व्यक्तिगत रूपमा, मेरा लागि नयाँ वर्ष वा नयाँ साल भन्नु सिर्फ तिथिमितिहरूको थपघट मात्रै हो । बितिगएका मितिहरूसँग मेरो खासै ठूलो सम्बन्ध छैन । न हिजो छुटिगएको समयभन्दा भोलि समीप आउने समयले बढी साथ देओस् भन्ने अपेक्षा छ, न त नयाँ वर्षको गर्भमा कुनै योजना रोपेर उमार्नु नै छ । अझ, योजना पूरा भएनन् भन्नेमा दिक्क मानेर समयलाई दोष लगाउनु नै छ । मलाई त आउने नयाँ वर्षमा कसैलाई अँगालेर माया गर्दै टोलाएर एकटकले हेर्नु पनि छैन वा कसैलाई माया मार्नु पनि छैन । हिजो होस् वा आज, समय बितेरै जाने त हो ! तर पनि, पछिल्लो समय भने म किन किन ‘न्यू इयर’ वा ‘न्यू इयर इभ’को व्यग्र प्रतीक्षामा हुन्छु । मैले आफ्नो घरको ढोका ‘सन् २०२३’ लाई भनेर खुला गरेको पनि निक्कै दिन भइसक्यो ।

तारा भट्टराई (अमेरिका)

मलाई न्यू इयर मन पर्ने धेरैवटा कारणहरू छन् । तीमध्ये प्रमुख एकचाहिँ ‘जनवरी’ मेरो जन्म महिना हो । म डिसेम्बर २५ मा सबैलाई ‘ह्यप्पी क्रिसमस’ भन्छु, र जनावरी १ मा ‘ह्याप्पी न्यू इयर’ मान्छु । मैले नेपालमा नै धार्मिक सहिष्णुताको पाठ पढेकी छु, र आपसी प्रेममा विश्वास गर्छु ।

न्यूयोर्क सहरमा नयाँ वर्ष गडगडाएर आइरहेको छ । स्वागतमा सहर बेहुलीझैँ सिँगारिएको छ, र धपक्क बलेको छ । पुरानो वर्ष अब लुम्रेझुम्रे भयो भनेर सबैले मनबाटै हटाइ पनि सके । जब म काममा जानका लागि घरबाहिर निस्कन्छु, न्यूयोर्क सहर रङ्गमञ्चजस्तै झलमल सिँगारिएको देख्छु । सडकका दायाँबायाँ, घर, रेष्टुराँ, पसल, कवल सबै सबै बेहुलीझैं सिँगारिएका हुन्छन् । मानिसहरू त्यसै त्यसै खुसीले रौसिएका देखिन्छन् । म पनि सिँगारिएको सहर देखेर आफैँ रोमाञ्चित हुन्छु । टक्क उभिन्छु । म पनि त सहरजस्तै निक्कै सुन्दरी नै छु नि ! हो, मलाई यस्तै लाग्छ ।

ब्यागबाट हत्तपत्त आई-फोन निकालेर झिलिमिलि बत्ती बालिएका क्रिसमस ट्रीहरू र क्रिसमसका पिता शान्तक्लजलाई ब्याकग्राउण्ड बनाएर एक्लै मुसुक्क मुस्काउँछु, र फोटो खिच्छु । अनि फेसबुकमा पोस्ट्याउँछु ।

जीवनमा मलाई धेरै कुराहरू थाहा छैन, र धेरै कुरा म बुझ्दिनँ पनि । तीमध्ये पनि नेपाली नयाँ वर्ष अर्थात् बैशाख एक गतेको महत्त्व मैले कहिल्यै बुझिनँ । केटाकेटी हुँदा घरमा कहिल्यै पनि नयाँ वर्षको दिन मीठो परिकार पकाएर खाएको याद आउँदैन । नयाँ नाना लगाउन पाएको वा स्कुलमा शिक्षकहरूले चक्लेट बाँडेको सम्झना छैन । यस्तो केही भइदिएको भए मैले पक्कै सम्झन्थेँ होला नेपाली नयाँ वर्ष । तर सम्झने कुनै विशेष क्रियाकलापको सम्झना नभएकाले मैले नयाँ वर्ष कहिल्यै सम्झिन सकिनँ । त्यतिबेला, भित्ते क्यालेण्डर थिएन – पल्टाएर हेर्न र फेर्नलाई। घरमा साइत हेर्ने पुरानो मोडेलको पात्रो चाहिँ हुन्थ्यो, तर त्यो हातमा पर्दा तीन महिना बितिसकेको हुन्थ्यो । मासिक र वार्षिक राशिफल चाहिँ खुबै हेरिन्थ्यो ।

बच्चामा जसरी दसैँ-तिहारको प्रतीक्षा हुन्थ्यो, र खुबै रमाइलो मानिन्थ्यो त्यसरी नै म अचेल क्रिसमस र नयाँ वर्षको व्यग्र प्रतीक्षामा हुन्छु । त्यसमा पनि क्रिसमस ट्रीमुनि सजाएर राखेका उपहारका राता/हरिया प्याकेटमा म खुसी नै खुसी देख्छु । बत्तीहरूमा अनगिन्ती मानिसहरूको सुखको झिलिमिली देख्छु । बज्ने गीत-सङ्गीतमा मान्छेहरूका चहर्याइरहेका घाउका मल्हम लगाउने धून भेट्छु ।

मलाई मेरा सहकर्मीहरू वर्षभरि गोल पास गरेझैँ गरेर म्याच फिक्सिङ गरिरहेका निर्दयी लाग्छन् । तर डिसेम्बर लागेपछि भने उनीहरू बिस्तारै सामिप्यता बढाउँदै जान्छन्, र ज्यादै नरम तथा मिजासिला लाग्छन् । राम्रा राम्रा उपहार किनेर दिन्छन् । गलामा गला मिलाएर सम्बन्धलाई नवीकरण गर्छन्, र आफ्नो उच्चतम प्रेम प्रकट गर्छन् । सबैले एउटै टेबुलमा स्याम्पेन फोरेर चियर्स गर्छन् । पार्टी मनाउँछन् । नितान्त व्यक्तिगत कुराहरूसमेत सेयर गर्छन् । हाकिमहरू परैबाट ग्रेटिङ्स गर्दै आउछन्, र ‘के कसो छ ?’ भनेर चासो लिएको जस्तो अभिनय गर्छन् । दिनहुँका पार्टीहरूमा नयाँ नयाँ खानाका स्वाद चाख्न पाइन्छ । काम ठगेर दिनभर मोबाइल चलाएर बसे पनि कसैले केही भन्दैन । र्याप गरिएका गिफ्टका प्याकेटहरूमा ‘के होला ?’ भनेर खोलेर हेर्ने कौतहलताले मन त्यसै उत्साहित हुन्छ । मान्छेहरू सबै गिभिङ् मुड (Giving Mood) मा देखिन्छन् ।

अमेरिकामा घरमा भन्दा बढी समय काम गर्ने ठाउँमा बिताउनुपर्छ । सायद, जीवन जिउने क्रममा मान्छे दौडधुपमा लागेर कतिपय अवस्थामा आफ्नो कर्तव्य बिर्सेको हुन्छ । क्रिसमस र न्यू इयरताका भने सबैले आफ्ना सम्बन्धहरूलाई रिचार्ज गर्छन् । वास्तवमा मैले देखे-भेटेका धेरै मानिसहरूको जीवनमा खुसी भन्ने चिज नै हुँदैन रहेछ । पैसा हुनेहरूको पनि सम्बन्ध नहुँदो रहेछ । नाता/ सम्बन्ध हुनेहरूको पनि मन नहुँदो रहेछ । पैसा र सम्बन्ध भए पनि उदार दिल नभएर मान्छेहरू एक्लै छट्पटाउँदा रहेछन् । त्यसैले जब यहाँ क्रिसमस र नयाँ वर्ष लाग्छ, यसले अरूलाई खुसी दिन प्रेरित गर्दो रहेछ। आफैँले आफैँलाई नियाल्ने ऐना पो रहेछ क्रिसमस र न्यू इयर ।

अमेरिकामा मानिसहरू प्राय: एक्लोपनमा नै रमाउने र एक्लै बस्ने स्वभावका हुन्छन् । विकसित देशका मान्छेहरू विभिन्न कारणले एक्लै बस्नुपर्ने अवस्था आउँछ । यस्ता एक्ला मानिसहरू पनि स्टोरमा नयाँ नयाँ सामग्री, खाद्यन्न, लताकपडा, सजावटका सामाग्री, शुभकामना पत्रहरू तथा विभिन्न उपहारको खरिद गर्न र सद्भाव साटासाट गर्नमा व्यस्त देखिन्छन् । जसले अर्थतन्त्रलाई गति त दिन्छ नै, मानिसको जीवनको गतिलाई पनि जीवन्त राख्दो रहेछ।

ब्रिटिस साइक्लोजिस्टका अनुसार पनि नयाँ वर्षमा ‘यो गर्छु र त्यो गर्छु’ भन्ने ३०००० मध्ये ८८ प्रतिशत आफ्नो लक्ष्य प्राप्तिमा फेल देखिए । मैले पनि नयाँ वर्षका लक्ष्य बनाएर प्राप्ति वा उपलब्धि गरौँला भन्ने छैन । तर एउटा असल नागरिक बन्ने, नीतिनियम मान्ने, राम्रो आचरण भएका साथीहरूसँग सङ्गत गर्ने, रिणमुक्त र तनावमुक्त भएर बस्ने चाहना भने छ ।