नेपाली साहित्य जगत होस् या साहित्यभन्दा बाहिर पनि यतिबेला द पोइट आइडल चर्चाको विषय बनिरहेको छ । पहिलो पटक भएर पनि होला यसको चर्चा अलिक बेसी नै भइरहेको छ । आइडलका लागि यो सकारात्मक कुरा नै मान्नु पर्छ । यो आलेख तयार पार्दासम्म आइडलको ८ औँ एपिसोड सकिसकेको छ । आइडलको नक-आउट चरण पनि यहीँबाट सुरु भएको छ । अर्थात हरेक हप्ता एक जना प्रतियोगिताबाट बाहिरिने प्रक्रिया सुरु भएको छ । भोटिङ राउण्ड पनि खुल्ला गरिएको छ । कसरी भोट गर्ने ? भन्ने कुरा थाहा पाउन कार्यक्रम नै हेर्नु पर्छ ।

आइडलका निर्देशक अमन प्रताप अधिकारीका अनुसार १ हजार ४ सय ५० जनाले प्रतियोगितामा आफ्नो सहभागिता जनाएका थिए डिजिटल अडिसनमार्फत । त्यसमा १ सय ५० जना नेपालभन्दा बाहिर रहनु भएका कविहरु थिए । १४ सय ५० जनामा १२ सय ३० जना कविहरु प्रतियोगिताको पहिलो चरणबाटै आउट भए । जम्मा २ सय २० जना कविहरुलाई मात्र आइडलको पहिलो चरणको फिजिकल अडिसनका लागि छानियो । त्यसमा १ सय ७० जना नेपालभित्रका कविहरु थिए भने बाँकी ५० जना नेपाल बाहिरका ।

पहिलो चरणको फिजिकल अडिसनबाट १ सय ३० जना कविहरुलाई घर फर्काइयो । जम्मा ९० जनाले मात्र आइडलको दोस्रो चरणको फिजिकल अडिसनमा भाग लिन पाए । त्यसमा ६५ जना नेपाल भित्रबाट पर्नु भयो भने बाँकी २५ जना नेपाल बाहिरबाट ।

यसरी डिजिटल र फिजिकल अडिसनको दुबै चरणबाट अहिले उत्कृष्ट १४ जना अन्तिम प्रतिस्पर्धीको रुपमा छानिएको छ । बाँकी ७६ जना कविहरुको यात्रा पोइट आइडलमा टुङ्गिएको छ यो सिजनका लागि । छानिएका १४ जना  कविहरुबिच शब्दको कडा प्रतिस्पर्धा सुरु भइसकेको छ । १४ जनामा १२ जना नेपालबाट हुनुहुन्छ भने बाँकी दुई जना भारतीय नेपाली साहित्यबाट हुनुहुन्छ ।

त्यसमा पनि ५ जना महिला कविहरु हुनुहुन्छ । १४ जनालाई ७/७ जना गरेर दुई समूह बनाइएको छ । समूह A मा मिल्सन राई (भोजपुर), छबिना लुङ्गेली मगर (सुनसरी), नीलम गुरुङ (सिक्किम, भारत), अनुप न्यौपाने (दोलखा), गगन लिम्बू (मोरङ), युग सर्वनाम (रोल्पा) र पिङ्की बोहोरा (महेन्द्रनगर) रहनु भएको छ । त्यसैगरि समूह B मा न्याथन रायन (कञ्चनपुर), मल्लिका खतिवडा (झापा), पल्लविब (दार्जीलिङ, भारत), अस्मित भुसाल (स्याङ्जा), महेन्द्र राई (धरान),  लक्ष्मी प्रसाद मादेन (ताप्लेजुङ) र  मुनु अधिकारी (कैलाली) रहनु भएको छ ।  उहाँहरु मध्ये १० जना आउट भइसकेपछि बाँकी रहनु हुने ४ जना कविहरु बिच अन्तिम प्रतिस्पर्धा हुनेछ । तिनै चार जनामध्ये एक जनाले भोटिङका आधारमा पहिलो पोइट आइडलको पहिलो उपाधी उचालेर नेपाली साहित्यमा इतिहास रच्नु हुनेछ । को होला त्यो भाग्यमानी ?

आजको आलेखमा आइडलको डिजिटल अडिसन हुँदै दोस्रो चरणको फिजिकल अडिसनसम्म पुगेर बाहिरिनु भएका ७६ जनामध्ये चार जना कविहरुको अनुभवलाई समेट्ने कोसिस गरेको छु । ती चार जना कविहरसंँग मैले “द पोइट आइडलको यात्रा कस्तो रह्यो ?” भन्ने विषमा छोटो कुराकानी गरेको थिएँ ।  यसमा दुई जना  महिला र दुई जना पुरुष कविलाई समेटिएको छ । त्यसमा पनि दुई जना झापाको, एक जना सुनसरी र अर्को चितवनको हुनुहुन्छ । अब पालैपालो उहाँहरूले दिएको जवाफलाई म उल्लेख गर्दै जानेछु ।

===

१) मनिषा तिवारी   : पोएट आइडल आफैँमा एउटा चुनौती बोकेर आएको कार्यक्रम हो 

भरतपुर ११ चितवन निवासी कवि मनिषा तिवारी विगत ५/६ वर्षदेखि निरन्तर रुपमा कविता लेख्दै आउनु भएको छ । मनमा गुम्सिएका भावनाहरुलाई शब्दको माध्यमद्वारा बाहिर निकालेर जीवनतता दिन उहाँ कविता लेख्ने गर्नुहुन्छ । विशेषगरी प्रेमिल कविता लेख्न रुचाउने कवि तिवारी कवितालाई  कलाको एउटा पाटोको रुपमा हेर्नुहुन्छ । जसले मनका सुख, दुख, पीडा, हाँसो, रोदन, खुसी, सन्तुष्टि, असन्तुष्टि सबै कुरालाई एकसाथ बाहिर पोख्न सहयोग गर्छ । उहाँका केही प्रेमिल कविताहरु मैले पनि सुनिसकेको छु । निक्कै सरल भाषा र शैलीमा लेख्नुहुन्छ । यस्तो प्रतिक्रिया उहाँलाई अरुले पनि दिने गरेका थिए पहिलेदेखि ।

उहाँका केही कविताहरु राम्रो सङ्गीत गरेर कसैलाई गाउन लगाउने हो भने  सुन्दर गीत बन्ने खालका छन् । कतिपय कवितामा  गीतका तत्व बेसी भेटिन्छन । यो कुरा गायक राज सिग्देले पनि महसुस गर्नुभयो । कवि तिवारीको एउटा कविता (जो गीत जस्तो लाग्यो) मैले गायक सिग्देललाई सुनाएको थिएँ । “सङ्गीत गर्ने खालको शब्द रहेछ” भन्ने प्रतिक्रिया उहाँले दिनु भएको थियो ।

व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको औपचारिक अध्यन पूरा गर्नु भएकी कवि तिवारी जागिरका लागि केही दिन अघि मात्र चितवनबाट काठमाडौँ आउनु भएको छ । काठमाडौँस्थित एक सफ्टवेयर कम्पनीमा सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजरमा नियुक्ति पाउनु भएको छ । पढाइ र जागिरको विषय एकातिर भए पनि उहाँको रुची भने साहित्यमा औधी देखिन्छ । त्यसकारण पहिलो पटक आयोजना भइरहेको पोइट आइडलमा कवि तिवारीले पनि आफ्नो सहभागिता जनाउनु भयो । आइडलको दोस्रो चरणको फिजिकल अडिसनसम्म पुगेर उहाँ बाहिरिनु भयो ।

कवि तिवारीले फेसबुकमार्फत पोइट आइडल हुँदैछ भन्ने जानकारी प्राप्त गर्नुभएको रहेछ । आइडलबारे समाचारहरु सार्वजनिक भएको करिब एक महिनापछि उहाँले थाहा पाउनु भयो । खबर सुन्नसाथ मनमा खुसी छाएको थियो । लामो समयदेखि कविता लेख्दै आएको भए पनि आफ्ना कविताहरु सुनाउने उपयुुक्त ठाउँ उहाँले पाइरहनु भएको थिएन । यो नै उपयुुक्त स्थान हो भन्ने उहाँलाई लाग्यो, जहाँ आफ्ना भावनाहरु कवितामार्फत सुनाउन सकिनेछ । पहिलो पटक कविहरुका लागि यति ठुलो अवसर आउँदैछ भन्ने कुराले उहाँलाई खुसी त दिलायो नै । तर त्यस अवसरलाई आफूले ग्रहण गर्ने कि नगर्ने ? भन्ने कुराले भने उहाँलाई दोधारमा राख्यो केही दिन ।

आफ्ना भावनाहरु पोख्ने योभन्दा उपयुुक्त ठाउँ अर्को हुन सक्दैन भन्ने ठान्नु भयो र अन्तत: उहाँ यसमा सहभागी हुनुभयो, त्यो पनि डिजिटल अडिसनको समय सीमा सकिने अन्तिम दिन ।  परदेशिएका लाखौँ युवाहरूको कथालाई समेटेर तयार पारिएको “चालिस कटेसी रमाउँला” शीर्षकको कविता उहाँले पठाउनु भएको थियो सुरुमा । यही कविताले कवि तिवारीलाई प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरायो ।

बधाईसहित पोइट आइडलको फिजिकल अडिसनका लागि आफू छानिएको खबर आइडल टिमले फोनमार्फत गराउँदा कवि तिवारी निक्कै खुसी हुनु भएको थियो । सयौँको भिडबाट आफ्नो कविता छानिँदा “अब चाहिँ केही होला कि ?” भन्ने उहाँलाई लागेको थियो । गन्तव्य जतिसुकै टाढा भए पनि त्यसको सुरुवात एक पाइलाबाटै हुन्छ भन्ने कुराको बोध कवि तिवारीलाई पनि छ । यो उहाँको त्यही पहिलो पाइला थियो सफलताको लागि ।

काठमाडौँ पुगेर फिजिकल अडिसनको पहिलो चरणमा उहाँले “आखिर गलत के ?” शीर्षकको कविता सुनाउनु भयो । यस कविताले उहाँलाई फेरि एक पटक आइडलको अर्को चरणमा पुर्यायो । जहाँ केवल ९० जना कविहरु छानिएका थिए । यसरी पोइट आइडलमा एक पछि अर्को सफलता हात लाग्दै गर्दा यसमा अझै केही कदम अगाडिसम्म पुग्न सकौँ,  अझै केही कुराहरू भन्न सकौँ, थोरै भए पनि सफल भएको महसुस गर्न पाऊँ, त्योभन्दा पनि ठुलो कुरा आफ्नो कलालाई अझै निरन्तरता दिन सकौँ भन्ने उहाँलाई लागेको थियो । तर आइडलको दोस्रो कारणको फिजिकल अडिसनबाट उहाँको यात्रा टुङ्गियो । तर एक किसिमले यसलाई पनि ठुलै सफलता मान्न पर्छ । किन भने त्यहाँसम्म पुग्न नपाएर घर फर्किएका कविहरु धेरै थिए ।

चाहे उचाइमा पुगियोस, चाहे सुरुवातमै यात्रा टुङ्गियोस्, उदेश्य भने चन्द्रमा छुने नै राख्नु पर्छ भन्ने कवि तिवारीको धारणा छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविताले भने जस्तै । जब हारिन्छ, त्यही हारले सिकाउँछ । त्यही हार जितको पहिलो खुड्किलो बन्न पुग्छ । पोइट आइडलको यात्रा टुङ्गिएपछि उहाँले यस्तै महसुस गर्नुभयो । आइडलमा यात्रा टुङ्गिए पनि लेखनलाई निरन्तरता दिने उहाँ प्रण गर्नुहुन्छ । हाम्रो कामना पनि यही छ ।

प्रतियोगिताबाट बाहिरिँदै गर्दा दुख त लाग्यो नै उहाँलाई । किनभने केही सपनाहरू उहाँले बुन्न थालिसक्नु भएको थियो त्यहाँ पुगेपछि । तर “आउट भएँ भन्दैमा हरेस मानेर लेख्नै छोड्ने, आफ्ना भावनाहरु पोख्नै छोड्ने भन्ने कुरा पनि त आउँदैन नि, हैन र ?” उहाँ मलाई प्रतिप्रश्न गर्नुहुन्छ । थोरै भए पनि राष्ट्रिय टेलिभिजनको पर्दामा आफ्नो प्रस्तुति देख्न पाउँदा आफूलाई निक्कै भाग्यमानी रहेछु भन्ने महसुस गरिरहनु भएको छ यतिबेला उहाँ ।

पोइट आइडलमा भाग लिएर के कुरा सिकेर आउनु भयो त ? भन्ने मेरो जिज्ञासामा आफूले सरल भाषा र सरल शैलीमा कविता लेख्दै आएकोले त्यसमा शब्द संयोजन कसरी गर्ने ? कवितामा शब्द संयोजन महत्त्वपूर्ण पाटो रहेछ भन्ने कुरा बुझ्ने मौका पाएको उहाँ बताउनु हुन्छ । विशेषगरी कवि तथा आइडलका निर्णायक विप्लव प्रतीकले भनेको कुरा उहाँ सम्झिनु हुन्छ । यसका साथै आफूले कविता लेखेर मात्र हुँदैन, धेरै भन्दा धेरै कविताका किताबहरु पढ्ने बानी बसाल्नु पर्छ र अरुका कविताहरु  सुनिरहनु पर्ने रैछ भन्ने कुरा पनि उहाँले आइडलमा पुगेर महसुस गर्नुभयो ।

यसकारण कविता प्रेमिका लागि पोइट आइडल एउटा ठुलो अवसर हो भन्ने उहाँलाई लाग्छ । यो अवसर कवितामा रुची राख्नेहरुका लागि  कल्पना भन्दा परको विषय भएको उहाँको बुझाइ छ । नयाँ नयाँ प्रतिभाको खोजी गर्नुका साथै यसले थुप्रै कुराहरू सिकाउने भएकोले धेरैका लागि यो एउटा सुनौलो मौका हो भन्ने उहाँ ठान्नुहुन्छ । आइडलको मञ्चले केही हदसम्म भए पनि आफूलाई अगाडि बढ्न  सक्ने रहेछु भन्ने आँट र हौसला दिलाएको उहाँ बताउनु हुन्छ । पोइट आइडल आफैँमा एउटा चुनौती बोकेर आएको कार्यक्रम भएकोले बजारमा आएका र आउन सक्ने हरेक नकारात्मक प्रतिक्रियाहरुलाई सुझाबको रुपमा ग्रहण गर्दै अगाडि बढ्न सिङ्गो टिमलाई कवि तिवारी अनुरोध गर्नुहुन्छ । यसका साथै आइडलका अन्य थुप्रै सिजनहरु आइदियोस् भन्ने उहाँको चाहाना पनि छ, मेरो जस्तै ।

===

२) निरज दाहाल   : पोएट आइडलबाट हारलाई स्वीकार गर्न सिकेँ

निरज दाहाल

सानै उमेरमा कवितामा फड्को मार्ने भनौँ अथवा प्रगति गर्ने भनौँ, नेपाली कविताको क्षेत्रमा कति होलान् ? त्यो त म एकिनका साथ भन्न सक्दिनँ। तर मैले देखेको र जानेको  एउटा नाम निरज दाहाल हो । फेरि हाम्रो गृह जिल्ला पनि एउटै, झापा । ठाउँ मात्र फरक । उहाँ बुधबारे म बिर्तामोडको बासिन्दा । अहिले हामी दुबै जना आफ्नो जिल्लामा छैनौँ । उहाँ भक्तपुर, म युएई । उहाँकै कुरा गरम क्यार ।

“अंश बाँडफाँड” शीर्षकको उहाँको कविताले कुनै समय सामाजिक सञ्जाल तताएको थियो । त्यसको चर्चा अहिले पनि हुन्छ बेलाबेला । निरज दाहाल भन्ने बित्तिकै अहिले पनि धेरैको दिमागमा त्यही कविता आइपुग्छ । खासमा मैले पनि उहाँको त्यही “अंश बाँडफाँड” कविता फेसबुकमा चर्चामा आएपछि, अहिलेको भाषामा भन्नुपर्दा भाइरल भएपछि उहाँलाई चिनेको हो । त्यहीँबाट सञ्जालमा साथी पनि  भएका हौँ हामी ।

नेपाली कविताको क्षेत्रमा कलम चलाउने र रुची राख्नेहरुका लागि उहाँ नयाँ मान्छे होइन । उहाँले  कविता लेख्न थालेको पनि लामै समय भइसक्यो ।  फेरि लामो समयदेखि कविता लेखेर मात्र पनि चर्चामा आउने कुरा होइन रहेछ । कविताभित्रको शक्तिले पनि काम गर्छ । जुन उहाँका कवितामा छन् । यसमा अलिकति भाग्यको कुरा पनि आउला । तर कवि दाहाल आफ्ना लागि भने भर्खर लेख्न थालेको कवि हो भन्नुहुन्छ । त्यसकारण  कविताप्रति धारणा राख्ने आफ्नो ल्याकत छैन भन्नुहुन्छ । “हृदयले जे अह्राउँछ म त्यही गर्छु । यसर्थ म हृदयको बेतलबी ज्यामी हुँ ” । यो उहाँको भनाइ हो । कवितामा के लेखियो ? भन्ने कुराको आत्मसमीक्षा भर्खर गर्न थालेको उहाँ बताउनु हुन्छ ।

पोइट आइडलको उत्कृष्ट १४ मा पर्न असफल भनौँ अथवा दोस्रो चरणको फिजिकल अडिसनबाट घर फर्किनु भएका कविहरुको सूचीमा उहाँ पनि पर्नुहुन्छ । उहाँसँग पनि मैले पोइट आइडलमा सहभागी हुँदाको अनुभव के कस्तो रह्यो ? भन्ने विषयमा छोटो कुराकानी गरेको थिएँ ।

पोइट आइडल हुँदैछ भनेर जुन दिन बजारमा समाचार सार्वजनिक भयो त्यसै दिन उहाँले पनि यो बारेमा थाहा पाउनु भएको रहेछ । यसको मतलब बजार र उहाँले सँग-सँगै थाहा पाउनु भएको हो । तर त्यतिबेला पोइट आइडल हुँदैछ भन्ने मात्र थाहा भयो । कहिले ? किन ? कसरी ? भन्ने कुरा चाहिँ आइडलका निर्देशक अमन प्रताप अधिकारीका अन्तर्वार्ताहरु हेरेपछि थाहा पाउनु भएको रहेछ कवि दाहालले । साहित्यपोस्टकै फेसबुक पेजबाट शनिबार प्रसारण हुँदै आएको “साहित्यवार्ता : स्रष्टा र सिर्जना” को १० औँ शृङ्खला मैले पनि निर्देशक अधिकारीसँग यही पोइट आइडल बारे कुराकानी गरेको थिएँ । सायद कवि दाहालले त्यहाँबाट पनि थप जानकारी लिएको हुन सक्छ । खैर, केही छैन । जहाँबाट भए पनि थाहा पाउनु थियो, उहाँले पाउनु भयो ।

यसको समाचार पहिलो पटक सुन्दा/पढ्दा “ओ हो ! गज्जब हुने भयो” भन्ने लाग्यो उहाँलाई । गीत सङ्गीत र नृत्यका रियालिटी सोहरू हेर्दाहेर्दा थाकेका आँखाहरूलाई आराम दिलाउने अर्को कुनै रियालिटी सो आउँदा खुसी हुनु सामान्य नै हो । उहाँलाई यस्तै महसुस भयो । कुराकानीका क्रममा कविहरुले जवाफ दिने शैली पनि कवितामा जस्तै बिम्बात्मक हुन्छ्न बेलाबेला । पोइट आइडलको समाचार सुरुमा पढ्दा महसुस गरेको खुसीलाई उहाँ यसरी बिम्बमा व्यक्त गर्नुहुन्छ, “होण्डा साइनमा दौडिरहेको मान्छेले एकाएक डट बाइक किनेर भीर पाखातिर कुदाउँदा कस्तो महसुस गर्ला ? मैले पनि यो सो आउँदैछ भन्दा त्यस्तै खुसी महसुस गरेको थिएँ ।” कस्तो मीठो उदाहरण ।

पोइट आइडल हुँदैछ भनेर जानकारी त प्राप्त भयो । तर त्यसमा सहभागी हुने कि नहुने ? भन्ने कुराले उहाँलाई केही समय दोधारमा पार्यो । उहाँले आफ्नै मनलाई यो विषयमा पटक-पटक अन्तर्वार्ता लिनु भयो र दिनु पनि भयो । आइडलको समाचार सार्वजनिक भएसँगै कवितामाथि व्यापार हुन लाग्यो, कवितामा व्यापार हुनु हुँदैन भन्ने लगायत कुराले सामाजिक सञ्जाल तात्न थालिसकेको थियो । सेलाएको त अहिले पनि कहाँ छ र ? यी कुराले गर्दा प्रतियोगितामा भाग लिने कि नलिने ? भनेर कवि दाहाललाई दोधारमा राखेको देखिन्छ ।

साहित्यमा बामे सर्दै गरेका र घरबाट टाढा बसेकाहरुलाई भरे के पकाउने ? भन्ने पीडा छ । यसको मतलब साहित्यमा पैसा छैन । यो कुरा उहाँलाई राम्रोसँग थाहा छ । फेरि यसअघिका थुप्रै कविता प्रतियोगिताहरुमा उहाँ सहभागी हुँदै र थुप्रैमा विजेता पनि बनिसक्नु भएको छ । प्रतियोगिताबाट जितेको पैसाले आफ्नो गर्जो टारेको उहाँले कसरी बिर्सनु हुन्छ होला र ?  यी कुराहरुले गर्दा आइडलमा सहभागी हुने विषयमा उहाँ सकारात्मक हुन थाल्नुभयो बिस्तारै ।

कवितामा कलम चलाइरहेको अहिलेको पुस्ता अलिक भाग्यमानी छ कि ? जस्तो लाग्छ । कवि दाहालकै शब्द सापटी लिएर भन्नुपर्दा अहिले हामी टिकट किनेर कविता सुन्ने समयमा छौँ । थोरै भए पनि कविताले मूल्य पाइरहेको समयमा हामी छौँ । अनि भाग्यमानी भएनौँ त ? त्यसकारण अलिकति नामको लोभ, अलिकति दामको लोभ, त्योभन्दा पनि धेरै आइडलबाट केही सिकिन्छ कि ? भन्ने कुराले लोभ्यायो र उहाँले भाग लिनुभयो । पोइट आइडलको डिजिटल अडिसनमा उहाँले “अंश बाँडफाँड” र पहिलो चरणको फिजिकल अडिसनमा “गाउँघर” शीर्षकको कविता सुनाउनु भएको थियो । दोस्रो चरणको  फिजिकल अडिसनमा भने आइडल टिमले दिएको शीर्षकमध्ये “तस्विर” माथि कविता लेख्नु भएको थियो ।

कवि दाहाल आफैँमा पत्रकार पनि भएर होला मैले उहाँलाई सोधेको भन्दा धेरै प्रश्नहरु मलाई तेर्साउनु हुन्छ, “कुरा के छ भने नि डिजी जी, तपाईं परीक्षामा किन बस्नुहुन्छ ? पास हुन्छु भनेर होइन ? कुनै सैनिक युद्धमा के सोचेर होमिन्छ ? युद्ध जित्छु भनेर होइन ? कुनै प्रतियोगी किन प्रतियोगितामा भाग लिन्छ ? जित्छु भनेर होइन ? म पनि जित्छु भनेर नै गएको हुँ । किन कि यो प्रतियोगिता थियो, कुनै कार्यक्रम थिएन कि एकछिन् बस्छु अनि निस्कन्छु भन्नको लागि ।”

उसो भए “पोइट आइडलबाट आउट हुँदा कस्तो महसुस गर्नुभयो ?” मैले सोधिहालेँ । यो प्रश्न उहाँलाई निक्कै गाह्रो लागेछ । चुनावमा हारेको नेतालाई भन्दा उहाँलाई गाह्रो बनायो यो प्रश्नले । प्रेमिकाले छोडेर जाँदा  कस्तो महसुस भइरहेको छ ? भनेर प्रेमीलाई सोधे जस्तै होला यो पनि । फेरि पनि कुराकानी अगाडि बढाउनु त थियो नै । त्यसका लागि प्रश्न चाहिन्छ । मैदानमा दुई पक्षले जितेको युद्ध उहाँले आजसम्म सुन्नुभएको छैन अरे । त्यो त मैले पनि सुनेको छैन । यसको मतलब प्रतियोगिता हो, हार जित भन्ने कुरा भइरहन्छ । यसलाई सामन्य रुपमा लिनुपर्छ भन्ने उहाँको बुझाइ हुन सक्छ । मैले त्यही बुझेँ ।

मैले अघि नै भनेँ नि उहाँ पत्रकार पनि हो, प्रश्न गर्न माहिर हुनुहुन्छ भनेर । कतारमा भर्खरै सकिएको विश्वकप फुटबलको उदाहरण दिँदै उहाँ फेरि एक पटक बिम्बात्मक शैलीमा जवाफ दिनुहुन्छ,  “मलाई फुटबलको धङधङी अझै उत्रेको छैन । जितको संघारमा पुगेर हारेको फ्रान्सले अब जिन्दगीभर फुटबल खेल्दैन होला त ? खेल्छ नि बारबार खेल्छ । अनि ग्रुप स्टेजबाट बाहिरिएको निरजले अब जिन्दगीभर कविता लेख्दैन होला त ? लेख्छ नि । म सोबाट बाहिरिएको हुँ, कविताबाट होइन ।”  यसमा त म पनि सहमत छु ।

पोइट आइडलबाट आफूले हारलाई स्वीकार गर्न सिकेको उहाँ उल्लेख गर्नुहुन्छ । यति मात्रै पनि होइन । कहाँ-कहाँ बसेर, कस-कसले, कस्ता-कस्ता कविताहरु लेखिरहेका रहेछन त ? भनेर अझै  नजिकबाट बुझ्ने मौका पनि उहाँले प्राप्त गर्नुभयो । कहिल्यै भेट नभएका साथीहरूसँग भेट्ने र चिनजान गर्ने अवसर पनि जुर्यो । पोइट आइडलको सुन्दर पक्ष यही हो भन्नुहुन्छ कवि दाहाल । यसरी समग्रमा पोइट आइडललाई कविहरुको उत्कृष्ट मञ्चको रुपमा उहाँ लिनु हुन्छ । चर्चा कति पाउँछ ? सफलता कसरी हात पर्छ ? भन्ने कुरा त्यो पछिको कुराको भयो । तर कविता लेखिरहेकाहरुका लागि “म यो हुँ” भनेर देखाउनको लागि पोइट आइडल उपयुुक्त  माध्यम हो भन्ने उहाँको बुझाइ छ ।

यी सबै हुँदाहुँदै पनि कार्यक्रमप्रति केही गुनासो कवि दाहालको छ । कुनै पनि कुरा शतप्रतिशत सही हुन्छ अथवा  ठिक हुन्छ भनेर भन्न नसकिनुको कारण पनि यही होला । ती कमी-कमजोरीहरु आइडलमा पनि देखिनु स्वभाविक थियो । निर्देशक र इडिटरले अलिकति ध्यान दिएको भए टेलिभिजनमा खिचडी पाक्ने थिएन भन्नुहुन्छ कवि दाहाल । को आउँछ,  को जान्छ ? कसको कविताको शीर्षक के हो ? पूरा  कविता के थियो ? दर्शकले चाल पाएनन् । यो कुरालाई लिएर सामाजिक सञ्जालमा पनि खुब हलचल मच्चियो । यो कुरा कवि दाहाललाई पनि मन परेन । हुन त यसमा समयको कुरा होला । टेलिभिजनले दिएको समय र आइडलले पाएको समयको बिचमा निर्देशक निसास्सिएको पनि हुन सक्छन् । कवि दाहाल यसरी पनि चित्त बुझाउनु हुन्छ । तर आनन्दले लामो सास फेर्नको लागि युट्युब छ भन्ने कुरा आइडल टिमले बुझोस् भन्ने उहाँको चाहा छ ।

===

 

३) शारदा सापकोटा  : कवितालाई माया गर्नेहरुका लागि चाहिने कार्यक्रम हो 

शारदा सापकोटा

उहाँ हुनुहुन्छ कवि शारदा सापकोटा । स्थायी घर झापाको बिर्तामोड भए पनि हाल उहाँ किर्तिपुर -०२ काठमाडौँमा बस्दै आउनु भएको छ । निक्कै पहिलेदेखि उहाँ कविता लेखनमा सक्रिय हुनुहुन्छ । तर लेखेका कुरालाई डायरीमा सिमित राख्दै आउनु भएको छ । अहिलेसम्म पोइट आइडलको मञ्च बाहेक अन्त कहिँ कतै स्टेजमा कविता वाचन गरेको अनुअव उहाँसँग छैन ।  आफ्नो कविता वाचनलाई घरपरिवार, साथीभाइ र आफ्नो कार्यालयमा सीमित राख्दै आउनु भएकी कवि सापकोटाका लागि आइडलको मञ्च नै पहिलो सार्वजनिक  स्टेज बन्न पुग्यो । कस्तो भव्य सुरुवात !

कविता के हो ? भन्ने सन्दर्भमा, जीवन भोगाइका अनुभव, अनुभूती र त्यसको अभिव्यक्ति नै कविता हो भन्ने उहाँको बुझाइ छ । कवितालाई जीवन भोगाइसँग जोड्ने कवि सापकोटा पछिल्लो समय साङ्केतिक भाषा सहितको कविता वाचनमा लाग्नु भएको छ । कान सुन्न नसक्नेहरुको माझमा पनि कविता पुर्याउनु पर्छ भनेर यस्तो अभियान सुरु गरेको उहाँ उल्लेख गर्नु हुन्छ । यसमा उहाँले आफ्ना मात्र नभई अरुका कविताहरुलाई पनि साङ्केतिक भाषासहित वाचन गरेर सामाजिक सञ्जालमा राख्दै आउनु भएको छ । जसलाई धेरैले मन पराउन थाल्नु भएको छ र उहाँको यस कार्यको प्रशंसा हुन थालेको छ ।

कवि सापकोटाले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको औपचारिक अध्यन पूरा गर्नुभएको छ । त्यसका साथै भाषा विज्ञानमा पनि स्नातकोत्तर गर्नुभएको छ, जसको अहिले थेसिस लेख्ने काम भइरहेको छ । हाल उहाँ साङ्केतिक भाषा दोभाषेको रुपमा काम गरिरहनु भएको छ ।

साङ्केतिक भाषासहित कविता वाचन गर्ने आफ्नो अभियानलाई अझै फराकिलो बनाउन र आफ्ना कविताहरु सुनाउन उहाँ पनि पोइट आइडलको मञ्चमा पुग्नु भयो अरु जस्तै गरि । त्यहाँ पनि उहाँले साङ्केतिक भाषासहित वाचन गर्नुभएको थियो ।  आइडलको दोस्रो चरणको फिजिकल अडिसनसम्म पुगेर बाहिरिने कविहरु मध्ये एक उहाँ पनि पर्नुहुन्छ । माथि उल्लेखित दुई कविहरुले जस्तै कवि सापकोटाले पनि फेसबुकमार्फत नै पोइट आइडलको बारेमा जानकारी प्राप्त गर्नुभएको थियो । त्यतिबेला दशैंंको माहोल चलिरहेको थियो ।

सुरुमा त “ए ! यस्तो पनि पो हुन लागेको रैछ” भन्ने भाव आएको थियो उहाँमा । प्रतियोगिता बारे जानकारी प्राप्त गरे पनि त्यसमा सहभागी हुने कुरामा चाहिँ खासै जाँगर चलेको थिएन उहाँलाई । दशैंँको रमझममा भुलेर पनि हुनसक्छ । पछि उहाँका साथीहरूले धेरै नै कर गरेपछि “पठाइदिऊँ न त !” भनेर पठाउनु भएको रहेछ । त्यो पनि डिजिटल अडिसनको समय सिमा सकिने बेलामा ।

उहाँले प्रतियोगिताको डिजिटल अडिसनमा “सफलता” शीर्षकको कवि वाचन गरेर पठाउनु भएको थियो । कविता लेखेर डायरीमै राख्ने र कतै सुनाउने बानी नभएका कारण डिजिटल अडिसनबाटै बाहिरिन्छु होला भन्ने उहाँलाई लागेको थियो । तर त्यस्तो भएन । उहाँलाई प्रतियोगिताको दोस्रो चरणका लागि निम्तो आयो आइडलबाट । कस्तो रमाइलो ! नसोचेको भयो । डिजिटल अडिसनबाटै फालिन्छु होला भनेको मान्छे प्रतियोगिताको दोस्रो चरणको फिजिकल अडिसनसम्म पुग्नु भयो । फिजिकल अडिसनको पहिलो चरणमा “रहर”, दोस्रो चरणमा “उज्यालो” र आशु कवि राउण्डमा “सन्नाटा” शीर्षकको कविता उहाँले सुनाउनु भयो । त्यसपछि भने त्यो अवसर प्राप्त भएन आइडलको मञ्चमा ।

प्रतियोगिताबाट बाहिरिए पनि कम्तिमा त्यहाँसम्म पुगेर साङ्गेतिक भाषासहितको कविता वाचन अभियान र बहिरा समुदायका बारेमा निर्णायकसँगै अन्य थुप्रै कविता प्रेमीहरुलाई जानकारी गराउने मौका पाएकोमा उहाँ खुसी हुनुहुन्छ । यसकारण प्रतियोगिताबाट आउट भएकोमा खासै दुखी हुनु पर्ने कारण उहाँ देख्नुहुन्न ।

कविता लेख्ने भन्दा पनि आफूलाई कविताको पाठक हो भन्नमा बढी रुची राख्ने कवि सापकोटाले आइडलमा थुप्रै अब्बल कविहरुको कविता सुन्न पाएको र त्यसबाट आफूले अझै धेरै साधना गर्न बाँकी रहेको कुरा महसुस गर्नुभयो । यसका साथै कविता लेखनसँगै यसको प्रस्तुतीकरणले कस्तो महत्त्व राख्ने रैछ ? भन्ने कुरा पनि बुझ्ने मौका पाएको उहाँ बताउनुहुन्छ । यसकारण समग्रमा कवितालाई माया गर्नेहरुका लागि पोइट आइडल चाहिने कार्यक्रम हो भन्ने उहाँको ठम्याइ छ । “तपाईं हामीलाई चाहिने मान्छे हो” भने जस्तै ।

यसले राम्रा-राम्रा कविता सिर्जना गर्न प्रेरणा दिने भएकोले आगामी दिनमा पनि कविता तथा साहित्यसँग सम्बन्धि यस्ता अन्य थुप्रै कार्यक्रमहरु आइदिउन भन्ने उहाँको कामना छ । पोइट आइडल हाम्रो मौलिक कार्यक्रम भएकोले पनि यसमा केही कमि-कमजोरीहरु भए भन्नुहुन्छ कवि सापकोटा । ती के के हुन ? भन्ने विषयमा चाहिँ उहाँले खुलाउन चाहनु भएन । पहिलो पटक भएकोले ती कमजोरीहरु स्वभाविक हुन भन्ने उहाँ ठान्नुहुन्छ । जाँदाजाँदै उहाँले छन्द कवितालाई पनि  न्याय हुनेगरी एक जना  निर्णायक राखिएको भए कार्यक्रम अझै सुन्दर हुन सक्थ्यो भन्ने धारणा व्यक्त गर्नुभयो ।

===

४) तिर्थराज विश्वकर्मा : भोटले होइन, कविताले उपाधी जितोस्

तिर्थराज विश्वकर्मा

उहाँ हुनुहुन्छ कवि तीर्थराज विश्वकर्मा । जो धरान -८ सुनसरीमा बस्दै आउनु भएको छ । विगत ३/४ वर्षदेखि उहाँ कविता लेखनमा सक्रिय हुनुहुन्छ । हरेक कुरामा कविता देख्ने कवि विश्वकर्माका साथीहरू प्राय: सबैलाई थाहा छ उहाँले कविता लेख्नुहुन्छ भन्ने कुरा । मैले पनि विगत केही समयदेखि उहाँका कविताहरु फेसबुकमा पढ्दै आएको छु ।

त्यही भएर होला नेपालमा पहिलो पटक कविता र कविमाथि पनि रियालिटी शो हुँदैछ भन्ने समाचार सार्वजनिक भएपछि उहाँका साथीहरूले आइडलको फेसबुक पेजमा उहाँलाई  मेन्सन गर्नुभएको रहेछ  । त्यही मेन्सनबाट कवि विश्वकर्माले पोइट आइडलबारे जानकारी प्राप्त गर्नुभयो र त्यसमा भाग लिने निर्णय पनि गर्नु भयो । कविता लेख्न थालेदेखि नै उहाँ विभिन्न कविता प्रतियोगिताहरुमा भाग लिँदै आइरहनु भएको छ । थुप्रै प्रतियोगितामा उहाँ विजेता समेत बन्नुभएको छ ।

अस्ति भर्खर मात्र उद्योग वाणिज्य संघ चितवनले १४ औँ चितवन महोत्सवका अवसरा आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभयो । आफूले थाहा पाएसम्मका प्राय: सबै कविता प्रतियोगितामा सहभागिता जनाउँदै आउनु भएका कवि विश्वकर्मालाई पोइट आइडल हुँदैछ भन्ने समाचार सुन्दा खुसी नहुने कुरै आएन । आइडल बारेको समाचार पढ्नसाथ आफूमा एक किसिमको उर्जा पैदा भएको उहाँ बताउनु हुन्छ । नदी नालामा पौडिरहेको माछाले समुन्द्र भेट्टाए जस्तो भयो होला सायद उहाँलाई । त्यसकारण पहिलो पटक समाचार पढ्नसाथ पोइट आइडलमा सहभागी हुने निर्णय गर्नुभयो उहाँले ।  केही दिनपछि आइडलको प्रोमोहरु सार्वजनिक हुन थाले । त्यसले झन बेसी उहाँलाई उत्साहित बनायो ।

कवि विश्वकर्मा नाटक पनि खेल्नुहुन्छ । यसको मतलब उहाँलाई कविता लेखनसँगै अभिनयमा पनि उत्तिकै रुची छ । पोइट आइडलको मञ्चमा कविता वाचनसँगै त्यही अनुसार अभिनय पनि गर्न पाइने कुराले उहाँलाई झन धेरै खुसी दिलाएको थियो । पोइट आइडलको डिजिटल अडिसनका लागि उहाँले “कमरेडलाई प्रश्न” शीर्षकको कविता पठाउनु भएको थियो । त्यस कविताले उहाँलाई फिजिकल अडिसनका लागि काठमाडौँसम्म जाने अवसर दिलायो । पहिलो चरणको फिजिकल अडिसनमा उहाँले “घरको कुरा” शीर्षकको कविता चार जना निर्णायकसामु प्रस्तुत गर्नुभएको थियो । त्यसले उहाँलाई  पोइट आइडलको मञ्चमा पुन: एक पटक कविता प्रस्तुत गर्ने अवसर दियो र उहाँ दोस्रो चरणको फिजिकल अडिसनमा प्रवेश गर्नुभयो । दोस्रो चरणको फिजिकल अडिसनमा कविता वाचन गरिसकेपछि भने कवि विश्वकर्माको द पोइट आइडलमा यो पटकका लागि यात्रा टुङ्गियो ।

सुरुमा कविता पठाउँदै गर्दाखेरी नै उहाँलाई प्रतियोगिताको पहिलो राउण्ड त पक्कै पार गर्छु भन्ने लागेको रहेछ । त्योभन्दा अगाडि बढ्छु होला भन्ने चाहिँ उहाँलाई लागेनछ । आफ्ना साथी सर्कलमा कवितामा राम्रोसँग कलम चलाउने थुप्रै कविहरु भएकोले पनि उहाँलाई प्रतियोगितामा धेरै परसम्म पुग्दिन भन्ने लागेको रहेछ । तर जब उहाँ पहिलो चरणको फिजिकल अडिसनका लागि काठमाडौँ पुग्नु भयो र आफ्नो समूहमा अडिसनका लागि छानिएका अन्य कविहरुको कविता सुन्नुभयो त्यसपछि भने उहाँलाई आइडलमा अलिक अगाडिसम्म पुगिएला कि ? भन्ने  आत्मविश्वास पलाएछ । तर त्यस्तो हुन पाएन । उहाँ दोस्रो चरणको फिजिकल अडिसनबाट बाहिरिनु भयो ।

पहिलो चरणको फिजिकल अडिसनबाट छानिएकाहरुलाई पाँच समूहमा विभाजन गरिएको थियो । ती  हरेक समूहबाट ३/४ जना छानेर उत्कृष्ट १४ पुर्याइन्छ होला भन्ने कवि विश्वकर्मालाई लागेको रहेछ । तर त्यस्तो भएन । उहाँको समूहबाट जम्मा दुई जना मात्र उत्कृष्ट १४ मा छानिनु भयो । आफूले सोचेभन्दा ठिक विपरित भएको उहाँ बताउनु हुन्छ । उत्कृष्ट १४ मा आफू नपर्दा उहाँलाई जति दुख लागेको थियो त्योभन्दा बेसी दुख उहाँकै समूहबाट कवि उत्तम लिम्बू नछानिँदा दुख लागेछ । आफूसँगै कवि लिम्बू पनि आउट हुँदा कवि विश्वकर्माका आँखाबाट आँसु नै झरे ।

चार जना निर्णायकका अघि आफ्ना कविता सुनाइरहँदा निर्णयकबाट आफ्ना कवितामाथि कुनै बलियो प्रतिक्रिया प्राप्त नभएकोले आफूले खास केही सिक्ने अवसर भने प्राप्त नगरेको उहाँ बताउनु हुन्छ । फेरि पनि नेपालमा यस किसिमको प्रतियोगिता आयोजना हुनु निक्कै खुसीको कुरा भएको उहाँको बुझाइ छ । यसले कवितालाई आम पाठकमाझ पुग्न बलियो पुलको काम गर्नेछ भन्ने उहाँको ठम्याइ छ । हरेक चिजको राम्रो र नराम्रो पक्ष हुने भएकोले नराम्रो पक्षलाई सुधार्दै राम्रो पक्षलाई मिलाउँदै जानुपर्ने उहाँ सुझाब पनि दिनुहुन्छ ।

जाँदाजाँदै उहाँले एउटा गुनासो भने पोखेर जानु भयो । फिजिकल अडिसनका लागि छानिएकाहरु मध्ये पोइट आइडलको मञ्चमा पहिलो पटक कविता उहाँले सुनाउनु भएको रहेछ । त्यतिमात्रै होइन, आइडलको दोस्रो चरणको फिजिकल अडिसनका लागि छानिने पहिलो कवि पनि उहाँ नै हुनुहुँदो रैछ । अर्थात पहिलो पोइट आइडलको पहिलो मेडल लाउने कवि । तर यी सब कुरा टेलिभिजनमा देखाइएन । पहिलो चरणमा छानिएको नदेखाई एकैपटक उहाँलाई दोस्रो चरणको फिजिकल अडिसनमा कविता वाचन गर्दै गरेको देखाइयो ।

 यस कुराले भने उहाँलाई थोरै खल्लो महसुस गराएको रहेछ । यो पोइट आइडलको प्राविधिक गल्ती थियो अथवा जानीजानी यसो गरिएको हो ? भन्ने कुरा कवि विश्वकर्मालाई पनि थाहा छैन । यो विषयमा उहाँले मसँग निक्कैबेर गुनासो पोखिरहनु भयो । मसँग पहिलेदेखि चिनजान भएको कारणले पनि र यो गुनासो आइडलको टिमसम्म पुगोस भन्ने चाहानाले पनि हुनसक्छ उहाँले गुनासो पोखेको । यी गुनासोका बाबजुद पनि पोइट आइडलको मञ्चमा त्यहाँसम्म पुग्न पाएकोमा भने उहाँ खुसी हुनुहुन्छ । अब उहाँको एउटै चाहाना छ “भोटले होइन, कविताले उपाधी जितोस् ।”

===

अन्त्यमा,

यो आलेख तयार पार्ने क्रममै “द पोइट आइडलको अहिलेसम्मको यात्रा कस्तो भइरहेको छ त ?” भनेर मैले यसका निर्देशक अमन प्रताप अधिकारीलाई सोधेको थिएँ ।

उहाँ भन्नुहुन्छ, ” कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निकै चर्चा पाइरहेको छ । हाम्रो योजना र भिजन अनुसार नै अघि बढेकोमा हामी खुसी छौँ । सुटिङहरु व्यस्त समय तालिकाका साथ भइरहेका छन । साथै जीवनमा आउने दृष्टिकोणले चुनौतीपूर्ण परिस्थितिको सामना गर्न पनि सिङ्गो टिमलाई तयार गरिरहेको छ ।”