द पोएट आइडल हुँदैछ भनेर समाचार सार्वजनिक भएदेखि नै यसबारेमा विभिन्न किसिमका टिकाटिप्पणीहरु आइरहेकै हुन् । अहिले भने यसको प्रसारण नै सुरु भइसकेको छ र यसबारेमा सकारात्मक/नकारात्मक प्रतिक्रिया राख्नेहरुको सङ्ख्या पनि बढ्न थालेको छ । यो क्रम अझै तीव्र गतिमा बढेर जानेछ भन्ने कुरामा दुई मत छैन । किन भने यो आइडलको कास्टिङ मात्र हो, पूरा फिल्म त आउन बाँकी नै छ । बजारमा आउने हरेक किसिमका प्रतिक्रियाका लागि पोइट आइडलको सिङ्गो टिम तयार छ भन्ने मेरो विश्वास हो । किन भने यो निर्देशक अमन प्रताप अधिकारीको टिम हो ।
नेपाली कविता र कविका लागि यति ठुलो प्लेटफर्म निर्माण गर्न लागि पर्नुभएका निर्देशक अधिकारीको फराकिलो छातीलाई सलाम गरिनु पर्ने हो । तर प्रशंसा कम, आलोचना ज्यादा भइरहेको छ ।
हामीलाई एउटा सानोतिनो कविता गोष्ठी आयोजना गर्नुपर्यो भने दाँतबाट पसिना आउँछ । तर कसैले कविताको कार्यक्रमका लागि लाखौँ रुपैयाँको जोखिम उठाएर यस्तो बृहत् स्टेज खडा गरिदिएको छ । त्यसको लागि निर्देशक अधिकारीको प्रशंसा गरिनु पर्ने हो । तर हामी गाली गरेर सामाजिक सञ्जाल रङ्ग्याइरहेका छौँ । कविताको व्यापारीकरण भयो भन्ने आरोप त छँदै छ आइडलमाथि । यो आरोप उनीहरुले नै लगाइरहेका छन जसले आफ्नो कविता सङ्ग्रह झोलामा राखेर बेच्दै हिँडेका छन् ।
अथवा भनौँ कवितासङ्ग्रह बिकेन भन्ने गुनासो गरिरहेका छन् । कविता बिक्नु पर्छ भनेर मान्यता पनि राख्ने अनि कविताको व्यापारीकरण भयो भनेर गुनासो पनि गर्ने ? यस्तो दोहोरो मानसिकता बोकेर हिँड्न एउटा सिर्जनशील कविलाई सुहाउँछ ? कुन चाहिँ कवि होला जसले सङ्ग्रह निकालेर निशुल्क बाँड्दै हिँडेको होस् पाठकलाई ? त्यो चाहिँ व्यापार होइन ? आफ्नो खुसीले कसैलाई उपहार दिएको कुरा अर्कै भइहाल्यो ।
आफ्नो कामको प्रशंसा सबैले गरिदिउन् भन्ने चाहाना सबैको हुन्छ नै । त्यो चाहना निर्देशक अधिकारीको पनि पक्कै होला । तर त्यस्तो कमै भइरहेको छ । तर आलोचनाबाट डराएर भागिहाल्ने स्वाभाव चाहिँ उहाँको छैन । यदि त्यस्तो हुँदो हो त कविताका लागि यति ठुलो जोखिम उठाउने आँट पलाउँदैन थियो होला उहाँमा । “म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर” भन्ने खालको स्वभाव छ अधिकारीको ।
यतिबेला सामाजिक सञ्जालमा आएका आलोचनाहरुमध्ये अर्को मुख्य आलोचना “प्रतियोगितामा राम्रा कविहरु आएनन् ” भन्ने हो । कसरी आउँछन् त ? यसमा पोइट आइडलको दोष कहाँनेर छ ? कवितामा राम्रो कलम चलाउन सक्ने सम्भावना बोकेका अधिकांश कविहरु प्रतियोगितामा सहभागिता जनाउनुको साटो प्रतियोगिताप्रति धारे हात पर्दै बसे र अहिले पनि त्यसै गरिरहेका छन् । अनि कसरी हुन्छ ? प्रतिस्पर्धामा जो-जो आए, जस्तो-जस्तो आए उनीहरूमध्येबाटै छानिएको हो ।
राम्रा कविहरु बाहिर बसेर गाली मात्रै गरिरहने अनि प्रतियोगितामा राम्रा कवि आएनन् भनेर गुनासो गर्ने ? सुहाएन है यो चाहिँ । जुन कविहरुले “प्रतियोगितामा राम्रा कवि आएनन्” भनेर गुनासो गरिरहनु भएको छ, उहाँहरूलाई पोइट आइडलमा भाग लिन कसले रोकेको थियो ? तपाईं किन नआउनु भएको भाग लिन ? तपाईंले भाग लिएको भए त एउटा भए पनि राम्रो कवि र राम्रो कविताले ठाउँ पाउँथ्यो होला नि ! किन नआएको ? के ले रोक्यो ? अहंकारले ? कि डरले ? यो त हलो अड्काएर गोरु कुटे जस्तो भएन र भन्या ?
फेरि द पोइट आइडलले राम्रा कवि जन्माउने पनि त पक्कै होइन होला । कि हो ? बरु राम्रा कविहरुलाई ठाउँ प्रदान गरेर आमपाठकहरुमाझ पुर्याउने उद्देश्य चाहिँ यसको हो कि ? तपाईंले कसरी बुझ्नु भएको छ ? हामीले यो कुरा बुझिरहेका छौँ जस्तो लागेन । हामीले त पोइट आइडलको मञ्चलाई कवि उत्पादन गर्ने थलो सम्झियौँ र त्यहाँबाट राम्रा कविहरु उत्पादन भएनन् भनेर गुनासो गरिरहेका छौँ । पोइट आइडल कविहरुको कारखाना हो र ? त्यस्तो हो ? हो भने यो बुझाइ गलत हुन सक्छ । मैले यसो भनिरहँदा “तँ पोइट आइडलको प्रवक्ता होस् ?” भन्नुहोला । प्रवक्ता त पक्कै होइन, तर कवितालाई प्रेम गर्ने र प्रेमलाई कविता बनाउने मान्छे चाहिँ पक्कै हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको कविता महोत्सवको पनि लगभग यस्तै हाल हुन्छ । राम्रा कविहरुलाई महोत्सवमा कविता पठाउन उनीहरूको अहंकारले दिँदैन । अनि आएका कविताहरु मध्येबाट केही पुरस्कृत हुन्छन् । अनि बजारमा हल्ला चल्छ, “प्रज्ञाले राम्रो कविता छानेन” भनेर । रमाइलो छैन त नेपाली कविहरुको पारा ? तर एउटा कुरा चाहिँ के हो भने पछिल्लो समय सशक्त रुपमा कवितामा कलम चलाइरहेका केही युवा कविहरु पोइट आइडलको पहिलो चरणबाटै बाहिरिएका छन् । कोही दोस्रो चरणबाट घर फर्किएका छन् । यसले प्रतियोगिताको छनोट प्रक्रियामा केही त्रुटि भएको हो कि ? भनेर शंका गर्ने ठाउँ चाहिँ राखिदिएको छ ।
यो आलेख तयार पार्दासम्म आइडलको चार एपिसोड प्रसारणमा आइसकेको छ । यी चारैओटा एपिसोड फिजिकल अडिसनका हुन् । पाँचौ एपिसोडसम्म फिजिकल अडिसनकै प्रस्तुति रहने छ । डिजिटल अडिसनबाट प्रारम्भिक रुपमा छनोटमा परेका कविहरुले अहिले चार जना निर्णयहरुको अघि प्रस्तुति दिइरहेका छन् । चार जना निर्णायकहरु मध्ये तीन जनालाई कविको कविता र प्रस्तुति मन परेको खण्डमा मात्र ऊ अर्को चरणका लागि छनौट हुनेछ । नत्र भने त्यहीँबाट टाटा-बाईबाई गर्नु पर्ने हुन्छ र आइडलको अर्को पनि सिजन आउला कि ? भन्ने आस राख्दै त्यसको तयारीमा जुट्दा हुन्छ ।
फिजिकल अडिसनका पाँच ओटा एपिसोडबाट छानिएका कविहरु बिच पुन: प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा आइडलको छैठौं एपिसोडमा देख्न पाइनेछ । त्यसबाट अन्तिम प्रतिस्पर्धीको रुपमा उत्कृष्ट १४ जना कविहरु छानिनेछन् । त्यसपछि उनीहरू आइडलको क्लोज क्याम्पमा बस्नेछन् । भोटिङ राउण्ड यहीँबाट सुरु हुनेछ । जसमा आफूलाई मन परेको कविलाई भोट हाल्ने अधिकार तपाईं हामीलाई पनि प्राप्त हुनेछ ।
…
गत पौष १४ गते बिहीबारबाट एपिवान टेलिभिजनमार्फत यसको प्रसारण प्रारम्भ भएको हो । अब यो हरेक बिहीबार र शुक्रबार राती ८:३० बजे आउनेछ र पछि यसलाई OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । द पोएट आइडलको अनलाइन मिडिया पार्टनरको रुपमा साहित्यपोस्ट आबद्ध भएदेखि नै साहित्यपोस्टकै फेसबुक पेजबाट हरेक शनिबार प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” मा पनि हामीले यो विषयलाई उठान गर्दै आएका छौँ । मिडिया पार्टनर हुनुको दायित्व पनि हो यो । कार्यक्रमको ०९ औं शृङ्खलाबाट हामीले कार्यक्रममा जोडिनु भएका कविहरुलाई यसबारे जिज्ञासा राख्ने र द पोइट आइडल बारेको उहाँहरुको धारणा बुझ्ने कोसिस गर्दै आएका छौँ ।
यो आलेख तयार पार्दासम्म कार्यक्रमको २३ औं शृङ्खला प्रसारण भइसकेको छ । यस बिचको १५ ओटा शृङ्खलामा ७ जना अतिथिहरुले द पोइट आइडल बारे बोल्नुभएको छ । यसमा ६ जना कविहरु हुनुहुन्छ भने एक जना पत्रकार तथा समालोचक हुनुहुन्छ । नेपाली साहित्यलाई चिरफार गरेर त्यसको आन्द्राभुँडी केलाउन सक्ने थोरै कम समालोचक भित्र पर्नुहुन्छ उहाँ – राजकुमार बानियाँ । बाँकी ८ जनामा कसैले यसबारे बोल्न चाहनु भएन भने कोही कविता कर्म बाहेकका स्रष्टा अतिथि पर्नु भएकोले हामीले नै सोध्न उचित ठानेनौँ । फेरि कसैलाई भने सोध्नै बिर्सिएछ । तर अबका दिनमा भने कार्यक्रममा जोडिनु भएका हरेक पाहुनालाई सकेसम्म पोइट आइडलबारे जिज्ञासा राख्ने र उहाँहरुको दृष्टिकोण बुझ्ने कोसिस गर्नेछौँ ।
द पोइट आइडल पुरापुरी चार महिना चल्ने छ । त्यतिन्जेल हामी पनि यसलाई कार्यक्रममा जिज्ञासाको रुपमा उठान गरिरहने छौँ । प्रतिक्रिया राख्नुहुने ७ जनामध्ये सुरुका ५ जना अतिथिहरुले द पोइट आइडल टेलिभिजनमार्फत प्रसारण हुनुभन्दा पहिले दिनुभएको प्रतिक्रिया हो भने बाँकी दुई जना अतिथिहरुले आइडल प्रसारणमा आइसकेपछि दिएको प्रतिक्रिया हो । अब लागौँ उहाँहरुको प्रतिक्रियातर्फ, केही जस्ताको त्यस्तै त केही सम्पादनसहितको ।
…
१) कवि/प्राध्यापक : डा. वासुदेव पुलामी (सिलगडी, भारत)
(शृङ्खला – ०९)
-द पोएट आइडल बारे कवि उपेन्द्र सुब्बाको फेसबुक पोस्टमा हेरेको थिएँ । हेर्दै जाँदा त्यहाँ थुप्रै कमेन्टहरु हेरेँ त्यसको पक्षमा विपक्षमा । मलाई पनि आफ्नो कुरा लेख्न मन लाग्यो र मैले त्यहाँ सानो कमेन्ट पनि लेखेँ । हुन चाहिँ यो एक किसिमको उपद्रो गरेको जस्तो-जस्तो पनि देखिँदो रैछ । तर कतिपय रचनात्मक उपद्रोहरु कतिपय ठाउँमा लाभदायक पनि हुन्छ भन्ने मलाई लाग्छ । धनराशि त्यत्रो राखिएको छ, अलिकति ग्ल्यामरस किसिमको ठाउँ त एउटा कविले निश्चय पनि पाउला । तर कविताले चाहिँ कत्तिको ठाउँ पाउला त ? कविता कति उठ्ने हो ? कवि सँगसँगै कविता कति माथि उठ्ने हो ? भन्ने कुरा पनि विचार गरियोस् भन्ने लाग्छ । किनभन्दा आज हामी डिजिटल स्पेसमा छौँ ।
डिजिटल्ली कतिपय कुराहरुलाई अगाडि बढाउँदै यसलाई अपडेट गर्दै लैजानु पर्ने अवस्थामा यी कुराहरुले पनि निश्चित रुपमा एउटा कला सर्जकहरुलाई एउटा राम्रो मञ्च दिन्छ । राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म त्यसको प्रभाव पनि पर्ला । र यो एउटा नयाँ किसिमको सोंच, नयाँ किसिमको विचार, नयाँ किसिमको आइडिया लाग्यो ।
त्यसकारण यसलाई विरोध भन्दा पनि स्वागत गर्दा नै ठिक होला भन्ने मलाई लाग्यो । यसलाई रियालिटी शो भनिदिँदा चाहिँ मान्छेहरुले गलत ढङ्गले बुझिदिएको हो कि ? भन्ने मलाई लाग्यो । कविता प्रतियोगिता नै भनेर राखिदिएको भए यसको आलोचना हुने थिएन होला सायद । किन भने रियालिटी शोमा विभिन्न किसिमका कुराहरु हामीले देखिरहेका छौँ । त्यो स्तरमा कतै साहित्य, कला पनि झर्ला कि ? भन्ने चिन्ता भएको हुन सक्छ ।
२) कवि : रचना मोक्तान ‘यात्री’ (काभ्रे)
(शृङ्खला – १२)
– यो एउटा अवसर पनि हो र अर्को चुनौती पनि छ यसमा । किन भने कविहरु लेखेर मात्र जिउन सक्ने स्थिति कसैको पनि छैन । एकाध रुपमा होलान् । केही कविहरु होलान लेखेरै पनि जिन्दगी चलाउन सक्ने खालको । आर्थिक लाभ लिन सक्ने खालको होलान् । यसले के सिर्जना गरिदिन्छ भने कसैको राम्रो लेख्ने कला होला, प्रस्तुति गर्ने कला नहोला । कसैको घिसिपिटी लेखेर पनि प्रस्तुति कला राम्रो हुन सक्छ । यो त छर्लङ्गै छुट्टिने भयो ।
अर्को कुरा म के भन्छु भने द पोएट आइडलले कवि लेखकहरुलाई लेखेरै पनि जिउन सक्ने एउटा मार्ग निर्देश गर्न लागेको हो कि ? त्यसको लागि एउटा बाटो खुल्ला गर्न लागेको हो कि ? भन्ने मलाई लाग्छ । किन भने भोलि त्यहाँ भलै को छानिएला, को नछानिएला, कस्तो खालको कविता के होला ? त्यो भोलि नै थाहा होला । तर पनि के हो भने प्रतिस्पर्धामा जाने, राम्रो वाचन गर्न सक्नेले पनि राम्रो वाचन गर्न सकिन्छ । राम्रो प्रस्तुति दिन सकिन्छ । त्यसरी पनि जान सकिने भयो । राम्रो लेख्ने पनि त्यहाँ जान सक्ने भए । यसरी त्यहाँ विविध खालका क्षमता देखाउन मिल्ने कार्यक्रम हो भन्ने मलाई लाग्छ । यो एउटा नयाँ प्रयोग पनि भएकोले गर्दा यसले लुकेर रहेका प्रतिभा/क्षमताहरुलाई बाहिर ल्याउनको निम्ति राम्रो काम गर्छ भन्ने मलाई लाग्छ ।
३) कवि/ सञ्चारकर्मी : नवीन अभिलाषी (कोहलपुर, बाँके)
(शृङ्खला – १३)
– सरसर्ती भन्दाखेरि यो राम्रो पक्ष हो । अहिले जुन ट्रेण्ड आइरहेको छ विश्व बजारमा त्यसमा नेपाल अछुतो रहन सक्दैन । नेपाल त्यसबाट टाढा भाग्न नसक्ने भएकोले यस्ता प्लेटफर्महरु आउनु पर्छ र कुनै पनि कुराको स्थिर आकारहरु बनिराख्दैनन्। स्थिर आकारहरु हुँदैनन् । त्यसका आयमहरु, त्यसका पक्षहरु बृहत् रुपमा अगाडि बढ्ने, पछाडि हट्ने, कुराहरु भइराख्छन् । यसै सन्दर्भमा यो एउटा सुन्दर आयम हो र नेपालको कविता लेखनको जुन एउटा परम्परागत धार, परम्परागत जुन माध्यम थियो त्यसबाट अलिकति फराकिलो दृष्टिकोणबाट हेरिएको प्लेटफर्म हो भन्ने मलाई लाग्छ । यो अत्यन्त सुन्दर छ ।
नयाँ पुस्ताले यसबाट केही न केही राम्रा कुराहरु सिक्छन् जस्तो लाग्छ । हिजोका दिनहरुमा एउटा कस्तो अवस्था थियो भने छन्दका मात्रै कविताहरु कविता हुन भन्ने किसिमको जुन विषय थियो त्यसबाट हामीलाई निक्कै अप्ठ्यारो परेको थियो । हामीले गद्यमा लेख्न थाल्यौँ । अहिले गद्यमा लेखेर मात्रै पनि पुग्दैन । त्यसलाई प्रस्तुतिका हिसाबले पनि कवितालाई अगाडि लैजानु पर्छ भन्ने एक किसिमको जुन माहोल निर्माण भइरहेको छ त्यो निरन्तर रुपमा यस्ता कुराहरु आउँदै जाने कुराहरू हुन् । यसलाई अन्यथा लिनु हुँदैन भन्ने मलाई लाग्छ ।
म के कुरामा आशावादी छु भने यसमा कविताका एकदमै दिग्गज व्यक्तित्वहरु, कवितामा लामो समय काम गरिसक्नु भएका व्यक्तिहरु निर्णायकमा हुनुहुन्छ । त्यसकारण पनि मलाई अत्यन्त खुसी लागेको छ । एउटा गज्जबको विषय हो । यसका नकारात्मक कुराहरू पनि आइरहेका छन् । तर म चाहिँ यसप्रति सकारात्मक नै छु ।
४) कवि : प्रज्वल अधिकारी (लमजुङ, हाल काठमाडौँ)
(शृङ्खला – १६)
– अब मज्जाको कुरा के छ भने द पोएट आइडलमा डिजिटल अडिसनमा भाग लिएको प्रतिस्पर्धी कवि हो म । डिजिटल अडिसनबाट कविता नछानिएर प्रतियोगिताबाट बाहिरिएको मान्छे हो म । तर नेपालमा पोइट आइडल हुँदैछ यो सबैभन्दा राम्रो पक्ष हो । एउटा कविले एउटा प्लेटफर्म प्रयोग गरेर कविताको माध्यमबाट विश्वभर ऊ एकैचोटि प्रसारित भएर आउँदैछ । यो एकदमै राम्रो कुरा हो । प्रतियोगिताको पुरस्कार राशी त कविलाई जति दिए पनि हुन्छ । १० लाख २० लाख जति सकिन्छ दिनुस् । केही फरक पर्दैन ।
कवि पनि त कविता लेखेर बाँच्ने हुनु पर्यो नि । तपाईंको के गर्नुहुन्छ ? भनेर सोध्दा, “कविता लेख्छु” भनेपछि “काम चाहिँ ?” भन्ने दिन नआओस् । पेशै कविता लेख्ने रैछ भन्ने होस् । एउटा मान्छेलाई तपाईं के गर्नु हुन्छ ? भनेर सोध्दा, म स्कुलमा पढाउँछु भनेपछि अर्को काम ? सोध्दैनन् नि ? कविताको पनि यस्तै दिन आओस् कुनै दिन । त्यसको लागि यो प्रतियोगिता एकदमै राम्रो छ ।
यसमा मलाई एकदमै भन्न मन लागेको कुरा के हो भने यस्तो कविले जितोस् जुन कविले नेपाली कविताको प्रतिनिधित्व गरेर, उसले प्रतियोगिता जितेको भोलिपल्ट ऊ बिलयतिर नगई उसले कवितालाई नयाँ उचाइमा पुर्याउन सकोस् र उसले जीवनभर कविता चाहिँ लेखोस् । कविता चाहिँ लेखिरहोस् । तर कतिपय प्रतियोगिताहरुमा के हुन्छ भने प्रतियोगितामा प्रथम भएका, दोस्रो भएका कवि कहाँ छन् ? भन्ने अत्तोपत्तो हुन्न । गुमनाम हुन्छ । प्रतियोगिताका लागि मात्र कविता नलेखोस् त्यो कविले जो कविहरु त्यहाँ हुनुहुन्छ । उहाँहरुले साँच्चै नै कविता सोचेर कविताकै लागि भनेर समर्पित भएर र भोलि आफू बाँचुन्जेल कवितालाई निरन्तरता दिओस् । राम्रो नराम्रो भन्ने कुरा त आफ्नो ठाउँमा छ ।
यो कसैले चाहेर हुने कुरा पनि हो जस्तो मलाई लाग्दैन । तर त्यो कविसँग एउटा भाव चाहिँ के होस् भने म जीवनभर कविताको लागि लाग्छु । नेपाली साहित्यको कविता विधालाई कसरी हुन्छ म विश्वसम्म पनि पुर्याउन म लागिपर्छु भन्ने कविले जितोस् । र यो द पोइट आइडल नियमित रुपमा हरेक वर्ष आयोजना होस् भन्न पनि चाहन्छु ।
५) कवि : चन्द्र घिमिरे (काठमाडौँ)
(शृङ्खला – १९)
– कविहरुको बारेमा समाजको जुन धारणा छ, समाजले बुझ्ने गरेको कविको जुन चित्र छ, त्यो बदलिनु पर्छ भन्ने पक्षमा छु म । कवि भनेको दुखी, गरिब, हेपिएको, समाजले तिरस्कार गरेको, परिवारले तिरस्कार गरेको पात्रको रुपमा कवि उभिने होइन अब । कवि भनेको सेलिब्रेटी हुनुपर्छ । कवि भनेको चिनिने हुनुपर्छ । कवि भनेको हेपिएको होइन, उसले समाजलाई नेतृत्व गरिरहेको हुनु पर्दछ । त्यो खालको कवि र त्यो खालको कविता आउनु पर्छ । त्यसबाट समाज निर्देशित हुनु पर्छ भन्ने पक्षको मान्छे हो म ।
कवि भनेको सेलिब्रेटी मात्रै होइन, ऊ जे-जे पेशामा छ, त्यो पेशामा ऊ लिडिङ पोजिसनमा हुनुपर्छ । हामीले साह्रै गौरवका साथ पढ्ने नाम पाब्लो नेरुदा ठुला डिप्लोम्याट थिए । राजदूत थिए । उनले राजदूत भएर, एउटा उच्च पदमा बसेर कविता लेख्न हुन्छ भने हाम्रा कविहरु चाहिँ किन गरिब हुनु पर्ने ? किन निमुखा हुनु पर्ने ? किन हेपिएको हुनु पर्ने ? किन स्थानविहीन हुनु पर्ने ? किन माटोविहीन हुनु पर्ने ? त्यसकारण कविले पनि टेक्ने माटो पाउनु पर्छ । उभिने माटो पाउनु पर्छ । तिनले पनि सेलिब्रेटी हुन पाउनु पर्छ । भौतिक जीवनमा विज्ञानले जे जति उपलब्ध गराएको छ, अर्थतन्त्रले जे जति उपलब्ध गराएका अवसरहरु छन्, ती चिज कविले पनि पाउनु पर्छ । संसार अथवा भनौँ आजको प्रविधिले समाजलाई जे जति अवसरहरु उपलब्ध गराएको छ, त्यो कविले पनि भोग गर्न पाउनु पर्छ । म त्यो पक्षमा छु ।
६) कवि/निबन्धकार : (दोलखा, हाल काठमाडौँ)
(शृङ्खला – २२)
– यो एक किसिमको सकारात्मक भावबाटै उत्पन्न भएको कार्यक्रम हो भन्ने मलाई लाग्छ । कार्यक्रमको सबै कुरालाई हेर्दाखेरि कवितालाई अझ स्तरीय बनाऊँ, अझ जनमानसमा भिज्ने बनाऊँ, गैर-साहित्यिक/गैर-कविहरु बिचमा पनि कवितालाई पुर्याऊँ भन्ने एउटा सकारात्मक भावले नै सुरु भएको हो भन्ने लाग्छ । मैले पनि त्यस कार्यक्रमका केही कविताहरु हेरेँ । केही कविताहरु असाध्यै राम्रा छन् । तर केही कविताहरुले भने त्यो कार्यक्रमको ओज, गरिमा अथवा महत्त्व नबुझेको हो कि ? अथवा छनोट गर्दा नै हाम्रो कुनै किसिमको त्रुटि भएको हो कि ? भन्ने पनि लाग्छ । तर त्यस कार्यक्रमको सोच आफैँमा सकारात्मक नै छ । किनभने कवितालाई नयाँ पाठकहरुमा पुर्याउने, नयाँ श्रोताहरुमा पुर्याउने, नयाँ वर्गलाई पनि कविता बुझाउने/पढाउने/सुनाउने कुरा यो राम्रो पक्ष हो । तर यस कार्यक्रमको अझै स्तर वृद्धि गर्नका लागि प्रारम्भिक चरणमै खारिएका कवि, भाव पक्ष बलिया भएका कविहरुलाई ल्याउनु पर्ने हो कि ? भन्ने मलाई लाग्छ ।
७) पत्रकार/समालोचक : राजकुमार बानियाँ (काठमाडौँ)
(शृङ्खला – २३)
– कवितामा प्रतिस्पर्धा हुन्छ कि हुँदैन ? भन्ने चिज चाहिँ गहन कुरा छ । तर के छ भने अब हामीले कवि मात्रै बनाएर त भएन । हामीले त कस्मेटिक पनि बनाउनु छ । पहिले हामी कस्मिक-कस्मिक भन्थ्यौँ । अहिले कस्मेटिक-कस्मेटिक जस्तो छ । अहिलेको कस्मेटिक दुनियाँमा सेलिब्रेटी नै चाहिन्छ । सेलिब्रेटी बिनाको कार्यक्रममा कोही मान्छे नै जान छोडिसक्यो । सेलिब्रेटी छ भने जान्छ नत्र जाँदैन । भनेपछि अब हामीले सेलिब्रेटी जन्माउने हो भने त सबभन्दा राम्रो फोरम त पोएट आइडल नै हो । किन भने कवि भनेको सधैँ गरिब हुनुपर्छ भन्ने छैन । उसले कविता सुनाएर १० लाख रुपैयाँ पाउँछ भने कविको लागि त एउटा परिचय पनि बन्यो र पुरस्कार पनि पायो । त्यो पनि फेरि आफ्नो रुचीको कुरा भयो ।
कोही कवि त्यहाँ जान चाहन्छन् । त्यहाँ त पर्फमेन्स आर्ट भयो अब त्यो । कविता अब पढ्ने चिज मात्र भएन । पर्फमेन्स गर्ने चिज पनि भयो । पर्फमेन्स बेसमा उसले १० लाख रुपैयाँ पनि जित्ने भयो । एउटा कविले १० लाख जित्दाखेरि म एउटा साहित्यको बडिगार्ड भन्ने मान्छे किन दुखी हुनु ? म दुखी हुनु आवश्यक नै छैन ।
त्यहाँ पक्कै पनि राम्रा-राम्रा जजहरु हुनुहुन्छ । मैले पनि राम्रो मानेको कवि विप्लव प्रतीक हुनुहुन्छ । अनुप बराल साहित्य कर्ममा नदेखिए पनि उहाँ एकदमै साहित्यको राम्रो पारखी हुनुहुन्छ । सुरक्षा पन्तको अभिनय हेर्दाखेरि त्यो भावमा डुब्न सक्ने क्यारेक्टरजस्तो लाग्छ । त्यसकारण उहाँहरुले राम्रै कविता छान्नु हुन्छ होला । राम्रै परख गर्नुहुन्छ होला जस्तो लाग्छ । हामीले किन अविश्वास गर्ने ? हरेक चिजलाई हामी निषेध नगरौँ । मौनता पनि नसाधौँ । प्रशंसा पनि गरिदिऊँ । प्रशंसा चाहिने मान्छेलाई प्रशंसा गरिदिऊँ । प्रतिक्रिया चाहने मान्छेलाई आलोचना पनि गरिदिऊँ । हामी त्यतातिर जाऊँ । हामी खुल्ला भएर जाऊँ । हामी सबै पर्खालहरु भत्काइदिऊँ ।
…
यी त थिए कार्यक्रममा आएका प्रतिक्रियाहरु । यी प्रतिक्रियासँगै यो आलेखलाई टुङ्याउनै लागेको थिएँ, त्यतिबेलै लोकप्रिय सञ्चारकर्मी अच्युत घिमिरेले यसै पोइट आइडलबारे लेखेको एउटा स्टाटसले मेरो ध्यान खिच्यो र उहाँको अनुमति नलिई यहाँ उल्लेख गर्न मन लाग्यो । अनुमति नलिए पनि उहाँ रिसाउनु हुन्न भन्ने मेरो विश्वास हो । किन भने उहाँ पनि साहित्यलाई औधी माया गर्ने मान्छे हुनुहुन्छ । अब पढौँ उहाँकै फेसबुकबाट साभार गरिएको उहाँको स्टाटस ।
“अभिनय, हाँस्यव्यङ्ग्य, नृत्य र गीतमा जस्तै कवितामा पनि रियालिटी शो भएको थाहा पाएको थिएँ । हेर्छु भन्दाभन्दै समय मिलेको छैन । सामाजिक सञ्जालमा द पोएट आइडल (The Poet Idol) का पक्ष र विपक्षमा तर्कवितर्क अलिअलि पढेको पनि छु । संयोगले आइडलमा छानिएका १४ जना कविसँग एकसाथ २ घण्टा बिताइयो । रेडियोमा साहित्यिक कार्यक्रम संचालन गरेको अनुभवका आधारमा आयोजकका तर्फबाट मेरो अनुभव बाँड्न र साहित्यिक रचनालाई कसरी अभिव्यक्त गर्न सकिन्छ भन्ने विषयमा छलफल गराउने उद्देश्यले मलाई बोलाउनुभएको थियो ।
१००० जनामा छानिएर आएका यी प्रतिष्पर्धी एक से एक छन् । जजहरुलाई मुस्किल पर्नेछ फाइनलसम्म छनोट गर्न । धेरैमा छानिएपछि उत्कृष्ट नमूनाहरु पाउन सकिन्छ भन्ने अनुपम उदाहरण बनेको छ द पोयट आइडल । नेपाली साहित्य क्षेत्रमा यस किसिमका कार्यक्रमले साहित्यिक गतिविधिलाई बढावा दिने र अझ गुणात्मक सिर्जनाहरु आउनेमा म चाहिँ विश्वास गर्छु । कार्यक्रम सफलताको लागि हार्दिक शुभकामना ।”
…
अन्त्यमा,
यत्ति भन्छु द पोएट आइडल कवि र कविताकै लागि बनाइएको ठाउँ हो । जसका कारण समजाले कविलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनेछ र कविले पनि “म कवि हो” भन्नमा गर्व गर्नेछ । यो मेरो विश्वास हो । यसमा तपाईं सहमत हुनु हुन्न भने पनि म रिसाउँदिन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।