डा. राजकुमार छेत्री अहिले दार्जीलिङ सिक्किमका पत्र-पत्रिकातिर समालोचनामा छाइरहने नाम हो। उनलाई अब अलङ्कार भरेर परिचय दिइरहने आवश्यकता छैन। उनको लेखकीय परिचय त उनकै विभिन्न समालोचनात्मक लेखहरूले दिइहाल्छन्। उनका समालोचनाधर्मी सिर्जनशील कलम दिनानुदिन नयाँ बान्की र परिपाटी लिएर देखा पर्दछ। अहिलेका नयाँ पुस्ताका समालोचकहरूका हाँचमा डा. छेत्रीको स्थान नेतृत्व पंक्तिमा रहेको देखिन्छ। कृति अध्ययनका नयाँ फाँट, सिद्धान्त, पद्धति, दृष्टिकोणको विस्तार भइरहेको क्रममा उनी पनि यसतर्फ अघि बढेका छन्।
यता भारतीय नेपाली समालोचना क्षेत्रमा अघिल्लो पुस्ताका समालोचकहरूलाई सघाउन नयाँ पुस्ताका समालोचकहरू पनि तयार हुँदैछ। अब युवा पुस्ताका लेखकहरूले आफ्नो अध्ययनलाई अझ तिखार्दै लगेर यस समालोचनाको फाँटलाई फैलाउनु परेको छ। अतः यस दिशामा हाम्रा डा राजकुमार छेत्रीहरू जस्ता उद्यमी, लगनशील, जाँगरिला समालोचक आएकामा हामी आमपाठकका खुशीको कुरो हो।
आजसम्म डा. छेत्रीले ‘सिर्जनाको समावलोकन’, ‘अवलोकन अवबोधन’, ‘कृति आलोकन’, ‘दृष्टिपथ’, जस्ता समालोचनात्मक ग्रन्थ दिइसकेका छन् भने ‘शिवकुमार राई रचना सञ्चयन’को कुशल सम्पादन पनि सम्पन्न गरिसकेका छन्। उनले विभिन्न स्रष्टाहलाई लिएको अन्तर्वार्ताहरूको संगालो ‘अक्षरहरूमा संवाद’ (२०१८) पनि प्रकाशित छ।
समालोचना क्षेत्रमा उनका चारवटा गहकिला पुस्तकहरू प्रकाशित भएका छन्। उनी आफ्नो समालोचनामा कृति र कृतित्वमाथि प्रकाश पार्दछन्। जुन प्राज्ञिक किसिमको हुन्छ। उनी अनुसन्धानमा लागेका बेला विविध साहित्यिक सिद्धान्तहरूको अध्ययन गरी त्यसैलाई अन्य कृति आलोचनामा सदुपयोग गरेका छन्।
डा. छेत्री विशेषगरी आख्यान समालोचनामा रमाएको देखिन्छ। अझै कथा विधा उनको प्रिय विधा रहिआएको देखिन्छ। कथाको कथावस्तुको बनोट, बुनोट, विन्यास, सन्दर्भ, तथा चरित्रका विभिन्न प्रकार, विधान, चित्रण विधि एवम आख्यानात्मक शिल्प-संरचना, संकथन, तात्विक विमर्श आदिलाई उनले केलाइ-कुलाइ गरी पाठकलाई पस्किदिन्छऩ्।
कृतिभित्रको संसारको विचरण, त्यसभित्रका सम्बद्ध विषयको वर्गीकरण र तिनका आधार, कृतित्वगत प्रवृतिको खोजतलास, विविध सन्दर्भ तथा अभिप्राप्तिको आकलन इत्यादि उनको समालोचनागत प्रवृत्ति देखा पर्दछन्। अतः समासामयिक आख्यान (कथाविशेष) विधाको कृतिगत अध्ययन अनुसन्धान र विश्लेषण गर्नु डा छेत्रीको समालोचना कार्यको मुख्य क्षेत्र हो। यद्यपि उनको समालोचनामा केही मात्रामा प्रभाववादी प्रवृति हुँदा-हुँदै पनि सैद्धान्तिक पद्धतिलाई आधार बनाएका छन्। नेरेटोलजी उनको समालोचनाको मूल आधार हो।
…
उनको चौथो कृतिको रूपमा रहेको कृति आलोकनमा जम्मा एघारवटा समालोचनात्मक लेख संग्रहित छन्। यीमध्ये छवटा कथाकेन्द्री, तीनवटा कविताकेन्द्री, एउटा समालोचनाकेन्द्री र एउटा चाँहि नियात्राकेन्द्री समालोचना परेका छन्। उनले डा लक्खीदेवी सुन्दास, बद्रीनारायण प्रधान, कमला राई आँसु, सम्पूर्णा राई, महानन्द पौड्याल र प्रदीप गुरूङका कथाहरूको कथावस्तु योजना, पात्र विधान, शिल्प विधान, सारवस्तु आदिका आधारमा कृतित्वको विवेचनात्मक मूल्याङ्कन गरेका छन्।
उनका अन्य समालोचनमा बी पी मल्लको हाइकु-कविता लेखनबारे एउटा गम्भीर अध्ययन पत्र प्रस्तुत गरेका छन्। जापानी जीन दर्शनमा आधारित हाइकु कविताको अध्ययन गर्दै बी पी मल्ललाई एक सफल हाइकुकारका रूपमा चिनाएका छन्। यहाँ लक्ष्मीप्रसाद देवकोटाको समालोचनात्मक अवधारणालाई उनले केलाउने जमर्को गरेका छन्।
त्यसैगरी दार्जीलिङबारे कुन कुन कविहरूले कवितामा कसरी आफ्ना भाव अभिव्यक्त गरेका छन् सो प्रस्तुत गरेका छन्। यस लेखलाई हामी सर्वेक्षणात्मक अध्ययन मान्न सक्छौं। एम बी प्रधानको नियात्रा पुस्तक मनका लहर र रहरहरू बारे पनि नियात्राको सिद्धान्तका आधारमा यसको मूल्याङ्कन गरेका छन्।
जे होस्, नेपाली समालोचना क्षेत्रमा डा. राजकुमार छेत्री एउटा प्रखर नाम बनिएको छ। उनी विशेष गरी कथा विधामा विचरण गरी त्यसका पत्र-पत्र केलाइ पाठकलाई सो कृतिको रसास्वादन गर्न सघाउ पुर्याउँछन्। वास्तवमा समालोचना भन्नु नै कुनै एउटा पाठ वा कृतिबारे पाठकलाई अझै रसास्वादन गराउनु हो। यस दिशामा डा छेत्री निपुण छन्।
इन्द्रबहादुर राई, घनश्याम नेपाल, डा जस योञ्जन, डा जीवन नामदुङ, डा मोहन पी दाहाल, कविता लामा, जय क्याक्टसका पछि हाम्रा डा राजकुमार छेत्री पनि नेपाली समालोचनामा आएका छन्। यस विधाको उन्नतिमा डा. छेत्रीको कलम अझै तिख्खर बनोस्, उनीबाट हामीले अझै राम्रा राम्रा समालोचनात्मक कृति पाइरहूँ, उनीजस्तै अरू पनि जागरूक अध्येता र समालोचकहरू हामीलाई पाइरहूँ भन्ने कामना छँदैछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।