नेपाली साहित्यमा भविष्यको जहाजलाई वर्तमानको धावनमार्गमा अवतरण गराई कथा भन्ने शैलीमा कति आख्यानहरु कोरिएका होलान्, त्यो त थाहा छैन मलाई। तर त्यो अवधारणामा लेखिएको कृति मध्ये मैले चाहिँ पहिलो पटक “गुरु” उपन्यास पढ्न पाएँ।

उपन्यासको सम्पूर्ण कथामा हामीले अहिले भोगिरहेको र भोगेर आएको समयको वर्णन छ तर त्यो कथा भने अहिलेभन्दा ३९ वर्षपछि सुनाइएको छ। मलाई लाग्छ कथा वाचनको यो शैली नेपाली साहित्यमा दुर्लभ नै होला।

कविता राई : प्रज्ञाप्रतिष्ठानद्वारा २०७८ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवको प्रथम कवि। त्यसभन्दा अगाडि नै एउटा कवितासङ्ग्रह प्रकाशित गरिसकेको कविता राईलाई राष्ट्रिय कविता महोत्सवको नतिजाले अझ फराकिलो परिचय बनाइदियो। त्यो फराकिलो परिचयलाई स्थापित गर्न उपन्यास “गुरु” ले थप टेवा पुर्‍याएको छ। यतिखेर भने उहाँको कवि व्यक्तित्वमाथि उपन्यासकारले Overruled गरेको छ ।

उपन्यासकार आफैँ सरकारी विद्यालयको शिक्षक। सायद त्यही पृष्ठभूमिले सँगालेको थुप्रै अनुभुतिहरु थिए होलान् जो दुनियालाई सुनाउन जरुरी लाग्यो। शिक्षण पेशा आफैँमा एउटा सुन्दर र सृजनात्मक पेशा हो। त्यसलाई सुन्दर बनाइरहन हरेक दिन शिक्षकले आफूलाई चुस्त दुरुस्त राख्नुपर्दछ। तर हाम्रो अधिकांश सरकारी विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरु त्यो स्वरुपमा पाउन सकिन्न। त्यसका अनेकौँ कारणहरु भेटिन्छन्। तर एउटा साँच्चैको सृजनशिल, कर्तव्यनिष्ठ तथा विद्यार्थीहरुको भविष्यप्रति चिन्तित शिक्षक भइदिने हो भने चाहेको परिणाम पाउन सकिन्छ। यस्ता दृष्टान्तहरु हाम्रै सामु प्रसस्तै भेटिन्छन्।

“गुरु” भित्र पनि त्यस्तै आदर्श शिक्षकहरुको कथा भेटिन्छ किस्ता किस्तामा। यो उपन्यास खास गरी हाम्रो नेपाली समाजले भोगेको १० वर्षे गृहयुद्धको बाछिटाले लपेटिएका निर्दोष मान्छेहरुको कथालाई एउटा शिक्षकको माध्यमबाट सुनाइएको कथा हो।

उपन्यासका मुख्य पात्र सहदेव राई। उनैले जन्मदेखि ४५ वर्ष उमेरसम्म भोग्नुपरेको कथा र उनीसँगै हिँडेको समयको रथ वरिपरि निर्मित समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ।

सहदेव राई भोजपुरको फालिकोटमा जन्मिए। उनि जन्मिएको समय आजभन्दा ४५ वर्ष अगाडि। त्यतिबेलाको शैक्षिक चेतनाको अभावले गर्दा उनको आमाको अकालमै मुत्यु भयो। केही समयपछि बुवा पनि बिते। बाँकी रहेका सहदेव र उनकी एक दिदीले बाँच्नका लागि गरेको संघर्ष अर्थात दिदीले भाइलाई स्कुल पढाउन गरेको सम्झौता बिहिन संघर्षले जो

दिलिप बान्तावा

कोहीलाई भावुक बनाउँछ। स्कुलमा फरक स्वभाव, फरक व्यवहार र रुचि हुने विद्यार्थीप्रति गरिने र हेरिने फरक दृष्टिकोण र व्यवहारले एउटा राम्रो सम्भावना बोकेको विद्यार्थी विद्यालयबाट पलायन हुन सक्छ भन्ने कुरा सहदेवले स्कुल छोडेर पहिलो चोटि भागेर धरान पुगेको घट्नाले धेरै ठाउँका स्कुल तथा स्कुलको वातावरणहरुको प्रतिबिम्ब झल्काएको छ।

सहदेवको प्रेम बस्यो चम्पासँग। सहदेव बाबू आमा गुमाएको एउटा निरीह र गरिबीले पिल्सिएको केटो। चम्पा भने गाउँमा राम्रै आयस्ता भएको परिवारकी छोरी। दुबैले एक अर्कालाई मन पराएरै स्कुल पढिसके। एस एल सिपछि सहदेवको पढाइको अवस्था बेटुंगो हुँदै चम्पा काठमाडौँ गइन् पढ्नलाई। सहदेवसँग पढ्न खर्च थिएन। तर बाउले असाध्यै सम्मान गर्ने प्रधान बाले सहदेवलाई खर्च खोजिदिए, सहदेव खाँदबारी गए पढ्न। चम्पा र सहदेवको प्रेम जारी रह्यो चिठ्ठीको माध्यमबाट। चम्पा गाउँ आउँदा भेट हुन्थे, गफ गर्थे। दुई वर्षको पढाइपछि सहदेवले गाउँकै स्कुलमा पढाउने जागिर पाए। दिदीभाइ खुसी भए, चम्पा पनि खुसी। तर केही समयपछि दुबै खुसी खोसियो। चम्पा र दिदी दुबै जना सहदेवबाट टाढिए। अत्यन्तै हृदय विदारक अवस्था आइलाग्यो ।

आफ्नाहरु पालैपालो आफूबाट टाढिएपछि सहदेवलाई घर, घर जस्तो लागेन। सबै कुरा पराइ लाग्न थाल्यो। एकदिन कसैलाई नभनी गाउँ छोडेर हिँडे। जेठको गर्मी समय निरुद्देस्य बाटो लागेका उनी केही दिनपछि धरान भानुचोकको पिपलको फेदमा आइपुगे। हतुवाबाट ज्यामी काम गर्न झरेका राईसँग भेट भए। तिनै राईको साथीहरुसँग धरानमा दुई वर्ष मजदुरी गरे। ती मजदुरहरुलाई सहदेवले सामूहिक योजना, ज्यालाको बचत तथा सन्तुलित दैनिकीका कुराहरु सिकाए। उनले जिन्दगीलाई अर्को कोणबाट परिभाषित गर्न सिके। धरानमा स्कुले केटाकेटीहरुसँग जम्काभेट हुँदा उनको शिक्षक व्यक्तित्व बौरिन्थ्यो, उनी नोस्टालियामा रमाउन पुग्थे। स्कुलका गेटहरुको अघिल्तिर रोकिएर चिहाइरहन्थे। तर उनको त्यहाँको परिचय केवल एउटा ज्यामी मात्रै थियो। आफ्नो परिचय बदल्न चाहेर पनि उनले सकेनन्।

एकदिन धरानको छाप्री होटलमा लमजुङ्का मनोज खनियासँग भेट भयो सहदेव राईको। उनै खनियासँगको भेट र चिनापर्चीपछि उनको जिन्दगीको अर्को अध्याय सुरु भयो। खनियाको गाउँमा सञ्चालित स्कुलमा गणित शिक्षकको खाँचो पूरा गर्न सहदेव राई तयार भए। २०५७/५८ सालको समयरेखामा लम्जुङ हिँडेका सहदेवका लागि त्यो यात्रा सहज थिएन। राज्यपक्ष र विद्रोही पक्ष बिच कहाँ कतिखेर मुठभेट हुन्छ पत्तो हुँदैनथ्यो भने हिँडिरहेको मान्छे कतिखेर कुन आरोपमा गोलीको निशाना बन्नुपर्थ्यो त्यसको पनि कुनै ठेगान थिएन। त्यस्तै अनेक बाधा छिचोल्दै मनोज खनिया र सहदेव राई लमजुङ्को दुराडाँडा पुगे।

तत्कालीन विद्रोही माओवादीका तर्फबाट भएको उनीहरुकै भाषामा एउटा सफाया त्यही दुराडाँडामा भएको थियो। जसको चर्चा अन्तर्राष्ट्रिय स्तरमा समेत भयो। वि. सं. २०५८ साल माघ ३ गते भएको सो घट्नामा पाणिनी मा. वि. दुराडाँडा लम्जुङ्का प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको अमानवीय ढंगले हत्या गरिएको थियो । उपन्यासमा मुख्य पात्र सहदेव राईको आँखाबाट सो घट्नाको वर्णन गरिएको छ भने उक्त घट्नापछि सो क्षेत्र आसपास राज्यका तर्फबाट गरिएको ज्यादतीमा सहदेव राई आफैँ पिल्सिएका छन्। तत्कालीन शाही सेनाले स्कुलमा फेला पारेको सहदेव राईको व्यक्तिगत डायरीका आधारमा उनलाई गिरफ्तार गरियो। अवर्णनीय शारीरिक यातनाले जीवन र मृत्युका बिचमा केसको टुप्पा जतिको सिमाना मात्र छुट्याएर हिँडायो। त्यतिबेलाको सरकारी फौँजले गर्ने ज्यादतीका अनेकौँ चरणहरु सहदेव राईको आँखामा ठोक्किए।

एक दिन अचानक शाही सेनाको क्याम्पबाट सहदेव राई छुटेमाथिको आदेशबाट। उनलाई छुटाउने आदेश कसरी आयो ? मलाई मनमा लागेको झड्का थियो यो । कतै लामो समयसम्म बेखवर चम्पा पो त्यो स्तरमा पुगेकी थिइन् कि ? यस्तै लाग्यो पढ्दै गर्दा । यो जिज्ञासाले उपन्यासको अन्तिमसम्म डोर्‍याइरह्यो। सहदेव राई छुटेपछि एक प्रकारको मानसिक बिरामीको सिकार भए। स्कुलका स्टाफहरु मिलेर चितवन स्थित भरतपुर अस्पताल पुर्‍याए। लामो समयको उपचारपछि पुनः दुराडाँडा पुगे। पहिला जस्तै पढाउन थाले स्कुलमा। तर पुरानो लय हराइहाल्यो। उनमा जोस रहेन, दुराडाँडाले बिसाउन थाल्यो उनलाई। मोहभङ्ग भयो एक प्रकारले। एक दिन फेरि दुराडाँडा छोडेर गन्तव्य बिहीन यात्रामा हिँडे फालिकोटबाट निरुद्देस्य हिँडे जस्तै। सोँचाईका अनेकौँ भंगालोहरु संगाल्दै, पर्गेल्दै उनी भोजपुरको कोट आइपुगे गणित शिक्षक बनेर। उनी कोटमा लामो समय टिकिरहे। आफूलाई सहदेवभन्दा बढी “कृष्ण सर” नामले चिनाए। त्यहाँ उनले आफ्नो जिन्दगीलाई चलायमान बनाए। आफ्नो सम्पूर्ण ऊर्जा प्रयोग गरेर शिक्षणमा लागिरहे। त्यो समय करिब बिद्रोही माओवादीको सशस्त्र संघर्षको उत्कर्ष समय थियो। त्यतिबेला पुर्बी नेपालका अधिकांश गाउँहरु धेरै प्रभावित थिए। सहदेव राईले पढाउने ठाउँ अछुतो रहने कुरा भएन। विभिन्न बहानामा सरकारी फौजले निहत्थालाई दिने सास्ती र ज्यादती, बिद्रोही पक्षबाट आउने धाकधम्की तथा विद्यार्थीहरुमा पर्ने मानसिक असर इत्यादि त्यो समयका भोगाइहरु थिए। ती सबैसँग आफूलाई समाहित गर्दै सहदेव राई अर्थात् कृष्ण सरले निक्कै सृजनात्मक ढंगले पढाए स्कुलमा। उनी जहाँ बस्थे, त्यही नजिक उनान्चालिस जोभानसिंह राई र उनकी छोरी चन्द्रमा पनि बस्दथे। जोभानसिंह परिवारले मीठो नमिठो हरेक चिज कृष्ण सरसँग बाँडेर खान्थ्यो। जोभानसिंहकी जहान बेलैमा बितेकी थिइन्। कृष्ण सर रहँदा बस्दा जोभानसिंहको पनि चोला उठ्यो। बाबुको सहारा बन्ने भनेर विवाह नगरी बसेकी चन्द्रमा एक्लो भइन्। एक दिन अचानक आफ्नो कोठामा चिठ्ठी लेखिराखेर कृष्ण सर बेपत्ता भए। त्यो थाहा पाएपछि चन्द्रमाले पनि गाउँ छोडिन्।

“गुरु” को मुख्य औपन्यासिक ‘फ्रेम’ हो यो । उपन्यासभित्र थुप्रै कथा र उपकथाहरु बुनिएका छन्। हरेक उपकथाहरुको विवरण अत्यन्तै शूक्ष्मताका साथ प्रस्तुत गरिएको छ। खास गरी सहदेव राईको कथा भएकोले सम्पूर्ण कथा उपकथाहरु सहदेव राई कै वरिपरि घुमेका छन्। उनी बाहेक खासै अर्को मुख्य पात्र छैन कथाहरुमा। सहदेवले भोगेको बाल्यकालको कथा हर कोही न्यून मध्यम वर्गीय मान्छेले आफ्नै भोगाइ भन्ठान्नेछ। अभावग्रस्त दैनिकी, स्कुलमा गरिने बदमासीहरु, साथीभाइसँगका झगडा, गाउँघरमा हुने गरेका अनेकौँ बितन्डा अनि भर्खरै वयस्कवयमा लाग्दै गर्दा हुने विपरित लिङ्गीप्रतिको आकर्षण र प्रेमजस्ता कुराहरुले साँच्चिकै आफूले पार गरेर आएको त्यही समय मस्तिष्कमा खेलिरहन्छ।

पढ्नु वा शिक्षित हुनु कत्ति जरुरी छ भन्ने कुरा सहदेवको आमाले सिउँडीको चोप खानुपरेको घट्नाबाट दर्शाउन खोजिएको छ। अशिक्षा अर्थात् पर्याप्त ज्ञानको अभावले गर्दा आमाको अकाल मृत्युपछि नै सहदेवलाई आफू शिक्षक हुने हुटहुटी चलेको थियो। तर अनेक पटक त्यो सपनालाई भत्काउन उनको गरिबीले तोप हानिरह्यो। आमाको देहान्तपछि विक्षिप्त बनेका बाउको पनि चोला उठेपछि दिदीको भरथेगले उनी शिक्षक बन्ने अवस्थामा पुगे। दिदी-भाइको संघर्षको कथा हृदय विदारक छ। कथा क्रममा आक्कल झुक्कल परिचित पात्रहरु नेपथ्यमा सुनिन्छन्। राजनीतिज्ञहरु शेरधन राई राजेन्द्र राई, सुदन किराँती, ध्रुब राई, ज्ञानेन्द्र कार्की कलाकार लोकेन कार्की आदि। ती वास्तविक चरित्रहरुको त्यतिबेलाको भुमिकालाई कथामा समेट्दा कथाको ‘टाईमलाईन’ लाई आधिकारिक बनाउन सहज भएको छ।

पारिवारिक विग्रह र असफल प्रेमको आगोले पिल्सिएर धरान झरेका सहदेव आफ्नो ज्यान पाल्नका लागि ज्यामी काम गर्दछन् उस्तै काम गर्ने मजदुरहरुसँग । ‘यदि भानुचोक पिपलको फेदमा उनको भेट हतुवाली मजदुरसँग नभएको भए सहदेवको जीवनको लय कता चल्थ्यो होला ?’ किताब पढिसकेर मनसँग कुरा गरिरहँदा प्रश्न गर्‍यो मनैले। अझ थप्यो, ‘एउटा तोड परेर घर छोडेको सहदेवले त्यति लामो यात्रामा किन कुनै योजना बनाएनन् होला ?’ उनले धरानमा जुन स्तरको संघर्ष गर्नुपर्‍यो त्यो अस्वभाविक त होइन तर अलिकती बढी भयो कि भन्ने चाहिँ लाग्यो। तर विशुद्ध गाउँको परिवेशबाट खाली हात सिधैँ सहरमा आइपुग्दा उसको हालत त्यो भन्दा फरक नि नहुन सक्छ।

अर्कातिर धरानकै दृष्यमा पढाइको महत्त्वलाई उजागर गराइएको पनि छ। सहदेवसँगको संगतले “लुटी ल्यायो, भुटी खायो” हालतका ज्यामीहरुलाई एउटा व्यवस्थित डेरामा बस्ने, कमाइलाई सकेसम्म बचत गर्ने, कम खर्चमा दैनिकी धान्ने जस्ता जीवनोपयोगी सिपहरु सिकायो। सहदेव अरुलाई जीवन दर्शन सिकाएर हिँड्ने तर आफ्नो जीवनप्रति बेपर्वाह मान्छे देखिन्छन्। आफ्नो कुनै पनि लय छैन। धेरै कुराहरु संयोग मै भएका छन्। धरानबाट दुराडाँडा पुग्नु पनि संयोग नै थियो। यो यात्राको वर्णनले तत्कालीन समयमा विद्रोहको कारण दुईतिरबाट चलिरहेको बम, बारुद र गोलीको बिचबाट हिँड्नुपर्दाको त्रासद समय अहिलेका पुस्ता वा त्यो समय नभोग्ने पाठकका लागि कुनै थ्रीलर फिल्म हेरेभन्दा कम लाग्दैन ।

सहदेवलाई लेखकले लमजुङ दुराडाँडा पुर्‍याउनुको कारण त्यहाँ बीभत्स ढंगले हत्या गरिएका मुक्तिनाथ अधिकारीको कथा पाठकलाई सुनाउनु हो। तर सहदेवलाई अत्यन्तै सहज र स्वभाविक ढंगले कथाले नै तानेर त्यहाँ पुर्‍याएझैँ लाग्ने दृष्य निर्माण गरिएको छ। यो लेखकीय चातुर्यतालाई सलाम छ। धरानबाट दुराडाँडासम्म पुग्दाको यात्रा वर्णन पनि उस्तै ‘थ्रीलर’ छँदैछ, दुराडाँडामा सहदेव राईकै व्यक्तिगत जिन्दगीमा आइपरेका घट्नाहरु पनि त्यो समयको फ्रेममा राखेर हेर्दा “जस्टिफाईड” नै छन्। पात्रहरुको माध्यमबाट दुराडाँडा, च्यानपाटा जस्ता ठाउँहरुको ऐतिहासिक कथन सहितका वर्णनहरु पनि समेटिएका छन् जो पाठकका लागि बोनस जानकारी हुनसक्छ। दुराडाँडामा जुन उद्देश्यका लागि सहदेव राईलाई कथाले पुर्‍यायो त्यो कथा कुनै काल्पनिक थिएन। पाणिनी मा. वि. का तत्कालीन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई बिद्रोहीहरुले बिना यथोचित कारण कक्षाकोठाबाटै हात बाँधेर नजिकैको जंगलमा लगी रुखमा बाँधेर निर्ममता पूर्वक हत्या गरेका थिए। उपन्यासमा सहदेव राई उनै मुक्तिनाथका स्टाफ रहेका छन् । तर सहदेव राईले लेखेको आफ्नो संस्मरणमा स्कुलको नाम अर्कै भेटिन्छ भने हत्यापछिका केही दृष्यहरु पनि फरक उल्लेख गरिएको छ । त्यति बेला मुक्तिनाथ अधिकारी हत्याको त्यो बीभत्स तस्बिर हिमाल खबर पत्रिकाको १६-३० माघ, २०५८ को आवरण कथाका रुपमा श्रीभक्त खनालको बाइलाईनमा छापिएको थियो। त्यसपछि उक्त घट्ना अन्तरास्ट्रिय चर्चाको विषय बनेको थियो।

हिमाल खबरपत्रिकामा प्रकाशित सामग्रीका अनुसार मुक्तिनाथ अधिकारी कक्षा १० मा गणित विषय पढाइरहेका बखत उनलाई बन्धक बनाइएको थियो। उनको दुबै हात पछाडि लगेर बाँधिएको थियो भने खुट्टामा पनि लामो फड्को मार्न नसक्ने गरी बाँधिएको थियो। बिद्रोहीहरुले “तपाईँहरुको हेडसरलाई केही सोधपुछको लागि लैजादैछौँ। केही दिनमा फर्कनु हुनेछ।” भनेका थिएनन्। बरु “दुराडाँडामा मार्नुपर्ने सात जना मध्ये पहिलो व्यक्तिलाई मारिन लागेको र बाँकीलाई पनि छिट्टै मारिने” घोषणा गरेर लगेका थिए। यी कुराहरु उपन्यासमा अलिकति फरक भेटिन्छ। त्यसो त उपन्यास लेखनको दौरान लेखक आफैँ नै दुराडाँडा पुगेर स्थलगत अध्ययन गरेकोले प्रकाशित समाचारभन्दा बास्तविकता फरक पनि हुन सक्छ वा उपन्यास इतिहास नभएकोले लेखकले आफ्नो अनुकुल लेख्न सक्ने छुट पनि छँदैछ।

हत्याकाण्डपछि स्कुलमा बनेको तनावपूर्ण अवस्था अनि सहदेव राईलाई सुरक्षा फौजले पक्राउ गरेपछिको यातनाको वर्णनले पाठकको रौँ उभ्याइदिन्छ। त्यतिबेला नीति नियम, कानुन वा मानव अधिकार, मौलिक अधिकार कुनै पनि कुराहरु थिएनन्। ती थिए, तर बन्दुकको नालको अघिल्तिर। जोसँग बन्दुक छ सबै कानुन उसैको हातमा। बन्दुक दुईतिर थियो। विद्रोही र सरकारत ज्यादतीमा यी दुबैमा अन्तर खासै थिएन। सहदेव राईले माओवादी हुनुको अभियोगमा त्यस्तै यातना खेप्नुपर्‍यो। उनकै अघिल्तिर महिलालाई गरिएको सामूहिक बलात्कार, कुनै बिद्रोहीले शीर ठाडो पारेर शाहसका साथ रोजेको मृत्यु, सरकारी फौजले प्रयोग गर्ने भाषा र तिनको मनोविज्ञान सबै द्वन्द्वको त्यो दारुण समयको जीवन्त चित्रण हुन्। यतिखेर त्यस्ता कुराहरु आख्यानको रुपमा पढ्दा पनि मुटुको चाल एक्कासी बढेर आउँदो रहेछ, त्यतिबेला त हरेक दिन त्यस्ता समाचारहरु पढ्नुपर्थ्यो, सुन्नुपर्थ्यो। लाग्छ, समयभन्दा उत्तम औषधि अरु केही हुन्न रहेछ।

यातनाले थलिएर बसेको सहदेव, बाँच्छु भन्ने आशा मारेर कालकोठरीमा बसेको सहदेव एक दिन “माथिको आदेश” मा छुट्छन्। कसरी, कहाँबाट कस्तो आदेश आयो होला भन्ने कौतुहलताको नाउ चढेर पुरै किताब छिचोलियो, तर ठ्याक्कै उत्तर भने भेटिएन। त्यो सार्‍है दुर्लभ घट्ना हो त्यो समयका लागि। त्यही दुर्लभ पात्र बने सहदेव राई। बाँचेर आए पनि उनी मानसिक रोगी बने, लामो समय दुराडाँडामा अडिन सकेनन्। उपन्यासमा गरिएको उनको मनस्थितिको व्याख्या सुन्दर छ। त्यो मनोभावमा गुज्रिएका थुप्रै मान्छेहरु थिए त्यो समय, तिनको झल्कोले आफ्नै वरपरको माहोल चित्रण भएझैँ लाग्छ।

दुराडाँडा छोडेर चितवन भरतपुर आइपुग्दा धरानमा भेटिएका खनिया सर जस्तै गरी भोजपुर कोटका स्याम राई भेटिन्छन्। यी दुबै संयोगहरुको “सिक्वेन्स” उस्तै देखिन्छ। यसमा केही फरक गर्न सकेको भए अझ गज्जव हुन्थ्यो भन्ने लाग्यो। दुरडाँडाको स्कुलमा पनि गणित शिक्षकको अभाव थियो, भोजपुर कोटको स्कुलमा पनि गणित शिक्षककै खोजी थियो। हुन त विज्ञान र गणित विषयको शिक्षक नेपालका हरेक सरकारी स्कुलले खोजी गरिरहने शिक्षक हुन्। पर्याप्त जनशक्ति व्यवस्थापन नहुँदा यो राष्ट्रव्यापी समस्याकै रुपमा रहेको छ।

भरतपुरमा क्यान्सर रोगको उपचारमा झरेका श्याम सरको पछि लागेर सहदेव राई कोट निस्किए। भरतपुरदेखि उदयपुरको गाईघाट, घुर्मी हुँदै हलेसी, दिक्तेल, चखेवाको सुन्दर नागीहरु छिचोलेर कोट पुगेपछि सहदेव राईले आफूलाई कृष्ण नामाकरण गरे। सशस्त्र द्वन्द्वको उत्कर्ष समय थियो। सरकारी फौँज र विद्रोहीहरु आ आफ्नो ईलाका बनाएर बसेकै थिए। ती दुबै पक्षसँग जोगिएर हिँड्नु दुई धारको तरवारमा टेक्नु जत्तिकै थियो । कोट पुगेपछि उनलाई नि. मा. वि. अस्थायी शिक्षकमा नियुक्त गरियो।

सहदेव राई कोट पुगेपछि भने कथाको गति शिथिल हुन्छ। किताबको करिब ४० प्रतिशत मोटाइले त्यही विद्यालयको आसपासको गतिविधिलाई व्याख्या गर्दछ। करिब २०५९ सालदेखि २०७२ सालको भूकम्प हुँदै हिजो अस्तिसम्मको समय रेखामा कथा उपकथाहरु बुनिएका छन्। “हामी यस्तै त हो नि ब्रो” भन्ने थेगो केही समयअघि मात्र युवा पुस्ताहरुमा लोकप्रीय भएको थियो, यो थेगोलाई समेत प्रयोग गरेर उपकथा जोडिएकोले हामीले अहिले बाँचिरहेकै समयको व्याख्या हो भन्ने कुरामा दुईमत छैन। यो भागमा थुप्रै स साना घट्नाहरु जोडिएका छन् । कृष्ण सरले कक्षाकोठामा प्रयोग गर्ने नवीन शिक्षण शैली, विद्यार्थीहरुलाई सृजनात्मक कार्यमा दिएको उत्प्रेरणा, विद्यार्थीहरुसँगको आत्मियता जस्ता विषयहरु एउटा शिक्षकका लागि अनुकरणीय विषय हुन्। यी कुराहरु पढिरहँदा लाग्यो, साँच्चै हाम्रा प्रत्येक शिक्षकहरु कृष्ण सर जस्तै गतिशिल, सृजनात्मक भइदिएको भए कत्ति उपलब्धि मुलक पढाइहुन्थ्यो होला। तर हाम्रो विद्यालय शिक्षाले जीवन जस्ता विद्यार्थीहरु जन्माइरहन्छ। जसले पढाइमा अब्बल मात्रै होइन आई. एस्सी. मा उत्कृष्ट भएर पनि आफूभन्दा कमजोरले छात्रवृत्ति पाउँदा पढाइबाट विरक्त भएर कोरिया पुग्यो। औद्योगिक दुर्घट्नाले जीवनलिला सकियो। हाम्रो शैक्षिक प्रणालीले शैक्षिक बेरोजगारभन्दा अरु उत्पादन गर्न सकेन ।

कृष्ण सरले २०६२/०६३ को आन्दोलन पनि भ्याए। आन्दोलनपछि नागरिक स्तरमा आएको उत्साह, अपेक्षा र त्यसका खतराहरु पनि देखे । कतिपय विषयहरुको गलत व्याख्याले कक्षाकोठासम्म परेको असर पनि भोगे । समाबेसिता, पहिचान जस्ता नेपाली समाजका लागि नयाँ लाग्ने शब्द र विषयहरुमा सघन छलफलहरु चले। तिनलाई कृष्ण सरले राम्ररी नियालिरहे। यस्ता राजनैतिक विषयहरुलाई उपन्यासमा कक्षाकोठाको गतिविधिका आधारमा बुझाउन खोजिएको छ। लेखक आफैँमा शिक्षक भएकोले हुनसक्छ शिक्षण सिकाई कृयाकलापका रुपमा ती पेचिला विषयलाई पनि सहज ढङ्गले प्रस्तुत गरिएको छ। पहिचानको विषयलाई शिशु कक्षाका नानीहरुको मनोविज्ञानका आधारमा बुझाइएको छ। समावेशिता तथा संविधानसभाको विषयलाई गाउँले प्रहसनको माध्यमबाट व्यक्त गरिएको छ।

यी सँगै हाम्रो समयमा वरदान र अभिशाप दुबै रुपमा देखिएको प्रविधि छ यतिखेर । यसको बारेमा पनि केही उपकथाहरु जोडिएका छन्। विशेष गरी विद्यालय जाने उमेरका केटाकेटीहरुमा परेको “एडिक्सन” अहिलेको मुख्य समस्या हो। पहिला पहिला हामी शारीरिक रुपमै खेल्थ्यौँ, जुध्थ्यौँ, झगडा गर्थ्यौँ, बाझ्थ्यौँ, दौडिन्थ्यौँ अनेक हुन्थ्यो। शारीरिक रुपमा स्फुर्ती हुन्थ्यो। आजकल प्रविधिले केटाकेटीलाई अल्छी बनायो। मोबाइल वा ल्यापटप अगाडि बसेर अल्मलिएपछि त्यसैको रंगिन संसारमा आफूलाई पुर्‍याउँछन्। लामो समयसम्म त्यसैमा भुलिएपछि वास्तविक दुनियाँ र स्क्रिनको दुनियाँमा फरक छुट्याउन सक्दैनन्, कुन यथार्थ हो कुन बनावटी भन्ने दोधारले मानसिक बिरामीसम्म हुन पुग्छन्। केही उपकथाहरु यही तथ्यमा आधारित छन्।

पछिल्लो समय बल्ल शिक्षक सेवा आयोगले बेला बेलामा स्थायी शिक्षक पदपुर्तिका लागि नियमित परीक्षा गराइरहेको छ। तर विगतमा २०५०/५१ सालपछि लामो समयसम्म त्यो क्रम रोकिएर बल्ल २०७० सालमा मात्रै अर्को खुला परीक्षा गरिएको थियो। यो अवस्थामा दक्ष शिक्षकको अभावले गर्दा नेपालको शिक्षाक्षेत्र निक्कै धरासायी बनेको थियो। विशेष गरी गणित, विज्ञान र अंग्रेजी विषयको जनसक्ति अभावले गर्दा यी विषयहरुमा राम्रो नतिजा आउन सकेन। विज्ञान विषयका लागि प्रायः तराई मुलका शिक्षकहरु धेरै जसो पहाडी इलाकामा पुगे। त्यसै क्रममा कृष्ण सरको स्कुलमा पनि सप्तरीका मुकेश सर आइपुगे। तर उनको पारिवारिक बिग्रहको कथाले गर्दा उनको जीवनमा अर्कै मोड ल्याइदिन्छ, त्यो मोड ल्याइदिने माध्यम भन्नु त्यही इन्टरनेट प्रविधि हो। पहाडी दुर्गमताको सास्ती तथा त्यतिखेरको बन्द हड्ताल जस्ता राजनैतिक दलका अराजनैतिक गतिविधिले एउटा सामान्य पौरखी मान्छेलाई असामान्य अवस्थामा पुर्‍याइदियो।

उपन्यासको अन्तिमतिरका कथा उपकथाहरु आफैँमा भने गज्जव छन् तर तिनलाई उपन्यासकै अंशका रुपमा जोड्नु आवस्यक थियो र ? भन्ने लाग्यो किताब छिचोलिसक्दा। धेरै जसो प्रसंगहरु कक्षाकोठाको शिक्षण सिकाइ कृयाकलाप जस्तै लाग्ने गरी राखिएको छ। यसले विषयलाई सामान्यीकरण गरेर बुझ्न सजिलो त हुन्छ तर उपन्यासले सुरुदेखि उठाइरहेको विषयलाई यसले कत्ति बल दिन सक्छ भन्ने पनि हो। बरु ती केही उपकथाहरुको स्थान चाहिँ चम्पा वा सहदेवको दिदीको कथालाई दिन सकेको भए उनीहरुप्रति न्याय हुन्थ्यो कि जस्तो लाग्यो ।

समग्रमा उपन्यास पठनीय छ। हाम्रो पुस्ताले भोगी ल्याएको त्यो समयको लिखित साक्षीको रुपमा उभिएको छ ‘गुरु’। लेखक आफैँमा कवि भएर होला सायद धेरै ठाउँमा काव्यिक स्वाद भेट्न सकिन्छ भने कतै कतै वाक्य अलि खुकुलो भएको महसुस पनि हुन्छ। खँदिलो वाक्य गठन जरुरी हुन्छ भन्छन् आख्यानका जान्ने बुझ्नेहरु। अर्को महत्त्वपुर्ण कुरा चाहिँ जुन भुगोलको दृष्य छ त्यसको संक्षिप्त इतिहास पनि जोडेर कथालाई अगाडि बढाउनु लेखकको ‘प्लस पोइन्ट’ हो भन्ने लाग्छ। शीर्षक गुरु भएकोले एउटा गुरु अर्थात शिक्षकले साक्षात्कार गर्नुपर्ने अनेकौँ आरोह अवरोहका बिच निभाउनुपर्ने पारिवारिक, सामाजिक तथा वैयत्तिक जिम्मेवारीका गुत्थीहरु सुनाइएको छ। अझ सशस्त्र द्वन्द्वको त्यो दारुण समयमा शिक्षकहरुले झेल्नुपरेको कहालिलाग्दो क्षणलाई सविस्तार गरिएको सायद यो पहिलो कृति हुनुपर्दछ। विद्रोही र राज्यपक्ष दुबैबाट उत्तिकै प्रताडित कोही थियो भने त्यो शिक्षक नै थियो त्यतिबेला। विद्रोहीले हरेक शनिबारको तलब चन्दाको रुपमा उठाउँथ्यो, नदिए भौतिक सफायासम्म हुन्थ्यो। त्यो कुरा राज्यपक्षले थाहा पाए तिनै शिक्षक “आतंककारी” का रुपमा मारिनुपर्थ्यो।

त्यो अवस्थाबाट गुज्रिएको कृष्ण सर अर्थात सहदेव राई अन्तिममा कसैले थाहै नपाउने गरी एकाएक गाउँबाट अलप हुन्छन् । आफ्ना सम्पूर्ण कहानीहरु एउटा पेनड्राईभमा लेखिराखेर। उनको अलपको खबरले आलाप विलाप गर्दै उनान्चालिस जोभानसिंह राईकी छोरी चन्द्रमा पनि गाउँबाट हराउँछिन्। यो घट्नाको ठिक उनान्चालिस वर्षपछि एक साँझ कृष्ण सरले छोडिगएको स्कुलको ठेगाना सोध्दै पिखुवाको उकालो चढ्दै गरेका एक बृद्ध र एक बृद्धा भेटिन्छन्। बृद्धले आफूलाई सिक्किम युनिभर्सिटिको एक्स प्रोफेसर भनेर चिनाउँछन् भने बृद्धाले आफूलाई खर्साङ्को चिया कमानबाट आएको बताउँछिन्। उनीहरु त्यही पिखुवानिरसँगै भेटिएर स्कुल पुग्छन् । आफ्नो जिन्दगीभरि कमाएको पैसाको थैलो त्यही स्कुललाई चन्दा दिन्छन्। आखिर ती दुई को थिए त ? यहीँ कौतुहलतासँगै उपन्यासको ३८५ पेज बन्द हुन्छ । मैले चाहिँ अन्तिमसम्मै कोट छोडेपछिको कृष्ण सरको यात्रा जान्न चाहिरहेँ, सायद त्यो कथाले “गुरु भाग २” को माग गर्ला कि ?

समकालीन आख्यानहरुमा पठनीय उपन्यास हो “गुरु”। यसले गम्भीर प्रश्न सोधिरहेझैँ लाग्छ। देशले रक्तिम क्रान्ति बेहोर्‍यो। त्यो क्रान्तिमा हजारौँको बलिदान जोडिएको छ। बलिदान दिनेहरुले देखेको सुन्दर र सुदुर भविस्य आज कहाँ छ ? त्यो भविस्य निर्माण गर्न दौडिनेहरु साँच्चै इमान्दार थिए त ? लाग्छ, यो प्रश्न एक अनुत्तरित प्रश्नकै रुपमा रहिरहनेछ। कवि कविता राईलाई यो वर्षका पद्मश्री, बिमल गुरुङ् स्मृती साहित्य पुरस्कार तथा पहिचान पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कारहरुका लागि नोमिनेसनमा पर्न सफल उपन्यास गुरु र गुरुभन्दा अझ सुन्दर अनि गहकिलो आख्यान सृजनाका लागि हार्दिक शुभकामना ।