
गुन धेरै छन् रोदन’का । याने निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’का । बैगुन भेटेको छुइनँ । बैगुन भेट्न अन्तर्य थाहा पाउनु पर्छ । अन्तर्य थाहा पाउने चिनारु होइन म । जवानीका यार होइनन् मेरा । जीवनको जस्केलोले ‘जा’ भनेर बाहिर घँचेट्ने सुर कसेका बेला साहित्यिक लर्कासर्कामा भौतिक भेटिएका/चिनिएका हुन् ‘रोदन’ । त्यसो त वयले उस्तैउस्तै भए पनि नेपाली साहित्यिक संसारमा जुन बेला म मोफसलमा बबुरो पाठक थिएँ, त्यही बेला नै उनी राजधानीका छापामा चिनिएको अग्लो साहित्यिक नाम थियो । पेसाले, कर्मले, भाग्यले, साधनाले, निरन्तरताले, स्वभावले, सरलताले, विविधताले, चिन्तनमननले साहित्य संसारको चुलीमा चढेका स्रष्टा हुन् सबैले चिनेका निबन्धकार श्रीओम । यत्ति भनूँ अहिले उनका बारेमा ।
परिवन्दले अमेरिकामा बस्छु म । २०७९ को वर्षा याममा जुरेको थियो मेरो पछिल्लो नेपाल यात्रा । श्रीओम श्रेष्ठ ‘रोदन’ को व्यक्तिनिबन्ध पुस्तक ‘अभिवन्द्य’ भेटेको थिएँ कोसेली । आतुरी थियो पढ्न । तर के गर्ने ? कोरोनाले दिमाग खल्बल्याएथ्यो मेरो अमेरिका फिरेपछि । र, तङ्ग्रिएको स्वाङ पारेको छु यतिबेला । फुकाएको छु कोसेली ‘अभिवन्द्य’ ।
देख्तै छु, पुस्तकको आवरण शतप्रतिशत अमूर्त छ । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ का स्वर्गीय पिता शिवप्रसाद श्रेष्ठमा समर्पण छ । वरिष्ट संस्कृति विज्ञ तथा घच्चीका निबन्धकार तेजेश्वरबाबु ग्वँग:को भूमिका ‘भूमिकालेखन आफैँ अनुभूति’ शीर्षकमा रहेको छ । ४१ जना स्रष्टाको विषयसूची छ । ‘भन्नै पर्छ मैले’ शीर्षकमा निबन्धकार ‘रोदन’ हाकाहाकी भन्छन् — गरेको छु शैलीमा परिवर्तन । र, प्रतिक्रियाका लागि हृदय खोलेर राखेका छन् ‘रोदन’ ले । पल्लव प्रकाशन प्रालि काठमाडौँले २०७८ सालमा प्रकाशन गरेको छ । मोल रु ४०० बोकेको छ । पश्चभागमा निबन्धकार ‘रोदन’ को तस्बिर छ र प्रकाशकको छोटो भनाइ पनि । र त्यसकै ठिकमुन्तिर यसै सङ्ग्रहबाट केही ‘कटपिस’ राखिएको छ । यतिले पुस्तकको कर्मकाण्डीय बोक्रो सकिएको छ ।
पुस्तकभित्रका पानारूपी बहानाका साहराले ‘अभिवन्द्य’को यात्रा र रमण गर्दैछु ।
‘अभिवन्द्य’का पाना पल्टाउँदै रमण गर्दा ‘जहाँ सम्झिन्छन् सिद्धिचरण’ शीर्षक बोकेर टुप्लुक्क आइपुगेका छन् कक्षा कोठामा युगकवि भनेर पढिएका तथा परीक्षामा स्वच्छन्दतावादी कवि भनेर लेखिएका सिद्धिचरण श्रेष्ठ । तर उनी निबन्धकार, एकाङ्कीकार, कथाकार, पत्रकार पनि हुन् भन्ने कुरा यही कृतिरमण यात्राका दौरान थाहा पाएको छु । नेपालको पहिलो पत्रिका ‘आवाज’ (गोरखापत्रभन्दा पहिलो, दर्ता न.ं एक) सिद्धिचरणले नै सञ्चलान गरेका, १८ वर्ष जेल सजाय भोगेका कुरा यही कृतिभित्र देख्दा मैले अक्षरमा चिनेका सिद्धिचरणको कद झन् अग्लो महसुस गरेको छु । सिद्धिचरण ऋद्धिबहादुरलाई गुरु मान्दछन् भन्ने कुराले झन् आश्चर्यचकित भएको छु । यसैगरी गणेशमान, व्यथित, धर्मराज तथा राष्ट्रकवि माधव घिमिरेलाई पनि निर्देश गर्ने युग कवि भन्ने सूचना यही कृतिभित्र देख्ता हर्षले गदगद भएको छु । नेपाल भाषामा ‘कविरत्न’ उपाधिले विभूषित युगकविलाई सलाम गर्छु र नेपाली साहित्यजगत्मा उनको कदलाई हेर्न आकाशतिर फर्केको छु ।
पुस्तकको पाना पल्टाउँदै छु । सामुन्नेमा देखिएका छन् मैले सशरीर नभेटेका लामो कोट लगाउने डायमन शमशेर ‘कीर्तिमानी कृतिका हिरा’ शीर्षकमा । डायमन शमशेरको व्यक्तित्व हिरा जस्तै भएर देखा परेको छ । विश्व प्रशिद्ध ‘सेतो बाघ’ लगायत ७ थान उपन्यास कोखिलामा च्यापेर उभिएका डायमन शमशेर नेपाली काङ्ग्रेसको नेता भएका कारणले ६ वर्ष नक्खु जेल परेको र सो अवधिमा नै सेतो बाघ लेखिएको यथार्थ बताइरहेको छ यो कृति । आफ्नै कृतिकै भरमा देशभित्र तथा देशबाहिर सगौरव बाँच्न सक्ने नेपाली लेखक हुन् भनेको सुन्दा मलाई आश्चर्यबोध भएको छ । धन्य छ सेतोबाघ र डायमन शमशेर । तिम्रा अक्षरलाई अक्षरबाटै सलाम टक्य्राउँछु ।
रमणमै छु । फेरि ‘राष्टकै कवि’ शीर्षकमा देखापरेका छन् राष्ट्रकवि माधव घिमिरे । कृतिभित्र बिम्बित राष्ट्रकविको जीवनले हामी मान्छे सामू एउटा प्रश्न उठाएको छ महसुस गर्दै छु । उमेरले सय कट्दा पनि ‘ऋतम्भरा’ महाकाव्यलाई लाई पुगेन समय रे । कस्तो हो जाँगर, आँट र समय । ८ जनाले गरे रे विद्यावारिधि राष्ट्र कविमाथि । जीवन दर्शनका पर्यायका रूपमा अक्षर बोलेका छन् उनका । १५० भन्दा बढी पुरस्कार र सम्मान पाएका छन् । तर सम्मानपत्रलाई सम्मान गर्न सकेको छैन कोठाले भन्छन् निबन्धकार ‘रोदन’ । विश्वविद्यालयले महाविद्यावारिधि तथा नेपाली सेनाले मानार्थ सहायक रथी टक्य्रायो । ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भन्दै राष्ट्रियताको गीत गाउने राष्ट्र कवि भन्दैछन् पुस्तकमा — ‘अहँ म त्यस्तो भन्दिनँ । मेरा सबै कृति प्रिय छन’् । अहा ! मेरो आफनै कुरा ठ्याक्कै मिल्यो — सवै सन्तान उत्तिकै प्यारा ।
रमणबाट बिसाएको छुइनँ । यात्रा चलि नै रहेको छ । ‘सबैका सत्यमोहन’ शीर्षकमा आइपुगेका छन् शताब्दी पुरुष सत्यमोहन जोशी । ज्ञान र बुद्धिका खानी सत्यमोहन । कविता, कथा, नाटक, निबन्ध, लोकसाहित्य, संस्कृति, कला, दर्शन, पुरातत्वलगायत अनेकन विषयका विद्वान सत्यमोहनलाई १०१ वटा संस्थाले सामुहिक अभिनन्दन गरेको दृश्यले कसको मन भावतिरेक नहुँदो हो । ६ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गराउने, घरमै मातापिताको अद्र्धकदको सालिक बनाउने, कुटीमा बस्ने, ‘सत्यमोहन लोक साहित्य परिषद’ गठन गरेर आफ्नो पक्की घर दान दिने दानवीर सत्यमोहन यही कृतिमा हाँसेको देखिन्छ । फोटो खिच्न तयार हुने, सबैका पहुँचभित्र रहने अति आदरणीय स्रष्टा सत्यमोहनलाई १९७७ साल बैसाख ३० गते जन्माएको हो नेपालले । काठमाडौँले । मदन पुरस्कार जस्तो गहन पुरस्कार नै तीन पल्ट पाएको सन्दर्भ तथा महाविद्यावारिधि पाएको सन्दर्भ उठाएर ‘अभिवन्द्य’ ले न्याय गरेको छ ।

खेमराज पोखरेल (अमेरिका)
‘अभिवन्द्य’ भित्र जयतु संस्कृतम् भन्दै ‘ब्राह्मणको बलिरहेको झिल्का’ शीर्षकमा देखा परेका छन् पूर्णप्रसाद ब्राह्मण । थरले दवाडी, १९७९ सालको असारमा गोरखामा जन्मेका ब्राह्मण आध्यात्म तथा दर्शनका ज्ञाता, राणा शासन विरुद्ध आन्दोलन गर्ने तथा २ दर्जन पुस्तकका रचनाकार हुन् भन्छ कृतिले । १६ पुस्तक नेपालीमा, ७ पुस्तक संस्कृतमा लेखेका कवि, कथाकार, उपन्यासकार तथा लघुकथामा ऐतिहासिक विशेष हुने ब्राह्मण । नेपाली भाषामा पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ । तेस्रो संस्करण रत्नपुस्तकबाट, मूल्य रु १, भूमिका सिद्धिचरणको रहेको ‘झिल्का’ अहिले पनि झिल्का नै छ । एउटा लघुकथाको सक्रिय पाठकको सलाम छ ब्राह्मण ।
वेदमा विद्यावारिधि गरेका काले राई स्वामी प्रपन्नाचार्य ‘प्रेरणाका अजस्र स्रोत’ शीर्षकमा मान्छेका लागि प्रेरणा नै भएर उभिएका छन् । पाँचथर वरडाँडा गाउँमा २०७९ सालमा जन्मिएका जगवीर राई अथवा आमाले राखिदिएको काले राई, फाल्गुनन्दले राखेको नाम सीताराम दिलदासहुँदै रामानुज सम्प्रदायबाट दीक्षा लिएपछि हृयग्रिव रामानुज स्वामी रामकृष्ण प्रपन्नाचार्य बन्न पुगेको तथ्य यही कृतिमा भेटेको छु । देवानन्द बहुगुणाले पढ्ने अवसर दिएकाले १८ वर्षसम्म गोठालो बसेका र ३० वर्षमा सावाँअक्षर चिनेका काले राई स्वामी प्रपन्नाचार्य बने । मुन्धुम मान्ने राइले ‘वेदान्तनय भूषणस्य सम्पादनम्’ शीर्षकमा विद्यावारिधिको गर्नु निकै आश्चर्य र प्रेरणाको कुरा हो । वेदमा के छ ? लगायत नेपालीमा २७, संस्कृतमा १९, सम्पादन १०, हिन्दीमा ६, अङ्ग्रेजीमा ३ पुस्तक प्रकाशन गराउनु चानचुने कुरा होइन । धर्मलाई कट्टरता होइन भन्ने सम्माननीय प्रपन्नाचार्य सङ्घर्ष र प्रतिवद्धताको जीवनको नाम हो । । छुवाछुत र भेदभावलाई अपराध मान्ने प्रपन्नाचार्यको भनाइ थियो — कुकुरलाई छुन हुने मान्छेलाई किन नहुने ? अहो ! मान्छेका लागि योभन्दा प्रेरणा अरू के हुन सक्छ र ?
स्वामी प्रपन्नाचार्यको जीवनीबाट प्रभावित भएर हिँड्दै छु कि बाटैमा बद्रीविक्रम थापा ‘समाज सेवाका पर्याय’ बनेर उभिएका छन् । मैले नचिनेका तर कृतिभित्र आदर्श र स्वार्थविहीनता, निष्पक्षता, शिष्टता तथा सौम्य तस्बिर उभ्याइएकाले नतमस्तक भएको छु । राणा शासन विरुद्धको सैनिक सङ्गठक भएबापत् सर्वस्वहरण भई जेल चलान गरिएका र नमारिएका सहिद हुन् भन्छ कृतिले बद्रीविक्रम थापालाई । नेपाल आँखा अस्पताल स्थापनामा भूमिका खेलेका, जनकपुरको जानकी अस्पताललाई जग्गा प्रदान गरेका कर्मयोगी समाजसेवी भएर सत्तालाई र शालीनतामा, शक्तिलाई समाजसेवामा समर्पित गर्ने स्रष्टा हुन् । श्रीमतीको गहना बेचेर जनताको ऋण तिर्ने, साहित्यकारको सेवा गर्ने अञ्चलाधीश बद्रीविक्रम थापा १९७९ साउन ११ मा जन्मे र २०५२ सालको असोज २५ गते कार्यक्रममा जाने तरखर गार्दगर्दै परमधाम गए । यस्तो पो मरण !
यात्राका क्रममा अगाडि उभिएका छन् प्रखर समालोचक कृष्णचन्द्रसिंह प्रधान ‘जित्ने कृष्णचन्द्र’ शीर्षकमा । आफैँलाई आफ्नो प्रतिद्वन्द्वी ठान्ने कृष्णचन्द्र सिंह प्रधान १९८२ सालमा जन्मेर २०१७ साल जेठमा स्वर्गारोहण भएको बताइएको छ । ‘शरीरले बाँचेकाहरू आर्यघाटमा पुगेपछि फेरि बाँच्दैनन्् । अक्षरले बाँच्नेहरूका लागि डढाउन बनेको छैन आगो’ (६३) । निबन्धकार रोदनको अनुभूति ‘छैन अब गर्नुपर्ने प्रमुख अतिथिका लागि अनुरोध तपाईँलाई । ……. पाइने छैन अब सँगै बसेर चियाको स्वाद लिन पनि (६४) ।’ उनको दर्शन वाक्य — ‘यथार्थमा म संस्मरणमा बाँच्न चाहन्न । ….. । त्यसमा रमाएर वर्तमानलाई कहाँ फ्याँक्ने । के त्यसबाट भविष्य जोडिन्छ ? (६५)’ । न उक्ले पनि सत्ता र नेताको भर्याङ के फरक परेको छ र कृष्णचन्द्रलाई । तर के गर्ने भोलि गर्छु भनेर राखेका काम सबै अधुरा भए निबन्धकार श्रीओमका । सम्झना नै सम्झनाको पोको बनेको छ यो कृति । भिसा नदिएको । गरिबीले तराइ झरेको । मदन पुरस्कार पाएको र घरको ऋण तिरेको । ‘म सून्यको उपज हुँ । ….. । शुन्यताबाट मुक्त हुने पहिलो संकेत त अस्तित्वबोध रहेछ, जसले मलाई साहित्यमा हिँडायो ’ (६९) । उफ ! म पनि अस्तित्वबोध चाहन्छु तर पाऊँ कहाँ ??
क्रमैले ‘शालीनताका सगरमाथा’ शीर्षकभित्र आइपुगेका छन् — कमलमणि दीक्षित । नेपाली भाषासाहित्यको सेवक भन्न रुचाउने घागडान विद्वान कमलमणि दीक्षित । ७ दर्जन पुस्तक प्रकाशन गरेर भाषासाहित्यको दीर्घ साधना तथा अन्वेषण गरेका व्यक्तित्व, मन तथा धनले पनि धनी कमलमणि मदन पुरस्कार तथा जगदम्बा पुरस्कारको पर्याय भएको कुरा सारा जगत्लाई थाहा छ । त्यसमाथि निबन्धकार ‘रोदन’ को सङ्गत र कलमले मदन पुरस्कार गुठीको लाइब्रेरियन, सबभन्दा बढी उमेरको लाइब्रेरियन, ‘नेपाली’ त्रैमासिकको सम्पादकीय व्यक्तित्वलाई उजागर गरेको छ । कृतिभित्र कमलमणि अभिनेता तथा गोरखापत्रको पुरेतका रूपमा पनि स्थापित छन् । अचम्म लाग्छ कि त्यत्रो ठूलो मान्छे दम्भविहीन, प्रमुख अतिथि बन्न नमान्ने, सभाहलबाट एक घन्टामा हिँड्ने तथा कुनै पुरस्कार नलिने व्यक्तिस्रष्टाका रूपमा स्थापित भएका छन् । अचम्म छ कि कविता लेखे पनि कवि भएनन् , नौ सय निबन्ध लेखे पनि निबन्धकार भएनन् । लघुकथाका दुई सङ्गह निकाले पनि लघुकथाकार भएनन् । ‘लघुकथा रचना र विधान’ को गोप्य दान गर्ने दानवीर हुन् । यी सबै चित्र यही कृतिभित्र फेला परिरहेको छु । धन्य छ नेपाली भाषासाहित्यको सेवकका रूपमा अलग पहिचान बनाएका कमलमणि दीक्षित । नमन ।
‘नाममै छ पूर्णता’ शीर्षकभित्र मेरा ८ पुस्ते दाजु बालकृष्ण पोखरेल देखा परेका छन् । उनको त्यो युगमा दबदबा भएको म पनि सम्झन्छु । १८ घन्टा नियमित अध्ययन गर्ने बानी परेका स्रष्टाका १५० जति पुस्तक प्रकाशित भएको भन्दैछ यो ‘अभिवन्द्य’ । कथा, बालकथा, उपन्यास, निबन्ध, नाटक, काव्य, इतिहास, कोश विज्ञान तथा समालोचनामा आफ्नो जीवन बिताएका बालकृष्ण पोखरेलले समालोचनामा मदन पुरस्कार पाएको प्रसङ्ग सुन्दा मलाई अति आनन्द लागेको छ । । केकेमन्युक्चो पोखरेल, वसन्त, रूपावासी, गढ्तिरे साइँलो, हिमालपाने बराल, इसावापुर, वत्सल, लक्ष्मीविलास पाध्या आदि नाममा कृति लेख्ने बालकृष्ण पोखरेल रुसी, मगर, ऊर्दु, नेवारी, मैथली, राई, लाप्चा भाषामा दखल राख्ने कुरा यही कृतिभित्र देखेर आह्लादित भएको छु । ज्ञानका कुराका हिसाबबाट गुफाजस्तै रहस्यमय, नियात्राको न्वारान गर्ने, शाखा अधिकृत शब्द बनाउने, वृहत् नेपाली शब्दकोशको सम्पादन गर्ने ज्ञानका खानीलाई सिलसिला परिवारले विराटनगरमा सार्वजनिक अभिनन्दन गरेको क्षणभित्र पुगेजस्तो लाग्छ । वंशमा हिसाबमा उदयपुरको जतनपुर रूपाटारे पोखरेल भन्थे रे — ‘म आफूले लेखेका रचना धेरैले पढून्, चर्चा चलोस् भन्ने नचाहने मान्छे मध्येको हुँ’ (पृ८०) । आफूले विद्यावारिधि गरेनन् तर धेरैलाई विद्यावरिधिको बेडा पार लगाइ दिए बालकृष्ण पोखरेलले । यस्ता विशिष्ट विद्वानलाई नमन गर्द छु ।
मैले संस्कृतिका पुस्तकका पाना तथा पत्रिकामा धेरै पढेका तर नभेटेका श्रद्धेय स्रष्टा तेजेश्वरबाबु ग्वँग: मेराअगाडि उभिएका छन् ‘ग्वँग:को गहिराइमा न्यातापोल’ शीर्षकमा । हप्तामा ३ वटा सम्म निबन्ध लेख्ने भक्तपुरको निष्ठा छेँमा बसोबास गर्ने ग्वँग: सञ्चारमैत्री अक्षरका धनी, सांस्कृतिक ज्ञानका धनी, देशीविदेशी अनुभवका धनी, आतिथ्यका धनी, अनुजपुस्तालाई मायाका धनी हुन् भन्ने सारसंक्षेपमा कृति ‘अभिवन्द्य’ दरिएको छ । न्यातापोलजस्तै तेजेश्वर पनि गहिरो ज्ञानको जगमा उभिएका मानिएका छन् । आफ्ना निबन्धमा छोटा वाक्य, केही मूर्त केही अमूर्त वाक्य लेख्ने र छोटामा नै लामो मर्म घुसाउने जुलुम स्रष्टा हुन् ग्वँग: । श्रद्धेय स्रष्टा ग्वँग:लाई नमन ।
मेरो यही पुस्तकीय रमणका क्रममा भेटिएका छन् अक्षरबाट आक्रोस पोख्ने कवि उपेन्द्र श्रेष्ठ ‘नहार्ने, नथाक्ने कवि’ शीर्षकमा । निबन्धकारको अनुभव साक्षी राखेर पुस्तकले भन्दै छ कि समानता र सत्यको पक्षधर हुन् कवि उपेन्द्र । ५ दशकसम्म निरन्तर निरन्तर कवितामा सक्रिय रहेका उपेन्द्र श्रेष्ठ असन्तोष, आक्रोसको अभिव्यक्तिलाई कलात्मक बनाउने स्रष्टा हुन् । नारायणी श्रेष्ठ नामसमेत प्रयोग गरी नवप्रयोगवादी कविता लेखेका उपेन्द्र प्रखर तथा ब्रान्डेड कवि हुन् उनका पोसाक जस्तै । ‘दासले मसँग मुक्ति मागेको छ’ कवितासङ्ग्रह नै अन्तिम भएको छ उनका कविताकृतिमा । कृतिमा उनको असन्तुष्टि र गुनासो पर्याप्त पाइएको छ ।
‘अनेक भएर अभिव्यक्ति’ शीर्षकमुन्तिर एकाएक देखा परेका छन् नगेन्द्रराज शर्मा । खानपिनमा रसिक, बोलीचालीमा सरल, नवप्रतिभाका पथ प्रदर्शक तथा उमेरले ८४ पूजा गरिसकेका नगेन्द्रराज शर्मासँग ‘अभिव्यक्ति भेटघाट’ नारायणगोपाल चौकमा सँगै बसेर आफू पनि रसिक भएको सम्झना गराएको छ यो ‘अभिवन्द्य’ले । इच्छा शक्ति रहुञ्जेल मान्छे बुढो हुँदैन भन्ने पर्याय र उदाहरण हुन् नगेन्द्र दाइ । सबैका प्रिय हुन् नगेन्द्र दाइ । त्यसैले त स्रष्टा समुदायले सार्वजनिक अभिनन्दन गरेको छ दाइको । बृत्तचित्र बनाएको छ दाइको जीवनीमा । औपचारिकता नखोज्ने र जीवनलाई सक्रिय बनाउन जान्ने हुन् नगेन्द्र दाइ । कथा उपन्यास, सम्पादक व्यक्तित्व पनि छन् उनका । तर उनी ‘अभिव्यक्ति भेटघाट’ भनेर चिनिन्छन् । साहित्यिक पत्रकार संघको अध्यक्ष भनेर चिनिन्छन् । प्रतिबद्धताले इतिहास बनाएका छन् दाइले । दाइलाई हार्दिक र शतत नमन ।
लहरमा देख्दै छु गोविन्द भट्टलाई ‘बन्न नसकेका जोगी’ शीर्षकमा । १९९४ साउन २ जन्मेर २०६८ सालको असोज २५ गते परमधाम पुगेका गोविन्द भट्टको अक्षरचित्र छ यो ‘अभिवन्द्य’ । मलाई पनि विराटनगरमा एकपल्ट भेटेर धेरै ऐतिहासिक विषयमा छलफल गरेको सम्झना आइरहेको छ । कविता, कथा, निबन्ध, दर्शन र समालोचनामा ज्यादै कलम चलाएका भट्ट घोषित माक्र्सवादी लेखक चिन्तक हुन् । निबन्धकार ‘रोदन’ का विचारमा विचारले बाँच्नुभएको हो भट्टसर । सगरमाथा जत्तिकै अटल हुनुहुन्थ्यो सिद्धान्तमा । हात्तिपाइले ढलान गरेर उठाएको पिलर जस्तै । अत्यन्त आदर्शवादी र कर्तव्यनिष्ठ । अध्यक्ष गोरखापत्र संस्थानको अध्यक्षबाट हट्दा आफ्नो बगलीको पाइलट पेन पनि निकालेर संस्थानलाई नै बुझाएको अनुपम दृश्य सम्झिन्छन् निबन्धकार ‘रोदन’ । । जोगी बन्न हिँडेको मान्छे आमाको माया लागेर फर्किएको र विशाल विद्वान बनेको संयोगलाई पनि सलाम ।
यात्रामा ‘राम्रो रचना मीठो नेपाली’ का लेखक कृष्णप्रसाद पराजुलीसँग ‘राम्रो कृष्ण मीठो पराजुली’ शीर्षकमा भेट भएको छ । कविता, गीत, निबन्ध, व्याकरण, लोकसाहित्य, लोकगीत लेखनमा धुरन्धर मानिएका पराजुली ‘गोधुली’ र ‘सुनकोसी’ पत्रिकाको सम्पादक पनि भएको खुलासा यो ‘अभिवन्द्य’ ले गरेको छ । भाषासाहित्यलाई माया गर्दै बालसाहित्यको सिंहासनमा बस्न सफल पराजुलीले लेखनबाट थकाइ मारेनन् । लेखिरहे धीत मरुन्जेल । र त बस्नु परेन प्रतीक्षामा पाण्डलिपिले कहिल्यै पनि । रोयल्टीले नै घरबार चल्यो । नेपाली लेखकवृत्तमा योभन्दा ठूलो कुरा अरू के हुन्छ र ? नमन स्रष्टा पराजुलीलाई ।
फेरि लगत्तै ‘रङ्गकर्मका योद्धा’ शीर्षकमा देखिएका छन् — नाटककार निर्देशक प्रचण्ड मल्ल । निबन्धकार ‘रोदन’ रङ्गकर्मका योद्धा प्रचण्ड मल्ललाई जन्मिनु भएको नाटकको लागि भन्दछन् । कुरा, काम, लेखाइ, सोचाइ, खेलाइ, सिकाइ, हिँडाइ, तथा जागिर सबै नाटकमा भए पछि उनको यो भनाइ उपयुक्त देखेको छु । सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानमा उपकुलपति (२०६७), नाटक नै १३० भन्दा बढी लेखेको, २४० जतिमा निर्देशन गरेको । यसबाहेक अभिनय मञ्चको परिकल्पना, ध्वनि, प्रकाश, साजसज्जा तथा ६ दशक लामो साधनाले प्रचण्ड मल्ललाई अमर बनाएको छ । विदेशमा गएर रङ्गमन्च पढेको, राष्टिय नाचघर, राष्टिय सभागृह र भृकुटीमण्डमको मञ्च पनि उनकै परिकल्पना ।
यात्रामा छु । ‘भोलिका ज्ञाता’ शीर्षकमा मैले सशरीर नचिनेकी समाजसेवी तथा सङ्गीतकर्मी इन्दिरा श्रेष्ठको दिव्य अनुहार देख्दै छु । राष्ट्रिय पञ्चायतको पहिलो महिला सदस्य, सङ्गीतसेवक, समाजसेवी, तथा मीठो स्वरकी धनी इन्दिरा श्रेष्ठले ‘कलानीधि इन्दिरा सङ्गीत महाविद्यालय’ लाई आफ्नै घर र रु. ५० लाख दिएर आफैँ अध्यक्ष भएर सञ्चालन गरेको मनकारी मनका बारेमा अवगत हुन्छ । पुरस्कारको व्यवस्था गर्ने, घरको दैलो अगाडि श्रीमानको शालिक बनाएर पतिको वियोगमा हिम्मत गरेको अनुभूत हुन्छ । जतिसुकै वियोग भए पनि विचलित नभै इमान्दारी, समझदारी र जिम्मेवारीबाट कहिल्यै नपन्छने इन्दिरा श्रेष्ठले भोलि बाँच्ने जीवनको सूत्र जानेको महसुुस हुन्छ ।
वास्तवमा यही कृतिभित्र भेटिएका प्राध्यापक राममणि रिसालको जीवन ‘आँसुको अक्षरमा’ शीर्षकले बताएजस्तै चित्रित छ ‘अभिवन्द्य’ भित्र । २०७० सालमा इहलीला समाप्त भएका पाटन क्याम्पसका प्राध्यापक रिसालभित्र प्रेम, सदभाव र शालीनताको भकारी भएको कुरा बताउँछन् निबन्धकार ‘रोदन’ । छोरी ममताले मद्रास अस्पतालमा मृत्युको मुखमा पुगेर लेखेको शब्द — ‘नाउ एनी मोमेन्ट आई एम रेडी टु डाई’ पढ्दा कस्तो भयो होला प्राध्यापक रिसाललाई । त्यसमाथि होस गुमाएकी नै भए पनि श्रीमतीको मृत्युले ठूलै चोट पुर्याएको प्रसङ्गले द्रवीभूत बनाएको छ । त्यसैले उनी भन्थे — ‘के गर्नु ? आँशु छउञ्जेल बगाई छोराछोरीका लागि । अहिले रित्तिएकी छे । आँशु लागेको हो आँशु ।’ उनी पनि आँशु पिएर निबन्ध लेख्थे । ‘अक्षरपछिको अक्षर’ निबन्धमा आँशु नै आँशु छन् प्राध्यापक रिसालका ।
मैले सशरीर चिनेका/देखेका ‘रचनाका रोचक’ याने रोचक घिमिरे मेरा नजरमा घागडान समालोचक हुन् । ‘रचना’ मासिक साहित्यिक पत्रिकाका पर्याय हुन् । २०१८ सालदेखि सरकारको सहयोगबिना ‘रचना’ नियमित रूपले प्रकाशित गरिरहनु नै अचम्म र साहसिलो कर्म हो । यात्रा जति लामो भए पनि सुरु गरेपछि पुगिन्छ भन्ने ज्योति हो रोचक घिमिरे । ८१ वर्षको उनको सशक्त शरीरको नाम, काम, परिचय, प्रतिष्ठा, र त्यागको पहिचान हो ‘रचना’ । पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र केहीले फरक पारेको छैन । त्यसैले निबन्धकार ‘रोदन’ ‘अभिवन्द्य’ भित्र भन्छन् — ‘समर्पण छ रचनामा । निष्ठा छ जीवनसँग । बन्नु भएको छैन दुखी । आत्माराम, घननाथ, जीएम नाम थियो रोचकको । शैलेन्द्र साकार र पुरु रिसालको नामकरण गर्ने । नदीजस्तै बगिरहनु भएको छ निरन्तर रोचक दाइ । बनिरहनु भएको छ रोचकै मात्र । माझीको माझी । माझी मात्रै रचनाको ।’ हार्दिक शुभकामना रोचक दाइ ।
त्यसलगत्तै मैले छापामा, अक्षरमा तथा तस्बिरमा देखेका/चिनेका तुलसी दिवस ‘विदेशमा देश चिनाउने कवि’ शीर्षकमा अगाडि आएका छन् । निबन्धकार ‘रोदन’ लाई झैँ मलाई पनि थाहा छ कि कविता, लोकसाहित्य, लोकसंस्कृतिमा नेपाली समाजलाई निथु्रक्क भिजाएका छन् दिवसले । त्यसो त चित्र, खेल तथा नाटकमार्फत् पनि उभिएका छन् दिवस । तर जताजता उभिए पनि उनलाई कविताले र कवितालाई उनले जुरुक्क बोकेका छन् । त्यसैले निबन्धकार ‘रोदन’ भन्छन् — ‘उनको नामसँगै जोडिन्छ कविता । कविताको शक्तिलाई प्रमाणित गर्ने क्षमता छ । जिउँदो बनाउन सक्नुहुन्छ कवितालाई । अक्षरलाई आकृतिमा अनुभूति गराउने आवाज छ दमदार । लय दिने कला पनि छ ।’ पुस्तकभित्र उनको जीवन शैलीले एउटा दर्शन भन्छ कि ‘सोच्ने होइन भोग्ने हो आनन्द, संवेदना, सुख, दुख, । भोग्नकै लागि बनेको छ जीवन । जिन्दगी उत्सब हो मनाइरहनु पर्छ । जिन्दगी दिवस हो मनाइ रहनु पर्छ ।’ सिर्जनशील साहित्यिक समाज (सिसास) का जन्मदाता दिवसका दर्जनौ कृति छन् । तर नाम छ कविका रूपमा । विश्वमा नेपाललाई चिनाउने कवि ।
मैले समालोचक भनेर पढेका कुमारबहादुर जोशी ‘महाकविविज्ञका भाग्य’ शीर्षकमा यतिबेला मेरा सामुन्नेमा छन् । निबन्धकार ‘रोदन’ भन्छन् — ‘मुन्द्री लाइएको थियो कुमारबहादुर जोशीलाई । कुमालेलाई बेचिएको थियो । गुरु, शिक्षित र दीक्षित भएर बिताउनु भयो चालिस वर्ष । नेवार भएर संस्कृत पढ्नुभयो । महाकविमा पिएचडी गर्नुभयो । कविता, निबन्ध, अन्तर्वार्ता भए पनि विशेष भयो समालोचना ।’ पारिवारिक कुरामा पहिलो श्रीमती लक्ष्मीको देहावसानको दु:खपछि सरस्वतीसँग बिहे हुनु एकदम भाग्यको कुरा । एकदम असल श्रीमती सरस्वती । निबन्धकार ‘रोदन’ लेख्छन् — ‘कुमार लेख्ने सरस्वती प्रकाशनको चाँजो मिलाउने । यस्तो कुरा स्रष्टाको भाग्य हो । कहाँ पाइन्छ यस्ती श्रीमती स्रष्टाका ? कुमारबहादुर जोशीको दुईपल्ट किड्नी फेल भए पनि जित्नुभो आत्म विश्वासले । अलिकति कीर्तिले । अलिकति कृतिले ।’ त्यसैले कुमारबहादुर जोशीको जीवनले जीवनसँग एउटा प्रश्न उठाएको छ कि जीवनको कुन उमेरमा भाग्यमानीको मापन गर्ने हो ?
मैले असाध्य धेरै मन पराएका कथाकार मनु ब्राजाकी ‘मनु हुनुको अर्थ’ शीर्षकमा पुस्तकभित्र देखिएका छन् । प्रमाणपत्रमा चेतमानसिंह भण्डारी र घरमा श्याम बाबु तथा कलमका अरू नाम समर, नासत्य, हेमन्तहरि सबै मनु ब्राजाकी हुन् । ब्राजाकी कथा र गजलमा प्रख्यात हुन् । तर मलाई भने कथाकार भन्दा नै स्वाद लाग्छ । निबन्धकार ‘रोदन’ लेख्छन् — मनु ब्राजाकी रहर तथा सम्पत्तिले कमाएको सामाजिक सम्मान होइन । घोस्ट राइटिङले लेखिदिएको पनि होइन । होइन पद र पैसाले बनेको । होइन थेसिस किनेर प्रमाणपत्रमा नाम लेखेजस्तो ।’ उनीसँग जोडिएर आउने कुरा भनेको महोत्तरीको औरही जहाँबाट उनले लामो समय कथा लेखे, भैसेपाटी जसलाई उनले पछिल्लो कालखण्डमा घर बनाए, अमेरिका जहाँ उनी छोरीका पछि लागेर उपचार गर्न गए, चित्रकार, चुरोट, लोकल रक्सी र आफ्ना सिर्जनाको एडभान्स भुक्तानी आदि हुन् । सम्पन्न परिवारमा जन्मेर निमुखा र शोषित पीडितका कथा लेख्ने, समानताका लागि जातभात नदेखाउन मनु ब्राजाकी लेख्ने, भतिजा मन्त्री भए पनि कुनै पद नलिएका, अक्षरका स्वाभिमानी हुन् ब्राजाकी । पिएपछि कहिल्यै नलेख्ने, कसैसँग नराम्रो नबोल्ने । तँलाई पनि तपाईँ भन्ने मनु ब्राजाकीको स्वभाव यही पुस्तकभित्र परेको छ । यतिबेला मलाई परमधाम गएका सशरीर नभेटिएका कथाकार ब्राजाकीको मृत्युमा रोएको सम्झना आइरहेको छ ।
मैले एकपल्ट खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सिडियोका रूपमा देखे/भेटेका/गफिएका वरिष्ट कथाकार परशु प्रधानलाई यो ‘अभिवन्द्य’ मा ‘सम्झनाका शिखरमा परशु’ शीर्षकभित्र भेटेको छु । नेपाली कथाको क्षेत्रमा परशु प्रधान स्थापित र सबैले चिनेको नाम हो । उपन्यास, निबन्ध, समालोचनामा प्रशस्त कलम चलेको भए पनि परशुलाई नेपाली साहित्याकाशमा चिन्ने भनेको कथाले हो । त्यसैले निबन्धकार ‘रोदन’ का विचारमा ‘कथाको भने बन्नु भएको छ सिंगो देश नै । रचनागर्भको उत्खनन् गरी सिर्जना गर्ने, कथालाई आधुनिक बनाउने, सिद्धहस्त आख्यान पुरुष, थकाइ नमार्ने कथाकार’ हुन् परशु प्रधान । कथामा प्रेमलाई आत्मसात गरेर यौनलाई प्रकट गर्नसक्ने खुवी परशु प्रधानमा भेटिन्छ । विराटनगरमा वाणी प्रकाशन स्थापना गरेर मात्र होइन; समग्र सिर्जनामा बेइमान नहुने यथार्थवादी कथाकार भएर पनि हो उनी आफ्नै रचनाको कारणले इमान्दार दरिएका । नमन कथाकार परशु प्रधान ।
उपन्यासका पानामा मैले असाध्य धेरै पढेको र टाढाबाट देखेका उपन्यासकार डा. ध्रवचन्द्र गौतम ‘सवैमा सफल आख्यान पुरुष’ शीर्षकमा ‘अभिवन्द्य’ भित्र समेटिएका छन् । उपन्यास, कथा, नाटक अभिनयअभिनेता, संस्मरण, यात्रासंस्मरण, कवितामा सररर कलम चलाउने डा गौतमलाई गद्य सम्राट मानिन्छ । मध्यमान्चल साहित्य परिषदबाट ‘आख्यानपुरुष’ उपाधि प्रदान गरेको छ । चितवन वाङ्मय प्रतिष्ठानले ग्रन्थसहित अभिनन्दन गरिसकेको छ । त्रिविका प्राध्यापक, साझाको महाप्रवन्धक भए पनि उनको परिचय भनेको आख्यान हो । उनले उपन्यास —२८, कथा—७, नाटक —९, नियात्रा —३, तथा स्तम्भकार भएर नेपाली साहित्यलाई गुण लगाएका छन् । आख्यानमा नयाँ शैलीको प्रयोग गरेर लेखिएको ‘अलिखित’ उपन्यासले मदन पुरस्कार मात्र पाएन, बरु नोबेल पुरस्कारको सिँढीसम्म पुग्यो । हार्दिक नमन गर्दछु आख्यान पुरुष ।
‘अभिवन्द्य’ को ‘किन बोल्नु मञ्जुल !’ शीर्षकमा मेघराज नेपाल मञ्जुल देखा परेका छन् । वास्तवमा नेपाली साहित्यमा मञ्जुललाई नचिन्ने कोही छैन । निबन्धकार ‘रोदन’ का शब्द सापटी लिने हो भने भत्किएका छन् ठूलाठूला पर्खाल आवाजैले मञ्जुलको । कविता गीत र व्यक्तिगत व्यवहारमा सामिप्य राख्ने मञ्जुल विशेषत जनताका गायक हुन् । मञ्जुलका अक्षरले र आवाजले फुलाउन सक्छ चट्टानमा पनि कमल । घरवार छोडेर जनताका गीत गाउन हिँडेका मञ्जुलको नेपाली समाज रूपान्तरणमा भएको योगदान अतुलनीय छ ।
‘साठीको साथी’ शीर्षकभित्र शशि भण्डारीको नाम छ । गीतकार, गायक, पर्यटन व्यवसायी, संस्मरणका पुस्तक प्रकाशित भएका भण्डारीको कविता, निबन्ध, तान्का, हाइकु, उपन्यास कथा गरी ८ थान सङ्ग्रह प्रकाशित भएका छन् । मनका तथा धनका समेत धनी भण्डारी नेपाली साहित्यका मनन योग्य स्रष्टा हुन् ।
यसैगरी ‘नबिर्सने क्याप्टेनको कलम’ शीर्षकमा जनक बहादुर राणा देखिएका छन् । नेपालमा राज गर्ने जङ्गबहादुरका सन्तान जनकबहादुर राणा पेसाका हिसाबले भारतीय सेनाका रिटायर्ड क्याप्टेन हुन् । वीरगञ्जमा घर भएका उनी लाहुरे हुन थर परिवर्तन गरी थापा भएका थिए । साहित्यको हिसाबबाट हेर्दा नेपालमा युद्ध साहित्य भित्र्याउने उनै हुन् । उनले लगातार ‘लाहुरेको डायरी’ मा स्तम्भकार भएर साहित्य सिर्जना गरिरहे । संस्मरणमा अत्यन्त तिक्ष्ण थिए ।
कुनै एक समय रेडियो नेपालमा बुढी आमै (लक्ष्मी भुसाल) सँग जेटिए भएर स्वर दिने मदनदास श्रेष्ठ ‘मोडल हाँसो’ शीर्षकमा अटाएका छन् । दोलखा बजारमा २००५ सालमा जन्मेका श्रेष्ठ २०१८ सालमा काठमाडौँ आएर विस्तारै विस्तारै नाटक, नाटकमा गायक र विशिष्ट प्रकारको आवाजका धनी बन्न पुगे । नाटकमा कंशको आवाज निकाल्दा त्यो आवाज यति प्रसिद्ध भयो कि त्यही हाँसोले नै जीवन बनायो । वर्तमान र भविष्यसमेत बनायो । कला क्षेत्रमा त्यही मोडेल हाँसोले शिखरमा पुर्यायो । त्यसैले १५० भन्दा बढी टेली फिल्म खेल्न लगायो । हार्दिक नमन मोडेल हाँसो !
यही लहरमा वरिष्ट हाडजोर्नी विशेषज्ञमा ख्याति कमाएका डा विहारीलाल श्रेष्ठ ‘बीऊ रोप्ने डाक्टरसाप’ शीर्षकमा देखिएका छन् । पेसागत कर्तव्य, मानवीय धर्म तथा सामाजिक दायित्वलाई राम्ररी बुझेका डाक्टरसापले समाजका लागि आफ्नो र परिवारलाई मात्र होइन; स्वास्थ र सम्पत्तिको पनि परवाह नगेको कुरा ‘अभिवन्द्य’ भित्र छ । समाज नै जीवन हो भनेर मातृभूमि सेवक संघका स्तम्भ, हिन्दु विद्यापीठको परिकल्पनाकार तथा संरक्षक बन्न पुगे । त्यसैगरी योग गुरु, योग शिविर सञ्चालक भएर विचारको आन्दोलन चलाइरहे ।
म तथा मेरा उमेरका कुर्कुरे बैँसका छेक दार्जिलिङबाट नेपाली भाषामा उपन्यास लेखेर चिनिएका प्रकाश कोविद ‘सम्झनामा भेटिँदैन कोविद’ शीर्षकमा उदाएका छन् । पेसाले शिक्षक, कर्मले बिक्रि हुने चित्रकार, मञ्चन हुने नाटककार तथा पेश्की लिएर अनवरत उपन्यास लेखिरहने नरबहादुर राई प्रकाश कोविदका नाममा प्रशिद्ध भए । देवता, अर्कोजन्म, सिमा, नोयो जस्ता ५० वटा उपन्यास लेखेर नेपाली बैँसालु पाठकका बिच पुर्याएका थिए । त्यसो त उनले कथासङ्ग्रह — ६, नाटक —१, एकाङ्की —१ तथा बालसाहित्यका ५ पुस्तक लेखेका थिए ।
‘हराउँदैनन् स्रष्टा सिर्जनामा’ शीर्षकमा लघुकथाकार गोरखबहादुर सिंह समावेश भएका छन् अभिवन्द्य’ भित्र । २०६५ साल भदौ ५ गते स्थापना भएको लघुकथा समाजको स्थापनाकर्ता भएर लघुकथा समाजसँग जोडिनु भएका सिंह नेपाल सरकारको शिक्षा मन्त्रालयको उपसचिव भएको तथ्य छ । लघुकथा, नियात्रा, कथा बालसाहित्यमा गरी एक दर्जन जति पुस्तक प्रकाशित गराइसकेका स्रष्टा लघुकथाकार गोरखबहादुर सिंहमा नमन ।
म र मेरा मित्र वेदव्यास उपाध्यायले त्रिभुवन विश्वविद्यालयको मानोचामल खाइरहेका छौँ । यो कृति ‘अभिवन्द्य’ भित्र ‘निमोहीको माया’ शीर्षकमा उनै वेदव्यास उपाध्याय साहित्यिक नाम ‘निर्मोही व्यास’ का नाममा चिनिएका छन् । नेपाली विषयका प्राध्यापक तथा नियात्रा विषयमा विद्यावारिधि गर्ने, नियात्रा, गीत, कविता, उपन्यास लेख्ने निर्मोही व्यास ‘अभिवन्द्य’ भित्र निरन्तर बोलिरहने, भावुक र राष्ट्रवादी व्यक्तिका रूपमा चित्रित छन् । मूल घर कलैया, बारा भएका निर्मोहीले मधेश आन्दोलनका कारणले देवकोटाको सालिक भत्काएपछि रोएर काठमाडौँ बसाइँ सरेका हुन् ।
काठमाडौँको पद्मकन्या क्याम्पसमा मसँगै प्राध्यापन गरेका मित्र अशेष मल्ल ‘अनेक भएर एक’ शीर्षकमा देखापरेका छन् । मूलत: उनी नेपाली रङ्गमञ्जको घागडान हस्ती हुन् । सडक नाटकका व्यवसायिक परिकल्पनाकार हुन् । पिता हुन् । सर्वनाम नाट्य घरका पर्याय हुन् । कथा, कविता, लघुकथा, मुक्तक लेखनमा स्तरीय भएता पनि मूलरूपमा उनी समग्र नाटक हुन् ।
कुनै बेला गोरखापत्र तथा मधुपर्कको प्रधान सम्पादक रहेका रामचन्द्र गौतम ‘भाग्यमानी मृत्यु’ शीर्षकमा ‘अभिवन्द्य’ भित्र लेखिएका छन् । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ पनि गोरखापत्र तथा मधुपर्कसँग सम्बन्धित रहेकाले रामचन्द्र गौतमका बारेमा अन्तर्य पनि लेखिएको छ कृतिमा । राजनीतिक आस्थाका आधारमा जागिर खोसिने/रहने नेपाली परिपाटीको पीडित बनेका छन् रामचन्द्र । तर आपत्तिमा नआत्तिने, कलमलाई इमान्दार धर्म मान्ने, संस्कृत तथा नेपाली भाषाका ज्ञाता रामचन्द्र गौतमले गोरखापत्रको प्रधानसम्पादक भएर पत्रकारको पीडा लेखेको, देखेको तथा भोगेको परिवेशले छ । मृत्यु शाश्वत हो भन्ने कुरा रामचन्द्र गौतमको मृत्युले प्रष्ट पार्छ । आफ्नै अफिसको कुर्सीमा काम गर्दागर्दै फ्याट्ट मृत्युवरण गरेको क्षण सुन्नेका लागि भिषण दुर्घटना र मर्नेका लागि सुखद मृत्यु भन्न पर्छ । धन्य उनकी पत्नी इन्दु जसले ५ लाख रुपियाको अक्षयकोष खडा गरेर उनको नाममा ‘रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कार’ स्थापना गराएकी छन् । यसले रामचन्द्र गौतमलाई युगौँयुग बचाएको छ ।
एकताका जनताको गीत गाएर समाज परिवर्तन गर्न घरबार छोडेर निस्केका जनगायक शम्भु राई यो ‘अभिवन्द्य’ मा ‘सङ्गीत सङ्घर्षमा शम्भु’ शीर्षकमा व्यक्त्याइएका छन् । २०१३ सालमा धनकुटाको चुनवाङमा जन्मेका शम्भु राई सातवटी आमा मध्ये कान्छीपट्टिका एक मात्र छोरा हुन् । यो दृष्टान्तले तत्कालीन समाजलाई प्रतिबिम्बित गर्छ । प्रगतिशील विचार बोक्दै रामेश, मञ्जुलको सम्पर्कमा आएर जनवादी कलाकार भएर गीत गाउने शम्भु राई जनताका प्रिय गायक हुन् । रेडियो नेपालमा गीत गाएपछि बामपन्थीहरूले विरोध गर्ने र बामपन्थीलाई काम दिएको भनेर रेडियो नेपालले बिरोध भएपछि उनी बाध्य भएर आफ्नै स्टुडियो खोली हाल उच्च स्तरको गायक भएको कुरा छिपेको छैन । निबन्धकार ‘रोदन’ सँग नाटकको सम्बन्ध भएकाले निबन्धकार भन्छन् — ‘हो राजधानी पनि सहरको । बिक्रि हुन्छ मानवीयता पनि नापतौल गरेर ।’ उनको पुस्तक ‘चुनवाङ्देखि काठमाडौँसम्म शम्भुराईको साङ्गितिक यात्रा’ उनलाई बुझ्न पर्याप्त छ । आज आएर उनी जनगायक, लोकगायक तथा सङ्गीतकार हुन् । आवाजले चिनेको नाम हो उनको ।
यसैगरी ‘भूमिगत मृत्यु’ शीर्षकमा अटाएका छन् गीतकार, रेडियो तथा टिभीकर्मी श्रीविक्रम राणा । ‘आगोका फूलहरू’ नामक गीत सङ्ग्रह प्रकाशन गरेका कवि, गीतकार, पत्रकार, चराविशेषज्ञ राणाको ४५ वर्षमै असामयिक निधन भएको तथ्य छ । उनको मृत्युपछि निबन्धकार ‘रोदन’ लाई पहिलोपल्ट ‘श्रीविक्रम राणा स्मृति साधना सम्मान’ प्रदान गरिएको क्षणको स्मरण छ । आफन्तले सबै सम्पत्ति खाइदिएपछि अरूको नाममा लेखेर बाँच्नका लागि पारिश्रमिक लिनु परेको कहर लाग्दो क्षण छ । ससुरालीको शरणमा पुगेका राणालाई निबन्धकार ‘रोदन’ कै शब्दमा भन्ने हो भने टाढाबाट हेर्दा उचाइ, तर नजिकबाट हेर्यो भने कहर थियो जिन्दगी । राणाले कति लेखे त्यो सिर्जनाको कुनै अभिलेख छैन । त्यसैले त राणा निबन्धकार ‘रोदन’ लाई भन्थे — म देख्दा जति खराब छु, त्यस्तो त म छैन नि ।
‘अभिवन्द्य’ को पाना पल्टाउँदै जाँदा ‘चिन्ने कि चिनाउने’ शीर्षकमा गोपाल अश्क देखिएका छन् । २०१८ सालमा जन्मेका वीरगञ्ज मुकाम बनाएका गोपालप्रसाद सर्राफ साहित्य र कलामा गोपाल अश्क भएका छन् । प्रारम्भमा इन्स्योरेन्सको जागिरे भएका अश्क भोजपुरी मातृभाषा भएका स्रष्टा हुन् । तर पकड नेपालीमा, प्रवाह हिन्दीमा, दखल अङ्ग्रेजीमा भएका बहुआयमिक स्रष्टा हुन् अश्क । सवै भाषामा गरेर ४ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गराएका अश्क लघुकथाको पहिलो सैद्धान्तिक पुस्तक ‘लघुकथा प्रकृया र पाठ’ का लेखक हुन् । चित्रकलामा पारङ्गत, गजल, गजलको माहाकाव्य ‘प्रेमान्तर’ लेख्ने अश्क हाल मूलरूपमा घोस्ट राइटर्स हुन् । उनले नेपाली साहित्यवृत्तमा एउटा प्रश्न सोधेका छन् — नेपाली साहित्य भनेको नेपाली भाषा मात्रै हो त ?
मैले केही दिन व्यक्तिगत रूपले सङ्गत गरेका चिन्तामणि योगी ‘अभिवन्द्य’ मा ‘चिन्तामणिको चिन्तन’ शीर्षकमा देख्ता म पुलकित भएको छु । संस्कृत, नेपाली, अङ्ग्रेजी तथा हिन्दी भाषामा धर्म र संस्कृतिका बारेमा अनवरत कुशल वक्ता हुन् योगी । जीवनको सादापन, गरिब, अनाथ, असहायका लागि अथक सहयोगी हुन् योगी । अरुका लागि खाना, छानो, नानाका बारेमा कर्म गर्ने योगी योग गुरु पनि हुन् । युरोप तथा अमेरिकामा संसादमा धर्मसंस्कृतिका बारेमा प्रवचन दिएर विश्वलाई इमान्दारिताका कुरा तथा नैतिकता, सदभाव तथा शान्तिका कुरा सिकाउने आध्यात्मका गुरु हुन् ।
यसै क्रममा ‘डाक्साप ! सधैँ अरुका लागि’ भन्ने शीर्षकमा नेपालमा प्राकृतिक चिकित्साको पिता, योगगुरु, कक्षा ९ देखि बारसम्मका प्राकृतिक योग र आयुर्वेदको पाठ्यक्मका निर्माता डा हरिप्रसाद पोखरेल ‘अभिवन्द्य’ भित्र अटाएका छन् । संस्थागत रूपमा प्राकृतिक चिकित्सालय खोलेर अध्ययनको चाँजोपाँजो मिलाउने डा पोखरेलले १२ वर्षसम्म अन्नग्रहण नगरेको र प्राकृतिक चिकित्सालाई उदाहरण भएर उजागर गरेको परिवेश यसै कृतिभित्र छ । अहिलेसम्म ६ जनाले प्राकृतिक चिकित्सामा विद्यावािरधि गरेकोमा उनकै प्रत्यक्ष योगदान रहेको छ । सादगी जीवन, हार्दिक व्यवहार तथा इमान्दारिता, शालीनता र ज्ञानको निरन्तरता, प्रतिवद्धताको उदाहरण पनि हुन् डा पोखरेल । निबन्धकार ‘रोदन’ का भनाइमा वंश, धन तथा सम्पत्तिको मोह नभएका डा पोखरेल कथा, कविता, निबन्ध तथा हाइकुमा कलम चलाउने स्रष्टा हुन् ।
त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका प्राध्यापक लक्ष्मणप्रसाद गौतम ‘मानिएका समालोचक नमानिएका सर्जक’ शीर्षकमा उदाएका छन् । कवितामा विद्यावारिधि गरेर लघुकथा सिद्धान्तको पुस्तक ‘लघुकथाको रचनाविधान’ प्रकाशित गर्ने डा गौतम फरक चिन्तनका साथ समालोचनामा होमिएका छन् । ‘उहापोह’ नाम कथासङ्ग्रह प्रकाशन गराए पनि निबन्ध लेखे पनि कविता कोरे पनि समालोचक व्यक्तित्वका अगाडि ती ओझेल परेका छन् । समालोचनाका डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गराएका डा गौतम २०२० सालमा बाग्लुङमा जन्मेका हुन् ।
मैले असाध्य धेरै पढेका तर नभेटिएका, नचिनिएका कवि रमेश श्रेष्ठ ‘नपत्याए पढनुस् कविता’ शीर्षकमा ‘अभिवन्द्य’ भित्र अटाएका छन् । २०२४ सालमा पोखरामा जन्मेका पोखरेली कवि चित्रकार पनि हुन् । कवितालाई आन्दोलन भन्दै हिँड्ने तथा कविताको अर्थगत, भावगत परिभाषा दिनसक्ने कवि हुन् रमेश श्रेष्ठ । यसबाहेक संस्कृतिकर्मी, पर्यावरण तथा प्रकृति संरक्षण गर्ने अभियानकर्ता पनि हुन् । स्रोता तथा पाठकको खडेरी परेको बेलामा पनि टिकट कटाएर हलमा एकल कविता वाचन गर्ने सशक्त बिम्ब कवि हुन् रमेश श्रेष्ठ । कविताकृति ‘नपोतिएका रङहरू’ मा उनले कविताको शक्ति प्रदर्शन गरेका छन् ।
‘अभिवन्द्य’ भित्र रमण गरिरहँदा ४१ जना अभिवन्दनीय स्रष्टालाई मात्र होइन; अभिवादक लेखक स्रष्टा ‘रोदन’ लाई चिन्ने मौका पाएको छु । जिन्दगीका अपूर्व परिदृश्यहरूमा यो रमण मापाले नै सम्झिने क्षण भएको छ मेरो । किनभने अभिवन्दनीय स्रष्टा विचार, जीवन, स्वभाव, जन्ममृत्यु, सङ्घर्ष र तिनबाट सिकिने उत्प्रेरणा कालजेयी मात्र हुँदैनन्; ग्रहणीय पनि हुन्छन् । स्रष्टाका जीवनभित्र पस्ता सत्मार्ग पत्ता लाग्छ ।
त्यसैले यो ‘अभिवन्द्य’ व्यक्तिनिबन्ध कृतिभित्र निबन्धकार ‘रोदन’ खर्लप्पै उत्रेका छन् । निबन्धको मुटु मानिने विचार पक्ष स्रष्टाव्यक्तिका चरित्रभित्र गुटुमुटु भएर आएका छन् । ‘रोदन’ को नाटक तथा अभिनयमा पनि गहनतम् भूमिका भएको तथ्य यही पुस्तकभित्र छ । पुस्तक पढिरहँदा मलाईजस्तै निबन्धकार ‘रोदन’ लाई जीवनबोध भएको छ । जन्म र मृत्युले बनाएका सत्यका बिचोबिच कुदेका छन् निबन्धकार । र, त भन्छन् ‘मेल र बेमेलको यात्रा रहेछ जिन्दगी (पृ. २३)’ । वर्तमानप्रति अचम्मित भएर हेरिरहेका छन् । किन यस्तो बेसुरा भएको हो वर्तमान ? ‘लगाइदिएको छ मखुन्डो विज्ञापनले वर्तमानलाई । बाइ वान गेट वन भनेजस्तै भएको छ जिन्दगी । निदाउने आँखा उधारो ल्याएजस्तो । सुकोमल डसनामा निदाउन नसक्नेहरूले जस्तै (४०) । सत्य हुँदैन देखेजति । छ संसार सत्य कै । छैन सानो भ्रम संसारको । हुन्छ भ्रम त्यसैले सत्यमाथि पनि (४८)’ । यही भ्रमका बिचमा जीवनको परिभाषा खोज्ने प्रयत्न गरिएको छ । उनी भन्छन् — ‘होइन बाँच्नु र चल्नु मात्र जीवन । चलाएकै हुन्छन् जीवन सबैले र चल्छ पनि । होइन बाँच्नु र चल्नुमा जीवन । उमेरले बाँच्ने परिवारका लागि मात्र हो । सक्दैनन् सबैले बाँच्न उमेरले बाहेक (८८), हुन्न सोचेजस्तो जीवन । नहुन पनि सक्छ हुनुपर्ने जस्तो । रंगिन छ पलपलको समय र यथार्थ पनि (९२)’ । तर मान्छे कहिल्यै नमर्ने सोचेर बाँच्छ । कर्म गर्छ । रमाइलो पनि यही होला र मृत्यु सत्य हो भन्ने बुझ्दा पनि यो कस्तो बुझाइ ? अचम्म ! स्रष्टाका जीवनमार्गलाई हेरेर ल्याउँदा जीवन कतै भर्याङ जस्तो, बगर जस्तो, उकाली आह्राली, सुखदुखमा विभक्त हुन्छ ।
पुस्तकभित्र लेखनीमा इमान्दारिता बेहोर्ने गुण भेटिन्छ निबन्धकारमा । अभिवन्दनामा परेका स्रष्टाको पिउने बानी तथा आफू पनि सँगै बसेर पिएको सन्दर्भ (२८) नढाँटीकन लेखिएको छ । मान्छे कति वर्ष बाँच्यो भने उसको आयु पुग्छ ? अनि मान्छेले आफ्ना इच्छा पूरा गर्न सक्छ ? यो प्रश्न आएको छ निबन्धभरि । वास्तवमा निबन्धकार ‘रोदन’ ले भनेझैँ कतिपय मान्छेको जीवन हेर्दा लाग्छ सहज र सरल । तर निकै गहन र गम्भिर हुन्छ यथार्थमा । देखिँदा सुन्दर देखिने चित्रको अमूर्तता जस्तै (३१) हुन्छ मान्छेको जीवन । मान्छे बाँच्नुको परिभाषा के ? सासैले कि आसैले ? आफ्नै लागि कि समाजका लागि ? मरेपछि मर्ने जीवनको के अर्थ (३९) ?
निबन्धकार ‘रोदन’ ले कृष्णचन्द्र सिंह प्रधानबाट पाएको ज्ञान बेजोड छ । वास्तवमा हिजोको संस्मरणमा मात्र बाँच्नुको के काम ? याने विगतमा ‘हजुर्वाले घिउ खाए आफ्नो हात सुँघ्’ भनेझैँ रमाउनुको के अर्थ ?
निबन्धकार ‘रोदन’ ले वर्तमान स्रष्टा साम्राज्यतिर पनि नजर डुलाएका छन् । बुझ्ने स्रष्टा सधैँ सिकिरहन्छन् । नजान्नेहरू भनिरहन्छन् बुझिसकेँ (६९) । फस्टाइरहेका छन् विद्वान भनिएकाहरू गमलामा । कौसीकौसीमा । बनिरहेका छन् विद्वान सत्ताले, शक्तिले, सम्पत्तिले तर बालकृष्ण पोखरेलजस्ता कोही छैनन ।
आँखामा नबिझाउने होस् वा धनवान होस् आखिर मृत्युलाई जति व्याख्या गरेपनि मृत्यु भन्दा फरक हुन सक्दैन (१०५) । रहेछ सबै आडम्बर । गहनाजस्ता लाउन्जेल देखिने । केको न्यानोजस्तो मात्र । सत्ताले, शक्तिले, सम्पत्तिले दिने चर्चा त (१११) । यो कुरा स्रष्टाको जीवनलाई साक्षी राखेर निबन्धकारको बोध हो । जति धेरै छलफल गन्थन मन्थन गरे पनि फेरि एउटा प्रश्न ज्यूँका त्यूँ छ कि सत्य के हो ? पुस्तकभित्र पसेर हेर्दा जीवन तथा सत्यको दृष्टान्त असाध्य धेरै छ ।
‘अभिवन्द्य’ मा धेरै विशेषताहरू समावेश भएको पाएको छु म । कृतिशीर्षक तथा पाठशीर्षकको नामकरण गर्ने अलग तरिका अबलम्बन गरिएको छ । सोझै स्रष्टाका नाममा उपशीर्षक नराखेर बिम्बका आधारमा पाठशीर्षक चयन गरिएको छ । कृति शीर्षक ‘अभिवन्द्य’ आफैँमा निकै सुन्दर छ । यो कृतिमा अलग तरिकाको वर्णविन्यास अवलम्बन गरिएको छ । गद्य कवितात्मक लयमा पनि वाचन गर्न सकिने एक पद पदावलि वा निकै छोटा वाक्यहरू समावेश गरिएको छ । कर्ता कर्म क्रिया जस्ता परम्परागत वाक्यविन्यास पद्धति अपनाइएको छैन । यसमा क्रमभङ्गता छ । ‘अभिवन्द्य’ भित्र रहेका ४१ शीर्षकमा समावेश गरिएका निबन्धहरू निर्बन्ध छन् । कुनै नियम वा उपशीर्षकले बाँधिएका छैनन् । मूल रूपमा यो कृति ‘अभिवन्द्य’ नै निबन्धकार ‘रोदन’ को व्यक्तिगत सम्बन्धबाट निसृत अनुभूतिका आधारमा लेखिएको छ । त्यसकारण जाहेर छ कि कृतिभरि विचारगत रूपले निबन्धकारको निजात्मकता तथा शैलीगत रूपले आत्मपरकता देखिन्छ । निबन्धकार ‘रोदन’ ले यी निबन्धहरूमा बिम्बको भरपूर प्रयोग गरेका छन् । बिम्बका आधारमा विषयवस्तु प्रस्तुत गर्नु शिल्पीय विषय हो । यसमा निबन्धकार खरो उत्रेका छन् । खुर्पाको बिँड, नभएको पगरी, सर्कसको बैसाखी जस्ता अनेकन बिम्बीय शृङ्गारका आधारसँग निबन्ध जोडिएको छ । यसैगरी निबन्धकारले विविध स्रष्टाका माधयमबाट तत्तत् समयका नेपाली साहित्यको अवस्थालाई उजागर गरेका छन् । एक प्रकारले भन्ने हो त्यो बेलाको समसामयिक विषयमा लेखिएको ऐतिहासिक सामग्री पनि मान्न सकिन्छ ।
पुस्तक ‘अभिवन्द्य’ पढि नै रहेको छु । पुस्तकमा निबन्धकारद्वारा हाकाहाकी नै जाहेरी गरिएको छ कि वाक्य विन्यासमा नयाँ प्रयोग भएको छ । यो नयाँ प्रयोगका कारणले पढ्दै जाँदा सुललिततामा कमी आयो कि जस्तो लागेको छ मेरा मनमा । यो नयाँ प्रयोगले नेपाली शब्द विज्ञान तथा व्याकरणगत सीमामा अप्ठेरो पारेको भए विज्ञले बोल्लान् । तर पनि पाठकले मनमनै भए पनि प्रश्न गर्ने छन् कि वाक्यविन्यासको यस्तो प्रयोगले परम्परा र आधुनिकता छुट्याउँछ र ? वाक्यविन्यास प्रयोग हो भने के यसले वर्तमान शब्द/वाक्य विन्यासको मानकमा अभिभञ्जक हुन खोजेको हो ? पुस्तकभित्र विसं १९६९ मा जन्मेका युग कवि सिद्धिचरण श्रेष्ठदेखि त्यसको ५५ वर्षपछि जन्मेका कवि रमेश श्रेष्ठ समावेश भएका छन् । यसले पाठकलाई ‘खसी बकडी एकै धोकडी’ भन्ने मैथिली उखानको सम्झना गराउँछ । तर म यसलाई ‘कन्टिन्युटी एन्ड चेन्ज’ का रूपमा हेर्दै छु । युग कवि सिद्धचरण श्रेष्ठ, शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्र कविमाधव घिमिरे जस्ता पुराना स्थापित स्रष्टाका हारमा सङ्घर्षरत स्रष्टाहरूका नाम पनि समावेश गर्दा पुरानाको आदर र नयाँलाई उत्साह गर्ने प्रयोजन निबन्धकारको हो भन्ने ठानेको छु । यद्यपि निबन्धकारको निजी कुराको सँगालो हो निबन्धसङ्ग्रह । तर जब प्रकाशन भइदिन्छ त्यो सार्वजनिक हुन्छ र पाठकको भइदिन्छ । समाजको भइदिन्छ । पाठकका आँखाबाट हेर्दा अभिवन्दना गरिएका स्रष्टाव्यक्तिचयनमा अलि धेरै निबन्धकारको निजात्मकताले काम गर्यो कि जस्तो भने पक्का लाग्छ ।
पढी तुरेको छु ‘अभिवन्द्य’ । सशरीर चिनेका/नचिनेका धेरै स्रष्टासँग साक्षात्कार भएको छ मेरो । व्यक्तिनिबन्ध भएकाले मेरा दिमागमा आइरहेका छन् मान्छे । मान्छेका स्वरूप । भगवान् होइन मान्छे । विशुद्ध छैन भगवान् पनि । अविवादित छैनन् भगवानका गाथा पनि । मान्छे मार्न धर्मयुद्ध हुन्छ । र, पनि समाजमा विशेष हुन्छ कोही मान्छे । साधनाले । सोचले । सत्कर्मले । परिवेशले । फेरि त्यही विशेष मान्छे पनि नाङ्गो हुन्छ । याने बोक्छ विकृति, विसङ्गति । एउटै मान्छेका दुई रूप देख्दछु समाजमा । समाजले भन्छ गुणको अभिवन्दना । दोषको दुत्कार्य । यही हो जीवन मान्छेको । हो यस्तै केही विशेष मान्छेको अभिवन्दना हो ‘अभिवन्द्य’ । दोषको दुत्कार्य होइन । दोषको दुत्कार्य प्रयोजन पनि होइन कृतिको । अतिरञ्जना पनि होइन । स्रष्टा र निबन्धकारका दुई हृदयका कुरामा केको अतिरञ्जना ? केको कारण ? केको सत्य ? त्यसैले खोज्दैन रछ्यान यसले । छिमल्दैन छ्यासछ्यासी व्यक्तिस्रष्टाका अवगुणलाई । टिप्छ हार्दिकता । तिललाई पहाड बनाउँदैन । सुली चढाउँदैन । त्यसकारण निबन्धकार ‘रोदन’ का हृदयभित्र अटाएका केही स्रष्टाको चिनारी, गुणको प्रकटीकरण, सम्बन्धको दस्तावेज, भोगाइको जीवन तथा समकालीन साहित्यको इतिहासको सेरोफेरोभित्र कुदेको छ ‘अभिवन्द्य’ । यसमा म असन्तोष गर्न किन सक्दिनँ भने ‘रोदन’ लाई यसैमा रउस चलेको छ । र, सोही रउसभित्र मैले रमण मात्र गरेको छु । यत्ति बुझिदिनुहोस् कि ‘अभिवन्द्य’ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को निजत्व हो । निजी अनुभूति हो । र, यो आलेख पनि मेरो निजत्व नै हो । अनुभूति नै हो । जाहिर छ, निजत्व माने निजत्व नै हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

