मणिपुरमा बद्रीशरण खतिवडाको उपस्थिति अब तीर्थसरह बनेको छ । ऋषिनगर मणिपुरका बर्ही अब ऋषिसरह नै बनेका छन् । उनी दैनिक रूपमा धार्मिक चर्या गर्छन्, ईश्वरको उपासना गर्छन् । साधना, अध्ययन, सांसारिक मनन, अध्यात्म र साहित्य चिन्तन, लेखन, सत्सङ्ग आदि उनका जीवनका अङ्ग हुन् । लेखिरहने, पढिरहने बद्रीनाथ खतिवडा अहिले नब्बे वर्ष पुगनलाग्दासम्म पनि साहित्यिक, सामाजिक, धार्मिक कार्य गरिरहेका छन्, सेवा दिइरहेका छन् । अहिलेको घोर भौतिकवादी युगमा पनि धार्मिक, आध्यात्मिक नैतिक र सांस्कारिक कुरामा सचेत गराउँदछन् । जति नै भौतिकवाद छोपे पनि विश्वमा आध्यात्मवादको कहिले पनि अन्त हुँदैन भन्ने कुरालाई जोड़ दिइरहेका छन् ।

खतिवडा अब व्यक्ति नभएर संस्था बनिसकेका छन्। उनी एक व्यक्ति भएर सामाजिक आध्यात्मिक साहित्यिक केन्द्र बनेका छन् । उनको नौ परिदर्शन भन्ने धार्मिक प्रवृत्तिको पुस्तक प्रकाशित छ। यसमा उनी आफ्नो सनातनी धर्मका विभिन्न पक्षबारे आफ्नो चिन्तन र मननलाई अघि सारेका छन् । यस पुस्तकमा परोक्ष र प्रत्यक्ष गरी हामी धार्मिक श्रद्धालुहरु पनि जोडिएका छौँ । यसमा दैनिक रुपमा गरिने धार्मिक कृत्य माध्यमबाट यस आधुनिक युगमा मणिपुरमा धार्मिक जागरणको आँकुरा पलाएको छ ।

बद्रीशरण खतिवडा

यस पुस्तकको अध्ययनबाट हामीजस्ता जिज्ञासुका धार्मिक ज्ञानको हासिल गर्ने तृष्णालाई केही मात्रामा मेटेको छ । सबैमा धार्मिक चेतना जागेको कुरा असल हो । विज्ञानको बड्दो विकाससँगै आध्यात्मिक विकासको पनि उत्तिकै आवस्यकता हुन्छ । बालकृष्ण समले “हाँसी ज्ञान मर्दछ रोइ विज्ञान मर्दछ” भन्ने कथनमा शाश्वत सत्यता छ । विज्ञानको एकलकाँटे विकासले मानिसलाई मसिन बनाएको हुन्छ तर मानिसको चेतनामा धार्मिक र आध्यात्मिक ज्ञान भए मात्र मान्छे मानव बन्दछ भन्ने लाग्छ । बद्रीनाथ खतिवड़ाका धार्मिक, सांस्कृतिक अध्ययन, लेखन र चिन्तनहरुले हाम्रो धार्मिक र सांस्कृतिक ज्ञान र चेतना जगाउन र बढाउन ठूलो मद्दत पुगेको छ ।

परापूर्व कालदेखि नै हाम्रो हिन्दु धर्मलाई नाश गर्ने उद्देश्यले अन्य धर्मका मानिसहरु लागिपरेका छन् । अहिले यो क्रम झन् बढेर गएको छ । भारत र नेपालमा भष्मेमा मकै सप्रेझैँ अन्य धर्महरुको चलखेल बढेको देखिन्छ । पहिले बन्दुकको भरमा शासकको धर्म लादे, अहिले आइ.एन.जि.ओ. आदिका माध्यमले विभिन्न प्रलोभन देखाएर हाम्रा मानिसलाई अन्य धर्ममा तान्ने काम भैरहेको छ । हाम्रो धर्मग्रन्थका कतिपय प्रसङ्गलाई कुव्याख्या गरेर  त्यसलाई माध्यम बनाएर बदनाम गराएर सोझा र अज्ञानी मानिसमा भ्रम सिर्जना गरी धर्म परिवर्तन गराउने काम पनि भएको छ । यस्तो स्थितिमा हाम्रा बद्रीनाथ शरण खतिवडाहरू धार्मिक गुरुहरुले आमजनतामा स्वधर्म र स्वसंस्कृतिको सचेतता र जागरण गराउने कार्य पनि सम्पन्न गरिरहेका छन् । आफ्नो धर्ममा नै सजस्र ज्ञानका हीरा मोती छन्, जीवनको सही दिशा निर्देशन छ। हाम्रो स्वास स्वास र रोम रोममा ईश्वरीय चेतना छ ।

विश्वमा हाम्रो सनातनी चेतना बड्दो देखिन्छ । युरोप अमेरिकातिर अब कृष्ण, राम र शिवको आराधना गर्ने प्रथा बड्दो छ। विदेशमा अब मन्दिर निकै बनिने, सडकमा भजन-कीर्तन गरिने आदि कृत्य बाक्लै देखिँदैछन्। वेदको सत्यता र महत्त्व झन् बड्दो छ । संस्कृत भाषाको अझै वैज्ञानिक महत्त्व बुझ्दैछन् । हाम्रो धर्म  करकापले होइन स्वेच्छाले पालन गर्दछौं । हामी आफ्नो धर्मप्रति गौरव गर्छौं । यस धर्मका कतिपय रहस्य घटना र पात्र आदिका विभिन्न प्रसङ्गलाई समेटेर खतिवड़ाको पुस्तकहरू प्रकाशित भएका छन् जसको राम्रो अध्ययन गरे हाम्रो अनन्त वैदिक सनातनी ज्ञानराशिबारे आंशिक रुपमा भए पनि लाभ हासिल गर्न सक्छौं।

नवीन पौड्याल (कालिम्पोङ)

‘नौ परिदर्शन’ पुस्तक जम्मा तेह्रवटा लेख रहेका छन्। यसमा कुनै संवादपरक, आत्मपरक, वर्णनपरक, विश्लेषणपरक, संकेतपरक लेखहरू समावेश छन्। यद्यपि जम्मै लेखका विषयकेन्द्र अध्यात्म रहेको छ। ईश्वर चिन्तनलाई विभिन्न कोणबाट हेरिएको छ। पुस्तकको पहिलो लेख ‘नौ परिदर्शन’मा अध्यात्ममा सङ्ख्याको ९ को महत्त्वलाई विभिन्न सन्दर्भ, क्षेत्र आदिमा सिद्ध गरिएको छ। वेद, पुराण, ब्रह्माण्ड, रत्न, नौदेवी, नौ निधिहरू, नौपण्डित, रूद्र ब्रह्म, अक्षर ब्रह्म, वेदब्रह्म, नामब्रह्म आदिमा नौको संख्या बडो महत्त्वपूर्ण रहेको तथ्य प्रकाश गरिएको छ। यसमा वेदका केही ऋचाहरूको पनि व्याख्या गरिएको छ।

अर्को लेख ‘ईश्वर’ मा एकजना युवक र योगीविचको वार्तालापको माध्यमबाट ईश्वरको चिन्तन गरिएको छ। नव पुस्ताले भौतिक रूपमा ईश्वरको दर्शन नपाउने हुँदा उनको अस्तित्वप्रति अविश्वास गर्छ तर ईश्वर दर्शनका लागि योगीले पनि युक्तिबाट ईश्वरको अस्तित्व बुझाएका छन्। ईश्वर त हामीसित छ, हाम्रै चेतनाभित्र छन्, आफुलाई आफुलाई चिने त्यहीँ ईश्वर छन् भन्ने भावलाई संवादका माध्यमबाट व्यक्त गरिएको छ। ईश्वर हाम्रै वरिपरि, हाम्रै भित्र छन्। यस संसारको संचालन, हाम्रो पृथ्वी, ग्रह आदि सबैतिर ईश्वरको चेतना पाइन्छ। ईश्वर हाम्रा चेतनामा, हाम्रो सत् कार्यमा ईश्वर लुकेका हुन्छन् भन्ने दर्शन अघि सारेका छन्। अर्को ‘दैलो’ भन्ने लेख पनि संस्मरणका रूपमा प्रस्तुत छ। दैलोलाई माध्यम बनाएर ईश्वर चिन्तन गरिएको छ। लेखमा सासु, बुहारी र आगन्तुक पाहुनाको वार्तालाप र प्रसङ्गबाट आफ्नो आध्यात्मक चिन्तनलाई अघि सारेका छन्। दैलोबाट जति नै छेकधुन र सुरक्षा भए पनि यो क्षणिक सुरक्षा हो, सुरक्षित छु भन्ने भ्रम मात्र हो। वास्तविक दैलो त दैव हुन्। काठको दैलोले सुरक्षा दिँदैन, कुतत्वबाट जोगाउन सक्दैन। उनका अनुसार दैलो भनेको उँभोतिर लक्ष्मीले रूँगेको, उँधोतिर द्वारवासिनी देवीले रक्षा गरेको हुन्छ। घरमा केही लक्षण र अलक्षणका कुरा हुन्छन्, तिनैले दैलोको कुरालाई संकेत गरेका छन्। वास्तवमा दैलो भनेको मनको द्वार हो, ईश्वरसम्म पुग्ने मार्ग हो, यो हाम्रो मनको द्वार नै बन्द भएपछि बाहिरी दैले खुल्ला र बन्दमा कुनै फरक पर्दैन। हामी ईश्वरबाट जति सुरक्षित छौं त्यही नै हाम्रा सुरक्षाको दैलो हो भन्ने भनाइ प्रस्तुत गरिएको छ। अर्को लेख ‘डाइनासोरको भारतीय चिन्तन’ भन्ने लेखमा भारतीय प्राचीन ग्रन्थहरू, देवी भागवत्, श्रीमदभागवत् आदि महापुराणदिमा वर्णित विशालकाय जीवहरू नै डाइनासोर थिए। देवी भागवतमा वर्णित आडी र बक नामका चराजातीय प्राणीहरू अत्यन्तै बलशाली, शक्तिशाली थिए। यी चराहरूको लड़ाइँले सारा पृथ्वी थर्कमान भएको थियो। ती चराहरूको अनवरत लड़ालाई समाप्त गर्नका निम्ति ब्रह्म आफैँ आएर तिनीहरूलाई पृथ्वीबाहिर पठाइदिनु भयो। यसो हुँदा संसारमा ऋषिमुनि र अन्य प्राणी शान्तिसँग बाँच्न सकेका हुन् र ती चराहरू नै डाइनोसोर थिए जो आज विलुप्त छन् भन्ने नयाँ विचार प्रस्तुत गरिएको छ।

अर्को लेख ‘ज्ञान-विज्ञान’ मा पनि आध्यात्मक चिन्तन गरिएको पाइन्छ। हाम्रो धर्मशास्त्रमा वर्णित धेरै कुराहरू, प्रसङ्गहरूमा वैज्ञानिकता थिए। गणेशजीको सुँड़, मत्स्यगन्धा, राजा सुद्युम्नकी छोरीलाई ईश्वर आधारित विज्ञानको सहयोगले छोरामा परिवर्तन गरेको उल्लेख पाइन्छ। यसैगरी मन्धाताको जन्म पुरूष राजाले अभिमन्त्रित जल पिउँदा गर्भित हुँदा भएको थियो। ‘भारतमा गङ्गाको स्थान’ लेखमा पनि गङ्गा नदीको उत्पति र महत्त्वबारे प्रकाश पारिएको छ। गङ्गाजी उत्पत्तिको उपकथालाई पनि प्रस्तुत गरिएको छ। ‘चिट्ठीको महत्त्व’लाई लिएर चिट्ठी भन्ने लेखमा व्यक्ति गरेका छन्। ‘ब्रह्माक्षर ॐ को संक्षिप्त परिचय’ भन्ने लेखमा ॐ को उत्पत्ति र महत्त्वलाई देखाएका छन्। यसमा ॐ सित सम्बन्धित वर्ण, अक्षर, त्यसका अर्थ, महत्व, त्यस सम्बन्धित श्लोक आदिको व्याख्या गरिएको छ।

यद्यपि भौतिक रूपमा विज्ञानको बाह्य प्रयोगले संसारमा दैंत्य शक्ति बढेर गएको छ। तारकाक्ष, विद्युन्माली र मयले भौतिकवादी विज्ञानको सहयोग लिएर तीन राज्य खड़ा गरेर राजपाट गरेको र संसारलाई विध्वंश गरेको प्रसङ्ग छ। संसारलाई ज्ञान विनाको विज्ञानले विकास होइन, विनाश गराउँदछ। त्यसका लागि विभिन्न कथा प्रसङ्गलाई अघि सारेका छन्। विषयवस्तुगत विविधता भए तापनि प्रस्तुत ग्रन्थको मूल विषयवस्तु नै ईश्वर चिन्तन हो। तृष्णा निबन्धमा पनि भौतिक वस्तुको अति चाहनाले आफ्नै क्षति गर्छ, ईश्वररीय चिन्तनमा वाधा दिन्छ। पेट नै मानिसको क्रियाकलापको केन्द्रबिन्दु बनेको छ। मानिसको पेटका निम्ति मानिसले राम्रा-नराम्रा, ठुला-साना, अपराध पि गर्न सक्छ। यो निबन्धमा धेरै साहित्यिक रस पाइन्छ। कथनमा रसात्मकता पाइन्छ, मनोरञ्जन, विनोदी, अप्रस्तुत पाराले प्रस्तुत गर्नु, व्यङ्ग्य आदि जस्ता प्रवृत्ति पाइन्छ। यसमा पथ्य अपथ्यका प्रकार, फलहरूको नाम, किरा आदिको नाम, भुँडीहरूको प्रकार आदि विनोदी प्रकारले प्रस्तुत गरिएको छ। यसमा संवादको माध्यमको प्रयोग पाइन्छ। तीज लेखमा भने एउटा चाड़ तीजलाई लिएर पनि आफ्नो विचार व्यक्त गरेका छन्। यसका सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, किम्वदन्ती आदिको पक्षमा आफ्नो समीक्षात्मक मन्तव्य व्यक्त गरेका छन्। नारीहरूको सामाजिक अवस्थालाई तीजले प्रतिविम्बित गरेको छ भन्ने आशय पाइन्छ।

यसरी हेर्दा बद्रीनाथ शरण खतिवड़ा एकजना आध्यात्मिक, धार्मिक, समाज, जीव र जगतका चिन्तक हुन्। उनको ९ परिदर्शन पुस्तकलाई एउटा निबन्धसङ्ग्रह मान्न सकिन्छ जहाँ साहित्यिक गुण पनि विद्यमान छ। यसमा सूक्ष्म तत्वको समेत चिन्तन गरिएको हुन्छ। कतै विश्लेषाणात्मकता, कतै परिहास, कतै व्यङग्य, कतै संवाद, कतै लोककथाको प्रस्तुति, कतै पूराकथाको प्रस्तुति, कतै श्लोक र त्यसको सारानुवाद आदि गुण पाइन्छन्। धर्मग्रन्थ, धार्मिक मिथक, धार्मिक चर्याका आन्तरिक पक्ष, धर्मका विभिन्न पक्ष, धार्मिक व्याख्या र बुझाइलाई पाठकसामु प्रस्तुत गरेका छन्। उनका निम्ति साहित्य सिर्जना मात्रै होइन, सामाजिक दिशानिर्देश हो, आध्यात्मक चिन्तनको माध्यम हो र आफ्नो ज्ञानको प्रस्तुति हो।

भारतको मणिपुर राज्यमा गोर्खालीहरूको पनि बसोबासो रहेको छ। मणिपुरका कांगलातोम्बी, चारहजारे, कालापहाड, आदि स्थानहरूमा गोर्खालीहरूको सङ्ख्या निकै छ । मणिपुर पनि नेपाली भाषा र साहित्यको सेवाकेन्द्र बनेको छ । मणिपुरको नेपाली साहित्यको अध्ययन गर्नेहरूले धेरै काम गरिसकेका छन् । डा. गोमादेवी अधिकारी, भवानी अधिकारी, सुकराज दियाली आदिले मणिपुरको नेपाली साहित्यको लेखाजोखा गरेका छन्। यस क्रममा बद्रीनाथ शरण खतिवड़ाको साहित्यिक योगदानको चर्चा हुनु आवश्यकता छ। मणिपुरमा नेपाली साहित्य परिषद्ले आफ्नै बुताबाट काम गरिरहेको छ। यहाँ धेरै साहित्यकारको उपस्थिति पाइन्छ। मणिपुरको पनि नेपाली साहित्यको मानचित्रमा एउटा स्पष्ट र सुरक्षित रहेको छ। मणिपुरको साहित्यक योगदानबारे विभिन्न पुस्तक पत्रिकामा जति नै चर्चा गरे पनि यसपालि उनको अभिनन्दन ग्रन्थको प्रकाशनले उनका व्यक्तित्व र कृतित्वका साङ्गोपाङ्गो चर्चा, योगदानको यथोचित मूल्याङ्कन र वीरपूजा हुनेछ भन्ने आशा गरिन्छ।