Chovar Blues Mobile Size

पुस्तकका ‘टाइटल’ लामा हुँदैछन् । पश्चिमी देशहरूमा पहिलेका पुस्तकहरू प्रायशः एकदेखि तीन शब्दका टाइटलमा प्रस्तुत हुन्थे भने पछिल्लो दशक, खास गरी पछिल्लो पाँच वर्षमा टाइटलको नामाकरण तन्केका छन्। विशेषतः फिक्सन क्षेत्रमा। उपन्यास वा कथाहरूमा पाँचभन्दा बढी शब्दहरू बुनेर टाइटल आउन थालेका छन्। जस्तो की “न्युयोर्क टाइम्सको बेस्टसेलर” सूचिमा अटाएका केही पुस्तकहरूका टाइटल हेरौं-

–  My Grandmother Asked Me To Tell You She’s Sorry (2017)

– The Next Person You Meet In Heaven (2018)

– The Adventure Zone: Here There Be Gerblins (2018)

– All The Devils Are Here (2019)

– Go Tell The Bees That I Am Gone (2021)

– Beautiful World, Where Are You? (2021)

– Tomorrow, And Tomorrow, And Tomorrow (2022)

अङ्ग्रेजी साहित्यमा यस्तो प्रवृत्ति बढ्दो छ भने अरू पश्चिमा साहित्यमा कस्तो स्थिति छ ? यसको उत्तर खोज्न मैलै फ्रान्सेली साहित्यका बेस्टसेलर पुस्तकहरूको पछिल्ला टाइटलहरूको विचरण गरेको थिएँ। फ्रान्सेली साहित्यमा पनि अँग्रेजी साहित्यकै जस्तो प्रवृत्ति पाइयो। महिलाहरूबीच सर्वाधिक लोकप्रिय फ्रान्सेली म्यागजिन “एल” (अर्थात्- “ऊनी”) ले महिलाहरूको रूचिका पुस्तकमा टाइटल झन् लामा हुँदै गएको उल्लेख गरेको छ। अन्य चर्चित पब्लिकेसन हाउसका टाइटलहरू केलाउँदा झण्डै आधा जसो पुस्तकहरूका टाइटल सापेक्षिक रूपमा लामा देखिए।

पञ्चम अधिकारी (बेल्जियम)

एउटा सामान्य सोचाइ के हो भने पत्रकारितामा पाठकहरूको चाखले विषयवस्तु निर्धारण गर्छ। तर, साहित्यमा यो प्रभाव सापेक्षिक रूपमा कम हुन्छ। किनभने, मिडियाका प्रस्तुति तात्कालिक चर्चा-परिचर्चाका विषय हुने गर्छन्, जुन टुक्रेटाक्रे सूचनाहरू र क्षणिक‘सार्वजनिक ध्यान’का विषयवस्तु हुन्छन्। तर, साहित्यमा युगबोध हुन्छ। एउटा कालखण्ड वा समयावधिको आवाज हुने गर्छ। जसले गर्दा पपुलिस्ट असर मिडियामा जस्तो बोझिलो हुँदैन। यद्यपि, पाठकको अभिरूचि अर्थात् बजारको रूचिले साहित्यिक सिर्जनामा पनि दिशानिर्देशित गर्दै नगर्ने होइन।

साहित्यमा देखिएको पछिल्लो प्रवृत्ति के हो भने फिक्सनका पाठकहरू मात्र होइन, लेखनमा पनि महिलाहरूको आधिपत्य बढ्दै गएको छ। महिला सहभागीता र हस्तक्षेपले साहित्यिक प्रवृत्तिमा आधारभूत रूपमै फरकपन ल्याइदिएको छ। जुन टाइटलको नामाकरणमा पनि देख्न सकिन्छ। सायद टाइटलहरू लामा हुनुमा लैंगिक रूचि पनि एक प्रमुख कारण हुन सक्छ। टाइटल लामा मात्र हुन थालेका छैनन्, त्यसको प्रस्तुति पनि चम्किलो र झिल्के हुँदै गएका छन्।

टाइटलको नामाकरणमा यसरी देखिएको प्रभाव सायद ई-पाठकको कारणले पनि हुनसक्छ। जहाँ च्वाट्ट परेका छोट्टा नाम आवश्यक पर्दैन। पहिले पुस्तकहरू पसलमा  डिस्प्ले गरिएका हुन्थे, एकपछि अर्को लस्करमा। त्यसैले पुरानो प्रवृत्ति के थियो भने छोटा टाइटललाई आदर्श मानिन्थ्यो। त्यस्तो किन पनि मानिन्थ्यो भने पुस्तक पसलमा किताब ठड्याउँदा छिमेकी पुस्तकको तुलनामा झ्वाट्ट आँखा पुगेर पढियोस्। एउटा पुस्तकले अर्कोलाई थिचे पनि टाइटल नछोपियोस्।

हरेक कृतिका निम्ति टाइटल एकदम महत्त्वपूर्ण कुरा हो। पुस्तकको बिक्री वितरणमा यसको ठूलो भूमिका हुन्छ। ब्रान्डेड कपडाको आवरणमा दुःखी मन हुन सक्ने भए जस्तै, आकर्षक टाइटलको कभरमा मामुली लेखन-देह पनि हुनसक्छ। जे भएता पनि धेरै मान्छेहरूले पुस्तकको कभर र टाइटल हेरेर पुस्तकको शिघ्र मूल्याकंन गर्छन् र किन्ने-नकिन्ने निर्णय लिन्छन्। अर्को भाषामा भन्दा पुस्तक किन्न प्रेरित गर्ने “चारो” पनि हो, टाइटल। त्यसैले कुन शब्द चयन गर्ने र कस्तो टाइटल राख्ने भन्ने कुरा पुस्तक प्रकाशन क्रममा अत्यन्तै महत्त्वपूर्ण निर्णय हो।

अमेरिकी पुस्तकहरूको टाइटलबारे गरिएको एक सर्वेक्षणअनुसार फिक्सनमा सर्वाधिक प्रयोग भएको शब्द “Girl” हो भने नन-फिक्सनमा “Life”। यी शब्दहरूले टाइटलमा प्राथमिकता पाउनुको पछाडि लैंगिक रूचि भएको सर्वेक्षण विश्लेषकहरूले बताएका छन्। फिक्सनमा महिलाहरूको रूचि ज्यादा र नन-फिक्सनमा पुरूष पाठकहरूको रूचि अधिक भएको पनि पाइएको छ। यसरी महिला र पुरूषबीच साहित्यिक विषयवस्तुमा मात्र होइन विधाको रूझानमा समेत फरक प्राथमिकता देखिन्छ। त्यो झुकावसँगै टाइटलप्रतिको आकर्षणमा समेत महिला र पुरूषबीच फरक स्वाद पाइन्छ।

तर नेपाली कृतिहरूमा ठ्याक्कै यस्तै प्रवृत्ति पाइँदैन। अथवा भनौं, अहिलेसम्मको प्रवृत्ति सर्सर्ती हेर्दा त्यस्तो देखिँदैन। यस बारे सर्वेक्षण भएको पनि सुन्नमा आएको छैन। पछिल्लो दशकमा नेपाली कृतिहरूको नामाकरणमा देखिएको रूझानलाई हेर्ने हो भने अँग्रेजी शब्द सापटी खोज्नेहरूको बाढी नै लागेको छ। अँग्रेजी शब्द टाइटलमा राख्दा त्यसलाई अत्याधुनिक ठान्ने वा नयाँपन मान्ने आमधारणा व्याप्त छ।

चर्चित साहित्यिक सम्मेलन “द लिटेरेचर फेस्टिबल” को नेपाली नाम नपाएर अँग्रेजीमा राख्नु परेको अवस्य होइन। त्यस्तै भर्खरै शुरू भएको “द पोएट इडोल” टिभी कार्यक्रम उदाउँदा नेपाली कविका निम्ति हो। तर, आयोजकहरूले “आदर्श कवि” वा यस्तै कुनै नाम छान्नतिर नलागेर अँग्रजी नाम छान्नु आफैमा “आइरोनिक” छ। वास्तवमा, हाम्रो समाजको यथार्थ यही हो की लेखनमा अँग्रेजी घुसाउनु आधुनिकता र नवीनताको पर्याय हो। यथार्थमा यो लेखनमा मात्र होइन, देहातदेखि भन्ज्याङ-चौतारीका नेपालीहरूका विविध क्षेत्रको आसक्ति हो।

पछिल्लो समयमा सफल ठानिएका फिक्सन कृतिहरू ‘पल्पसा क्याफे’, ‘कर्नाली ब्लुज’, ‘समर लभ’, ‘फोसिल’, ‘ह्वाइट केन’ का टाइटलमा अँग्रेजी शब्दहरू मिसमास गरिएका छन्। यसरी अँग्रेजी लसपस भएका अनेक कृतिहरू छन्।

त्यसैगरी, पहिले-पहिलेका नेपाली साहित्यिक कृतिहरूमा नेपाली अर्थ भएका तर बोलीचालीमा खासै प्रयुक्त नहुने शब्दहरू राखेर पनि पुस्तकको नामाकरण गरिएको पाइन्थ्याे। कतिपयले त्यस्ता नामलाई विद्वत ठान्थे। हिजोआज, कतिपय यस्ता नाम शब्दाडम्बर साहित्यिक भनेर अलिक पुरानो ढर्राका जस्ता सुनिन्छन्। यो प्रवृत्तिमा नयाँपन आएर अहिले “युनिक” नाम राख्ने प्रचलन बढेको छ। जस्तो की- करिया, फातसुङ, उलार, अर्को भोर, दाइबुचु।

साहित्यमा नयाँ धार आउनु नियमित प्रकृया हो । हरेक भाषाका साहित्यमा यो भैरहेकै हुन्छ। अँग्रेजी साहित्यका टाइटल नामाकंनमा आएको पछिल्लो प्रवृत्तिमा प्रविधि र इन्टरनेटको विकासले ज्यादा निर्देशित गरेको छ। त्यसैगरी, महिला पाठिका र लेखिकाहरूको वृद्धिसँगै रूझान फेरिएको छ। पश्चिमा साहित्यको धार आफ्नै किसिमबाट फेरिँदै छ भने हाम्रो नेपाली साहित्यको प्रवृत्ति आफ्नै किसिमबाट। समसामयिक नेपाली साहित्यमा अँग्रेजीलाई आदर्श मान्ने र अन्तर्राष्ट्रिय भनेकै अँग्रेजी हो भन्ने ठान्ने सोच पाइन्छ। तथापि, टाइटलको छनौटको रूझानलाई विश्लेषण गर्दा अँग्रेजी साहित्यको प्रवृत्ति भन्दा भाषाको प्रभावले ज्यादा असर पारेको पाइन्छ, नेपाली साहित्यमा।