भारतवर्षको उत्तर पूर्वाञ्चलको असमबाट अप्रिल, सन् २०२० मा पहिलो पटक रम्बास् कविता लेखनको आरम्भ भएको थियो । रम्बास ग्रीक भाषाबाट आएको शब्द हो । जसलाई ग्रीक भाषामा Bullroarer Shap भनिन्छ । यसको अर्थ A Spinning Top हुन्छ भने नेपालीमा समबाहु चतुर्भुज हुन्छ । रेखागणितमा ‘रम्बस’ भन्नाले चारओटा भुजाहरूको लम्बाइ र विपरीत कोणहरू बराबर भएको समानान्तर चतुर्भुज बुझिन्छ । यही ‘रम्बस’ बाट नेपाली साहित्यको कविता विधामा ‘रम्बास’ आकृतिको निर्माण गरी रम्बास् कविताको लघुरूप निर्माण गरिएको छ ।

दीपक सुवेदी

एउटा शाब्दिक वर्णबाट सुरु गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दसौँ पङ्क्तिसम्म दसओटा वर्णलाई भावना अनुसार सजाएर पुनः दश पछि नौ, आठ गर्दै अन्तिम शाब्दिक वर्ण प्रयोग गरी मोठ उन्नाइसओटा पङ्क्तिमा एकसय वर्णमा सक्नुपर्ने ज्यामितिको रम्बास आकारमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ ।

अहिलेसम्म रम्बास कविता लेख्ने कविहरूको लामै पङ्ति समेत रहेको देखिन्छ । जसमा मोहन सुवेदी, रोहित सैजु, पुष्कर रेग्मी, वसन्त हरियाली, सीता विष्ट कार्की, रवीन्द्रनाथ पोख्रेल, शेषमणि आचार्य, घनश्याम पौडेल,. अर्जुन उप्रेती, डा.जगन्नाथ उपाध्याय, देवीचरण सेढाईँ, भीम धमला, पुरुषोत्तम उपाध्याय दाहाल, खडानन्द दुलाल, लोकनाथ शर्मा, प्रितम आचार्य, प्रकाश कुइँकेल, गिरिधारी उपाध्याय, मुकेश रेग्मी, कृष्णलाल शर्मा, मिनादेवी फुयँल, कुञ्जदेवी उपाध्याय, दुलुमनि देवी, हिरनमयी आचार्य शर्मा, नीता गुरुङ भाटिया, प्रियङ्का शर्मा, मिना पौडेल, नरमाया उपाध्याय, गौरव दाहाल, शान्ति भुजेल, लखिकान्त शर्मा, कुलबहादुर छेत्री (कुलेभाइ), सुरज खनाल, दिवाकर न्यौपाने, प्रकाश बुडाथोकी, गोपाल नेवार, चित्र पौडेल, पद्मावति देवी, दीपक दवाडी, रीना भारद्वाज, अरुणकुमार भुजेल, राजेन बोहोरा, अनुपमा कट्टेल, चन्द्र भट्टराई, अजितकुमार हाजरिका, लीलाकान्त तिमसिना, विनीता उपाध्याय गजुरेल, अनुप शर्मा, प्रेम विश्वकर्मा, अर्जुन निरौला, रेवतीरमण सापकोटा, सुरज धमला, शान्ति भुजेल, गीताश्री शर्मा, टेकनारायण रिमाल, रोहित सैजु, गुरुदत्त ज्ञवाली, अजित आचार्य, रञ्जना निरौला, बाबुराम न्यौपाने ‘उत्स’, आचार्य प्रभा, कुमारप्रसाद भण्डारी, सीता विष्ट (कार्की), श्रीकृष्ण शर्मा आदि रहेका छन् । हालसम्म प्रकाशित रम्बास कवितासङ्ग्रह निम्नअनुसार प्रकाशित रहेका छन् ।

तानाबाना (सन् २०२१)

कवि, गजलकार एवम् मुक्तककार हुन् मिलन बोहोरा । बोहोराको नेपाली साहित्यको पहिलो रम्बास कवितासङ्ग्रह तानाबाना (२०२१) प्रकाशित छ । यस सङ्ग्रहभित्र ५६ ओटा कविताहरू रहेका छन् जसमा नवीन सोच र वैश्विक चेतना रहेको पाइन्छ ।

समाज अहिले पनि पुरानै सोचमा छ । व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन सकेको छैन । समाजमा व्याप्त विकृति र विसङ्गति उस्तै छ । कुरा एउटा र काम अर्को गर्ने जमात ठूलो छ । कविताहरूले एउटा युगको नेताहरू राज्यप्रति बेपर्बाह भएका बारेमा जनताका असन्तुष्टिका सशक्त आवाजहरू उठाएका छन् । कवि मिलनका कविताहरू भावनात्मक मात्रै छैनन् जीवन र जगतको वास्तविक छवि चित्राङ्कनमा सक्षम छन् ।

रुग्ण निपातित् प्रकृति
यस्तैयस्तै छन उपलब्धि ।
केही अरू भन्न रैगयो ।
(थपडी, पृ. २९)

उद्यत् छ ध्वंस गर्न
तैयार बसुँ मर्न ।
(रुन्चे वसन्त, पृ. ३४)

कवितामा ‘छन्’, ‘निपातित’ र ‘उद्यत’ लाई अक्षर सङ्ख्या पुर्याउनका लागि ‘छन’, ‘निपातित्’ र ‘उद्यत्’ गरिएको छ । यतिमात्र होइन बोल्छन, भन्छन र बुझ्दैनन (तटस्थ, पृ. ४९), हुन (सेक्युलर, पृ. ५०) यस्तो निकै कवितामा अक्षर सङ्ख्या पुर्याउन प्रयोग गरिएको पाइन्छ ।

कहाँ छ र शान्तिको
नन्दन् कानन ।
कहाँनै छैन ।
विनती छ
(मकरन्द, पृ. १६)

माथिको कवितामा कानुन र बिन्ती हुनु पर्नेमा अन्यथा भएको छ भने ‘कहाँनै’ पदवियोगमा समेत ध्यान दिएको देखिँदैन ।

मौन सहमति
अनि उन्मादी हावा ।
यीनै मात्र याद छन
सम्झनाको अवशेषमा ।
(स्मृति, पृ. २२)

माथिको कवितामा ‘छन्’ हुनु पर्नेमा अक्षर सङ्ख्या पुर्याउन ‘छन’ गरिएको छ । शुरुआत ठिकैनै थियो (बौलाहा, पृ. ३३), तिमीपनि बनी हेर त (छेपारो, पृ. ३९), पीडित छ ऊपनि धेरै (पुरुष्पीडा– १, पृ. ४६), तिमीलेनै (भरोसा, पृ. ५३), मुर्खपनि (मर्म, पृ. ७०) लगायतमा रम्बास आकृति निर्माण गर्ने क्रममा पदवियोगलाई वास्ता गरिएको छैन भने कवितामा आएका बिराजोस् (अनुभव, पृ. ३०), अलंघ्य (सपना, पृ. ६६) शब्दका कुनै अर्थ लाग्दैनन् ।

असम, विश्वनाथका पेशाले उद्यमीता विकास र उद्योग कनसाल्टेन्ट रहेका मिलन बोहोराको पूर्वायण प्रकाशन रहेको ७० पृष्ठको यस पुस्तकको मूल्य एक सय ४९ रहेको छ ।

वरपिपल (सन् २०२२)

यो वरपिपल कवितासङ्ग्रह मिलन बोहोरा र देवीचरण सेडाईंको सम्पादन रहेको रम्बास कविताहरूको पहिलो सङ्कलन हो । कतिपय कविता खँदिला र गहकिला छन् नै छन् भने केही शैशव अवस्थामा वा सिकारु अवस्थाका नै देखिन्छन् । यस सङ्ग्रहभित्रका कविताहरूमा नवीनताप्रति आग्रह पाइन्छ । भावपक्षको विविधता रहे पनि कलापक्षमा भने अझै माझिनु पर्ने देखिन्छ ।

यस कवितासङ्ग्रहभित्र डम्बर दाहाल, मोहन सुवेदी, देवीचरण सेडाईं, मिलन बोहोरा, खडानन्द दुलाल, पुरुषोत्तम उपाध्याय दाहाल, जगन्नाथ उपाध्याय, दीपक दवाडी, वासुदेव उपाध्याय, भीम धमला, रेवतीरमण सापकोटा, अर्जुन निरौला, अर्जुन उप्रेती अप्रतिम, कुञ्जादेवी उपाध्याय, लुइस बिष्ट, चन्द्र भट्टराई, मुकेश रेग्मी, कमल उपाध्याय, गिरीधारी उपाध्याय, गीताश्री शर्मा, दिवाकर न्यौपाने, प्रितम आचार्य, लखीकान्त शर्मा, चित्र पौड्याल, अनुप शर्मा, प्रेम विश्वकर्मा, अरुणकुमार भुजेल, हेमलाल जोशी, अनुपमा कट्टेल, शान्ति भुजेल, मीनादेवी फुयेल, नीता गुरुङ भाटिया, राधिका उपाध्याय, दुलुमनिदेवी उपाध्याय, हिरन्मयी आचार्य शर्मा, प्रियङ्का शर्मा, मिना पौडेल, हीरा शर्मा, पहवतीदेवी ढुङ्गाना, नरमाया उपाध्याय, रीण भारद्वाज, दीपा देवी, मनीषा दाहाल, दिपान्विता गजुरेल, पूर्णिमा घिमिरे पोख्रेल, प्रकाश कूइँकेल, राजेन बोहोरा, जादब तिम्सिना, प्रेम नेउपाने प्रहर, लीला तिमसिना, तिलक ओली, टङ्क सिटौला, दीपक जैसी पौडेल, वीरेन्द्र राणा, गोपाल नेवार, कृष्णलाल शर्मा, लोकनाथ शर्मा, प्रकाश बुढाथोकी, मोहन छेत्री राउत, नारायण आचार्य, बेददीप उपाध्याय, लीलबहादुर सुनार, सुरज खनाल, सूरज धमला, मोहन गौतम, कुलबहादुर छेत्री, गौरव दाहाल, नारद भट्टराई, थानुराम शर्मा, परशु ढकाल, विजय काफ्ले, शीला उपाध्याय दाहाल, विजय सापकोटा, माधव उपाध्याय, प्रदीप शर्मा, सन्तोष सुवेदी, कल्पना शर्मा ढुङ्गेल, टेकनारायण रिमाल, कुसुम गौतम, रोहित सैजु, शेषमणि आचार्य, रञ्जना निरौला, अजित आचार्य, कुमारप्रसाद भण्डारी, आचार्य प्रभा, सीता बिष्ट कार्की, श्रीकृष्ण शर्मा, घनश्याम पौडेल, एलपी पराजुली, बाबुराम न्यौपाने उत्स लगायतका ९४ जना कविहरूका एक सय १२ ओटा रम्बास कविता रहेका छन् ।

यसमा डम्बर दाहालको रम्बास कविता र यसको पहिलो सङ्कलन र दीपक सुवेदीको रम्बास कविता, संरचना र शैली शीर्षकका लेखहरू रहेका छन् भने खडानन्द शर्मा दुलाल र पुरुषोत्तम उपाध्याय दाहाल प्रकाशक रहेको एक सय ३९ पृष्ठको यस पुस्तकको मूल्य तीन सय रहेको छ ।

शालिग्राम (सन् २०२२)

असमको विश्वनाथ जिल्ला अन्र्तगत गेलापोखरी निवासी गिरिधारी उपाध्याय अधिकारीको पहिलो कृति शालिग्राम (सन् २०२२) प्रकाशित छ जसमा सन्तानब्बेओटा कविता सङ्कलित रहेका छन् । कविताहरूमा मानवता बोलेका छन् भने समकालीन दुर्दशालाई पनि पोखेका छन् ।

आजको परिवेशमा मानिसबाट क्रमश मानवीय गुणहरू हराउँदै गएको देखेर कवि जनसाधारणलाई सचेत रहन पनि आह्वान पनि गरेका छन् । कविताले ईश्वरलाई संसारका सर्व शक्तिमान चालक मान्दै मानिसलाई उनकै कठपुतली मानेका समेत छन् ।

छन् खेल हजार
खेलाडी तँ महान
रोएर देखा तमासा
गर प्रयास सकेसम्म
(मदारी, पृ. ३६)

नगर दिवस पालन
गर नमन् सधैँभरी
स्नेहमयी हुन् नारी
जगतकी स्रष्टा
आदरणीय
(दिवस, पृ. ४७)

राजनेताले
लगाएका
मखुण्डा
हुन
यी
(मखुण्डो, पृ. ८९)

लक्षभेदी अर्जुन त
अनेकौँ छन यहाँ
छैन भने मात्र
त्रिलोक स्रष्टा
(मखुण्डो, पृ. ८९)

यहाँ अक्षर सङ्ख्या पुर्याउन ‘नमन’ लाई ‘नमन्’, ‘जगत्’ लाई ‘जगत’, ‘महान्’ लाई ‘महान’, ‘हुन्’ लाई ‘हुन’, ‘छन्’ लाई ‘छन’ बनाइएको छ । त्यसै गरी मखुण्डा (मखुण्डो, पृ. ८९), पछाडि (शालिग्राम, पृ. ९०) लागयतका शब्दमा हिज्जेमा कमजोरी देखिन्छ । च ल्छ, गति विधि (कामना, पृ. २२), ई र्षा प रा य ण (भोक, पृ. २५), न ग र, प्रकृति माथि (प्रकृति, पृ. ३०), भट्टी भित्र (पसिना, पृ. ३९) आदि शब्दमा पदयोग र पदवियोग अनि आहा कति राम्रो तरिका ! (मदारी, पृ. ३६) मा लेख्य चिन्ह प्रयोगमा पनि कमजोरी रहेका छन् ।

मस्तिष्कको उर्वरता र सोचको तीक्ष्णताका कुवेर गिरिधारी उपाध्याय अधिकारीको साझा कलागोष्ठी, विश्वनाथको प्रकाशन रहेको एक सय ११ पृष्ठको यस पुस्तकको मूल्य एक सय पचास रहेको छ ।

सयपत्री (सन् २०२२)

असमिया, हिन्दी र नेपाली भाषामा उत्तिकै कमल चलाउन सक्ने असमको बाक्सा जिल्लाका बहुभाषिक कवि हुन् अर्जुन उप्रेती (अप्रतिम) । उनैको पछिल्लो प्रकाशित सयपत्री (सन् २०२२) रम्बास कवितासङ्ग्रहमा एकसयओटा कविता सङ्कलित रहेका छन् ।

उप्रेतीका कविताका विषयले मानवीय मूल्यबोध र सामाजिक विसङ्गतिका साथै कविको भावनात्मक अभिव्यक्तिले समेट्न सकेको कुरा अनुभव हुन्छ । कविता एउटा यस्तो विधा हो जसले सानो स्वरूपको भएर पनि सामाजिक मूल्यबोध र मान्यतालाई सुक्ष्म रूपमा देखाउन सकेको हुन्छ । त्यसैले पनि उप्रेतीका कविता हेर्दा लाग्छ– ‘कविताको मूल लक्ष्य सामाजिक चेतना ल्याउनु र साहित्यमा नवीनताको खोजी गर्नु पनि हो ।’

कहाँ पाउँछु होला प्रभु !
मेरो मन को देवता !
काँडै काँडा सम्हालि
जो फूल बाँड्दो हो !
(देवता, पृ. २१)

हृदयमा हार्यो
बर्सने मायाँ
स र्व श्रे ष्ठ
आभास
भयो
है !
(नाता, पृ. २२)

कविले रम्बास आकृति निर्माण गर्न कविले शब्दका अक्षरहरूलाई टुक्रियाएका छन् । यति मात्र होइन यस्तै यस्तै नै (मर्म, पृ. ३७), स्वा ग त (फागुन, पृ. ३८), म सँग (धार, पृ. ३९), आ द र णी य (व्यापार, पृ. ४६), यही नै खोज्छ, यति नै छ (तिर्सना, पृ. ११८) लागायत कविता पढ्दै जाँदा पाठकले पदयोग र वियोगमा भएका कमजोरीलाई पत्ता लगाउन सक्छन् ।

सुकोमल भावना
सुवासित छन
दूषित भाव
किन हुन्थ्यो
निर्मल
मन
त्यो ?
(निर्मल, पृ. ३६)

निरुत्साहित छन
हतासामा छिन
बितेका छन
अधिकार
(दिन, पृ. ४९)

माथिका कवितामा ‘छन’ र ‘मन’ लाई दुई अक्षरको रूपमा प्रयोग गरिएको देखिन्छ । यतिमात्र होइन बस्याछन (व्यापार, पृ. ४६), हात हुन (आस्था, पृ. ४८), फैलिन्छन आनन्दले, रमेकाछन आनन्दले (तितो सत्य, पृ. १२६) लगायतमा पनि यो त्रुटि पाइन्छ ।

स्वतन्त्र लेखन र समाजसेवा पनि सक्रिय अर्जुन उप्रेती (अप्रतिम) यो कृतिको पूर्वायण प्रकाशन रहेको छ भने यसको एक सय २९ पृष्ठको पुस्तकको मूल्य एक सय ९० रहेको छ ।

कलनाद (सन् २०२२)

असमेली नेपाली साहित्यमा डा.जगन्नाथ उपाध्याय एउटा परिचित पुरानै नाम हो । अवकाश प्राप्त प्राध्यापक समेत रहेका उपाध्यायको पछिल्लो प्रकाशित रम्बास कवितासङ्ग्रह हो कलनाद (सन् २०२२) । जसमा ७५ ओटा कविता रहेकाछन् । कोरोना व्याप्त समयका बेला रचिएका प्रायः कवितामा विरह, देशभक्ति, संस्कृति, परम्परा, आध्यात्मिकता आदि विषयहरूका भावनात्मक पक्षलाई समेटिएको छ ।

कविताहरूमा मन भित्रका घाउहरू (कलनाद, पृ. १३), ज्वार भाटा जस्तै (समय, पृ. १४), अवोध शिशुहरू लाई (विडम्बना, पृ. २२), स्वरूप लाई नै (प्रकृति, पृ. ३९) मा पदयोग र कस्लाइपो (कलनाद, पृ. १३), फल त्यस्तैनै भोग्छन् (श्रीकृष्ण, पृ. १५) आदिमा पदवियोगका समस्या रहेकाछन् । त्यसै गरी कवितामा भये पनि (गोबर, पृ. ४३), थाहा पायेउ (प्रकृति, पृ. ३९), छायेको छ र (वरदान, पृ. ४६) आदि धेरै स्थानमा कथ्य भाषाको प्रयोग गरिएको पाइन्छ ।

करूणानिधि
जीव जगतका
चराचर धर्तीका
(करूणानिधि, पृ. ४२)

नहैर
मेरो
रङ्
(गोबर, पृ. ४३)

योग दिवस
मनाउदै छन ।
अनलोम विलोम
प्रमख योग मानिन्छन्
(योग, पृ. ५१)

माथिका कवितामा अक्षर सङ्ख्या पुर्याउन ‘जगत्’ लाई ‘जगत’, ‘रङ’ लाई ‘रङ्’, ‘छन्’ लाई ‘छन’ प्रयोग गरिएको छ । अनुराग प्रकाशन प्रकाशन रहेको ८७ पृष्ठको यस पुस्तकको मूल्य एक सय ५१ रहेको छ ।

तिलस्मी (सन् २०२२)

सिक्किमबाट कृतिहरूको प्रकाशन र व्यवस्थापनलाई नजिकबाट नियाली रहेकी स्रष्टा हुन् गीताश्री शर्मा । शर्माको पछिल्लो समयमा प्रकाशित कृति तिलस्मी (सन् २०२२) नारी स्रष्टाको पहिलो एकल रम्बास कवितासङ्ग्रह पनि हो । यसमा १०८ ओटा कविताहरू रहेका छन् । लेख्य भाषा व्यवहारिक र साहित्यिक गरी दुई प्रकारका हुन्छन् । नेपालीमा उच्चारण र लेखनमा भएको भिन्नता वा लेख्य र कथ्य रूपमा पाइने अन्तरले गीताश्रीका रम्बास कविता पनि दुई प्रकारका नै पाइन्छ । स्रष्टा एवम् द्रष्टा गीताश्रीको रम्बास कवितासङ्ग्रह तिलस्मीमा रहेका कविताहरूलाई हेर्दा लेखनका आधारमा अक्षर गणना गरेर पनि कविता लेखिएका पाइन्छन् ।

जित्यो कविको मन
बन्यो साहित्यको धन
लियौ रम्बासको आकृति
कसेर विश्व नै अँगालोमा
(पृ. ८३, तिलस्मी)

गाँस्छन मितेरी साइनो
कतै माइती चेलीको
भावनाको घरमा
गुरु शिष्य कहीँ
(पृ. ६९, साइनो)


एक
पागल
भावना हुँ
गुप्त शून्यता
तिम्रो सम्झनामा
(पृ. ६०, द्रविभूत)

यहाँ ‘मन’, ‘धन’, ‘घर’ र ‘पागल’ नै लेखिन्छ । यहाँ अक्षरलाई लेख्यका आधारले गणना गरेर ‘मन’, ‘धन’ र ‘घर’ लाई दुई अक्षर र ‘पागल’ लाई तीन अक्षरका रूपमा प्रयोग गरिएको पनि छ । तर उच्चारण /मन्/, /धन्/, /घर्/ र /पा.गल्/ यस्तो हुन्छ ।

मौखिक भाषा सामान्य भाषाको रूप हो भने यसलाई कथ्य भनिन्छ । कथ्य भाषा बोलीचालीको भाषा पनि हो । शब्द वा वाक्य निर्माणको मात्रै नभएर हरेक वर्णमा हुने आरोह अवरोहले कथ्य भाषा लेख्यभन्दा व्यापक हुन्छ । तर कथ्य भाषालाई लेख्य भाषाले समेट्न सक्दैन । यही कथ्य भाषालाई आधार बनाएर गीताश्रीका रम्बास कविता पनि यसै सङ्ग्रहमा रहेका छन् ।

कदर छ कर्मको
जीवन सङ्गी खुकुरी
रमाउँछु उस्मै स्पर्शमा
निभाउनु छ मैले दायित्व
(पृ. २, अचानो–२)

अभिनय निश्छल
गहन उस्को चिन्तन
सवारी गराई लक्ष्मीको
सर्दछ सौगात उज्यालोको
(पृ. १३, उल्लू)

गीताश्रीको अचानो–२ शीर्षकको कवितामा उस्मै र ‘उल्लू’ कवितामा उस्को प्रयोग गरिएको छ । यहाँ विभक्ति लाग्दा हुने ‘ऊ’ को तिर्यक् रूप (जस्तैः उसको, उसले, उसलाई) हो । त्यसै गरी,

काव्य मनमा
रम्न देऊ
भावमा
घुम्छु
मै ।
(पृ. ६७, रम्बास)

कोमल पाउ
सबैका
शीत
भै ।
(पृ. ७१, शीत)

त्यसै गरी रम्बास र शीत शीर्षकका कवितामा पनि मै र भै क्रमशः ‘म’ र ‘भई’ का रूप प्रयोग गरिएको छ ।


एक
पागल
भावना हुँ
गुप्त शून्यता
तिम्रो सम्झनामा
(पृ. ६०, द्रविभूत)

यस कवितामा प्रयोग गरिएको शब्द पागल अक्षर संरचनाका दृष्टिले दुई अक्षर हो । तर यहाँ तीन अक्षरको रूपमा प्रयोग गरिएको छ ।

निश्चल
हाँसो खुसी
पुलकीत मन्
अदम्य मुस्कान
(पृ. ५४, मुस्कान)

‘मन’ अक्षर संरचनाका दृष्टिले एकाक्षरी नै हो । तर यहाँ ‘मन्’ बनाइएको छ ।

जनपक्ष प्रकाशन सिक्किमको प्रकाशन रहेको गीताश्री शर्माको एक सय ५८ पृष्ठको यस पुस्तकको मूल्य पाँच सय रहेको छ ।

डाली (वि.सं. २०७९)

तनहुँका कवि शेषमणि आचार्यको डाली (वि.सं. २०७९) नेपालबाट प्रकाशित पहिलो रम्बास कवितासङ्ग्रह हो । जसमा एक सय दुईओटा कविताहरू रहेका छन् ।

साहित्य सिर्जना गर्दा आफ्नै मनको अभिव्यक्ति शब्दमा पोखिने भएकाले मूलतः समकालीन समयका भावना नै विम्बका रूपमा साहित्यमा प्रतिबिम्बित हुने गर्छन् । कवि आचार्यले समाजमा विद्यमान विकृति, विसङ्गतिलाई रम्बास कवितामार्फत तीक्ष्ण प्रहार गरेको देखिन्छ । धेरैजसो कवितामा समाजमा विद्यमान विकृति र विसङ्गति अनि केही कवितामा प्रकृतिको प्रसङ्ग जोडिएको पाइन्छ । मानिसमा अन्तर्निहित गुण र क्षमताको चिरफार गर्दै कविले मानवीय प्रवृत्तिलाई समेत उजागर गरेको देखिन्छ ।

घोर रात्रिमा बल्दै
धि प धि प, चि म चि म
उज्यालो समयको चिनो
यिनले दिन्छिन्, हो कति प्यारो ।
र ज नी — न य न प रे ला
दर्शक भ्रान्त पथिक
(जुनकिरी, पृ. ३)

कवितालाई रम्बासको आकृति दिलाउने नाममा एउटै शब्दका प्रत्येक अक्षरलाई छुट्टाछुट्टै लेखिएका अनगिन्ती (पृ. ५, २४, २५, ४५, ५८, ६२, ८४, ८८, ९४, १०२) भेटिन्छन् ।

मनको जनको
ती निमुखा हरूको
निर्धा श्रमिकहरूको
सज्जन र देशभक्तको
(कविता, पृ. १००)

रम्बास हो
भारी अनौठो
त ल बाट गन
एक दुई तीन् चार
जाऊन आऊ फेरि नि
गन्दै जाऊ त अनि अ नि
(अन्तिम डाली, पृ. १०२)

त्यसै गरी डाली कवितासङ्ग्रहमा रहेका कवितामा (निमुखा हरूको, त ल बाट, अ नि) पदयोग र वियोगका नियमलाई पनि अनुसरण गरिएको पाइँदैन ।

कतै कोमल मन
सहिद नबनोस्
मेरो भावना
लुकेको छ
प्रेमिल
मन

(प्रेमिल, पृ. ८५)

सकार होस् शब्द !
म खोज्छु नि निरन्तर !
आऊ हे ! मिठा शब्दहरू !
दलित अनि छन् !
आवास विना !
(शब्द, पृ. ९१)

आवश्यक स्थानमा लेख्य चिह्न प्रयोग गरेको अथवा कवितामा चिह्न प्रयोगलाई ध्यान दिएको देखिँदैन ।

पार्यो नि हैरान
सातो खान्छ व्याकर्ण
झाँको झार्छ कमान्डर
…………………….
मोहनी हो कि तिम्रो
जिल्लै पार्यो यस्ले
खुत्रुक्कै पार्यो
(खुत्रुक्कै, पृ. ९९)

कवितामा ‘व्याकरण’ लाई ‘व्याकर्ण’ र ‘यसले’ को कथ्य रूप ‘यस्ले’ प्रयोग गरेको देखिन्छ । रम्बास अक्षर सङ्ख्या गणना गरेर लेखिने कविता भएकोले सङ्ख्या पुर्याउनकै लागि एउटै कवितामा लेखाइमा भिन्नता देखिनु पनि राम्रो होइन ।

नेपाली साहित्यको पहिलो रम्बास कवितासङ्ग्रह डालीको रामकुमारी आचार्य र इन्द्रप्रसाद नेपाल प्रकाशक रहेको एक सय दुई पृष्ठको यो पुस्तकको मूल्य तीन सय रहेको छ ।

काव्यसुधा (वि.सं. २०७९)

राष्ट्रिय वाणिज्य बैँकबाट अवकास प्राप्त व्यक्ति समेत हुन् कवि एलपी पराजुली । २०७७ भाद्र २० गते ‘आह्वान’ शीर्षकको कविता लेखेर रम्बास कविता लेखनयात्रामा यात्रारत कवि पराजुली उपन्यासकार समेत हून् ।

पराजुलीको पछिल्लो समयमा प्रकाशित कृति नेपालबाट प्रकाशित दोस्रो रम्बास कवितासङ्ग्रह काव्यसुधा (वि.सं. २०७९) मा असीओटा कविताहरू रहेकाछन् । एक शब्दको शीर्षक दिएर त्यसैको केन्द्रमा भावहरू रम्बासको आकृतिमा ढालेका छन् कवि पराजुलीले ।

कवि एलपी पराजुली विषयवस्तु, शीर्षक छनोट र भाव संयोजनमा निपूर्ण देखिन्छन् । कविताहरूमा सूक्ष्म मानवीय अनुभूति, त्यो चाहे मान्छेको चारित्रिक विसङ्गति होस्, सामाजिक नैतिकताको अपक्षय होस्, प्रेमभावना होस्, प्रदूषित प्रकृति र पृथ्वी होस् वा राजनीतिमाथि होस्, सबै भावनाको प्रभावी प्रतिफलन भएको पाइन्छ । प्रायः कवितामाथि र तल दुवैतिरबाट पढ्दा अर्थ निस्कने खालका छन् ।

सन्तुष्ट छु आज
जीवनभरि
कसैसँग
गुनासो
छैन
हो
(पृ. ५७, बुद्घमन)

माथिको कविताका पङ्तिमा ‘छैन’ ले नै कविता समापन गरेपछि ‘हो’ अक्षर सङ्ख्या पुर्याउन मात्र कविले प्रयोग गरेको देखिन्छ ।

घुमि रहेछन्
वरि परि
चिहान
भित्र

(पृ. ९४, चिहान)

अशान्त संसार
अस्थिर मन
व्यग्रतामा
नबसौँ
कोहि
ल ।
(पृ. ७९, ध्यान)

कृतिमा गदगद, आभाष, बिक्रि, माथी, उ, सक्दीनँ, अगाडी, देवि लगायत शब्दमा हिज्जे अनि पदयोग र पदवियोगमा समस्या रहेकाछन् । कवि एलपी पराजुलीको यो कृति भूगोल साहित्य समाज प्रकाशक रहेको छ भने एक सय पृष्ठको यस पुस्तकको मूल्य दुई सय रहेको छ ।

निष्कर्ष

नेपाली साहित्यमा रम्बास कविताको प्रभाव दिनानुदिन बढिरहेको छ । यो कविता अक्षर गणना गरेर सिर्जना गरिन्छ । तथापि यी रम्बास कवितासङ्ग्रहका कवितामा भाषाका विभिन्न पक्ष (चिन्ह प्रयोग, अक्षर सङ्ख्या र संरचना, पदयोग र पदवियोग आदि) मा कविहरूको कमजोरी देखिन्छ । शब्दद्वारा अकृति निर्माण गर्नु कविता होइन अनि भाषाको मानकलाई बिगार्नु पनि प्रयोग होइन । सैद्घान्तिक स्थिरता आइनसकेकोले रम्बास कविता लेखनमा विविधता र अझै आन्तरिक विरोधाभासहरू रहेका देखिन्छन् ।

भनिन्छ, इतिहासमा कहिलेकाहीँ यस्ता क्षण आउँछन् जब स्वयम् इतिहासको श्वास अवरुद्ध हुन थाल्छ । केही यस्तै अवस्था रम्बास कविताको पनि छ । केही कविहरू वर्तमानमा यस वैचारिक अग्रगामितालाई एउटा आयामसित व्याख्यायित गर्छन्, जसको आलोकमा अनेकौँ मुलभूत समस्याहरूका सम्बन्धमा कविहरूको कलात्मकतामा निकै परिवर्तित भइसकेको छ ।

रम्बास कविहरूलाई एउटा चुनौतिको सामना गर्नु छ । यस्ता केही स्रष्टा एवम् द्रष्टाको पनि अभाव छैन जो रम्बास कवितालाई राम्रो दृष्टिले हेर्दैनन् । र पनि किन यसको भाषा पक्षमाथि त्यति ध्यान दिइँदैन ? त्यसैले पनि रम्बास कविता सिर्जनामा कविहरूमा विविधता र दुविधा रहेको हुनसक्छ । रम्बासलाई आधार बनाएर कविता विधामा यसको आफ्नै परिचय र स्थान स्थापना गर्न बाँकी नै छ । यस कार्यमा सम्पूर्ण कविहरूमा लेखन निरन्तरताको शुभकामना ।

सन्दर्भः

आचार्य, शेषमणि, डाली, रामकुमारी आचार्य नेपाल र इन्द्रप्रसाद नेपाल, तनहुँ, वि.सं. २०७९ ।
उपाध्याय, जगन्नाथ, कलनाद, अनुराग प्रकाशन, असम, सन् २०२२ ।
उपाध्याय, गिरिधारी, शालिग्राम, साझा कलगाोष्ठी, विश्वनाथ, असम, सन् २०२२ ।
उप्रेती, अर्जुन अप्रतिम, सयपत्री, पूर्वायण प्रकाशन, असम, सन् २०२२ ।
पराजुली, एलपी, काव्यसुधा, भगोल साहित्य समाज, काठमाडौँ, वि.सं. २०७९ ।
बोहोरा मिलन, तानाबाना, पूर्वायण प्रकाशन, सन् २०२१ ।
बोहोरा र सेडाइँ (सं.), मिलन, देवीचरण, वरपिपल, खडानन्द शर्मा र पुरुषोत्तम उपाध्याय दाहाल, असम, सन् २०२२ ।
शर्मा, गीताश्री, तिलस्मी, जपपक्ष प्रकाशन, सिक्किम, सन् २०२२ ।