‘तेस्रो आँखो’ काव्यकृतिपछि चर्चामा आएका कवि हुन् रुद्र बराल। यो कृति सन् २०२० मा प्रकाश भएको हो। कविता कृति प्रकाशित हुनुअघि उनी सामाजिक सञ्जालमा बाक्लै कविता लेख्तै थिए। कृति प्रकाश अगावै उनका कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा पनि प्रकाशित भएको पाइन्छ। यसै त बराललाई कुन विधा मनपर्छ भनी सोध्दा सोझै कथा विधाको नै कुरा गर्छन्। सन् २०१४ मा ‘चरित्रहरूको खोजीमा अल्मलिँदा’ शीर्षकको उनको एक कथा कृति पनि प्रकाश भइसकेको छ। तर, उनका दुई कविता कृति ‘तेस्रो आँखो’ र ‘कागजको नाउ’को (२०२२) प्रकाशनपछि पाठकहरूले उनलाई कविको रूपमा बढी मन पराएको देखिन्छ। बरालका कवितामा नयाँ शैली छ, नयाँ प्रयोग छ। त्यसैले पाठकहरूले औँधी मन पराएको हुनुपर्छ। काव्यिकताको मिठास छ त्यसैले पाठकहरूले उनका कविता पढेको भेटिन्छ। मैले पनि हालै प्रकाशित भएको ‘कागजको नाउ’ काव्यकृति पढेँ। यसघरी यसै कृतिमाथि घोत्लिँदै छु।

रुद्र बरालको कृतिगत परिचयको कुरा गर्नु हो भने उनका मौलिक कृति पाँचवटा, अनूदित पाँचवटा र दर्जनजति पुस्तक सम्पादन गरेको थाहा लाग्छ। ती कृतिहरूले उनलाई कवि, कथाकार, अनुवादक, समालोचक, निबन्धकार साथै कुशल सम्पादकका रूपमा चिनाउँछ। नेपालीमा मात्रै होइन उनी असमिया, हिन्दी र अङ्ग्रेजी भाषामा पनि लेख्तछन्। असमको शोणितपुर जिल्ला अन्तर्गत बडसोलाको बरभोगिया गाउँमा बसोबासो गर्ने रुद्र बराल संस्थागत र व्यक्तिगत तौरमा साहित्यिक क्षेत्रमा सक्रिय देखिन्छन्। उनी सामाजिक सञ्जालमा पनि साहित्यिक गतिविधिमै व्यस्त देखिन्छन्। त्यसैले बर्सेनि कुनै न कुनै विधाको कृति लिएर पाठकबिच झुल्किने गर्छन्। सन् २०२२ को फेब्रुअरी महिनामा कविता कृति ‘ कागजको नाउ’ लिएर झुल्किएका हुन्। पूर्वायण प्रकाशन, गुवाहाटीको प्रकाशन रहेको ‘कागजको नाउ’ कृतिको मूल्य १७५ रुपियाँ रहेको छ। पुस्तकमा शुभकामना सन्देशहरू डा. वासुदेव पुलामी, मोहन सुवेदी, रचना अनाकार र धर्मेन्द्र उपाध्यायले लेखेका छन्। कृतिको भूमिका लेखिएको पाइँदैन। कृतिमा लामाछोटा गरेर ४३ वटा कविता सन्निविष्ट छन्। प्रस्तुत कृतिमा ‘काबुलीवाला’ लामो कविताका रूपमा छ जसले साढे तीन पृष्ठको आयतन ओगटेको छ। सबैभन्दा छोटो कविता ‘मानसिकता’ रहेको छ जो पाँच पङ्क्तिको छ।

यस कृतिमा प्रशस्तै मात्रामा बिम्बको प्रयोग भएको देखिन्छ। भूपि शेरचनको चर्चित कविताकृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भित्रको ‘हामी’ कवितामा प्रचुर बिम्ब, प्रतीक र मिथकको प्रयोग भएको पाइन्छ। भूपि शेरचन, अगम सिंह गिरीका कविताहरू बुझ्न जसरी निकै दिमागी कसरत गर्नुपर्ने हुन्छ त्यसरी नै बरालका कविताहरू पनि सजिलै ठम्याउन सकिँदैन। बरालका प्राय:जसो कवितामै बिम्बको भरपुर प्रयोग भएको पाइन्छ। उनका कवितामा विषयवस्तुको विविधतासहितै बिम्बको प्रयोगमा पनि विविधता पाइन्छ। यसै त कवितामा बिम्बको प्रयोग हुन्छ नै। नत्र कविता एउटा केवल सपाट वर्णन मात्रै हुन पुग्छ।

बिम्ब भनेको कुनै सतहमा देखिने वस्तुको छाया हो। यो वस्तुको एउटा रूप वा आकृति पनि हो। कहिलेकाहीँ बिम्बले वस्तुलाई सादृश्य वा रमाइलो पनि बनाउँछ। चित्रमय बनाउँछ। वस्तुको प्रभावकारितालाई बढाउँछ । कवितामा बिम्बको प्रयोगले वस्तुको एउटा चित्र निर्माण गर्छ र मस्तिष्कमा लामो समयसम्म पनि त्यसको एउटा प्रभाव छोडिरहन्छ । बिम्ब प्रयोग गरी लेखिने साहित्य रोचक र पठनीय हुन्छ, अभिव्यक्तिलाई निरस हुनबाट जोगाउँछ । बिम्बले जटिल विषयलाई पनि थोरै शब्दमा अर्थ्याउन सघाउँछ। त्यसैले आधुनिक कवितामा भाषिक सौन्दर्य सिर्जनाका लागि बिम्बको विशेष महत्त्व छ।

कृष्णनील कार्की (असम)

‘कागजको नाउ’ काव्यकृतिमा प्रशस्त बिम्ब र प्रतीकको प्रयोग भएको पाइन्छ । यस्ता बिम्ब र प्रतीक कति मिथकमा आधारित छन्, कतिपय विज्ञानसँग सम्बन्धित छन्, कति धार्मिक ग्रन्थका पात्रसँग सम्बन्धित छन्, कति इतिहासका पात्रसँग सम्बन्धित छन्, कति प्रेम-प्रेणयसँग। यस्तै बिम्बहरूको खोजी हुनेछ यस समीक्षात्मक लेखमा।

‘’प्रियतमा
आऊ। आऊ
कसम होला,
अब म तिमीसँग सेल्फीहीन प्रेम गर्नेछु
सधैँ सधैँ।‘’ (प्रियतमासँग एउटा सेल्फी, पृ-१८)

माथिका हरफहरूमा प्रियतमासँग स्वार्थहीन प्रेमको प्रस्ताव लिएर प्रेमीको बाटो हेरिरहेको बिम्बन गरिएको छ। अघिको प्रेममा केही स्वार्थहरू थिए भने अबको प्रेम निस्वार्थ रहने छ भन्ने प्रसङ्ग सेल्फीहीन प्रेमको बिम्बले प्रस्तुत गरिएको छ। प्रेमसँगको प्रसङ्ग भएकाले यो प्रणयबिम्ब हो।

‘’मेनका नाच्छे
नचाउँछे
रमाउँछे
रमाइदिन्छे…।‘’ (मेनका, पृ-९)

उपर्युक्त कविताका हरफहरूमा मेनका पौराणिक पात्रको बिम्बका रूपमा आएको छ। अप्सरा मेनकाले तपस्वी विश्वामित्रको पनि ध्यान भङ्ग गरिदिएको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा पाइन्छ। रूप र सौन्दर्यले तपस्वीको ध्यान त भङ्ग गरिदिन्छ भने साधारण मानवको त कुरै आएन। मान्छे त जतिखेर पनि भड्किन सक्छ। जतिखेर पनि साधारण मानव आजका यत्रतत्र रहेका मेनकाहरूका फन्दामा पर्नसक्ने सम्भावना मेनका मिथकीय बिम्बबाट बिम्बित गरिएको छ। यस किसिमका मिथकीय बिम्ब बरालका अरू कविताहरूमा पनि पाइन्छ। हेरौँ त केही कविताहरूका हरफहरू….

‘’व्यासबाट प्रवचन गरिन्छ देवीको महिमाका कथाहरू
‘बेटी बचाओ’ को नाराले भरिएका होर्डिङहरू
बिहानको कुहिरो नफाटी टल्किन थाल्छन् जताततै
अनि फेरि पुतली समाउने कोपिलालाई
निमोठिदिन्छ एउटा राक्षसले…..।‘’ (अस्मिता लुट्न पलिखएको सहर, पृ-३९)

उपरोक्त हरफहरूमा नारीको हाल आज पनि बेहाल छ भन्ने प्रसङ्ग आएको छ। शक्ति र भक्तिको बिम्बको रूपमा देवीलाई ल्याइएको छ भने दुष्ट र अधर्मको बिम्बका रूपमा राक्षस आएको छ। एकातिर व्यास आसनबाट नारीको महिमा गाइन्छ अनि गाउँ-सहरका होर्डिङहरूमा नारीकै गुणगान लेखिन्छ यता मौका पर्दा नारीलाई लुटिन्छ भन्ने दृष्टिकोण कविको रहेको देखिन्छ। यहाँ देवी र राक्षस दुवै मिथकीय बिम्बको समयसापेक्ष र सान्दर्भिक प्रयोग भएको छ।

‘’एकातिर
भष्मासुरको गोजीबाट फुत्किएर आएको
एउटा चन्द्रबिन्दु….।‘’(चन्द्रबिन्दु, ८१)

उल्लेखित हरफहरूमा भष्मासुर एउटा पौराणिक पात्र हो। भष्मासुरले छुनेबित्तिकै नामका अगाडि चन्द्रबिन्दु लाग्दछ(अर्थात् मानिसको मृत्यु हुन्छ)। भष्मासुरले ध्वंस, मृत्युलाई बिम्बित गरेको छ। तसर्थ भष्मासुर एउटा पौराणिक पात्रको मिथकीय बिम्ब हो।

‘’…. मानवताको छातीमाथि अश्वमेधका घोडाहरू
कुद्छन् रे अविराम
प्रगति र विकासका पाङ्ग्राहरू
कर्णको रथ भासिएझैँ भासिएका समाचारहरू….।‘’(काबुलीवाला, पृ-९७)

उपर्युक्त हरफहरूमा खुन, पसिना एकाकार गरी सत्कर्ममा लागिपरेका निरीह जनताको हालतलाई कर्णको रथको पाङ्ग्रा भासिएसँग तुलना गरिएको छ। यहाँ कर्णको रथले निरीह जनताको हाललाई बिम्बित गरेको छ। कर्णको रथको पाङ्ग्राझैँ चक्रव्यूहमा अभिमन्यु, द्रौपदीको वस्रहरण आदि बिम्बलाई पनि यस कवितामा ल्याउन सकिन्थ्यो।

‘’..अर्को आँखो टक्क क्यामेराको लेन्समा टल्काएर
हाँसौँ नहासौँको मुद्रा
तिमी सामान्य मतिर ढल्किएकी
कया गजबको थियो त्यो सेल्फी
…………
तिमी त्यहाँ थिइनौँ
थिए केवल पिठ्युँमा अक्सिजेनको सिलिन्डर बोकेर हिँडेका
कृष्णकाय मानिसहरू …।‘’ (प्रियतमासँग एउटा सेल्फी, पृ-१७, १८)

यस कविताका प्रयोग गरिएका सेल्फी, क्यामेरा, लेन्स, सिल्डिर आदि विज्ञानसँग सम्बन्धित शब्द हुन्। दिनौँ विज्ञान र प्रविधिको उन्नति भइरहेको छ। मानिसको रहनसहन, खानपान, हिँडडुल सबैमा वैज्ञानिक नव नव उपकरण प्रयोगले सुविधा भएको छ। साथै मानिसमा यसको सकारात्मकसहितै नकारात्मक पनि प्रभाव परेको छ। मानिसले केवल आफ्नो सुख-सुविधाका लागि विज्ञानलाई प्रयोगमा ल्याएका छन्। यसको उपकारिता छाडेर अपकारिता बारे सचेत छैनन्। त्यसैले भविष्यमा मानव प्रजाति विज्ञानबाटै ध्वंस हुने खतरा समागत छ। कविले मानव जातिलाई वैज्ञानिक उपकरणहरूको प्रयोगमा सतर्क गराउने क्रममा विज्ञान बिम्बको घनात्मक प्रयोग गरेका छन्।

‘’पराक्रमको अहमको राडी ओढेर
कतिदिन लुकाउनु फाटेको पत्लुन
ओजिमन्डियस
कतिदिन?’’ (चन्द्रबिन्दु, पृ-८२)

अजिमन्डियस एउटा कविता हो। यस अजिमन्डियस कवितामा कविले राजाहरूको राजा ठान्ने ओजिमन्डियसको प्रतिमा एउटा मरुभूमिमा टुक्रिएर लम्पसार भएको वर्णन गरेका छन्। विशाल मरुभूमिमा त्यो प्रतिमा देखिँदैन्थ्यो। समयको साथमा यो मूर्ति नष्ट भएर जान्छ। अर्थात् गौरव र अहङ्कार पनि समय बित्तै जाँदा माटामा विलीन हुन्छ। यसै प्रसङ्गलाई ऐतिहासिक बिम्ब ओजिमन्डियसबाट पाठकहरूलाई बुझाउन खोजेका छन् बरालले। यसमा सुनको लङ्कालाई पनि बिम्बका रूपमा प्रयोग गर्न सकिन्छ।

‘’…कस्तो थियो मेरो कविताको अनुहार- निरोको सारङ्गी जस्तो कि
कटुवालको गाइनेको?’’ (कविताको पाण्डुलिपि हराएर धुइँपत्ताल गरिरहेछु, पृ-८)

रोम साम्राज्यका शासक निरो। आदिम सभ्यता बोकेको रोममा ६ दिनसम्म भीषण आगलागी हुँदा पनि निरोले सारङ्गी बजाइरहे। रोम जलिरह्यो, निरोले सारङ्गी बजाइरहे। उनले जनताको दु:ख-पिरलाई केही गुरुत्त्व दिएनन्। आफ्नै धुनमा मस्त भए। अहिलेका केही कविहरूका कविताहरू पनि समकालीन प्रवृत्तिदेखि टाढा केवल आफ्नै गन्थनमा व्यस्त छन्। त्यसैले यस कवितामा बरालले ऐतिहासिक पात्र निरोलाई सारङ्गीसहित प्रस्तुत गरेका छन्। तसर्थ निरोको सारङ्गीलाई ऐतिहासिक बिम्ब भन्न सकिन्छ।

‘’के के थियो होला कवितामा ? वैश्विक सङ्कट कि देशको आर्तनाद?
सोमालियाको दुर्भिक्ष कि सुडानको भोक?
गाजापट्टी र वेस्टब्याङ्कका नसुकेको घाउ कुन बाँदरले कोट्ट्याइदिन्छ
एउटै धर्मले किन एक पार्न सकेन आशान्त खाडीलाई ?’’ (कविताको पाण्डुलिपि हराएर धुइँपत्ताल गरिरहेछु, पृ-७)

अफ्रिकाका लगभग सबै देशहरू नै केही न केही सङ्घर्ष गरिरहेका छन्। सोमालियाको हालत खराब छ। गृहयुद्ध, ओपनिवेशिक शासन, सरकारको अस्थिरताले गर्दा यहाँका जनताको हाल बेहाल छ। त्यस्तै सुडान पनि जातीय द्वन्द्वले गर्दा ग्रामीण जनता गरिबी, अशिक्षा र भोकमारीले आक्रान्त छन्। यहाँका डिन्का र निउर जातिभित्र पनि विभिन्न उपजाति छन्। ती उपजातिहरूभित्र पनि छुट्टै द्वन्द्व छ। अधिकांश सुडानी जनता एकछाक मात्र खाना खान्छन्। यहाँ खेतीपाती गर्नेहरूको जमिन नगर्नेहरूले लुट्ने चलन छ। सन् २००६ देखि नै इजिप्ट र इजराइलले बाहिर निस्कन नदिएपछि गाजापट्टीमा रहेका प्यालेस्टाइनीहरूको हालत खराब छ। जमिन र हवाई हमलाको सिकार भइरहेका गाजापट्टीका जनताहरू मर्दै बाँच्दै गरिरहेका छन्। वेस्टब्याङ्कको हाल पनि एउटै छ। इजरायलको कब्जामा भएको वेस्टब्याङ्क युद्ध र अशान्तिकै पीडामा छ। सोमालिया, सुडान, गाजापट्टी, वेस्टब्याङ्क आदिले देशीय सङ्कट, सरकारको अस्थिरता, युद्ध, आपातकालीन परिस्थिति, दुर्भिक्ष, भोकमरी आदि बिम्बित गरेका हुनाले यिनीहरूलाई देशीय बिम्बका रूपमा लिन सकिन्छ।

‘’पसिनासँग महाभारत लड्दैछ
एक चिम्टी माटो पाउन
एक डल्लो आटो पाउन…….।‘’(कविता, २८)

दुर्योधनको अभिमान, अहङ्कारले कौरव र पाण्डवबिच युद्ध गरायो। भाइ-भाइको भातृत्वको बन्धन मजबुतीको मिसाल नभएर हिंसा र रिसको युद्धक्षेत्र बन्यो। आफ्नो पसिना र हकको अंश पाउनुलाई पनि पाण्डवले कौरवसँग युद्ध गर्नुपरेको तितो सत्यलाई बिम्बका रूपमा महाभारतलाई बरालले भित्र्याएका छन्। त्यसैले यहाँ महाभारत धार्मिक ग्रन्थको बिम्बका रूपमा प्रयोग भएको छ।

‘’कस्तो दु:स्वप्र देखेँ हिजो राति
एउटी अफगान युवती हवाइजहाज उडाउने
दुरुस्तै तिम्रै अनुहार भएकी
एक हुल जल्लादले ढुङ्गा हानेरै मारे
अफगान युवतीले सरियतको उल्लङ्घन गरी अरे
कतै त्यो तिम्रै पार्वती त थिइन?’’ (काबुलीवाला, पृ-८८)

नारीबिना संसारको अस्तित्व रहँदैन। तर, पुरुषप्रधान समाज व्यवस्थामा नारीको अवस्था सन्तोषजनक छैन। नारी यातनाका घटनाहरू बाक्लै सुनिन्छ। झन् मुसलमान नारीहरूको अरू बिजोग छ। खासै सम्मान नै छैन। समअधिकारको त प्रश्नै आएन। उपरोक्त हरफहरूमा असहाय, लाचार र विवशताको रूपमा पार्वतीलाई नारीबिम्बको रूपमा प्रयोग गरिएको छ।

‘’इतिहास मेरो वीरताको मात्र थिएन
सरलताको पनि थियो
तर,
न वीरता, न सरलता
दुवै पराजित भए
समयको चक्रव्यूह तोड्ने नसक्ने
अभिमन्यु पुर्खा….।‘’ (कागजको नाउ, पृ-५५, ५६)

जातीय इतिहास केलाउँदा केवल वीरता मात्रै होइन सरल पनि पाइन्छ। तर, जातीय अस्मिताको प्रसङ्ग आउँदा वीरता र सरलता दुवै पराजित भएको अनुमान गर्न सकिन्छ। सायदै हाम्रा पुर्खाले समयको चाल थम्याउनु नसकेर होला। राजसत्ताको कुटिल चालमा हक, अधिकारबाट वञ्चित भएका हाम्रा पुर्खाको भोगाइलाई कविले अभिमन्यु पुर्खा भन्ने बिम्बले बिम्बित गरेका छन्। यहाँ अभिमन्यु पुर्खालाई पौराणिक बिम्ब भन्न सकिन्छ।

‘’उसका पाइतालाका तालले
बारुले कम्मरको चालले….।‘’ (मेनका, पृ-९)

बारुलाको जस्तो चटक्क छिनेको राम्रो कम्मर बनाउनुमा महिलाहरू बढी सचेत देखिन्छन्। मोडेलिङमा पनि यसखाले कम्मर भएका युवतीहरूले बढी मौका पाउँछन्। उपरोत्क कविताको हरफहरूमा पनि बारुले कम्मर बिम्बका रूपमा प्रयोग भएको छ। यसखाले बिम्बलाई सरल बिम्ब भनिन्छ। यस्ता बिम्ब कवितामा एउटै अर्थ प्रकाश गर्नुमा व्यवहार हुन्छ। यस्ता बिम्बहरू जटिल हुँदैनन्। त्यसैलेै कवितालाई सरल बनाउनुमा मदत गर्छन्। जटिल बिम्बको प्रयोगले कवितालाई क्लिष्ट र दुर्बोध्य बनाउँछ तर सरल बिम्बले कवितालाई सहज र सरल बनाउँछ। साधारण पाठकले बुझ्न सकिने।

लोकसाहित्य मौखिक वा श्रुतिपरम्परामा अडिएका र जनजिब्रोमा झुन्डिरहने सङ्कलित वाणी हो। लोकसाहित्यको लोकोक्ति अन्तर्गत पर्ने लोकआहान वा उखानको नेपाली समाजमा छुट्टै महत्त्व रहिआएको छ। उखानले प्रतीकात्मक अर्थ वहन गरेको हुन्छ। यस कविताकृतिमा केही उखान पाइन्छन्। जस्तै-ताक परे तिवारी नत्र गोतामे (नवागन्तुक, पृ-१३), एउटा माघले जाडो जाँदैन (नेपथ्यका सुस्केरा, पृ-२२), मुखले राम राम बगलीमा छुरा (नेप थ्यका सुस्केरा, पृ-२३),बार भाइ छोरा, तेर भाइ नाति बुढाको धोक्रो काँधैमाथि (हामी गाउँका मान्छे, पृ-३४), कागलाई बेल पाक्यो हर्ष न बिस्मात (हामी गाउँका मान्छे, पृ-३५), रात गयो अग्राख पलायो (लिलाम बजारमा विश्वासको पसल, पृ-४६), बस बस मौरी बुधवार जाउली (जीवन : समानुपातिक प्रतिक्रिया, पृ-७५)। यी उखानहरूलाई लोकसाहित्यिक बिम्बका रूपमा बरालले कवितामा प्रयोग गरेको पाइन्छ।

पारम्परिक बिम्बहरूको प्रयोग त कविहरूले गरेकै हुन्छन्। पारम्परिक बिम्बबाहेक कविहरूले निजी बिम्बहरू पनि प्रयोगमा ल्याएको देखिन्छ। बरालले पनि केही निजी बिम्बहरू प्रयोगमा ल्याएका छन्। यस्ता निजी बिम्बहरूले कविको प्रतिभा र मौलिक सिर्जनाधर्मिताको आयामलाई चित्रण गरेको बुझिन्छ। कल्पनाशीलताले पनि कवितामा बिम्बको सिर्जना गर्नुमा मदत गर्दछ। बरालका कविताहरू पढ्दा उनको कल्पनाशीलताको परिसर फराकिलो भएको बुझिन्छ। बरालका यस कृतिमा उनका निजी बिम्बहरू पाइन्छन् -म्युजियम बोकेका आकृति (दु:स्वप्र, पृ-१९), लुरिकान्ते शब्द (कालबेला, पृ-१६), भोकका जुलुसहरू (बिहान, २८), अन्धो भावी (हामी गाउँका मान्छे, पृ-३५), चिहानको मौनता (अस्मिता लुट्न पल्किएको सहर, पृ-३९), अनुभवको बाली (यथार्थ, पृ-४४), बाजेको दसी (लिलाम बजारमा विश्वासको पसल, पृ-४७), सुडानेली गिद्धहरू (हे ईश्वर, पृ-६१),नाङ्गो साँढे (हे ईश्वर, पृ-६१) आदि।

प्रस्तुत काव्यकृतिमा बिम्बहरूको संयोजन सुन्दर तरिकाले गरिएको थाहा लाग्दछ । बिम्बहरूको संयोजनबाट भावपूर्ण कविता सिर्जना गर्न बराल सफल भएको देखिन्छ । बिम्बबहुल कविता लेख्नु बरालको विशेषता हो । यही विशेषता ‘कागजको नाउ’ कविता कृतिमा पनि देखिएको छ । बिम्बहरू नेपाली ग्रामीण जीवन, लोकसंस्कृति, इतिहास, पौराणिक ग्रन्थ, विज्ञान आदिबाट टिपेका छन् बरालले। तर, प्रकृतिपरक, छायात्मक अथवा नाद बिम्बहरूको प्रयोग भने त्यति देखिँदैन।

बरालका कवितामा कलाचेतना र आलङ्गारिकताको समावेश पाइन्छ । उनका कविताहरू निरस र सुक्खाबाट जोगिएको पाइन्छ । बरालले कवितामा पूर्वीय र पाश्चात्य मिथकको निकै प्रयोग गरेका छन् । उनका कवितामा आगन्तुक शब्दहरू पनि निकै भेटिन्छन् । शब्दलाई केलाएर प्रयोग गर्नसक्ने क्षमताले गर्दा बरालका कविताहरू निकै जनप्रिय भएका छन्। विविध विषय, भाव, विविध शैली र विविध कलापक्षको मिश्रित समायोजन पनि बरालका कवितामा पाइने सकारात्मक पक्ष हो। कविताहरू विषयहरूको वर्णन, नारा, व्यक्तिगत गनगन आदिबाट टाढिएर समकालीन प्रवृत्ति आत्मसात गर्दै कविताले कविताकै भाषा बोलेको पाइन्छ। त्यसैले होला आजका धेरै युवाहरू बरालका कविताहरू मन पराएर कवितातिर आकर्षित भएको देखिन्छ, कविता लेखेको पाइन्छ। यो कविताका लागि शुभ सङ्केत हो। ‘तेस्रो आँखो’ र ‘कागजको नाउ’ झैँ आगामी काव्यकृतिले पनि सफलताको ताज पहिरिन सकोस्, चाँडै अर्को काव्यकृति प्रकाशनमा आओस् भन्ने शुभकामना सहित यस लेखलाई बिट मार्दछु।