Chovar Blues Mobile Size

के.बी पारखी

जापानको टोकियो शहर ! नयाँ बर्ष धुमधामसँग मनाइसकेपछि विस्तारै आफ्नै लयमा शहर फर्कँदै थियो।ओकुबुस्थित सोलमारी मुला हलमा दर्शकको उपस्थिति बाक्लो थियो।हलसम्म धाएरै आउने चाँजो पाँजो मिलाइदिएको थियो अनेसास जापान च्याप्टरले। शुभारम्भ साहित्य तथा मुक्तक मञ्जरी कार्यक्रम तीन स्रष्टाका मज्जुल मितेरीको कामी, मज्जु गिरीको साकुराको देशबाट र के. बी. पारखीको मनको मन्दिर मुक्तक सङग्रहको कर्मभूमि विमोचन कार्यक्रम राखेको थियो। मुक्तक मञ्जरीको लागि मञ्चमा मुक्तककारहरू अरूण पौडेल, पिताम्बर चापागाई,र चना रचु र समर प्रेमलाई उभ्याएको थियो र पो मुक्तक सुनाएर दर्शक स्रोताको मन लुट्नसम्म लुटे। नेपाल घर चितवन भएर जापानको योकोहामा देखि कार्यक्रममा आएर मुक्तककार  अरूण पौडेलले  यसरी  आफ्ना मुक्तक सुनाए।

लेख्दालेख्दै प्रेमिल बूँदा, बिहान भएछ 
दुई मुटु जोडी एउटै हुँदा, बिहान भएछ 
चौतारीमा शितको थोपा खस्यो हाँगाबाट
यो मनले त्यो मन छुँदा, बिहान भएछ ।
जबर्जस्ति मन चोरी, प्रेम गर्छु भन्छे 
घरमा छन् छोराछोरी, प्रेम गर्छु भन्छे 
जोगिएर हिँड्नुहोला, फंसाउलान् है फेरी 
विवाहित छे तैपनि मोरी, प्रेम गर्छु भन्छे ।
मुक्तक गाग्राेमा सागर अट्ने विधा हो। पहिलो, दोस्रो र चौथो अत्यानुप्रास मिलेको तेस्रो हरफ स्वतन्त्र शैलीशिल्प नै अहिलेको मुक्तकको `मानक´हो। यही चुतुष्पदीय शैली शिल्पका मुक्तकहरू लेखिँदै आएका छन्।अहिले धेरैले लेख्ने र मनपराएको विधा हो भन्दा फरक पर्दैन होला। स्याङजा घर भएका पिताम्बर चापागाई आफ्ना मुक्तकहरू यसरी सुनाए।
एउटा कुरा भन्छु भन्छु विर्सीहाल्दो रैछु
तिम्रो नजिक बन्छु भन्छु विर्सीहाल्दो रैछु
तिमीलाई जित्न तिमीसँग नहारी सुखै छैन
जे जे भन्छेउ सहन्छु भन्छु विर्सीहाल्दो रैछु।
छिमेकीको घर खेतबारीमा राजनीति गर्दा रैछन्
मजदुर भरियाको भारीमा राजनीति गर्दा रैछन
दया,धर्म इज्जत सबै बन्धकीमा राखरेर हेर
सुकुलहरू आमाको सारीमा राजनीति गर्दा रैछन्।
जापान जस्तो असाध्यै व्यस्त शहरमा पनि आफ्नो बँचेखुचेको समयमा साहित्य सिर्जनामा गर्नै धेरै छन्।नेपाली साहित्यको उर्वर भूमिमध्ये जापान पनि एक हो। करिब ४ दर्जनभन्दा बढी मुक्तककारहरू जापानमा मुक्तक कर्म गरिरहेका छन्। यी मुक्तककारहरू त्यसै मध्येका प्रतिनिधि पात्र हुन।नेपाल घर काभ्रे भएकी मुक्तककार रचना रचु आफ्ना मुक्तकमार्फत यसरी पोखिइन।
छ नी माया मुटुभर नभएको कहाँ हो र
छुट्नु पर्ला भन्ने डर नभएको कहाँ हो र
परिस्थितिले पनि मलाई परदेशी बनायो
सँग सँगै बस्ने रहर नभएको कहाँ हो र।
    
छुट्टै आयतन र प्रकार हुन्थ्यो भने
राम्रो आय हुने व्यापार हुन्थ्यो भने
हजुरले पक्कै चोट दिनुहुने थिएन
चोटहरु बिक्ने बजार हुन्थ्यो भने।
जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा अनेसास पूर्व अध्यक्ष प्रकाश पौडेल माइला, जापानिज नागरिक नेपाली भाषा साहित्यका ज्ञाता हारूहितो नोजू, दिप पाठक, कानुनविद बलराम श्रेष्ठ, आलोक चालिसे पत्रकार तिलक मल्ल, रविन शर्मा लगायत विभिन्न संघसंस्थाका  प्रतिनिधि, पत्रकार साहित्यकार सर्वसाधारण साहित्यप्रेमीहरूको बाक्लो उपस्थितिले हल खचाखच भरिएको थियो। सबैले मुक्तकहरू चाख मानेर अन्तिम समयसम्म बसेर सुने। मुक्तककार तथा मुक्तक मञ्च जापानका अध्यक्ष समर प्रेम जाँगरिलो हुँदै आफ्ना मुक्तक यसरी सुनाएँ।
यति धेरै भरोसा लाग्छ आस लाग्छ
मनभारी हुँदा त झन खास लाग्छ
प्रेमिका हुँदासम्म त  उनको माया मात्र लाग्दथ्यो
श्रीमती हुँदा त धडकन लाग्छ सास लाग्छ।
न साधना हेरिन्छ न गला हेरिन्छ
स्वादभन्दा पनि धेरै मसला हेरिन्छ
जो तामझाम देखाउँछ उही चर्चा बटुल्छ
मान्नुस् या नमान्नुस् यहाँ चर्तिकला हेरिन्छ।
मुक्तकले ताली पाइरहँदा कार्यक्रम संञ्चालक अनिलकुमार निर्दोषले सुटुक्क यहीँ मेसोमा समय चोरे र आफ्नो मुक्तक सुनाउन भ्याएँ।
नगर्नुहोस् महाशय तुलना कसैको जून हेरेर घाम हेरेर
हुनुपर्छ मुल्याङ्कन हरेकको उसले गरेको काम हेरेर
काटियोस् गर्धन बरू बेचिँदैन इमानजमान कसैगरी
गरिँदैन चाप्लुसी कहिल्यै  कसैको दाम हेरेर नाम हेरेर।
जब जब मुक्तक वाचन हुन्छ । तब हलबाट तालीसँगै  वाह वाहसहित वान्स मोर आइनै रहेको थियो। मुक्तक मञ्च पोखराका संस्थापक अध्यक्ष मुक्तककार गोविन्द गिरीले `मनको मन्दिर´को समिक्षात्मक टिप्पणीमासँगै मुक्तक वाचनबाट मुक्तकको माहोल शुरू गरेपछि कार्यक्रमको अन्तिमसम्म पनि मुक्तकप्रेमीहरूले मुक्तक रूचाएर सुनेँ।
विधि पुर्याएर लेखिएका मुक्तकहरू चोटिलो, पोटिलो र बान्किलो हुन्छन् नै त्यसैमाथि मुक्तक वाचन शैलीले मुक्तकको प्राण भरेको हुन्छ ।मुक्तककारले हरतरहले मुक्तकलाई न्याय गरे र मुक्तक मञ्जरी कार्यक्रम भव्य र सभ्य बनेकोमा दुई मत रहेन। मुक्तकबाट घरदेश सम्झे ।आफ्ना आफन्तसँगको मिलन, विछोड, प्रेम,समसामयिक राजनीति बेथिति र विकृतिप्रति लक्षित गदै मुक्तक वाचन गरे।
नव बर्षको रमझम भइरहँदा दर्शकको चाहानालाई बुझेर हरेक मुक्तककारले रमाइला र प्रेमिल मुक्तक सुनाएर हँसाउन रमाइलो गराउन कस्सिएका थिए। कार्यक्रममा सभापति समेत रहेका अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्माले यी र यस्तै समय सापेक्ष कार्यक्रम गरेर सधैँ अगाडि बढ्ने विचार व्यक्त गर्दै यहाँहरू सबैको साथ सहयोगले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए।