बौद्ध तथा जैन धर्मको विप्लव त्यतिखेरको समाजको माग थियो । त्यो विप्लव धर्मको क्षेत्रमा जस्तोसुकै भए पनि आर्य विचारधाराको क्षेत्रमा भने एउटा विशेष ऐतिहासिक युगको निर्माण गरेरै छाड्यो । यथार्थमा भन्नुपर्दा समालोचनात्मक दृष्टिकोण जन्माउनमा सहायता गर्यो । बौद्ध विचारकहरू तर्कका पक्षपाती भएको हुँदा तर्कलाई मुख्य शस्त्र बनाएका थिए । विरोधी कुरोलाई खण्डन गर्ने समालोचनात्मक शस्त्र तर्कलाई बनाएका थिए ।
बौद्ध धर्मले पुरानो अवरोध जो मस्तिष्कको कष्टदायक प्रभाव बनेको थियो— त्यसबाट मुक्त गर्नमा ओखतीको काम गर्यो । वास्तविकता तथा जिज्ञासा भावबाट निस्किएका संशयवादलाई विश्वासका साथमा स्वभाविक जगतमा ल्याइदियो । यथार्थको गहिराइसम्म जाने आवश्यकताले गर्दा नै दार्शनिक हलचल देखापर्यो । अर्कोतर्फ रुढीवादी सम्प्रदाय आफ्नो विचारलाई संहिताबद्ध गर्न तथा तिनीहरूको रक्षाको लागि तार्किक प्रमाणहरूको आश्रय लिन बाध्य बन्यो ।
तर्कको कसीलाई स्वीकार गरेपछि काल्पनिक मान्यताहरूको प्रचारकका विरोध सुस्त बन्दै गयो । किनभने काल्पनिक मान्यताहरूको आधार त्यति सशक्त र सुदृढ थिएन र ती विचारधारालाई दर्शनको नाम दिनु ठीक थिएन । तर भौतिकवादीहरूका विध्वंसात्मक जोशीलो तर्कले निश्चयात्मक ज्ञानको आधारलाई भने नष्ट गरिदियो । एकहोरो वादविवादको स्वादले मानवको आत्मिक भोकलाई शान्त बनाउन नसक्ने हुँदा केही लाभ हुँदैन जसले हामीलाई सत्यसम्म पुर्याउन सक्दैन ।
सम्पूर्ण दर्शनहरूमध्ये ६ वटा दर्शन धेरै प्रसिद्ध भए— महर्षि गौतमको ‘न्याय’, कणादको ‘वैशेषिक’, कपिलको ‘सांख्य’, पतञ्जलिको ‘योग’, जैमिनीको ‘पूर्व मीमांसा’ र वादरायणको ‘उत्तर मीमांसा’ अर्थात् ‘वेदान्त’ । यी सबै वैदिन दर्शनका नामबाट चिनिएका छन् किनभने यिनले वेदको प्रामाणिकतालाई स्वीकार गरेका छन् ।
जुन दर्शन वेदको प्रामाणिकतालाई स्वीकार गर्दछन् त्यसलाई आस्तिक भनिन्छ । जसले स्वीकार गर्दैन त्यसलाई नास्तिकको संज्ञा दिइएको छ । कुनै पनि दर्शनलाई आस्तिक अथवा नास्तिक भन्नु परमात्माको अस्तित्व स्वीकार अथवा अस्वीकार गर्नमा निर्भर छ । बौद्धधर्मको कतिपय सम्प्रदायको उद्गम उपनिषदमा रहेको छ । यद्यपि तिनीहरूलाई सनातन धर्म मानिएको छैन, किनभने तिनीहरूले वेदको प्रामाणिकतालाई स्वीकार गर्दैनन् । कुमारिल भट्ट अनुसार बौद्ध दर्शनले उपनिषद्बाट प्रेरणा लिएको हो । उनकाअनुसार यसो गर्नुको उद्देश्य भनेको अत्यन्त विषय–भोगमा रोक–थाम गर्नु थियो ।
वेदलाई स्वीकार गर्नुको अर्थ हो आध्यात्मिक अनुभवले सबै विषयहरूमा तर्कको सहारा नलिएर प्रकाश पार्नु हो । यसको अर्थ वेद प्रतिपादक सम्पूर्ण सिद्धान्तलाई पनि स्वीकार गर्नु हो । परमात्माको अस्तित्वमा पनि विश्वास गर्नु हो ।
यथार्थमा त प्रारम्भमा वेदको अस्तित्वलाई स्वीकार गर्नु भनेको मानव जीवनको मूल रहस्यलाई गम्भीरतापूर्वक उद्घाटन गर्नु थियो, किनभने ६ वटै दर्शनले वेदको निर्दोषितालाई समान रुपले स्वीकार गरेको भने छैन ।
श्रुति र स्मृतिको भेद छ्यालव्याल्ल छ र जहाँ दुवैमा परस्पर मतभेद छ त्यहाँ श्रुतिलाई नै प्रधानता दिइएको छ । श्रुति पनि आफू आफैमा दुई भागमा विभक्त छ, कर्मकाण्ड र ज्ञानकाण्ड ।
ज्ञानकाण्डको महत्त्व धेरै छ, यद्यपि यसको अधिकांश भागलाई भने अर्थवाद, अनावश्यक या गौणकथन भनेर एकातिर थन्काइदिइएको छ । ज्ञानकाण्डको गहन अध्ययनले वेदलाई उदार भावले ग्रहण गर्न सकिन्छ ।
यथार्थमा वेदको व्याख्या, व्याख्याकारको दार्शनिक रुचि र क्षमतामा निर्भर गर्दछ ।
अर्कोतिर दार्शनिकहरू तार्किक विधिहरूको प्रयोग गर्दै, युक्तिसंगत सत्यमा पुग्ने प्रयत्न गर्दथे । यसो भएको हुँदा ती दार्शनिकलाई नवीन विषयको प्रतीपादक मानिएन । यसो त उनीहरूको स्पष्टताको अभाव ती दर्शनको अध्ययन गर्दा नखट्किने भने होइन । तब पनि तिनीहरूले प्रचारप्रसार गर्न सहायता पाए, जसलाई तिनीहरूले सत्य मानेका थिए । यसकारण फरक फरक मत र सम्प्रदायका समालोचक र टीकाकार आ–आफ्नै अनुकूल वेदको दावी गर्ने गर्छन् । जहाँ स्वभाविक किसिमबाट तर्क गर्न सक्दैनन्, त्यहाँ बलपूर्वक आफ्नो वाकपटुता देखाउने गर्छन् ।
यथार्थमा वेदलाई प्रामाणिक मान्ने दर्शनका विषयहरूमा विविधता छ । यसो हुनुको कारण दार्शनिक कल्पनाको पछाडि धार्मिक उद्देश्य लुकेको छ । शब्द नित्यताको सिद्धान्त दार्शनिक समस्याभन्दा पनि आस्तिकवादको समस्या हो । किनभने यसको सोझो सम्बन्ध वेदको निर्दोसिताको सिद्धान्तसँग छ । प्रत्येक वैदिक दर्शनमा तर्क, मनोविज्ञान, तत्त्वज्ञान र धर्मको सम्मिश्रण पाइने गर्दछ । वैदिक साहित्य धेरै अगाडि बढेको हुँदा नै वैदिक विषयको विचारलाई आफ्नो विचार अनुकूल बनाउने आवश्यकता अनुभव भयो ।
यही आवश्यकताले सूत्र–साहित्यको निर्माण भयो । दर्शनको मुख्य मुख्य सिद्धान्तलाई संक्षेपमा सूत्रको रुपमा राखिएको छ । यसलाई सम्भव भएसम्म सानो स्वरुपमा राखिएको छ । सानो स्वरुप शुद्धसँग प्रकट गर्न सजिलो हुन्छ । सानो स्वरुपमा अनावश्यक र अशुद्ध अंशको नाम निशान पनि रहँदैन । दार्शनिक विचारहरूका विभिन्न क्षेत्रमा विभिन्न पद्धतिहरूका विकास भए । पुस्तौंपुस्ता विचारहरू एकत्रित हुँदै गए । तबमात्र सूत्रको रुपमा विचारहरू संग्रह गरियो । सुत्र कुनै एक विचारकको विचारको परिणाम हुँदै होइन । न त यसको निर्माण कुनै एउटा युगमा नै भएको हो ।
यो पुस्तौं पुस्ताका विचारहरूका सतत् परिश्रमको परिणाम हो सूत्रको रुप लिनुअघि विचारहरू निकै लामो समय गर्भमा रहेर बढ्दै गरेको भ्रुणको रुपमा पनि लिन सकिन्छ । यथार्थमा यसको उद्गमको खोजी गर्नु निश्चय नै सजिलो छैन । प्रत्येक दर्शनको निर्माणको प्रारम्भिक अवस्थामा दार्शनिक विचारको बाढी आउने गर्दछ । एउटा विशेष स्थानमा पुगेपछि मात्र त्यस्ता विचारले सूत्रवद्धरुपमा संक्षिप्त आकार धारण गर्दछ । अनिमात्र सूत्रहरूको भाष्य निर्माण गर्ने समय आइपुग्छ । त्यसपछि भने त्यसमा टिप्पणी, टिका एवं सारभूत व्याख्याहरू देखापर्छ । सय नै कारणहरूले गर्दा मौलिक सिद्धान्तमा धेरै परिवर्तन, सुधार र विस्तार हुने गर्दछ ।
उपनिषद्कालदेखि नै भाष्यलाई प्रश्नोत्तरको रुपमा राख्ने गरिएको पाइएको छ, यसो गर्दा सरल किसिमबाट सम्झाउन सकिने विश्वास अग्रजहरूका मनमा गढेको थियो । प्रश्नोत्तरको माध्यमबाट भाष्यले विरोधी विचारहरूको खण्डन मात्र नगरी मौलिक सिद्धान्तको समर्थन गर्ने पनि गर्दछ । प्रश्नोत्तर विधिले मौलिक विचारहरूलाई पुनः स्थायी गराएर यसको उत्कृष्टता सिद्ध गर्दछ ।
६ वटै दर्शन केही भौतिक सिद्धान्तहरूमा आपसमा एकमत छन् । वेदलाई प्रमाणिकता मान्ने हुनाले यिनीहरूको विकास विचारधाराको एउटै आदीम स्रोतबाट भएको हो । यो पुस्तौं पुस्ताबाट प्राप्त ज्ञान हो । यो आफ्नै जाति र भूमिको भएको आधारमा यसका विचारलाई सरल किसिमबाट बुझ्न सकिन्छ । सबै वैदिक दर्शन बौद्धको संशयवादको विरुद्ध छ । एउटा शाश्वत अस्थिर परिवर्तन क्रमको विपरित छ । वैदिक दर्शनले त उद्देश्यपूर्ण आफ्नो वास्तविकता र आफ्नो सत्यको पक्षमा झण्डा उठाई राख्दै आएको छ ।
वैदिक दर्शनअनुसार सृष्टि प्रवाह अनादि हो । यो मनको कल्पना मात्र नभएर वास्तविकता हो र एउटा उद्देश्यको लागि भएको हो । यसैलाई अनादि प्रकृति, माया अथवा परमाणु भन्ने गरिएको छ ।
नाम, रुपरहित तर विश्व स्थित सत्ता छ भन्ने विश्वास वैदिक दर्शनको छ । त्यसलाई कसैले प्रकृति, कसैले माया र कसैले परमाणु नामले सम्बोधन गर्ने गर्छन् । यो यथार्थ हो जसको प्रारम्भ हुन्छ त्यसको अन्त्य पनि हुन्छ । थुप्रै भागहरू मिसिएर कुनै बस्तुको निर्माण भएको छ भने त्यो न त नित्य हुन सक्दछ, न त आफ्नो अस्तित्व सधै स्थिर राख्न सक्दछ ।
सबै दर्शनले यस महान विश्वरुपी प्रवाहको दृष्टिकोणलाई स्वीकार गर्दछन् । उत्पत्ति, स्थिति र विनाशको क्रम अनन्तकालदेखि चलि नै रहेको छ । यो क्रम अनन्त कालसम्म चलि नै रहने छ ।
यस सिद्धान्तको प्रगतिसम्बन्धी विश्वाससँग कुनै विरोध छैन । यसमा सृष्टिको गतिको आफ्नो अन्तिम लक्ष्यसम्म पुग्ने र फेरि नयाँबाट उत्पन्न हुने क्षमता हुन्छ । उत्पत्ति र विनाशको तात्पर्य भनेको विश्व नयाँबाट उत्पन्न हुने र विनष्ट हुने चाहिँ होइन । नवीन सृष्टि विश्व इतिहासको आगामी सोच हो । जसबाट सद् र असद् क्षमताहरूको आफ्नो पूर्णतासम्म पुग्ने अवसर प्राप्त हुन्छ ।
यसको तात्पर्य हो मानव जातिको नयाँ सोचबाट आत्मपर्शनको मार्गमा आरुढ हुने अवसर प्राप्त हुनु हो । पूर्व मीमांसालाई छाडेर अन्य सबै वैदिक दर्शनहरूका लक्ष्य मोक्ष प्राप्तिको क्रियात्मक उपायहरूलाई खोजेर निकाल्नु हो । मानेक्षको अर्थ शास्त्रअनुसार खोज्नुपर्छ । अनिमात्र जीवात्माको पाप अथवा भूलहरूबाट बचेर आफ्नो शुद्ध स्वरुपलाई चिन्नु र त्यसलाई प्राप्त गर्नु मानसिक सन्तुलन हो । जीवनको विषमताहरू र अनिश्चितताहरू, दुःख र कष्टहरूबाट छुटकारा पाउनु हो । ‘एउटा यस्तो शान्ति जो शाश्वत बनि रहोस्’ जसमा कुनै संशयले विध्न हाल्न नसकोस् । जीवनमुक्तिको विचारलाई यानी यसै जन्ममा मुक्त हुने भावलाई अनेक सम्प्रदायहरूले स्वीकार गरेका छन् ।
हिन्दूहरूको विश्वासअनुसार विश्वको सञ्चालन पूर्णरुपले कुनै नियमअनुसार भइरहेको छ । तब पनि मानवलाई आफ्नो भाग्यको निर्माण गर्नमा पूर्णतया स्वतन्त्र राखिएको छ । हाम्रो कार्यले टाढाबाट पनि हाम्रो पीछा गर्दछ । जे हामी पहिले थियौं त्यसैअनुसार हाम्रो वर्तमान रुप हो । सम्पूर्ण दर्शन पूनर्जन्म र पूर्वजन्ममा आस्था राख्दछ । हाम्रो जीवन एउटा यस्तो मार्गमा हिँडेको छ जसको दिशा अथवा लक्ष्य अनन्तमा निहित छ ।
हामी संसाररुपी अन्धकारमा हराइरहेका बालक झैँ छौँ । जुन बालकलाई आफ्नो वास्तविक रुपको ज्ञान छैन । यसकारण हामी भयभीत हुन्छौँ। आफ्नो चारैतिर व्याप्त दुद्यखमा आशा लिएर टास्सिएका छौं । यसकारण प्रकाशको आवश्यकता छ ।
प्रकाशले हामीलाई वासनाहरूबाट मुक्त राखेर आफ्नो शुद्ध एवम् वाविक स्वरूपको दर्शन गराउँछ । त्यस अवास्तविक स्थितिलाई पनि परिचय गराउँन सक्छ । अवास्तविक स्थितिमा हामी अज्ञानवश रहिरहेका छौं । यसप्रकार अन्तर्निरीक्षणको मोक्ष प्राप्तिमा एकमात्र साधना स्वीकार गरिएको छ । यद्यपि अन्तर्निरीक्षणको उद्देश्यमा मतभेद अवश्य छ । पूर्वीय दर्शनको इतिहास यसरी अनेक किसिमका कठिनाइहरूले भरिएको पाउछौं ।
प्रमुख शास्त्रकारहरू र उनीहरूका ग्रन्थहरूको समयको विषयमा संशयरहित भएर केही पनि भन्न सकिन्न । कतिपय सुप्रसिद्ध ग्रन्थकारहरूका ऐतिहासिकताको विषयमा पनि धेरै मतभेद छ ।
कतिपय प्रासंगिक ग्रन्थ त उपलब्ध नै छैन । जे जति प्रकाशित भएका छन् तिनीहरू सबैको अहिलेसम्म आलोचनात्मक अध्ययन भएकै छैन । महान पूर्वीय विचारकहरूले पनि पूर्वीय दर्शनको ऐतिहासिक दृष्टिले छानविन गरेका छैनन् । माधवाचार्यले आफ्नो सर्वदर्शनसंग्रहमा सोह्र विभिन्न दर्शनहरूका विवेचना गरेका छन् । शैव सिद्धान्तका चारवटै सम्प्रदायहरू र रामानुज साथै पूर्णप्रज्ञ सम्प्रदायको आधार वेदान्त सूत्र हो । पाणिनीको मतको महत्त्व दार्शनिक दृष्टिले एकदम थोरै छ ।
पाणिनी शब्दको नित्यताको सम्बन्धमा मीमांसाको मतसँग सहमत छन् । प्रत्येक शब्दलाई अर्थको अभिव्यक्तिको अविभाज्य रुपलाई स्वीकार गर्दछन् ।
वैदिक षड्दर्षनमा वैशेषिक दर्शनको प्रतिष्ठा धेरै छैन । न्यायदर्शनको तर्कपक्ष भने धेरै प्रचलित छ । दर्शनशास्त्र भन्नासाथ कतिपय सामान्य मानिसहरू ज्यादै जान्न बुझ्न, कठिन, काम नभएका थोरै ठूलाठालू सम्पन्न मानिसहरूका लागि तर्क–वितर्क गरेर दिमागी कसरत गर्ने विषय भनेर पन्छाउने गरिएको पाइन्छ । तर दर्शनशास्त्रले हरेक विषयलाई सूक्ष्मबाट स्थूलतातिर के, किन र कसरीको भौतिकवादी आधारमा द्वन्द्वात्मक रुपले व्याख्या–विश्लेषण गर्नुको साथै कुनै पनि सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक आदि समस्याहरू समाधान गर्ने बाटो देखाउँदछ ।
अर्को शब्दमा भन्ने हो भने दर्शनशास्त्र जीवन र जगतलाई हेर्ने बुझ्ने, व्याख्या–विश्लेषण गर्नेमात्र नभएर फेर्ने दृष्टिकोण हो । पूँजीवादी सामन्तवादी चिन्तन र दर्शन अनुसार ‘विशेष ज्ञान ठूलाठूला विद्वानहरू विशेषज्ञहरूलाई मात्र हुन्छ । गरीब किसान, मजदूर र सर्वसाधारण भनेका केही पनि नजान्ने मूर्ख अभानी हुन्छन् ।’ गरीब, किसान, मजदूर र सर्वसाधारणमा अपार ज्ञानको भण्डार हुन्छ र चमत्कारिक सिर्जनशील क्षमता हुन्छ । भौतिकवादी द्वन्द्ववाद बमोजिम प्रकृतिमा हुने हेरफेरको मूल कारण प्रकृतिमा भएका अन्तर्विरोधहरूको विकास नै हो ।
समाजमा हुने हेरफेरका मूल कारण हुन्- ‘समाजमा भएका भित्रिया अन्तर्विरोधहरू, अर्को शब्दमा उत्पादक शक्तिहरू र उत्पादन सम्बन्धहरूका माझ रहेको अन्तर्विरोधहरू वर्गहरूका माझ नौलो र पुरानाका माझ रहेका अन्तर्विरोधहरू हुर्कदै जानु । यस अन्तर्विरोधहरूको विकासले नै समाजलाई अगाडि घचेट्छ र नौलो समाजले पुरानिएको समाजलाई उछिन्ने कुरामा हौसल्याउँछ ।’ अहिलेसम्मको चर्चामा विशेषतः आध्यात्मिकभन्दा भौतिक पक्षकै विश्लेषण भएको छ ।
मानिसले आफ्नो जीवनका विविध विषय पेशा, व्यवसाय, सङ्गत, धर्म, व्यावहार, राजनीति आदि जुनसुकै कुरामा पनि मन अडिएपछिमात्र त्यो कामकुरो ठीक भएको ठान्दछ र त्यसैमा एकत्व अनुभव गर्दछ । अतः हृदय विश्रामको दार्शनिकतालाई जीवनमा आत्मसात गर्नु नै जीवनबोधको एकमात्र सूत्र हो, आनन्दानुभूतिको सही उपाय हो भन्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।