रिमालले आउँछ भनेर पर्खेको त्यो क्रान्तिको पुस्ता हामी नै हौँ । नेपाल आमाले यौवनभरि देखेको सपनाका राजकुमार हामी नै हौँ । हामीले फाल्ने हो पञ्चायत, हामीले फाल्ने हो राजतन्त्र ।

 

बच्चा गर्भमा हुँदै आमाले गीत गुनगनाउँछिन्, श्लोकहरु भन्छिन्, शास्त्र पाठ वा मन्त्रोच्चारण गर्छिन्, त्यसको असर बच्चामा पर्दछ । मेरी आमाले पनि पक्कै त्यसो गर्नु भयो होला । मान्छेको जीवनमा काव्यको प्रभाव त्यहीँबाट सुरुवात हुन्छ । बच्चालाई सुताउन ‘लोरी’ गाइन्छ । खाना खुवाउने बेला ‘को खाइँ को खाइँ हाम्मा’ जस्ता काव्यिक वाक्य उपयोग हुन्छन् । विश्वभरि बालगीत र बाल कविताको आफ्नै परम्परा छ ।

युवराज घलेभाइ (गान्तोक)

‘काव्य’ र ‘मान्छे’ को सम्बन्ध के-कस्तो हो र यो कहाँ नेरबाट सुरुवात हुन्छ ? यसबारे अनेक तर्क र दृष्टिकोण होलान् । शास्त्रीय, बौद्धिक वा प्राज्ञिक बहसले के भन्छ ? त्यो भिन्नै कुरा । मेरो बुझाइमा यो सम्बन्ध ‘जन्मजात’ वा प्राकृतिक हो ।

आमाका क्रियाकलाप र मनोदशाले गर्भको बच्चा प्रभावित हुन्छ भन्ने कुरा कुनै मिथ मात्रै हैन, वैज्ञानिक दृष्टिले प्रमाणित सत्य हो । महाभारतमा अभिमन्युले सुभद्राको गर्भमा हुँदै चक्रव्यूहमा पस्ने तरिका सिकेको कथा छ । वस्तुतः यो एक अतिरञ्जान हो सत्यको, कला र साहित्यमा अतिरञ्जना बर्जित हैन, स्वभाविक मानिन्छ।

बच्चा गर्भमा हुँदै आमाले गीत गुनगुनाउँछिन्, श्लोकहरू भन्छिन्, शास्त्र पाठ वा मन्त्रोच्चारण गर्छिन्, त्यसको असर बच्चामा पर्दछ । मेरी आमाले पनि पक्कै त्यसो गर्नुभयो होला । मान्छेको जीवनमा काव्यको प्रभाव त्यहीबाट सुरुवात हुन्छ । बच्चालाई सुताउन ‘लोरी’ गाइन्छ । खाना खुवाउने बेला ‘को खाई को खाई हाम्मा’ जस्ता काव्यिक वाक्य उपयोग हुन्छन्। विश्वभरि बालगीत र बाल कविताको आफ्नै परम्परा छ । हाम्रो ‘कुखुरी काँ, बासीभात खाँ’ होस् वा उतातिरको ‘जोनी, जोनी एस पापा’ ती काव्य वाक्य नै हुन्।

मान्छेको जिन्दगीमा कविता–पठन पढेर सुरुवात हुँदैन, बाल्यकालको श्रवणबाट हुन्छ । त्यसैले ‘म’ भन्न सक्दिनँ, मैले सुनेको पहिलो कविता कुन थियो । पढेको पहिलो कविता पनि सम्झिन गाह्रो छ। ‘शिशु कक्षा’ बाटै पाठ्यपुस्तकमा बालकविता सुरुवात भए होलान् ।

त्यो एउटा भिन्नै युग थियो– साहित्यमा ‘कविताको युग’ । अझ कविताभन्दा धेरैले छन्द कविता र श्लोक मात्रै बुझ्थे । गद्य कविता कविता हो कि हैन भन्ने बहस बाँकी नै थियो । गुणरत्नमाला र लेखनाथ पौडेलका छन्द कविताले समाजलाई खिपेका, गालेका थिए।

कसैको लोकमा छैन, एकैनास समुन्नति
अरुको के कुरा हेर, सन्ध्यामा सूर्यको गति
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ
उर्लंदो खहरे हेर कतिको गड्गडाउँछ
सानैदेखि छुच्चो हुन्छ दुष्ट मानिसको मति
घोच्ने जंगली काँडा पहिले नै तिखा कति

लेखनाथ पौड्यालका कवितामध्ये यी टुक्रा मनमा बाल्यकालमै बिझेका थिए । कति सरल, कति गहिरो वाक्यहरू !

तर, मान्छेको ‘भावनात्मक रुचि’ र ‘बौद्धिक रुचि’ बीच थोरबहुत भिन्नता हुँदोरहेछ । जवान हुँदै भएपछि छन्द र श्लोकभन्दा गद्य कविताले बढी प्रभावित गर्न थाल्यो । स्कुल, कजेलको जीवनमा खोजीखोजी गद्य कविता पढ्नु लतजस्तै हुँदै गयो । लेख्ने पनि गरियो अलिअलि । कुनै बेला कवि हुने रहर नजागेको हैन मनमा । तर, रहरले मात्रै के हुन्छ र ?

त्यो बेला ‘कवि’ प्रतिको सामाजिक अवधारणा त्यति गतिलो थिएन । कविहरू– गरिब हुन्छन्, सन्तजस्ता हुन्छन्, जुँगादाह्री पाल्छन्, समाजसँग नमिल्ने एकलकाँटे हुन्छन्, उद्यमशीलता, वृत्तिविकास र अन्य गृहस्थ कर्ममा रुचि हुँदैन, ‘बरु कविता लेख्न सकिन्छ, तर कवि हुन सकिँदैन’ भन्ने सोच थियो । कविता लेख्न, पढ्न मन लाग्थ्यो, तर ‘कवि होइएला’ भन्ने डर थियो ।

जे होस्, जवानीमा अलिअलि कविता पढियो । त्यो सम्झनाको आधारमा आफूलाई मन परेका १० कविताको चर्चा गर्दैछु ।

 

१. आमाको सपना

गोपालप्रसाद रिमालको बारेमा स्कुले जीवनदेखि नै अलिअलि सुनेको, पढेको थिए । त्यसको कारण कक्षा ९ को ‘सजिलो नेपाली’ मा ‘जंगी निसान हाम्रो’ कविता थियो । शायद त्यतिन्जेल यो गीतको रूपमा रेकर्ड भइसकेको थिएन । कविताका रूपमा पढ्दा वा वाचन गर्दा त्यति धेरै आकर्षक लाग्दैनथ्यो । जब अम्बर गुरुङको संगीतमा रविन शर्मा, किरण प्रधान र सुनिता सुब्बाले यो कविता गाए, एक बेजोडको गीत बन्यो, बहुतै लोकप्रिय भयो ।

कलेजमा कमर्श पढ्थेँ । क्याम्पस पुस्तकालयको टेबलमाथि एकदिन ‘आमाको सपना’ देखेँ । लेखाशास्त्रको किताब साट्न थियो । तर, पुस्तकालय कार्डबाट ‘आमाको सपना’ बोकेर हिँडे । जब पढे, रिमालप्रति खुबै रुचि र श्रद्धा जागेर आयो । कविता हुन त यस्ता जस्तो लाग्यो ।

आमा, त्यो आउँछ र ?
हो बा, त्यो आउँछ !

त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ
त्यो हिउँ र आगोभन्दा पनि बर्ता छोइने भएर आउँछ
त्यो मीठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाउने छ
त्यो तिमी नै हौ भन्ने मेरो यौवनभरिको सपना थियो ।

लाग्थ्यो–रिमालले आउँछ भनेर पर्खेको त्यो क्रान्तिको पुस्ता हामी नै हौँ । नेपाल आमाले यौवनभरि देखेको सपनाका राजकुमार हामी नै हौँ । हामीले फाल्ने हो पञ्चायत, हामीले फाल्ने हो राजतन्त्र । हामीले फाल्ने हो निरंकुशता । हामीले ल्याउने हो लोकतन्त्र । रिमालको पुस्तामा जे चिज अधुरो रह्यो, त्यो हाम्रो पुस्ताले गर्ने हो ।

नभन्दै रिमालको काव्यिक पूर्वानुमान सत्य सावित भयो । क्रान्ति भए । तर, के क्रान्ति पूरा भयो ? रिमालको कवितामार्फत नेपाल आमाले देखेको सपना पूरा भयो ? शंका लाग्छ । यो प्रश्न अझै उत्तिकै जीवन्त छ।

 

२. हामी

भूपि शेरचन हाम्रो पुस्ताका लागि ‘रहस्य–पुरुष’ जस्ता थिए । सार्वजनिक जीवनमा कतै देखिँदैनथे । स्कुले जीवनमा उनको कुनै रचना पढ्नु पर्दैन्थ्यो । रेडियो नेपालमा ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा’ गीत सुन्दा गीतकारमा उनको नाम वाचन हुन्थ्यो ।

धेरैपछि थाहा पाए– उनी मुस्ताङे हुन् । कांग्रेस नेता योगेन्द्रमान शेरचनका भाइ हुन् । तर, कम्युनिस्ट समर्थक थिए । कुनै बेला भूपेन्द्रमान ‘सर्वहारा’ लेख्थे । जीवनको उत्तरार्द्धमा कम्युनिस्ट विचारसँग ‘फ्रस्टेड’ थिए । जताततै देखिने क्वटेसन ‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’ उनकै कविताको एक अंश हो । ‘कविता, कम्युनिस्ट र क्रान्ति’ ले आफ्नो जीवन बर्बाद पारेको अनूभूतिमा पुगेर मरे ।

‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ का अधिकांश कविता बेजोड र स्मरणीय छन्, त्यसमध्ये पनि मलाई खुबै मनपर्ने चाहिँ ‘हामी’ हो ।

हामी वीर छौँ
तर, बुद्दु छौँ
हामी बुद्दु छौँ
र त हामी वीर छौँ
एउटा स्ट्राइकरद्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौँ ।

भूपिको यो कविताको रचनागर्भ के होला ? जे होस्, आज पनि यो नियतिबाट मुक्त छैनौँ ।

 

३. गोलघरको सन्देशः

मोदनाथ प्रश्रित हाम्रो पुस्ताका लागि ‘जीवित रिमाल’ थिए । उनी धेरैका प्रिय लेखक र स्तम्भकार पनि थिए । मैले पढ्न बाँकी उनका विरलै रचना होलान् । कवितामा उनको ‘गोलघरको सन्देश’ खुबै मनपर्छ । यो अलिक लामो छ । ‘लघु काव्य’ को नाम दिइएको छ । यसभित्र कतिपय वाक्य जस्ता छन्, जसले रौं ठाडो पार्दिन्छन् । जस्तो कि–

काटे शरीर ढल्छ, तर विश्वास ढल्दैन मेरो
मारे हाडखोर गल्छ, तर विचार गल्दैन मेरो
हाम्रो अनन्त यात्रा ब्रह्माण्ड जित्नलाई
के रोक्न सक्छ फुच्चे पर्खालले मलाई

 

४. यात्री

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ पनि स्कुले ‘महेन्द्रमाला’ थियो । पढाउने गुरु हुनुहुन्थ्यो– भुवन दाहाल । शायद ‘वासुदेव’ सिनेमा त्यही वर्ष बनेको हो, जुन वर्ष हामीले स्कुलमा यात्री पढेका थियौँ वा एकाध वर्षपछि पो हो कि ?

हाम्रा भुवन सरको कविता र साहित्यमाथिको ‘लेक्चर’ यति बलियो, धाराप्रवाह, लालित्यपूर्ण हुन्थ्यो, त्यस्तो प्रभावशाली प्रवचक मैले आफ्नो सम्पूर्ण कजेल जीवनको कुनै तहमा कोही पनि भेटिनँ । त्यस्ता ओजस्वी साहित्य व्याख्याता भुवन सरको मुखारवृन्दबाट यात्री कविताको शिक्षण पाउँदा कति गहिरो प्रभाव पर्यो होला ?

जब रविन शर्माले ‘यात्री’ कवितालाई ‘वासुदेव’ सिनेमाका लागि गाए, यसले लोकप्रियताको भिन्नै उचाइ हासिल गर्‍यो । स्कुलबाट भागेर एक्लै एक दिन वासुदेव हेर्न इटहरीको सिनेमा हल गएँ, त्यही गीत सुन्ने लोभले, सिनेमा खासै मन परेन । गीत बेजोड मन पर्यो ।

 

५. मुर्खको औधषि छैनः

यो चाहिँ कुनै भिन्नै कविता हैन। गुणरत्नमाला भित्रको केही श्लोकहरुको भाग हो । संभवतः यसको भिन्नै शीर्षक पनि छैन । पंडित जगन्नाथ गुरागाईको गुणरत्नमाला ‘मेरा आमाहरु’ को प्रिय पुस्तक थियो । आमा फुर्सदमा गुणरत्नमाला पढ्नु हुन्थ्यो । त्यसमध्ये ‘मूर्ख’ सम्बन्धि अंश मलाई खुबै मन पथ्र्यो ।

बालुवामा बरु तेल खूब बलले पेले कतै आउँला
चर्का घाम चुसीचुसी बरु कतै पियास मेटिएला
मुसाको सिंग मिल्ला बरु कतै संसार घुम्ने गरे
प्राणै देऊ परन्तु मूर्ख कहिल्यै रिझ्दैन कस्तै गरे

 

६.भाउजू र सुनका दाँतहरु

दिनेश अधिकारीबारे साहित्यिक वृतमा एउटा ‘र्यूमर’ थियो । यो मान्छे सरकारी वकिलको जागिर खान्छ । कांग्रेस–कम्युनिष्टलाई अनेक झुठा मुद्दा लगाएर थुनाउँछ । दिनभरि राजबन्दीको संख्या बढाउँछ । साँझ परेपछि ‘क्वाटरमा बसेर क्वाटर लगाउँछ’ र क्रान्तिको कविता लेख्छ ।

उनको ‘धर्तीको गीत’ कविता संग्रह त्यो बेला खुबै लोकप्रिय थियो । कविता मात्रै हैन, अधिकारीका दर्जनौं गीत उत्तिक लोकप्रिय छन् । तर, मैले यहाँ उल्लेख गरेको ‘भाउजू र सुनका दाँतहरु’ भने यो सङ्ग्रहभित्र छैन । मधुपर्कको कुनै अंकमा मैले यो पढेको थिए । पछिका सङ्ग्रहमा पर्यो होला । धेरै याद छैन अहिले । तर, त्यो बेला यो कविता खुबै मन परेको थियो ।

 

७.वसन्त

विमल निभाको कविता शैली आफ्नै प्रकारको हुन्छ । ‘वसन्त’– यो कविता उनको पहिलो कविता सङ्ग्रह ‘आगोनेर उभिएको मानिस’ मा सङ्ग्रहित छ ।

हिन्दीमा भने यस्ता प्रकृतिका कविता सर्वेश्वरदयाल सक्सेना, गोरख पाण्डेय, मंशलेश डबरालआदिले अगाडिदेखि नै लेख्थे । विमल निभाभन्दा अगाडि नै मैले गोरख पाण्डेयका कविता पढ्न थालेको थिए । नेपालीमा यस शैलीको उम्दा कवि विमल निभा मात्रै हुन् । पछिल्लो समय विनोदविक्रम केसीले यो शैली पक्रिन खोजेजस्तो लाग्दछ ।

 

८.बिसे नगर्चीको बयान

श्रवण मुकारुङ र बिसे नगर्चीको बयानबारे त धेरै चर्चा नै गर्नु नपर्ला । जनान्दोलन २०६२-२०६३ को एक प्रेरक तत्त्व यो कविता थियो । मान्छे माधव घिमिरेलाई ‘राष्ट्र कवि’ भन्छन् तर मेरा लागि साँचो ‘राष्ट्र कवि’ श्रवण मुकारुङ् हुन । उनको ‘देश खोज्दै जाँदा’ सङ्ग्रहकै बेलादेखि उनीप्रति विशेष लगाव र रुचि हुन्थ्यो । पछि उनले ‘बिसे नगर्चीको बयान’ लेखे र नेपालको इतिहासकै एक ‘आइकन’ व्यक्तित्व बने ।

 

९. धमौराबाट झौवा थारु चिठ्ठी लेख्छ

यो भने धेरै चर्चित कविता हैन । समीक्षक र साहित्यका पाठकले यसलाई कमै महत्त्व दिएका होलान् । स्थानीयताका कारणले मलाई भने खुबै मन पर्छ । कवि पूर्ण विरामले लेखेका हुन् यो कविता । उनको मुख्य सङ्ग्रह ‘इतिहासका किल्लाहरुमा’ हो तर, यसभित्र यो कविता छैन ।

कवि पूर्ण विरामलाई एकपटक बानेश्वरको थापा गाउँमा देखेको थिए । मर्न लागेको, दुब्लो पातलो ख्याँउटे मान्छे । तर, बढो जोसिला कविता लेख्थे । यो कविता भने उनले हाम्रो गाउँको पृष्ठभूमिमा लेखेका छन् । सुनसरीको सिंगिया गाउँको पृष्ठभूमिमा । यो कविताको शीर्षकमा भएको ‘धमौरा’ भन्ने गाउँ छ । गाविस हुँदा त्यो हाम्रो एउटा वडा थियो । अहिले रामधुनी नगरपालिकामा पर्छ । त्यो थारु गाउँ हो । उनको कवितामा पनि झौवा थारु छ । कवितामा सुनसरी धमौराको झौवा थारु काठमाडौँको कवि पूर्णविरामलाई चिठ्ठी लेख्छ र भन्छ–

अचेल
सिंगियाको हाटखोलामा
रातो घोडा चढेर
कमरेड लेनिन आउँछन्
र तातो हात मिलाउँछन् ।

कवि पूर्णविराम किन, कहिले र के कामले हाम्रो गाउँघर पुगेका थिए, थाहा भएन । यो कविता पढेपछि धमौराका साथीहरूलाई मैले सोधेको थिएँ– काठमाडौँको कुनै कवि कहिल्यै यता आएको थियो ? त्यहाँ पूर्ण विरामलाई कसैले चिनेनन् । माओवादी जनयुद्धको वेला कुनै तबरले उनी त्यहाँ पुगेका थिए कि ?

 

१०.चिन्छौ के त तिमीले आमालाई ?

यो पनि कमै चर्चित कविता हो । तर, मन पर्नुको कारण स्थानीयता हैन, यो कवितामा कुनै स्थानीय भाव छैन तर, कवि भने हाम्रा स्थानीय थिए– गोविन्द विकल।

त्यो बेला धरानमा देशमै नाम चलेका कविहरुको एउटा जत्था नै थियो । मञ्जुल, बम देवान, कुन्ता शर्मा, कृष्ण पाख्रिन, मानबहादुर शाक्य, नरेश शाक्य, वेणु आचार्य आदि। तिनै मध्येका एक थिए कवि गोविन्द विकल । उनी चर्चित गीत–‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि थाकेर बस्छु नभन, जीवनदेखि हारेर मर्छू नभन’ का सहरचयिता पनि हुन् । श्याम तमोटसँग मिलेर उनले यो गीत लेखेका थिए ।

३० को दशकमा धरानबाट बसाइँ सरेर उनी सालवनी आए । हाम्रो छिमेकी गाउँमा । उनैले मलाई धरान, बिराटनगरका क्रान्तिकारी कवि लेखकसँग भेटाउन लान्थे । कुन्ता शर्मा, जेबी टुहुरे, विजय सुब्बा, हर्क चुम्मे, राजकुमार कार्कीलाई मैले उनकै संगतबाट चिनेको थिए । उनकै सिफारिसमा विराटनगरबाट ‘साथी’ साहित्यिक पत्रिका निकाल्ने सुदर्शन श्रेष्ठले मेरो पहिलो रचना छापेका थिएँ ।

कवि विकलसँगको संगतका धेरै पाटा पक्ष छन् , त्यो भिन्नै चर्चा गरौँला । उनको यो कविता भने ऐतिहासिक र चर्चा गर्न योग्य हो । ‘आजको शेलो’ कविता सङ्ग्रह सङ्ग्रहित छन् यो । साहित्यिक गुणस्तरभन्दा पनि गद्यकविताको वाचनीयतालाई उनले यसका प्रयोग गरेका छन् । यो कुनै गीत, छन्द कविता वा श्लोक हैन तर, त्यस्तो मिठास आउने गरी वाचन गर्न सकिने गद्य कविता हो । संगीतको छनक दिने गद्य कविताको शैली कवि विकलले यसमा राम्रो प्रयोग गरेका छन्।

अचेल कविता नपढेको धेरै भयो । कविता पढ्न खासै फुर्सद चाहिँदैन अरु किताब जस्तो । तर, खै त्यो बेला जति रुचि हुन्थ्यो, अचेल कविताले त्यति आकर्षित गर्दैनन् ।