निशा निशान्तः

निशा निशान्त

दिल्लीकी कवियत्री निशा निशान्त हिन्दी अकादमी, नयाँ दिल्लीका मासिक पत्रिका ‘इन्द्रप्रस्थ भारती-मा सहायक सम्पादक हुन्। उनका एउटा काव्य-सङ्ग्रह ‘पगडण्डीका सफर’ प्रकाशित छ।

….

१. सर्प-व्यूह

जसले सर्प-दंशका मन्त्र जान्दछन्

जीवित अनि विषालु नागहरू पालेका हुन्छन्,

जो अन्य प्रजातिभन्दा अति खतरनाक हुन्छन्।

 

उनीहरू, जो साहसी त छन्, तर जोखिम उठाउँन अघि सर्दैनन्,

अनुसरणवश उनीहरूले पनि पालेका हुन्छन् केही प्रजातिहरू,

उनीहरूका दाँत तोडेर, विषालु थैलीहरू निकालेर।

 

उनीहरू पनि साँप पाल्ने सौखिन हुन्छन्

जो बाहिरबाट निडर तर भित्रबाट डरपोक हुन्छन्,

उनीहरूले पनि पालेका हुन्छन् सबै प्रजातिहरू, तर मृत

तर दुईमुखे चाँहि सबै जीवित।

*****

२) तिमी एक्ल छौ त के भयो…

 

तिमी जमिन बन

तिमी आकास बन

तिमी शिखर बन

तिमी हावा बनी उँड़

नदीका किनारहरूझैँ बस

ताराहरूझैँ चम्क

दियो बन, शिखा बन

सूर्यझैँ उजेलि

पृथ्वीझैँ धैर्य

समुद्रझैँ विस्तार

संसारझैँ अपार

तिमी दिशा बन

दिशाहरूका द्वार बन

तिमी एक्लो छैनौ

जीवनको सार बन

तलवारको धारमाथि अडिएको छ तिम्रो जीवन

तिमी ढुङ्गा बन

झर्नाहरू झर्न चाहे

झर्न देऊ

क्षण-क्षणका आहतपनलाई

समयको अवाल हो भनी ठान

कसैले कुन्ठित दाउ चाले पनि

अडि़ग राख आफ्नो पद

तिमी घाम हो, छायाँ हो तिमी

तिमी एक्लो भए

प्रत्येक कण एक्लो हो

बग्न देऊ आँसु-खुसी अथवा पीडा़को

मुस्कुराऊ यसरी कि चकमन्नतामा फैलियोस् झङ्कार

सम्मुखमा आओस् बालुवा वा अङ्गार

जीत मिलोस् या हार

बल्न खोजे बलोस् तिमीभित्र

चरैवेति चरैवेति होस् तिम्रो मन्त्र

यो स्मरण रहोस्

आफैसँग हो तिम्रो सङ्वाद

यो स्मरण रहोस्…

*****

३) केही सूक्ष्म कविताहरू

क)

आफ्-आफ्ना चिन्ताहरू

आ-आफ्ना डर छन्।

आ-आफ्ना बाटाहरू

आ-आफ्ना सफर छन्।

एउटै छानामुनि बस्ने गर्छन्

तैपनि,

सबैका आफ्-आफ्ना घर छन्।

(ख)

सुखको कामना किन गरुँ म

जो केही क्षणका निम्ति मात्र हुन्,

मलाई त त्यो दुःख चाहिएको छ

जीवनभरि जो मेरो साथ रहनेछ।

(ग)

चाँहिदैन मलाई

छातिभरिको आलिङ्गन

दिन सक्छौ भने देऊ

देब्रे (हाथ)-तर्फको धरती

दाहिने (हाथ)-तर्फको आकास।

(घ)

पीडा,

उदासी अनि

रित्तोपन

बालुवाझैँ छताछुल्ल भयो जीवन।

तिर्खा,

थकान अनि

विखण्डन

धरतीझैँ चर्कियो जीवन।

आँसु,

व्यथा अनि

एक्लोपन

छायाँझैँ खस्कदै गयो जीवन।

*****

बिलोक शर्माः

बिलोक शर्मा

बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्।  मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जलन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।