण छ। रूद्र पौड्याल,हरि ढुङ्गेल, कमल दाहाल आदिका गीतसङ्ग्रह पनि प्रकाशित छन्।
२.३.पूर्वाञ्चल भारतबाट नेपाली गीत लेखन-
आसामलगायत अन्य पूर्वाञ्चल प्रान्तबाट पनि धेरै मात्रामा गीत लेखिएका देखिन्छन्। यद्यपि तिनका यथोचित अध्ययन गरिएको छैन। त्यता पनि फुटकर रूपमा गीत लेख्ने गीतकार धेरै भए तापनि गीतलाई सङ्कलन गरिएका आधार लिन सकिन्छ। सन् १९५६ सालमा विपिनदेव ढुङ्गेलद्वारा सम्पादित गीतमालामा आसामका हरिनारायण उपाध्याय र अन्यको गीतहरू प्रकाशित भएका थिए। गङ्गाधर खतिवड़ा, प्रेमसिंह सुवेदी (गीतसङ्ग्रह तीजको मैदानमा बैनीको आँसु, १९५५) गोकुलप्रसाद जोशी (गीतसङ्ग्रहहरू भविष्य,१९५९, सिमानाको द्वीप, १९६३), गोविन्द शर्मा गौतम (गीतसङ्ग्रह हिमालको फूल, १९५८) इत्यादि गीतकारहरू हरिभक्त कटुवालभन्दा अघिल्ला पिढ़ीका गीतकार हुन्। हरिभक्त कटुवाल आसामका केन्द्रविन्दु र शीर्षस्थ नेपाली गीतकार हुन्। उनीपछिका रणवीर गिरीको चरी भरर (१९७५), टिकाराम उपाध्याय (गीतसङ्ग्रह राग अनुराग, १९७७), कुलबहादुर छेत्री (गीतसङ्ग्रह गीत मञ्जरी,१९८३), हरिप्रसाद गोर्खा राई (गीतसङ्ग्रह मनचरीको बोली), दुर्गाप्रसाद घिमिरे (गीतसङ्ग्रह धुक्धुकी, १९८३), गोमा शर्मा (गीत-सङ्ग्रहहरू केवल तिम्रो निम्ति,१९८६, तिम्रो प्रेरणा,१९८६), रणबहादुर छेत्री (नौला गीत नौला कविता, १९८६), गुरुभक्त धिताल (गीतसङ्ग्रह मेरा पिर मेरा गीत, १९८८), तुङ्गनाथ नेपाल (गीत सङ्ग्रहमाधुरी,१९९१), टीका भट्टराई (गीतसङ्ग्रहहरू यहाँको ढुङ्गा र माटोले भन्छ (१९९१), मन्थन हृदय क्रन्दन अभिव्यक्ति (२००४) बद्री गुरागाईँ (गीतसङ्ग्रह गीतायन,२०००), चक्रपाणी शर्मा (गीतसङ्ग्रह सयपत्री) नव सापकोटा, डा. शान्ति थापा (गीतसङ्ग्रहमाया, २००४),जीतबहादुर सुनार (गीतसङ्ग्रह तिम्रो घुम्टोभित्र, २०१२), कुलप्रसाद सेँढाइँ (शतगीति मालिका (२०१२), तुङ्गनाथ नेपालका यहाँ यस्तै छ र माधुरी, कबीरसिं छेत्रीको बध्यभूमिका अँध्यारा रातहरू, कृष्ण क्षेत्रीको गीत सरगम आदि हुन्।
यीबाहेक लोकनाथ सुब्बा, किशोर गिरी, बुद्धिमान प्रधान, विजयकुमार राणा, हरि दवाडी, हरि गजुरेल, कृष्ण मिझार, चन्द्रकला नेवार, आरती नेवार, मुक्तिनाथ उपाध्याय, मुन्नी सापकोटा, मैना थापा आशा आदि गीतहरू छन्। यसो त धेरै सङ्गीतकारहरूले गीत लेखेका छन् तर गीतकारकै रूपमा अलग्गै पहिचान बनाउने प्रतिभाहरू पनि धेरै छन्। आकाशवाणी गौहाटीबाट मान्यताप्राप्त नेपाली गीतकार पनि अझै धेरै छन्, तिनको खोजी गर्नु बाँकी नै छ।
===
३. भारतका केही प्रमुख गीतकारहरूको संक्षिप्त परिचय-
३.१.मित्रसेन थापा- ३.१.मित्रसेन थापा- सन १९४० रेकर्डिङ भएको ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्री बैनीले’ भन्ने गीत निकै लोकप्रिय भएको थियो जुन मित्रसेन थापाले गाएका, सङ्गीत दिएका र लेखेका हुन्। उनी नेपाली साङ्गीतिक जगतका एक अविष्मरणीय व्यक्तित्व हुन्। उनी आधुनिक नेपाली गीतका प्रारम्भिक अवस्थाका एक कारीगर हुन्। उनी नेपाली गीतमा जातीय, आध्यात्मिक, राष्ट्रिय, सामाजिक जागरणको सन्देस दिँदै भाक्सू र देहरादुनतिर सन्देश दिने गर्थे। उनका अनेक गीतगजल, भजन लोकप्रिय भएका हुन्। उनले तीसवटा भन्दा बढ़ी गीतहरू रेकर्ड गरेका थिए। उनको अति प्रसिद्ध गीत – ‘लाहुरेको रेलीमाई फेसनै राम्रो, रातो रुमाल रेलीमाई खुकुरी भिरेको’ अहिले पनि सबै गीत-प्रेमी नेपालीको आइकोन-गीत बनेको छ।
३.२. बहादुरसिंह बराल- मित्रसेन थापाकै समकालीन बहादुरसिंह बराल पनि प्रारम्भिक-कालीन गीतकार थिए। उनका पाँचवटा भागमा विभाजित बरालको आँसु (सन् १९३२) गीतसङ्ग्रह प्रकाशित छ। यस सङ्ग्रहमा उनका र अन्य साथीहरूका गरी जम्मा २०५ वटा गीत सङ्ग्रहित छन्। उनका गीतमा आफ्नो जातिकोले समुन्नति गर्न नसकेकोमा चिन्ता, जाति सुध्रनु पर्ने आवश्कता, नारीको पतिव्रता धर्म पालन गर्नुपर्ने कर्तव्य, नरनारीका शृङ्गारिक अभिव्यक्ति पाइन्छन्।यसरी नै देशभक्ति, नैतिकता, आध्यात्मकता, ईश्वरभक्तिले भरिएका बरालका गीतहरू गायनका निम्ति पनि उपयुक्त छन्।
३.३. अगमसिंह गिरी– नेपाली गीत लेखनमा एक उल्लेखनीय नाम हो अगमसिंह गिरी। विशेष गरी कवितामा उनको नाम बढी आए तापनि गीत लेखनमा पनि उनको स्थान सुरक्षित छ। उनका प्रायः जसो कविता नै गीत जस्ता सरल, कोमल, गेय र प्रगीतात्मक छन्। गीत लेखन कै हिसाबले उनका २०-२२ वटा जति छन् यद्यपि उनका जलेको प्रतिबिम्ब रोएको प्रतिध्वनि, आत्मव्यथा जस्ता कविता-सङ्ग्रह तथा याद, आँसु र युद्ध र योद्धाजस्ता खण्डकाव्यहरू नै गीत कै हाराहारीमा छन्। उनको दार्जिलिङको माया, नौलाखे तारा उदाए, बनपाखा चहारेर सुसेलीमा गाएको जस्ता गीतहरू अमर छन्। उनका गीतमा चरम नैराश्य, प्रेमपीड़ा, प्रेमानुराग, जाति प्रेम, नेपाली र पितृभूमि प्रेम, दार्जिलिङ प्रेम इत्यादि रहेको छन्। अति कोमल र संवेदनशील हृदयबाट उब्जिएको विभिन्न भाव नै उनको गीत लेखनको अभिप्राप्ति हो। अम्बर गुरुङले गाएको नौलाखे तारा उदाए भन्ने गीत निकै चर्चित बन्यो। यसमा उनी दार्जिलिङलगायत भारतमा नेपालीहरूको स्थिति सन्तोषजनक नभएको गुनासो व्यक्त गरेका छन्। यसलाई नेपाली क्षैतिजीय साहित्य (Diasporic writing) को कोटीमा राख्नसकिन्छ। उनका गीतहरू अम्बर गुरुङ, मनबहादुर गुरुङ आदिले गाएका छन्। गीतमा आक्षरिक छन्द, शब्द-शय्यागत संयोजन, एकोन्मुखता, लयगत स्वच्छन्द प्रवाह, संक्षिप्तता, मुक्त लयात्मक प्रस्तुति नै उनको गीति-लेखनका वैशिष्ट्य हुन्।
३.४. हरिभक्त कटुवाल जन्म १९३५, मृत्यु १९८३)- नेपाली गीत लेखनका क्षेत्रमा हरिभक्त कटुवाल एउटा अभिन्न, विशिष्ट र अविष्मरणीय नाम हो। उनका सम्झना (१९६०), बदनाम मेरा यी आँखाहरू (१९९७ मा भीमकान्त ढुङ्गानाको सम्पादनमा रहेको कटुवालका कविता र गीतसङ्ग्रह), यो जिन्दगी खै के जिन्दगी (कविता र गीतसङ्ग्रह,१९७२) जस्ता कृतिहरू विशेष गरी गीत प्रकाशनमा देखा पर्छन्। उनी आफूले देखे-भोगेका कुराहरूलाई प्रभावकारी ढङ्गमा गीतमा व्यक्त गर्न सक्छन्। उनका गीतहरू स्वच्छन्दतावादी भए पनि बढी मात्रामा चाहिँ शृङ्गारिक भाव धाराका छन्। जीवनलाई उनले निराशाको दृष्टिकोणबाट नै बढी हेरेका छन्।देशप्रेम, जातिप्रेम पनि उनका गीतको स्वर हुन्। कटुवालका गीतमा जीवनलाई घाम-छायाँका रूपमा चित्रण गरिएको पाइन्छ कपनै गीतमा उनी भाग्यवादी, कुनैमा कर्मवादी देखा पर्छन्। (कृष्णहरि बराल, पृष्ठ ६८),‘पोखिएर घामको झुल्का’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘हाँगा हाँगा वैंशभरि चैत फुलेछ’, ‘यो देशको माटोले भन्छ’,‘मेरो यो गीतमा जुन मूर्च्छना छ’, भन्ने उनका अमर गीत हुन्।
३.५. अम्बर गुरुङ (जन्म १९३८)- नेपाली साङ्गीतिक फाँटमा अम्बर गुरुङ एक उज्ज्वल नक्षत्र हुन्। उनी एक सङ्गीतकार, गायक र गीतकार हुन्। उनले थुप्रै गीतहरू लेखेका छन्। सन् १९६९ मा प्रकाशित गीतिसङ्गालो‘सम्हालेर राख’मा उनका एकाउन्नवटा गीतहरू रहेका छन्। उनी खासगरी एक सङ्गीतकार भएकाले उनका गीतमा साङ्गीतिक बढी पाइन्छ र सबै नै गायनयोग्य छन्। उनका गीतमा प्रेमका रमाइला भाव शिष्ट ढङ्गले व्यक्त भएका छन्। उनका गीतमा आफ्नी मायालुलाई ज्योतिका रूपमा हेरिएको छ। प्रेमलाई आसाको रूपमा हेरिएको छभने कतै विरह वेदनाका रूपमा पनि लिइएको छ। कतै देशप्रेम पाइन्छ भने कतै आफ्नै देशमा बस्दा पनि पराय हुनुको पीड़ा, जाति प्रेम, मानवता, प्रेमका रोमान्टिक पक्षका साथै जीवन र जगत्का यथार्थता इत्यादिलाई मूल विषयवस्तुका रूपमा लिएका छन्। शाब्दिक र आक्षरिक कोमलता, भावगत एकान्विति, एकाग्रता, वैयक्तिकता, शब्दशय्यागत सचेतता उनका गीतका अभिप्राप्ति हुन्। उनका अधिकांश गीतहरू सङ्गीतसँगसँगै लेखिएकाले लयको प्रवाह गायनकै क्रममा मिल्ने प्रकारको देखिन्छ। कतिपय गीत चाहिँ मुक्त ध्वन्यात्मक लयमा पनि आवद्ध छन्।
३.६. सन्तवीर लकान्द्री (जन्म सन् १९४२-मृत्यु सन् १९८७-८८तिर)- नेपाली गीत लेखनमा अर्को भुल्न नहुने नाम हो सन्तवीर लकान्द्री। सन् १९६२ सालमा अशोक राईले गाएको ‘बैसाखी वनमा फुलको शृङ्गार पातको क्रन्दन छ’ भन्ने गीतले लोकप्रियताको शिखर छोएको थियो। यसमा प्रेम-प्रीतिका विरह सँगसँगै जीवन-दर्शनका गहिराइ पाइन्छ। उनी अगमसिंह गिरीझैँ जातिप्रति अत्यन्त संवेदनशील थिए।
३.७. शरण प्रधान (जन्म-सन् १९४३, मृत्यु-सन् १९७४)-शरण प्रधान दार्जिलिङका एक राम्रा गीतकार हुन्।एकतीस वर्ष मात्र आयु पाएका शरण प्रधानले नेपाली साङ्गीतिक संसारलाई धेरै थोक दिएका हुन्। उनी एक अमर सङ्गीतकार र गीतकार हुन्। उनले लगभग् एक सयजति गीत लेखेका थिए। उनका गीतहरू विशेषगरी उनकै पत्नी अरूणा लामाले गाएकी छन्। उनका केही प्रसिद्ध गीतहरूमा‘हेर न हेर न कान्छा’, ‘नेपाली गौरव गर्छौं आफ्नैपनमा’, ‘यो जोवनलाई घरको माया छ कि छैन’, ‘आँखैमा राखिने योग्य कहाँ छु’,‘छोरी बिग्रे माइतीको नाक जाने’ आदि प्रमुख हुन्। उनका गीतमा देशभक्ति, जातीय गौरव, प्रेमका विभिन्न भाव, जीवनप्रति विविध दृष्टिकोणजस्ता विषयवस्तु रहेका छन्। उनले जीवनलाई कतै अभिशापको रूपमा र कतै वरदानकै रूपमा पनि हेरेका छन्। शब्द-शब्दमा कोमलता, रागात्मक अनुभूति, साङ्गीतिक प्रवाहमा बगेको भावबिम्ब, ध्वन्यात्मक लयात्मकता उनका गीतलेखनका विशेषता हुन्। उनका प्रायः सबै गीतहरू गाइएका छन्।
३.८. गोपाल योन्जन (जन्म-सन् १९४३, मृत्यु-सन् १९९७) नेपाली साङ्गीतिक संसारका एकजना ध्रुवतारा, एक अमेट व्यक्तित्व हुन् गोपाल योन्जन। सोह्र वर्षकै उमेरदेखि गीतलेखन सुरु गर्ने योन्जन एक अब्बल सङ्गीतकार, एक शफल गायक र एक उत्कृष्ठ गीतकार हुन्। गीत समीक्षक कृष्णहरि बरालअनुसार गोपाल योन्जनले लगभग २२५ वटा गीतहरू लेखेका छन्। उनले शास्त्रीय, आधुनिक, लोकगीत, बालगीत, भजन सबैमा गीत लेखेका छन्। उनका प्रसिद्ध गीति सङ्गालो एल्बम निशानी ५२, निशानी ५३, बालगीतसङ्ग्रह गीत मञ्जरी प्रकाशित भएको देखिन्छ।
३.९. जस योन्जन प्यासी (जन्म सन् १९४९, चुङथुङ, दार्जिलिङ)- नेपाली गीत क्षेत्रमा एक चर्चित, उल्लेखयोग्य गीतकार हुन् जस योन्जन प्यासी। हालसम्म उनको बोलाउँ भने तिमीलाई (२०१०) गीतसङ्ग्रह प्रकाशित देखिन्छ भने अर्को गीतसङ्ग्रहएउटा खुल्ला चिठी पनि प्रकाशोन्मुख देखिन्छ। बोलाउँ भने तिमीलाई सङ्ग्रहमा आठ खण्ड रहेका छन्। भजन खण्डमा अठारवटा, आधुनिक गीत खण्डमा चौरासीवटा, आधुनिक युगल खण्डमा आठवटा, देशभक्ति गीत खण्डमा चौधवटा, होली पर्वगीत चारवटा र नयाँ वर्षका गीत खण्डमा चारवटा गरी जम्मा एकसय छप्पनवटा गीतहरू सङ्कलित छन्। उनका गीत र भजनहरू अरूणा लामा, कुमार सुब्बा, दीप श्रेष्ठ, दुर्गा खरेल, रिमला मोक्तान, दावा ग्याल्मो, नम्रता बल, पेमा लामा, दिलमाया खाती, अजनीश, वाङ्गेल लामा, बेन्जामित लेप्चा, सुनिता गजमेर, सङ्गीता राई, सोफिया गुरुङ, विनोद स्याङ्देन, पवन नामदुङ, हिरा रसाइली, महेन्द्र थापा आदिले गाएका छन्।
उनका गीतमा भावगत विविधता, अभिव्यक्तिगत प्रभावकारिता, संक्षिप्तता, कलात्मक प्रस्तुति, विषयगत एकान्विति संवेदनशील उद्गार, प्रतीक प्रयोगमा सचेतता जस्ता विशेषता पाइन्छन्। प्रेमका विभिन्न रूप, देशभक्ति, ईश्वर भक्ति, आध्यात्मिक चेतना, लोकतत्त्व र लोकलयको सन्निवेश, मानव प्रेम, विश्वप्रेम, वैयक्तिक अनुभूति, प्रेमपीड़ा, प्रेममा आसाभन्दा निराशाको पक्षको उद्घाटन इत्यादि उनको गीतका विषयवस्तु हुन्। कतै सांसारिक विसङ्गति र पाखण्डप्रति आक्रोश, कतै एकोहोरो मायाका विभिन्न अनुभूति, कतै विरक्ति, कतै स्वाभिमानका झिल्का, कतै सङ्घर्षको जोस छ। यस सङ्ग्रहमा स्वच्छन्दतावादी र प्रगतिवादी भाव विद्यमान देखिन्छन्। गीतहरू प्रायः प्रथम पुरुष दृष्टिकोणमा आवद्ध छन्। कतै भने ‘तिमी’ को सम्बोधित छ। तामाङ लोकभाका सेलोमा पनि कतिपय गीत रचिएका छन्।
३.१०. नन्द हाङखिम – (जन्म सन् १९४४) नन्द हाँगखिम पनि एकजना राम्रा गीतकार हुन्। उनका २५-३० वटा जति गीतहरू अरूणा लामा, कुमार सुब्बा, उदय सोताङ, देवनारायण प्रधान, शान्ति ठटाल, गौतम गजमेर,अनुपमा प्रधान, सुधीर राई आदिले गाएका छन्। उनले लेखेका भजन पनि प्रसारित भएका पाइन्छन्। उनका गीतमा देशभक्ति भावना, लोकतत्त्व, प्रेम-प्रीतिका विविध पक्ष रहेका छन्। गीतका आन्तरिक लय, गेयात्मकता, कोमल वर्ण प्रयोग, विषयगत, एकोन्मुखताजस्ता पक्षहरू उनका गीतमा पाइन्छ।
३.११. बली सुब्बा– सिक्किमका बली सुब्बा पनि एक उल्लेखनीय गीतकार हुन्। उनको एउटा गीतसङ्ग्रह गीतै भो आधार प्रकाशित भएको देखिन्छ। उनका गीतहरू शान्ति ठटाल, मणिकमल छेत्रीजस्ता साहित्कारहरूले सङ्गीत दिएका छन् भने लोचन भट्टराई, पवित्रा सुब्बा, राजेन्द्र मास्के, लासिमित राई, पवन नामदुङ आदि गायकगायिकाले गाएका छन्। उनका गीतमा जीवनका निराशा, कुण्ठा,वेदनाहरूलाई भावुकतापरक अभिव्यक्ति दिएको पाइन्छ। देशप्रेम, प्रकृति प्रेम र नैसर्गिक भावधारालाई सरल, सहज शैलीमा व्यक्त गर्ने क्षमता गीतकार सुब्बामा देखिन्छ।(दीपक तिवारी, भारतेली नेपाली गीतसाहित्यको परिप्रेक्ष्यमा सिक्किमेली नेपाली गीत, सम्पा दिलकुमार प्रधान, आधुनिक भारतेली नेपाली कविता, वीरपाडा कलेज, २०१२, पृष्ठ-१०४)
३.१२. पासाङ बाङ्बल– नेपाली गीतकारमध्ये पासाङ बाङबल पनि एउटा छुटाउन नहुने नाम हो। उनका गीतहरू सन् सत्तरीको दशकमा नेपाल र दार्जिलिङमा निकै लोकप्रिय र लोक चर्चित थिए। ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउन’ भन्ने गीतले धुमधाम लोकप्रियता पाएको थियो। अरूणा लामा, जितेन्द्र बरदेवा, अम्बर गुरुङ आदिले उनका गीत गाएका हुन्। उनी विशेषगरी निराशाको भावमा गीत लेख्न रुचि देखाउँछन्। आफ्ना कतिपय गीतमा उनले प्रेमीप्रेमिकालाई बत्ती र पुतलीसँग दाँजेका छन्। उनले प्रकृतिको मानवीकरण पनि सुन्दर ढङ्गले गरेका छन्। उनका गीतहरू स्वच्छन्दतावादमा रमेका छन्। उनका गीतमा गीति तत्त्वका समग्र पक्ष विद्यमान छन्। सरल शब्द र भावबाट गेयात्मकता पाइनु यिनको गीति लेखनगत विशेषता हुन्।
३.१३. नरदेन रुम्बा– नेपाली साङ्गीतिक फाँटमा नरदेन रुम्बा एक बिर्सनै नसकिने नाम हो। उनी सन् १९४९ मा जन्मिएर लगभग चालिस वर्ष (सन् १९९०) कै अल्पायुमा निधन भए तापनि केही अमर गीत दिएका छन्। उनका लगभग एक सयवटा जति गीतहरू प्रकाशित भएका छन् भने तीमध्ये धेरैजसो विभिन्न कलाकारले गाएका छन्। उनका गीतहरू नारायण गोपाल, अरूणा लामा, डेजी बराइली, पेमा लामा, मीरा राणा, कुमार सुब्बा, पवन गोले, हीरा रसाइली, दावा ग्याल्मो, दुर्गा खरेल आदिले गाएका र मणिकमल छेत्री, बसन्त छेत्री, चन्दन लोम्जेल, बद्री-दुर्गा खरेल, टाँसी वाङ्चुक आदिले सङ्गीतबद्ध गरेका छन्।उनका गीतहरू उनको देहावसानपछि उनकै धर्मपत्नी श्रीमती साबी रुम्बाले सन् २००६ मा सङकलन गरी प्रकाशमा ल्याइन्।
रुम्बाका गीतमा प्रायः चरम निराशावादी भावना, विरह-व्यथाका विरक्ति, प्रेमपीड़ा जस्ता विषयवस्तु पाइन्छन्। उनी नाटक र फिल्मतिरसमेत कथाको स्थितिले मागेअनुसारको गीत पनि तुरन्तै लेखेर दिनसक्थे। उनी बाँच्न चाहनेहरू, कँही अँध्यारो कँही उज्यालो जस्ता चलचित्र र मृगतृष्णा जस्तो गीतिनाटकमा गीतकार हुन्। उनका गीतमा जीवन, जगत्, भाषा र संस्कृतिबारे विविध भावको अभिव्यक्तिका साथै आध्यात्मिक चिन्तनधाराका भजन पनि पाइन्छन्। उनका गीतमा भावगत एकान्विति, स्वर-ध्वन्यात्मक मुक्त लयविधान, स्वगतकथन, मधुर वर्ण र शब्दको साङ्गीतिक व्यवस्थापन, आन्त्यानुप्रासिक संयोजन, कतै वाक्यगत विचलनजस्ता पक्षहरू पाइन्छन्।
३.१४ं. सानु लामा– आख्यानकार सानु लामा एक कुशल गीतकार हुन्। उनका केही गीतहरू प्रसिद्ध छन्। उनको जहाँ बग्छ टिस्टा रङ्गीत गीतसङ्ग्रहको प्रथम संस्करण 2000 र दोस्रो संस्करण 2020 मा प्रकाशित भएको छ। यसमा जम्मा अड्सट्ठीवटा गीतहरू समावेश छन्। उनका गीतमा प्रमका विभिन्न रागभाव
३. १५. चन्द्रमित लक्सम– चन्द्रमित लक्सम पनि एकजना कुशल गीतकार हुन्। उनका गीतहरू एक समयमा निकै लोकप्रिय थिए। उनका गीतहरू विभिन्न गायक कलाकारहरूले गाएका छन्। उनको गीत लेखनको अध्ययन हुन बाँकी नै छ।
३.१६. अजीत बस्नेत– सङ्ग्रहको रूपमा नभए तापनि अजीत बस्नेतका अनेकौँ गीतहरू विभिन्न पत्रकामा यत्रतत्र छरिएका पाउँछौँ। उनका गीतमहरू धेरै गीति एल्बममा गायनका रूपमा आएका छन्। उनका गीतमा जीवनको नैराश्य, पीडा, प्रेमका स्वाभाविक उद्गार, मानवता प्रेम, विस्व शान्तिको कामना, युगीन यान्त्रिक जीवनप्रति असहमति जस्ता भाव अभिव्यक्त भएको पाइन्छ। उनका गीतमा मनमा मुक्तलयात्मक शैली, कोमलता एकोन्मुखता, एकरसता, जस्ता पक्ष पाइन्छन्।
३.१७. सी के श्रेष्ठ – नेपाली गीत लेखनका क्षेत्रमा श्री सी. के. श्रेष्ठको नाम पनि उल्लेखनीय छ। उनका केही गीतहरू चलचित्र र नाटकतिर गाइँदै आएको पाइन्छ। उनको छुट्टै रूपमा गीतसङ्ग्रह नभए तापनि बनमारा (जनवरी, २०१५) नामक कवितात्मक पुस्तकमा उनका जम्मा पैतालिसवटा जति गीतहरू पनि समावेश छन्। उनका गीतहरूमा देशप्रेम, जातीय आस्तित्विक चेतना, चियाबारीको श्रमिकहरूका समस्या उठान, जीवन दर्शन, प्रेम-प्रीतिका विभिन्न पक्ष, राजनैतिक व्यङ्ग्य चेतना, जीवनका अनेक पाटाहरूका अङ्कन, पर्यावरण चेतना आदि कुरा पाइन्छन्। हाम्रो देशमा गोर्खाहरूको आफ्नै इतिहास र अस्तित्व छ तर राष्ट्रको मूलधारामा नअँगालिएको स्थिति देखेर उनी क्षुब्ध बनेको छन्। यस्तो व्यवहारबाट एकप्रकारले आक्रोश व्यक्त गरेका छन्। उनका गीतहरूमाआसाका भावहरू नै बढी मात्रामा पाइन्छन्। देशको राजनैतिक व्यवस्थाले हाम्रो अस्तित्वमा शङ्का गरे उनी यसरी हाँक दिन्छन् –
हाम्रो भाग्य भावीले लेखेन त के भयो
हाम्रो व्यथा विश्वले देखेन त के भयो
आफ्नो भाग्यरेखा आफ्नै हातले कोर्नेछौँ
बाधा बनी उभिए चट्टान पनि फोर्नेछौँ। (बनमारा पृष्ठ १८२)
उनका गीतहरूमा मानवको असीम सिर्जना शक्तिमाथि आस्था छ। उनका गीतहरूमा शाब्दिक कोमलता, गेयात्मकता, ठेट शब्द प्रयोग, आनुप्रासिक आनुषाङ्गिकता, आवृतिगत सौष्ठव, विषयगत एकोन्मुखता जस्ता गुण र विशेषता पाइन्छन्। यद्यपि यसमा गीतमा हुनुपर्ने रागात्मकता, कलात्मकताभन्दा व्यङ्ग्यात्मकता बढी झल्किन्छ।
३.१८. मधुसूदन लामा – कालिम्पोङका एक चर्चित गीतकार हुन् मधुसूदन लामा। उनी आफै एक कुशल सङ्गीतकार हुनाले गीत लेखनमा चाहिने विशेषता र लक्षणप्रति पूर्ण सचेतता पाइन्छ। उनले लेखेका सयभन्दा धेरै गीत विभिन्न गायक गायिकाहरूले गाएका छन्। उनका गीतमा प्रेम-प्रीतिका मिलन विछोड, राग-विराग सबैलाई समेटिएका हुन्छन्। यीबाहेक सार्वभौमिक शाश्वतता, जातीय जागरण चेतना, जस्ता विषय पनि उनका गीतका खथ्यका रूपमा पाइन्छन्। गीतमा हुनुपर्ने विषयगत एकोन्मुखता, रागात्मकता, गेयात्मकता, वैयक्तिकता, कोमल अनुभूति तथा सुमधुर वर्ण प्रयोग, ताल-मात्रासित शब्दको कुशल तालमेल र आनुषाङ्गिक आनुप्रासिकता आदिले उनका गीतहरू सफल छन्। हालसम्म उनको एउटा गीतसङ्ग्रह तरल आकार (२०१४) प्रकाशित देखिन्छ।
३.१९. तुलसी घिमिरे – नेपाली चलचित्र जगत्का ख्यातिप्राप्त निर्देशक र अभिनेता कालिम्पोङका तुलसी घिमिरे एक अब्बल गीतकार पनि हुन्। उनका गीतहरू विभिन्न चलचित्रमा गायन भएको पाइन्छ। उनका गीतहरू चलचित्रको कथाअनुसार पनि उपयुक्त हुन्छन्। जातीय स्वाभिमान र अस्मिताको स्वर, संस्कृतिप्रेम, स्थानीयताको वर्णनबाट सार्वभौमिकताको खोज, गेयात्मकता, संवेदनशीलता आदि उनका गीत लेखनका विशेषता हुन्। उनले रचेका गीतहरू नारायण गोपाल, आसा भोँसले, सचिन सिंह, उदितनारायण झा आदिले गाएका छन्। उनको गीतको एउटा नमूना-
वीरताको चिनो वीरको सन्तान
सहिदको रगत लाहुरेको निसानी।
३.२०. पुरण गिरी– नेपाली गीति फाँटका एक सफल गीतकार हुन् पुरण गिरी। आजसम्म उनको एउटै गीत-सङ्ग्रह जिन्दगीको लयान्तर सन् २००८ मा प्रकाशित भएको देखिन्छ। उक्त गीतसङ्ग्रहमा जम्मा एक सय आठवटा गीतहरू समावेश छन्। उनले रचेका गीतहरूबाट पचास प्रतिशत जति गीतहरू यसमा समाविष्ट छन् त्यही पनि सङ्गीतकारहरूका घरतिर गई सङ्कलन गरिएको हो अनि सङ्ग्रह गर्न नसकेका गीतहरू यसमा समावेश नभएकोमा उनलाई साह्रै खल्लो लागेको छ भनी उनी स्वीकार्छन् (पुरण गिरी, जिन्दगीको लयान्तर,आफ्ना अनुभूतिहरूबारे)। यसबाट हेर्दा पनि उनमा गीत रचनाको प्रतिभा स्वतःसिद्ध हुन्छ। यस सङ्ग्रहमा भएका समस्त गीतहरू गायन भइसकेका रहेछन्। उनका गीतहरू उदय मनिला सोताङ, डेजी बराइली, पेमा लामा, अरूणा लामा, कुमार सुब्बा, शङ्कर गुरुङ, थुपदेन भोटिया, दुर्गा खरेल, रामकृष्ण ढकाल, अनुपमा प्रधान, बानिका प्रधान, हीरा रसाइली, महेश सेवा, लाक्पा सेर्पा, कुबेर राई आदिले गाएका छन्। यसैगरी उनका गीतहरूलाई दीप वाइबा, चन्दन लोम्जेल, मणिकमल छेत्री, बसन्त छेत्री, टासी वाङ्चुक आदिले सङ्गीत दिएका छन्। यस हिसाबले हेर्दा उनका गीतहरूले सङ्गीतको आलोक पाएर न्याय पाएका छन्। उनका गीतमा भावाभिव्यक्तिमा रुमानीत्व, प्रेमका कोमल भावको सहज प्रकाशन्, जातीय अस्तित्वको चिन्तन, जातीय गौरव-गान, राजनैतिक व्यङ्ग्य, जीवन- जगत्प्रतिको दार्शनिक चिन्तन्, सन्तुलित र मितव्ययी शब्दप्रयोग, युगीन सन्दर्भको प्रस्तुति, अनेकार्थक भावभङ्गी, प्रकृतिका सुन्दर चित्रणसँग मानवीय भावको एकाम्यता, एकालापीय ढाँचा, भावअनुरूप कोमल शब्द प्रयोगजस्ता अनेक विशेषता रहेका छन्। गिरीका गीतमा आसाका किरणका भाव पाइए तापनि मूलतः उनी निराशावादी नै देखिन्छन्।
३.२१. शान्ति थापा (जन्म सन् १९६१, गुवाहाटी)- असम पूर्वाञ्चलबाट समसामयिक गीत लेखनमा अग्रणी एकजना गीतकार हुन् शान्ति थापा। उनको एउटा गीत सङ्ग्रह माया सन् २००४ मा प्रकाशित भएको देखिन्छ। यसमा जम्मा एक सयवटा गीतहरू सङ्गृहीत छन्। यसमा एकदुईवटा भजन, एउटा शिशुगीत, केही देशभक्ति गीत रहेका छन् भने अन्य प्रायःजसो गीतहरू प्रेमभावमा रहेका छन्। उनका अधिकांश गीतहरू रोमान्टिक भावधाराका छन्। उनका गीतमा प्रेमानुराग, प्रेमपीड़ा, देशप्रेम, जातिप्रेम, प्रकृतिको विविध अवस्थाको चित्रण इत्यादि पाइन्छ। एउटा गीतको प्रसङ्ग हेरौँ, हिन्दी र नेपाली गीतमा माझीको उल्लेखनीय छ। हिन्दीमा ‘ओ माझी रे’ र नेपालीमा चाहिँ माझीदाइ निकै गीतमा पाइन्छन्। शान्ति थापाले पनि गीतसङ्ख्या १३ मा माझी दाइलाई सम्झेकी छन्।
यहाँ माझीले नाव खियाएर यात्रुहरूलाई नदी पार गरिदिन्छ। यद्यपि अधिकांश गीतमा माझीको प्रसङ्ग साधारण नदी तार्ने नभएर यो भवसागर तारिदिने कोही अदृश्य माझीको अर्थ लाग्न सक्छ। यहाँ हृदयमा उब्जिएका मिठा कल्पना, भावबिम्बहरूलाई टिपेर उतारिएको छ। यहाँ मायाका विविध रूप देखिन्छ। जातिप्रेम, जातीय अस्मिताको आह्वान, बहुसांस्कृतिक ऐक्य र विश्वप्रेम उनका गीतका विषय हुन्। शान्ति थापाका गीतमा हरिभक्त कटुवाल, ईश्वरवल्लभका गीतको प्रभाव पनि केही मात्रामा परेको पनि देखिन्छ। यसमा रहेको गीत सङ्ख्या ३२ को अन्तरामा रहेको गीतांशमा कटुवालको सम्झना आउँछ –
पोखिएर घामको झुल्कामा बिहानी हाँस्छ
मगमग फुलहरूले सुवास छरी दिन्छ
डाली डाली लुकी लुकी कोयली गाउँछ
छमछम मयुरले ताल मिलाई नाच्छ ।
उनका गीतमा कतै असम प्रेम,भानुमहिमा, देशप्रेम, जीवनका आसा र निराशा, रहरका झिल्का इत्यादि पाइन्छन्। यसमा रहेका प्रायः सबै नै गायनयोग्य छन्।शब्दशय्यामा सचेतता, संक्षिप्तता, छोटा वाक्य, विषयगत एकान्विति, कोमल वर्ण प्रयोग र गेयात्मक अनुभूतिको अभिव्यक्ति नै शान्ति थापाको गीतलेखनगत उपलब्धि हुन्।
३.२२. पुष्कर पराजुली – गीतकारका रूपमा श्री पराजुली पनि लगभग बाइस-पच्चीस वर्षदेखि नै सक्रिय छन्। सन् १९९० मा निर्मित नेपाली चलचित्र भूलमा गीत लिएर देखा परेका पराजुलीका तीनचारवटा गीत एल्बममा सजिएका छन्। हालसम्म उनका दुईवटा गीतसङ्ग्रह गीत फुल्ने ठाँउ (२००५) र कहाँ पर्यो चौतारी (२०१४) प्रकाशित देखिन्छ। आजसम्म उनका गीतहरू उदितनारायण झा, रामकृष्ण ढकाल, साधना सरगम, विष्णु थापा, जगदीश शर्मा, सफल थापा, नीलामणि थापा(राई), वीरेन खाती आदिले गाएका छन्। उनी आफै गीत-सङ्गीतका पारखी र वाद्यवादन ज्ञान भएका हुनाले शब्द-चुनाइ र संयोजनमा धेरै सचेत छन्। उनी सिलगडीको एउटा साङ्गीतिक संस्था आरोहीको एक सक्रिय सदस्य हुन्।
पराजुलीका गीतका प्रत्येक पङ्क्तिमा आउने अक्षरको संयोजन तथा लयसञ्चार गरिएको पाइन्छ। उनका गीतमा हामी रुमानी भाव, प्रकृतिको प्रतीकीकरण र मानवीय भावसित तादात्म्यता, प्रगतिमुखी स्वर, आसावादी स्वर, लोकतत्त्वको आंशिक प्रयोग, ग्रामीण परिवेशको सिर्जना, वैयक्तिक अनुभूतिको साधारणीकरण, अनेकार्थता, जीवन-जगत्सम्बन्धी दर्शन-चिन्तन, प्रेमको सस्तो भावुकताभन्दा सिर्जनात्मकतातिरको झुकाउ, युगीन सन्दर्भको प्रस्तुति, जातीय अस्तित्व चेतना, बालोपयोगी केही गीत इत्यादि पाइन्छन्। उनका निम्ति संसार उज्यालो छ, आसाले भरिपूर्ण छ, आस्थाले परिपूर्ण छ। उनी कालो कालो बादलको पछिल्तिर पनि पनि उज्यालो देख्छन्, तिर्खा लागे धारा पाउँछन् र थकाइ लागे चौतारो भेट्छन्।
उनको प्रेममा पीडाभन्दा आनन्द छ, प्रेमविरागभन्दा प्रेमानुराग छ। उनका निम्ति चरा-चुरुङ्गी र तारागणले पनि प्रेमको गीत गाउँछन्, फूलहरू पनि प्रेमले हाँस्छन्। उनका गीतमा कतै नशालु पदार्थ सेवन गर्नेको पीडा छ, कतै दार्जिलिङ जाने राजमार्ग ५५ को अन्तर्व्यथा र आत्मकथा छ। उनका गीतमा पनि कतै निराशाका भाव भए तापनि मूलरूपमा आसावादी नै छन्।
३.२३. कालुसिंह रनपहेँली- नेपाली गीतको फाँटमा कालुसिंह रनपहेँली एउटा उल्लेखनीय नाम हो। हाम्रो जात्याभिमानलाई उनले आफ्ना गीतको प्रमुख विषयवस्तु बनाएका छन्। उनको आँधी हुरी बतासहरूमा गीतसङ्ग्रह (२०१७) प्रकाशित भएको छ। यसमा भक्तिगीत, धुन भरिएकाहरू र धुन पर्खिएकाहरू गरी तीन खण्ड छन् तथा यसमा जम्मा एक सय सातवटा गीतहरू समावेश भएका छन्। यसमा रहेका केही गीतहरू लोकप्रिय बनेका छन्। उनको गीतको मूल स्वर जातीय प्रेम, संस्कृतिप्रेम, मानवता प्रेम, सौन्दर्य प्रेम र नरनारीका एकार्काका प्रेमका विभिन्न राग हुन्। उनी शैली सचेत, भाव सचेत, शब्द सचेत गीतकार हुन्।
३.२४. नगेन्द्र गोर्खा– दार्जिलिङका नगेन्द्र गोर्खा एक वरिष्ठ र कुशल गीतकारका रूपमा परिचित छन्। उनी गीत लेखनमा सत्तरको दशकदेखि सक्रिय देखिन्छन्। उनको रागहरू- अन्तराहरू (२०१५) गीतसङग्रह प्रकाशित भएको पाइन्छ। यस सङ्ग्रहमा जम्मा त्रिहत्तरवटा गीतहरू समावेश छन्। यसमा प्रेमका विभिन्न रागभाव, जातीय पहिचान र पीडाका स्वरहरू अभिव्यक्ति भएको पाइन्छ। उनका प्रत्येक गीतमा जातीय चेतना र सौन्दर्यका रस तप्कन्छन्। उनले जीवनमा विभिन्न पाटा ।
३.२५. कमल रेग्मी – अहिलेका एक चर्चित र सफल गीतकार हुन् कमल रेग्मी। उनी पनि गीत सिर्जनामा एकनिष्ठ भएर अनवरत लागिरहेका छन्। गीतबाहेक उनको सिर्जना र अभीष्ट कवितासङ्ग्रह पनि प्रकाशित छ। यद्यपि उनको मूल लेखन विधा गीत नै हो। हालसम्म उनका काँडाफूल (गीतसङ्ग्रह, २००७), हिउँको आगो, (गीतसङ्ग्रह, २०१२), घामपानी (गीतसङ्ग्रह २०१८)। यीबाहेक उनका प्रतिनिधि गीतहरूको अङ्ग्रेजी अनुवाद Confluence 2018 अङ्गेजीमा अनुवाद (अनुवादक श्रद्धामणि प्रधान)
सन् २००७ मा प्रकाशित काँड़ाफूल गीतसङ्ग्रहमा नब्बे-बयानब्बेवटा गीतहरू सङ्गृहीत छन्। उनका पनि धेरैवटा गीतहरू गायनभित्र परेका छन्। उनका गीतहरू अजनिश राई, प्रसाद रनपहेँली, कुमार रनपहेँली, थुपदेन भोटिया, रामकृष्ण ढकाल, लासिमित गाई, यम बराल, हिरा रसाइली, गौतम गजमेर, अनुपमा प्रधान आदिले गाइसकेका छन्। उनी युगसचेत र शैली सचेक गीतकार पुन्। उनले वर्तमान युग देखेका र भोगेका छन्। उनले गाउँ देखेका छन् र सहर पनि। यी दुवैबाट उब्जेका संवेदना उनका गीतका विषय हुन्। उनका गीतमा पनि जातीय चेतनाको प्रखर स्वर, प्रकृतिका सुन्दर बिम्बद्वारा मानवीय संवेदनाको प्रतीकीकरण, प्रेमका यावत् पक्षको उद्घाटन्, देशप्रेम, माटाको माया, विकृत राजनीतिबाट उब्जेका विसङ्गतिप्रति व्यङ्ग्य, दार्जिलिङ प्रेम,आफ्नो जन्मथलो प्रेम, एकोन्मुखी भावतरङ्गजस्ता विशेषता र गुणहरू हामी पाउँछौँ।उनले गीतमा कल्पना र यथार्थको मिश्रण गरी कलात्मकता दिएका छन्। गीतका शब्दहरू एकार्का पुरक बनी आबद्ध छन्। उनी सौन्दर्यप्रेमी युवा हुन्। प्रकृतिमा सौन्दर्यको अजस्र स्रोत पाउँछन्।
३.२६. दयानन्द सापकोटा/ कृपानन्द सापकोटा– सिक्किमेली यी दुई दाजुभाइ पनि संयुक्त रूपमा एउटा राम्रो गीतसङ्ग्रह नन्द-नन्दन लिएर देखा परेका छन्। यसमा दयानन्दका ३८ वटा र कृपानन्दका २२ वटा गीतहरू रहेका छन्। यी दुईजनाका गीतमा देशप्रेम, सांस्कृतिक सजगता, विश्वमा शान्तिको कामना, लोकतत्त्व प्रयोगमा सचेतता, मानवता प्रेम, आधुनिक उपकरण प्रयोगमा सचेतता, विज्ञानको विपरीत प्रयोगप्रति विरोधजन्य अभिव्यक्ति प्रकृतिका अनेक रूपको वर्णन, गाँउप्रेम,मनका पिर व्यथा र खुसीयालीको क्षणलाई समेटेर गीत रचिएका छन्। कृपानन्दका गीत पनि सौन्दर्य सचेततायुक्त छन्।
३.२७. सुकराज दियाली– नागरीफार्म, दार्जिलिङका सुकराज दियालीको गीत सङ्ग्रह गथासो २०१७ मा प्रकाशित भएको देखिन्छ। यसमा प्रेमका विभिन्न भावलाई गेयात्मकता दिने प्रयास गरिएको छ। गीतमा सरलता, माधुर्य, कोमलता संक्षिप्तता र एकोन्मुखताका क्षेत्रमा उनका केही गीत सफल छन्।
३.२८. मैतराज राना– नेपाली गीत लेखनमा नागरीफार्म, दार्जिलिङका मैतराज राना पनि एउटा गीतसङ्ग्रह लिएर देखा परेका छन्। उनको गीतसङ्ग्रह मुटुले सारङ्गी रेट्दै (२०१४) मा जम्मा साठ्टीवटा गीतहरू समावेश छन्। उनका अधिकांश गीतमा प्रेमका विविध अनुराग, विराग, उच्छवास, आत्मपीडा, आत्म विलयनका भावहरू रहेका छन्। जीवन भोग्ने क्रममा उनले देखेकाअनुभव गरेका कुरालाई कतै मिठा सुक्तिसरह अभिव्यक्ति दिएका छन् भने कतै उनका आफ्ना वैयक्तिक रागलाई भाकामा उतार्ने कोसिस गरेका छन्। गीतमा संवेदनशीलता, वैयक्तिकता, संक्षिप्तता, आत्मालापीयता, कोमलता इत्यादि गुण पाइन्छन्। कुनै कुनै गीतमा संवेदनशीलताको तीब्र अभिव्यक्ति पाइन्छ-
तिमीले दिएका विश्वासहरू
मलाई दुखाउने घाउ भए।
मेरै सपना जिउँछु भन्ने कसमहरू पनि
मलाई सल्काउने आगो भए।
संक्षिप्त, सरल र कोमल शब्दहरूमा आफ्ना तीब्र संवेदनशीलता व्यक्त गर्न सकेका छन्। अधिकांश गीतमा दुःख, पीडा, विछोड र निराशाका भाव व्यक्ति छन्। धेरै गीतमा दुःख र दुःखाइ शब्द घरिघरि दोहोरिएका छन्। यद्यपि समग्रमा भने उनी आसावादी छन्। आमाले जन्म दिएको यो संसार हेर्न, भोग्न र जीवन बाँच्नलाई हो, जीवनको बाटामा काँडामय भए पनि हिँडिरहनु पर्छ भने भावना अभिव्यक्ति गरिएको छ।
३.२९. टीका भट्टराई- बिसागाउँ, तिनसुकिया असमका टिका भट्टराईका तीनवटा गीतसङ्ग्रह प्रकाशित छन्। ती हुन्- यहाँको ढुङ्गा र माटोले भन्छन्, (१९९१), मन्थन हृदय क्रन्दन अभिव्यक्ति (२००४) जीवन अनुभूति र वेदना। यी तीनमध्ये यहाँ उपलब्ध मन्थन हृदय क्रन्दन अभिव्यक्ति मा अठ्सट्ठीवटा गीतहरू रहेका छन्। यसमा रहेका केही गीतहरूमा मानवतावादी चेतना, जातीय जागरण, नैतिक चेतना, जीवन चेतना, आत्मविलयन, ईश्वरीय चेतना, मृत्युवोध, रुपसौन्दर्यको वर्णन, निराशा, भाषा प्रेम, आदि जस्ता भावहरू रहेका छन्। उनी जातिको अस्तत्व रक्षाका निम्ति पनि सङ्घर्ष गर्नुपर्छ, भन्ने कुरामा पनि सचेत छन्। उनका गीतको शीर्षकले नै गीतको भावलाई बोकेको पाइन्छ। गीतले गेयात्मकताले बाँध्न सकेको पाइन्छ।
३.३०. रुद्र पौड्याल- गान्तोक, सिक्किमका रुद्र पौड्याल पनि एक कुशल गीतकार हुन्। हालसम्म उनको एउटा गीतसङ्ग्रह प्रकाशित देखिन्छ। उनको गीतमा पनि मानवीय संवेदनालाई समातिएकको छ। उनका गीतमा सिक्किमको माटोको गन्ध छ, मानवता प्रेम पाइन्छ।
३.३१. हरि ढुङगेल- सिक्किमका हरि ढुङ्गेल एक कुशल गीतकार हुन्। उनको तिर्खाएको मन गीतसङ्ग्रह प्रकाशित छ। यस सङ्ग्रहमा जम्मा एक सय पन्ध्रवटा गीत समावेश छन्। उनी आफै पनि एक सङ्गीतको पारखी हुनाले उनी गीत लेखनमा सचेत छन्। गीतका वर्ण, शब्द र वाक्य र अझ शब्दस्थान प्रयोगमा सचेत छन्। धेरै गेयात्मकता, संवेदनशीलता, सिर्जनात्मक कल्पनाप्राचुर्य आदि जस्ता गुण पाइन्छन्। प्रत्येक गीतको शीर्षक राखिएको छ भने प्रत्येक शीर्षकले नै गीतको मूल मर्मको संकेत गरेको पाइन्छ। यसमा रहेका प्रत्येक गीतहरू गायन सहज छन्। प्रकृति चित्रण, मनमा उब्जेका रङ्गी-चङ्गी भावविम्ब, प्रेमका विभिन्न भाव, रोमान्टिक चेतना, स्थानीय रङ्ग चित्रण, सिक्किम प्रेम, मानवतावादी चेतना, रूप सौन्दर्य वर्णन, प्रकृतिको मनोरम चित्रण, प्रेमपीडा आदि कुरालाई गीतका विषयवस्तु पाइन्छन्। लोकचेतना, ग्राम्य बिम्बको कलात्मक प्रस्तुति पनि पाइन्छ।
गीत मैले लेख्दै थिए सङ्गीत उनी भर्दै थिइन्
विचार बाँड्दै खुशीसँगै भावना सबै पोख्दै थिइन्।
३.३२. कमल दाहाल- सिक्किमका कमल दाहाल पनि एकजना कुशल गीतकार हुन्। उनको गीतसङ्ग्रहबारे अध्ययन हुन सकेको छैन। उनी एक काैशल गीतकार हुन्।
३.३३.राम शर्मा फिर्के- सिक्किमका खामदोङका रामप्रसाद शर्माले राम शर्मा फिर्केको पनि एउटा गीतसङ्ग्रह कोरस (२०२०) प्रकाशित भएको पाइन्छ। यसअघि पनि उनको कोसिस भन्ने कविता र गीतसङ्ग्रह प्रकाशित भएको छ। कोरस गीतसङ्ग्रहभित्र जम्मा १३२ वटा गीतहरू सङ्गहीत छन्। यसभित्रका अधिकांश गीतहरूमा गीतमा हुनुपर्ने गुणहरू विद्यामान रहेका छन्। यसमा गेयात्मकता, शब्द प्रयोग, सचेतता, संवेदनशीलता आदि गुण पाइन्छन्। यसमा प्रेमका विभिन्न भाव, आत्मविलयन, आत्मानुभव आदिजस्ता तत्त्व रहेका छन्।भाव सम्प्रेषण, विषयगत एकोन्मुखता, विषयनिष्ठतालाई अपनाएका छन्। जगत र जीवनका विभिन्न अनुभव र अनुभूतिलाई गीतमा व्यक्त गरेका छन्। उनका गीतमा दर्शन, नैतिक चेतना, मानवता प्रेम, जातीय प्रम, प्रकति प्रेम, सौन्दर्य प्रेम जस्ता रागभावलाई उतारेका छन्।
नशालु आँखाले तिमीले हेर्यौ मेरो मन पागल भइदियो,
बतासमा परेका सिमलको भुवाझैं कता कता गइदियो।
गीतका मुखडा र अन्तराहरूको विषयगत तालमेल, शब्द प्रयोग आदि सचेत रूपमा प्रयोग गरिएको पाइन्छ। गीतमा कलात्मकता, गेयात्मकता, सौन्दर्य जस्ता विशेषता रहेका छन्।
३.३४. सन्तराज मंग्राती- नागरी फार्म दार्जिलिङका सन्तराज मंगराती पनि गीत लेखनमा देखिएका छन्। उनको फेरि आयो तिम्रो याद (२०२०) भन्ने गीतसङ्ग्रह प्रकाशित भएको छ। यसमा विभिन्न भावधाराका जम्मा चौंवालिसवटा गीतहरू समावेश छन्। यस गीतसङ्ग्रहका अधिकांश गीतमा प्रेमका विभिन्न राग-अनुराग र अनुभूतिलाई स्वर दिएको पाइन्छ। मान्चेका मनमा उब्जेका राग-अनुराग, अनुभूतिलाई गीतमा समेट्न कोजिएको छ। आत्मपीड़ा प्रेम-प्रीतिका अनुभूति र संवेदना गीतमा व्यक्त गरिएको पाइन्छ।
३.३५. सुकुमार बराइली- सुकुमार बराइली एक सिद्धहस्ता गीतकार हुन्। उनको गीतसङ्ग्रह आमा रोएकी चियाबारीमा (२०१४) प्रकाशनमा आइसकेको छ। यसबाहेक उनका केही गीतहरू सङ्गीतबद्ध भएर गायक कलाकारले गाएका छन्।
३.३६. कृष्ण छेत्री– कृष्ण क्षेत्री नेपाली गीति साहित्यका एकजना सुपरिचित गीतकार हुन्। क्षेत्रीका गीतहरु भवानी शर्मा, प्रेम दर्नाल, हरेन सुब्बा, गीताञ्जली छेत्री, रिजु देवी आदि जनप्रिय रेडिओ कलाकारहरुले गाएको हुन अनि रेडिओ गुवाहाटी, गान्तोक र खर्साङबाट प्रसारित भइसकेका हुन्। गीत सरगममा समावेश गरिएका उनका गीतहरूले समादर पाएको देखेर उनको हौसला बढेको छ। उनी दोस्रो गीत संग्रह लेक-बेंसीका गीतहरु लिएर फेरि आउने तरखरमा छन्। उनको दोस्रो संकलनका गीतहरु लोकधुनमा आधारित रहेको कुरा गीतकारले उल्लेख गरेका छन्। गीतकार कृष्ण क्षेत्रको प्रस्तुत संग्रहमा समेटिएका गीतहरूमा गीतकारले देखेको, भोगेको, सोचेको, बुझेको तथा अनुभव गरेको सुख-दुःख, माया-पिर्ती, विरह-वेदना आदि अनुभूतिहरू नै पाइन्छन। साथै उनका गीतहरू राष्ट्रिय भावना, जातीय चेतना र प्रकृति प्रेमले ओतप्रोत देखिन्छन्। क्षेत्रीका कतिपय गीत अग्रज कवि हरिभक्त कटुवालका गीतसँग दाँजिन खोज्छन् भने कतिपय गीतमा दौंतेरी गीतकार पुरण गिरीका विम्बहरू स्मृतिपटमा देखिन्छन्।
३.३७. कृष्ण प्रधान– सिलगडीका कृष्ण प्रधानको गीतसङ्ग्रह अपहरण भएका गीतहरू प्रकाशित छन्। यसका गीतहरूबारे अध्ययन हुनु बाँकी नै छ।
३.३८. सचेन्द्र दुमी राई– दार्जिलिङका साहित्यकार सचेन्द्र दुमी राईको एउटा गीतसङ्ग्रह मिश्रित भाव–तरङ्ग (२००१) प्रकाशित देखिन्छ। यसमा जम्मा साठीवटा मिश्रित भावधाराका गीत रहेका छन्। प्रत्येक गीतमा भावानुरूप शीर्षक राखिएको छ।
३.३९. लुइस बिस्ट– गान्तोककी लुइस बिष्टको गीतसङ्ग्रह मनोभिराम (२०२२) प्रकाशित छ। यसमा जम्मा निनानब्बेवटा गीतहरू रहेका छन्। सङ्ग्रहमा जम्मा चौंवालिसवटा गीतहरू समावेश छन्। गेयात्मकताका दृष्टिले उनका प्रायः सबै गीत सुललित, लयात्मक रहेका छन्। उनका गीतमा प्रेमका विभिन्न रागभाव, माटोप्रेम, प्रकृति प्रेम आदि जस्ता कुरा पाइन्छन्। जीवनगतको अनुभूति, जगतका आनुभाविक उद्गार, पर्यावरण चेतना रूप सौन्दर्य वर्णन, मनका विभिन्न भावको मूर्तता पाइन्छन्। उनका गीतमा कतै झरनाको वर्णन छ, कतै सिक्किम प्रेम छ, कतै प्रेममा धोका खाएर आफू घाइते भएको उल्लेख पाइन्छ। उनका गीतमा विशेषगरी विभिन्न रङ्गहरूले बढी स्थान पाएको छ। यसमा उनको मनमा रहेका रङ्गीन कल्पनालाई गीतमा उतारेकी हुन्।
रङ्ग उड्यो बेरङ्गी भयो जिन्दगी
साथ छुट्यो दुखेरै गयो जिन्दगी।
३.४०. कमल दर्नाल – नेपाली सङ्गीतमा कमल दर्नाल पनि एक कुशल गीतकार हुन्। नेपाली संसारमा खुवै लोकप्रिय गीत ‘असारे महिनामा पानी पर्यो रूझाउने’ भन्ने गीत उनले नै रचेका हुन्।
३.४१. रिजु देवी– असमकी रिजु देवी पनि गीतकारका रूपमा उदाएकी छन्। उनको गीत मञ्जरी गीतसङ्ग्रह् प्रकाशित छ जसमा साठीवटा गीतहरू समावेश गरिएका छन्। यसमा रहेका केही गीतहरूको गायन पनि भएको थाहा पाइन्छ। उनी आफैं एक गायिका हुन् र उनलाई गीतका गेयात्मकता र प्राञ्जलताबारे सचेत छन्। जातीय अस्तित्व चेतना, जातिप्रेम, बालक-बालिकालाई नैतिक शिक्षा, देशप्रेम, भाषाप्रेम, संस्कार-संस्कृतिप्रेम, बसुधैव कुटुम्बकम्को भावना आदिलाई गीतका विषयवस्तु बनाएकी छन्। यसमा केही बालगीत पनि रहेका छन्। यसै देशका लागि हाम्रा पुर्खाले रगत बगाएको र आफ्नो सर्वस्व त्यागेकाे भावना व्यक्त गरिएको छ। यसमा प्रकृति प्रेमलाई पनि विषयवस्तु बनाइएको छ। अधिकांश गीतहरू गेयात्मक, सुललित, लयबद्ध रहेका छन्।
३.४२. अमर बानिया लोहोरो – केही गीति अल्बमतिर गीतकारका रूपमा उदाएका अमर बानियाँ लोहोरोको एउटा गीतसङ्ग्रह अनेक मनको आवाज (२०२२) प्रकाशित छ। यसमा १०८ वटा विभिन्न भावधाराका गीत रहेका छन्। यसमा छवटा ऋतुका आधारमा अध्याय विभाजन गरेका छन्। उनका धेरै गीतहरू गाइएका छन्। उनका गीतमा श्रद्धाञ्जलि, शुभकामना, पर्यावरण चेतना, दार्शनिक चेतना, मान्छेको मनको परिवर्तनको क्रम बढेका कुरालाई गीतमा उतारेका छन्। बानियाका गीतमा गेयात्मकता, कोमल वर्णको प्रयोगबाट मानवीय संवेदनालाई समेटिएको पाइन्छ।
३.४३. नरेश कटुवाल – निर्वासित गीतहरू नामक गीतसङ्ग्रह लिएर देखा परेका नरेश कटुवाल पनि एक सफल गीतकारमा दरिएका छन्। उनको निर्वासित गीतहरू पुस्तकमा जम्मा छयालिसवटा गीतहरू समावेश छन्। यसमा रहेका केही गीतहरू केही गायकहरूले गायनमा उतारेर रेकर्ड पनि गरेका छन्। यसमा रहेका केही गीतहरू देशप्रेम र जातीयता प्रेममा आबद्ध छन् भने अधिकांश गीत भने प्रेमानुरागमा रहेका छन्। मान्छेले आफ्नो जीवनका क्रममा अनुभव गरेका विभिन्न अनुभूतिलाई गीतमा उतारेका छन्। उनले वर्ण, शब्द र वाक्यलाई सचेतताको साथ प्रयोग गरेका छन्। उनका गीतमा भावगत कोमलता, संवेदनशीलता जस्ता गुण पाइन्छन्। कतै जीवनगत अनुभव, कतै दार्शनिक चेतना, कतै नैतिक चेतना, कतै कल्पनाका विभिन्न आकार, कतै जातीय चेतना, कतै राजनैतिक चेतना जस्ता केही पक्षहरू परिलक्षित हुन्छन्। जीवन भोगाइका विभिन्न अनुभूतिहरूको मूर्तरूप हुन् उनका गीतहरू।
अधुरो अधुरो छ जिन्दगी तिमी गएदेखि
मधुरो मधुरो छ जिन्दगी तिमी गएदेखि
खुशीहरूका सह छोड़ी तिमी कतै हिंडेछौ
पीड़ाहरूका दह छोड़ी तिमी कतै भुलेछौ
हाँस्न मैले भुलिसकेछु तिमी गएदेखि
जिउन मैले भुलिसकेछु तिमी गएदेखि
उनका गीतमा मुखडा र अन्तराको विषयगत तालमेल, एकोन्मुख भावसम्पेषण आदिले गर्दा गेयात्मक र सुललितता जस्ता गुण पाइन्छन्।
३.४४. भक्ति शर्मा- सिकिक्मकी भक्ति शर्मा पनि एक गीतकारका रूपमा देखिन्छन्। हालसम्म उनका तीनवटा गीतसङ्ग्रह प्रकाशित छन्- १. गीतका अनुभूतिहरू, २. पाइलाहरू र ३. निर्बाध मन। यी तीनवटा गीतसङ्ग्रहमा एकल र युगल गीतहरू गाइएका पनि छन्। २००५ मा उनका केही गीतहरूको अल्बम पनि तयारी गरिएको थियो। उनका गीतबारे अध्ययन हुन बाँकी नै छ।
३.४५. ध्रुव चौहान– दार्जिलिङको धजिया चियाकमानका ध्रुव चौहान पनि एक एक कुशल गीतकार हुन्। हालसम्म उनको एउटा गीतसङ्ग्रह वेदनाको धनी यो मन (२००३) प्रकाशित भएको छ। यस सङ्ग्रहबारे अध्ययन हुन बाँकी नै छ।
३.४६. सतीश दियाली– नागरीफार्म चियाकमनाका सतीस दियाली पनि गीतकारका रूपमा झुल्किएका छन्। उनको एउटा गीतसङ्ग्रह त्यो मनको भाका (२०१५)। यस गीतसङ्ग्रहमाथि अध्ययन हुनु बाँकी नै छ।
===
४. भारतबाट लेखिएका नेपाली गीतको केही साझा प्रवृत्ति र अभिप्राप्ति –
४.१. भारतमा नेपाली गीत लेखनको लगभग एक सय वर्षको यात्रा पुरा गर्न लागेको छ। यत्रो एक सय वर्षमा नेपालमा झैँ भारतमा पनि नेपाली गीतले क्रमिक विकास र विस्तार पायो। विभिन्न मोड़-उपमोड़ पार गर्दै नयाँ नयाँ भाव,शैली, प्रस्तुति, धारा उपधारा गर्दै अघि बढिरहेको छ।
४.२. यहाँका गीतको विषयवस्तु व्यापकता पाएको छ। आध्यात्मिक चेतनादेखि लिएर नैतिक सन्देश, जातीय प्रकृति चित्रण, प्रेमका विविध रूपको चित्रण, देशप्रेम, विश्वप्रेम, मानवता, सङ्घर्षको आह्वान, नारी मनोदशा इत्यादि सबै कुरा समेटिएका छन्।
४.३. भारतका नेपाली गीतमा पनि वर्ग सङ्घर्ष, परिवर्तनका निम्ति सङ्घर्षका निम्ति आग्रह, सर्वहारा वर्गको हकहितका कुरा, क्रान्ति चेतना, पुँजीवाद विरूद्ध सङ्घर्षमा विश्वास गरिने प्रगतिशीलता र प्रगतिवादलाई अवलम्बन बनाई गीत पनि रचिएका छन्। पदम लामा, अशोक राई, जस योन्जन प्यासी, सुवास सोताङ आदि छन्।
४.४. भारतको नेपाली गीतमा जातीयता प्रसङ्ग एउटा ठोस विषयवस्तु बनेको छ। मित्रसेन थापा, बहादुरसिंह बराल मित्र दलिप सिंहका गीतमा भारतमा नेपाली जातिको जागरण र नराम्रा लतदेखि जोगिएर नैतिकवान, सुशिक्षित हुनुपर्ने आह्वान गरिएको छ भने क्रमिक रूपमा जातीय चेतनाको विकास र विस्तार भएको पाउँछौँ। अगमसिंह गिरीको ‘नौलाखे तारा उदाए’ गीतले भारतमा गोर्खाली जातिको पिरमर्कालाई प्रतिनिधित्व गरेको थियो। भारतमा हाम्रो अलग्गै अस्तित्व र परिचय सङ्कटको स्वर धेरैले अभिव्यक्त गरेका छन्।
४.५. भारतका नेपाली गीतमा नारीका विभिन्न अवस्थाको चित्रण गरिएको पाइन्छ। यद्यपि नारीको मार्मिक अवस्था, दाइजोको पीडा, बहुपत्नी, सौताको पिर त्यति अभिव्यक्त भएको देखिन्न।
४.६. भारतमा पनि चलचित्रका निम्ति धेरै गीतहरू रचिएका छन्। नेपालमा जस्तो पूर्णकालिक रूपमा चलचित्रमा लेख्ने गीतकार नभए तापनि नरदेन रुम्बा, कुसुम गजमेर, तुलसी घिमिरे, डेनी डेन्जोङपा, मनबहादुर मुखिया, इन्द्र थपलिया, गोपाल योन्जन,जस योन्जन प्यासी, रनजीत गजमेर, साबु लामा, चन्द्रमित लक्सम, बलबहादुर विश्वकर्म, जितेन्द्र बरदेवा, जीवन अधिकारी, सी के श्रेष्ठ, हरिभक्त कटुवाल,मदन सुब्बा, पुष्कर पराजुली आधि हुन्। यस क्षेत्रमा अम्बर गुरुङ, गोपाल योन्जन, कुसुम गजमेर र तुलसी घिमिरे अघि छन्।
४.७. यताका बालगीतले त्यति प्रगति गरेको देखिन्न। पुष्कर पराजुलीको यस क्षेत्रमा अग्रता देखिन्छ।
४.८. भारतका नेपाली गीतमा लोकलयका विभिन्न लय, भाकालाई आधार बनाइएका छन्। तिसचालिसको दशकमा लोकलयमा आधारित धेरै गीतहरू पाइएका छन्। अझ पनि गीतमा लोकतत्त्व पाइन्छन्।
४.९. यता दार्जिलिङ सिक्किमतिर लेखिएका गीतहरू पप र रक सङ्गीतका लागि पनि प्रयोग भएका छन्। सुदर्शन तामाङ, भाष्कर प्रधान, सुरेश कुमार आदि यस दिशातर्फ सरिक देखिन्छन्।
४.१०. दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलनले बर्सेनी आयोजना गर्ने नेपाली सङ्गीत प्रतियोगिता र स्वरश्री प्रतियोगितामा सर्वश्रेष्ठ शब्दकारको पनि छनौट हुने प्रणालीले गीत-लेखनतर्फ निकै प्रेरणा, धरातल निर्माण भएको छ।
४.११. सन् १९६२ सालमा खोलिएको आकाशवाणी खरसाङ, पछिबाट खोलिएका आकाशवाणी गान्तोक र आकाशवाणी गौहाटीले भारतमा नेपाली गीत लेखनलाई निकै अभिप्रेरित गरेका छन्। यस दिशामा अझ आकाशवाणी खरसाङ अघि छ।
५. उपसंहार– रेकर्ड गरिएकै आधारमा हेर्दा मात्र पनि भारतमा नेपाली गीत लेखनको एक सय वर्षे लामो अवधि पार गर्दैछ। यत्रो लामो परम्परामा भारतका नेपाली गीतले विभिन्न मोड-उपमोड, घुम्ती, माइलखुट्टी बसाउँदै अघि बढिरहेछ। यहाँका गीतमा जातीय अस्मिताको चेतना सर्वोपरी विषयवस्तु बनेको देखिन्छ। भारतमा नेपाली गीत लेखनलाई अहिलेसम्मको अवधिलाई चार चरणमा विभाजन गरेर हेर्न सकिन्छ। कामी गुरुङदेखि लिएर, एल टी लामा, कालुसिंह गहतराज, विसाषन लामा, अम्बर गुरुङ, गोपाल योन्जन, अगमसिंह गिरी, हरिभक्त कटुवाल, जस योन्जन प्यासी, नरदेन रुम्बा, कुसुम गजमेर, तुलसी घिमिरे, पुरण गिरी, पुष्कर पराजुली, कमल रेग्मीसम्म आइपुग्दा नेपाली गीतले उत्तरोत्तर प्रगति गरेको देखिन्। गीत त सङ्गीतकार जति प्रायः सबैले नै लेख्छन् तर पक्का गीतकार व्यक्तित्व भने उपर्युल्लिखितबाहेक अरू थोरै छन्।
प्रमुख साभार र सन्दर्भ सूची-
१.कृष्णहरि बराल, गीतः सिद्धान्त र इतिहास, काठमाडौँ, विद्यार्थी पुस्तक, भण्डार, २०६०।
२.सङ्गीत माधुरी (दार्जिलिङका अजम्मरी गीतहरूको गायन सिडी एल्बम्,२००१, दार्जिलिङ, गोदुनिस।
सम्पादक मण्डली, दार्जिलिङको नेपालीभाषी समुदाय,,नयाँ दिल्ली, साहित्य एकाडेमी, २००९।
४.दिलकुमार प्रधान सम्पा. भारतेली नेपाली कविता, वीरपाडा महाविद्यालय, वीरपाडा,२०१२।
५. गुवाहाटीकी डा. शान्ति थापासँग लिएको मौखिक जानकारी।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।