काठमाडौंमा स्थायी बसोबास भएका राम लामा अविनाशी हाल अमेरिकाको टेक्सास राज्यमा बस्छन् । नेपाली साहित्यमा अति सक्रिय अविनाशीले साहित्य र अन्य विषयमा दर्जानौं लेखहरू लेखिसकेका छन् । उनका दुई कवितासङ्ग्रह प्रकाशन प्रकाशित छन् भने धेरै गीतहरू रेकर्ड भएका छन् । प्रस्तुत छ, साहित्यपोस्टका लागि प्रा. विश्वराज अधिकारीले साहित्यकार राम लामा अविनाशीसँग गरेको कुराकानीको सम्पादित अंश:
…
अचेल के गर्दै हुनुहुन्छ ?
कथा, संस्मरण र लेखहरूको सँगालोका तीनवटा छुट्टा-छुट्टै पुस्तकहरूलाई अन्तिम रूप दिने प्रयासमा छु ।
आफ्नो साहित्यिक उपनाम अविनाशी राख्नुभएको छ। यसको कारण के होला ?
कमसे कम एउटा मात्रै भने पनि अविनाशी कृति निकाल्ने अठोटको घोषणा हो ।
कथा, उपन्यास, कविता, गीत आदि गरेर निकै कृतिहरू तयार पार्नुभएको रहेछ । ती कहिले प्रकाशित गर्ने योजना छ ?
कविताका दुइटा किताब निस्किसकेका छन् । त्यस्तै एक दर्जन जति गीतहरु पनि बजारमा आइसकेका छन् । बाँकी ३ विधाका पुस्तकहरू निकाल्न जोडतोडका साथ लागिरहेको छु ।
आर्थिक लेखहरू पनि लेख्नुहुँदो रहेछ। आर्थिक लेख लेख्नुको उद्देश्य के होला ?
म कमर्सको विद्यार्थी रहेको र पेशा पनि व्यवसायी भएको हुँदा यस क्षेत्रमा लेख्न रुची लाग्छ । संसारका धेरै देश घुमिसक्दा तत्तत् ठाउँको विकासको रहस्य बुझ्न मन लाग्छ । र तत्तत् देशका सरकारी नीति र जनतामा भएको जागरुकता तथा मेहनत आदिलाई नियाल्छु । सरकारले दिने सुबिधा नै जनताका लागि मुख्य अवसर हुने रहेछन् । यो कुरा हाम्रो घरदेशको सरकार र त्यहाँ बस्ने जनताका सामु पुर्याउने कोसिस तथा दुबै पक्षमा भएका कमीकमजोरिलाई औँल्याउने मेरो प्रयास रहन्छ ।
तपाईं साहित्यमा के-कस्ता मुद्दाहरू उठान गर्न रुचाउनु हुन्छ ?
परदेशीका पिडा, वैदेशिक रोजगारीले निम्त्याएका समस्या, नेपालमा विद्यमान विभेद, बेथिति र भ्रष्टचार आदिको सेरोफेरोमा कलम चलाउन मन लाग्छ ।
साहित्य समाजलाई सही दिशातिर डोर्याउन लेखिने हो वा साहित्यकारको विचारअनुसार लेखिने हो ?
साहित्यकारको विचार नै पोखिने हो तर ती विचारहरू समाजका विकृति र विसङ्गतीहरूतिर नै निर्देशित हुन्छन् । जसले गर्दा समाजलाई सही मार्गनिर्देशन गर्न सहयोग पुग्छ ।
नेपाली साहित्य अहिले कहाँ छ ? नेपालको साहित्यले केही विकास गरेको अनुभव गर्नु भएको छ ? खासगरी कुन विधामा बढी विकास गरेको छ ?
नेपालको साहित्य अहिलेसम्म नेपालीहरूबिच मात्रै छ । चाहे त्यो घरदेशमा होस् या परदेशमा । समयानुसार परिस्थिति, परिधि र विषयवस्तु पनि बदलिँदै गएका छन् । यही अवस्थालाई साहित्यकारहरूले पछ्याउँदै जाँदा साहित्यको पनि विकास भएको जस्तो देखिएको मात्र हो । तर, आजकाल नेपाली साहित्यकारहरूले पनि पटकपटक विश्वभ्रमण गरेका छन् । त्यो क्रममा स्थलगत अध्ययन गरी लेखिएका नियात्राहरू बढी लोकप्रिय बनेका छन् । किनभने, यो सबै नेपाली साहित्यकारहरूको पहुँचमा हुँदैन । त्यसैले नियात्रा लेखनको विकास भएको छ भन्ने कुरा स्वीकार्न सकिन्छ । यसलाई विदेशी भाषाहरूमा उल्था पनि गर्न सक्ने हो भने नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण पनि हुन सक्छ ।
नेपाली साहित्यमा पहिलो पुस्ता र वर्तमान पुस्ताको लेखनीमा कस्तो अन्तर देख्नुहुन्छ ? स्तरीयताको दृष्टिकोणले कुन पुस्ता अगाडि रहेको अनुभव गर्नुभएको छ ?
पहिलो पुस्ताले लेखेका साहित्य आफ्नो आत्मासन्तुष्टिका लागि लेखिएका जस्ता लाग्थे भने अहिलेका पुस्ताले लेखेका साहित्य बजारमुखी भएका जस्ता लाग्छन् । पहिलेका साहित्य खाँटी नेपाली शैलीका हुन्थे भने आजकालका साहित्य अन्तर्राष्ट्रिय शैली पनि मिस्सिएर “रिमिक्स” भएका पनि छन् । पहिलाका पुस्ताका साहित्यकारहरू आफ्नै बलबुत्तामा लेख्ने गर्थे भने आजकाल इडिटिङ्गदेखि घोस् राइटिङ्गसम्म गरेर आफ्ना कृतिहरू बजारमा ल्याउँछन् । यसले गर्दा आजकालका कृतिका स्तरीयता बढेको देखिन्छ । तर, वास्तवमा त्यो साहित्यकारको लेखनको स्तर बढेको हुँदैन । त्यसैले अहिलेका कृतिको स्तरीयता राम्रो हुन सक्छन्, उहिलेका साहित्यकारको स्तर दरिलो थियो ।
तपाईंको साहित्यमा लाग्ने प्रेरणा के हो ?
सन् २०१५ मा अनेसासको लस एन्जलस च्याप्टरको साधारण सभामा सन्जोगवश सहभागी हुन पुगेँ । नवनिर्वाचित अध्यक्षज्यूले मलाई सल्लाहकारमा राख्नका लागि प्रस्ताव गर्नुभयो । सबैले ताली पड्काएर समर्थन जनाउनु भयो, र म सल्लाहकारमा नियुक्त भए । साहित्यिक संस्थाको सल्लाहकारमा नियुक्त भएपछि त्यो सर्कलभित्र आफूलाई म्याच गर्नका लागि अरुले झैं कविता लेख्न र सुनाउन मन लाग्यो । र, लेख्न थालें । अनि सुनाउन थालेँ । यो क्रमले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
नेपालको साहित्यिक क्षेत्रमा तपाईं आफू कुन स्थानमा हुनुहुन्छ जस्तो लाग्छ ?
म सिकारु अवस्थामै छु जस्तो लाग्छ ।
नेपाली साहित्यका विभिन्न विधाहरूमध्ये कुन विधा लेख्न मन पराउनु हुन्छ ? किन ?
लेखहरू लेख्न बढी मन पर्छ । तर पछिल्ला दिनहरूमा गीत लेखनले मलाई तानिरहेको छ ।
साहित्य लेखनको उद्देश्य के हुनुपर्छ जस्तो लाग्छ ?
साहित्यले मनोरञ्जन, ज्ञान, दिशानिर्देशन, सूचना आदि मध्ये कमसे कम कुनै एक दिन जरुरी छ भन्ने मलाई लाग्छ ।
नेपाली साहित्य जगत्मा साहित्यकारहरू स्वयंले नै गहिरो अध्ययन गर्दैनन् भन्ने भनाइ सही हो ?
साँच्चिकै साहित्यकारहरूले त अध्ययन गर्नुहुन्छ होला, तर आजकलका नयाँ साहित्यकारहरू केवल आफ्नो कथाव्यथा मात्र पोखेर, साहित्यकार कहलाएकाहरूले अरूको कृति पढ्ने गरेको पाइँदैन ।
प्रवासमा रहेका नेपालीहरूले नेपाली साहित्यको विकासमा कुन किसिमले योगदान पुर्याइरहेक छन् ?
नेपालबाट साहित्यकारकै रूपमा परदेश छिर्ने र परदेशले साहित्यकार बनाएका दुई खालका साहित्यकारहरू परदेशमा पाइन्छन् । यस्ता नयाँ साहित्यकारहरू अलि बढी जुर्मुराएको पाइन्छ । सङ्गठित रूपमै नेपाली साहित्यलाई सम्वर्धन र प्रवर्धन गरिरहेको पाइएको छ । बेलाबेलामा कविगोष्ठि गर्ने, रचनावाचन मात्रै नभएर पुरस्कृत गरेर प्रोत्साहनसमेत गरेको पाइन्छ ।
चालु साहित्य र कालजयी साहित्य बीच के अन्तर छ ?
चालु साहित्य वर्षातको भेल जस्ता हुन् । अलि दिन पाठक तथा स्रोताहरू बिच धमाका मच्चाउँछन्, र हराउँछन् । तर कालजयी साहित्यहरू विस्तारै स्रोताहरुको मन जित्दै जान्छन् र सदासदाका लागि लोकप्रिय भइरहन्छन् । समुद्रझैं अटल रहिरहन्छन् ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न के गर्नुपर्ला ?
नेपाली साहित्यका कृतिहरूलाई विदेशी पाठकहरू माझ पुर्याउन सक्नु पर्दछ । जुन देशमा लगिने हो त्यही देशका पाठकहरूले बुझ्न सक्ने गरी त्यही भाषामा उल्था गरी बजारमा लान सक्नु पर्दछ । अहिले त नेपालका लेखकले लेखेका कृतिहरूलाई विदेश पठाएर हामीले अन्तर्राष्ट्रिय बजारमा पुर्याएका छौ भनी गम्किने चलन पनि छ । विदेशमा गएका ती कृतिहरू त्यहाँ बस्ने नेपालीहरूले पढ्दैमा अन्तर्राष्ट्रियकरण हुँदैन ।
नेपालमा अहिले एउटा बहस चर्को किसिमले उठेको छ । भूमिका लेखे बापत साहित्यकारहरूले परिश्रमिक लिनुपर्छ भन्ने भनाइ एकातिर छ भने अर्कोतिर लिनुहुँदैन भन्ने भनाइ पनि छ । तपाईंको विचारमा लिनु उचित कि नलिनु ?
अहिलेको जमानामा समयको मूल्य छ । मूल्यवान समयलाई कहीँकतै खर्चिँदा पारिश्रमिक लिनु नराम्रो होइन । जब कुनै राम्रो लेखकले लेखेका लेख पत्रपत्रिकाले पैसा तिरेर किन्छन्, पुस्तक लेखेर त्यसको मूल्य राखेर बेचिन्छ भने राम्रो र सत्य भूमिका लेख्दा पारिश्रमिक लिन किन नहुने ? पैसा तिरेर बनावटी वा झुट भूमिका लेखाउनु र लेख्नु पो गलत हो त !
नेपालमा पठन संस्कृतिमा विकास गर्न के गर्नुपर्ला ?
पहिला त साहित्यकारहरू लेखेर बाँच्न सक्ने अवस्थाको सिर्जना हुनु पर्छ । त्यसो हुन सक्यो भने सबैले आफ्नो कृति बजारमा सजिलै बेच्नका लागि स्तरीयतालाई ध्यान दिन थालिन्छ । अनि मात्र अरूको भन्दा आफूले अझ राम्रो लेख्नलाई मात्र भए पनि पठन संस्कृतिमा विकास हुन सक्छ ।
विदेशमा, खास गरी अमेरिकामा ठूलो सङ्ख्यामा पुस्तकहरू बिक्री हुन्छन् । त्यस्तो स्थिति नेपालमा किन नभएको होला ?
एक त आर्थिक सक्षमताका कारण पनि हुनसक्छ । अमेरिका बस्नेहरूका लागि प्रायः नेपाली किताबहरू नगन्य मोलका लाग्छन् । त्यसैले पनि होला तुलनात्मक रूपमा अमेरिकामा बढी बिक्री हुने । नेपालमा अरूको खुबीलाई महत्त्व दिन नसक्नु एउटा समस्या हो भने किताब किनेर पढ्दा बढ्ने बौद्धिक स्तरको हेक्का नहुनु अर्को समस्या हो । तर अमेरिकामा बस्नेहरू प्रायः आर्थिक रूपमा सम्पन्न भइसकेका छन् । त्यसैले केही सिक्न पनि चाहन्छन् । अर्को कुरा, विदेशमा बस्दा आफ्नो देश र देशका सबै चिज प्यारा लाग्छन् । त्यसैले किताब र किताब लेख्नेहरू पनि प्यारा लाग्न थालेका हुन सक्छन् ।
एउटा असल पुस्तकले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याइदिन्छ अर्थात् सफल हुन सहयोग गर्छ । यो भनाइ उचित हो ?
सोह्रै आना सही हो । तर पढेरभन्दा नक्कल गरेर छिटो सिकिन्छ, र सफल भइन्छ भन्ने मानसिकताको पनि कमी छैन नेपालीमा ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सम्बन्धित पक्षहरूबाट के पहल भएको छ ? पहल भएको छैन भने के पहल गर्नुपर्ला ?
प्रयाप्त पहल भएकै छैन । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न त विदेशीले लेखेका साहित्यलाई नेपालीमा र नेपाली साहित्यलाई विदेशीहरूको स्तरीय भाषामा उल्था गरेर आदानप्रदान गर्नु पर्छ । अनि मात्र सही अर्थमा अन्तर्राष्ट्रियकरण हुन्छ ।
तपाईं अमेरिकमा पत्रकारितामा पनि सम्बद्ध हुनु हुन्छ ?
हजुर छु । म नेपाली अनलाइन मिडियामा र नेपालीहरूको संस्थामा मात्र नभएर अमेरिकाको पत्रकार संघमा पनि आबद्ध छु । मलाई परिचय पत्रलगायत गाडीमा राख्ने पाससमेत दिइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।