एउटा मौलिक कृतिभन्दा एउटा पत्रिका धेरै पठनीय हुन सक्छ भने धेरै पाठक पाउन पनि सक्षम हुन्छ यदि त्यसले समसामयिक समाजलाई डोर्याएको छ भने । त्यसै गरी एउटा सम्पादित पत्रिकाभन्दा कुनै गुणले कमि हुँदैन एउटा मुखपत्र अथवा स्मारिका यदि उसले समयको माग बुझेर आत्मप्रकाश गर्दछ भने । साहित्यका विविध विधा समेटेर प्रकाशन गरिने हुनाले पत्रिका अथवा मुखपत्रहरू सारै आकर्षक हुने सम्भावना रहेको हुन्छ । त्यस्तो एउटा मुखपत्र किन्ने सौभाग्य भएको छ मेरो गत ११ जुलाई जामुगुडीमा अनुष्ठित भएको कविता वाचन कार्यशालामा । प्रेम विश्वकर्माज्यूको तत्परतामा बसेको पुस्तक पसलमा अरूअरू धेरै अनुवाद अथवा मौलिक कृतिका साथमा यो पुस्तक पनि राखिएको रहेछ बिक्रीको निम्ति। मात्र ६० रूपैयाँ मूल्य राखिएको पुस्तक पहिलो देखाइमै धेरै मूल्यवान् जस्तो भान हुन्छ र किनिल्याउँछु ।

प्रेम विश्वकर्माको सम्पादनमा प्रकाशित भएको ‘थुँगा’ नामको यो पुस्तक अनेसास विश्वनाथ जिल्लाको विश्वनाथ नगर शाखाको मुखपत्र हो । अङ्ग्रेजी २०१७ देखि प्रकाशित यस पु्स्तकको प्रथम अङ्क हेमकुमार गौतम र किरणबाला देवीको सम्पादनमा प्रकाशन गरिएको भनी जान्न पाइन्छ । २०१८ सनमा हेमकुमार गौतमको सम्पादनमा थुँगाको दोस्रो अङ्क प्रकाशन भएको हो नारी विशेषाङ्क हिसाबले । सन् २०१९ र २०२० मा यो मुखपत्र प्रकाशन गरिएको तथ्य पाइँदैन । सन् अङ्ग्रेजी २०२१ मा बाल विशेषाङ्कको रूपमा प्रकाश गरिएको छ यो पुस्तक जसलाई कोरोना महामारीको चपेटमा ज्यान गुमाउने बालकहरूलाई अनि आमा-बाबु गुमाएर टुहुरा भएका नानीहरूलाई समर्पण गरेको पाइन्छ । साहित्यका सबै विधा समेटेर प्रकाशन गरिएको पुस्तकमा कविता, बालगीत, कथा, नियात्रा, विज्ञान वार्ता, आदि सबै नै बालक बालिकाहरूद्वारा सर्जिएका / लेखिएका छन् भने स्वास्थ र अन्य शिशु उपयोगी निबन्ध युवा साथै अन्य ज्येष्ठ लेखकहरूद्वारा लेखिएका पाइन्छन् । पुस्तकमा पन्ध्रवटा कविता ,चारवटा कथा , दुइटा विज्ञान सम्बन्धी लेख, एउटा-एउटा नियात्रा र स्वास्थ सम्बन्धी लेख, नौवटा प्रबन्ध/निबन्ध अनि अनेसास विश्वनाथ नगर शाखा समितिका मूल सचिवको प्रतिवेदन गरी कूल मिलाएर बत्तीसवटा लेख गाभिएको पाइन्छ । अनेसास केन्द्रीय समितिका सभापति सम्मानीय दुर्गा खतिवडाज्यू अनि अनेसास विश्वनाथ जिल्ला शाखाका सभापति सम्मानीय उदयनारायण गौतमज्यूको शुभेच्छा लेखले सोभा बढाएको पत्रिकामा विश्वनाथ नगर शाखाका सभापति भक्तप्रसाद गौतमज्यूका दुई कुरा र पत्रिका सम्पादन समितिका सम्पादक प्रेम विश्वकर्माको सम्पादकीयले स्थान पाएको पाइन्छ ।

बालकबालिकाहरूले कवितामा सक्दो काव्यिकता ल्याउने प्रयास गरेका छन् भने विषयवस्तु पनि समयसापेक्ष नै रोजेका छन् । वर्तमान समयमा धेरै चर्चामा आएको पर्यावरणीय साहित्य कवितामा झल्काएका छन् नानीहरूले ।

पुस्तकमा गाभिएका कथाहरू पनि रोचक हुनुका साथै समाजलाई केही वार्ता दिन सक्ने छन् । पुस्तकमा गाभिएका तथ्यमूलक लेख, निबन्ध,जीवनी, विज्ञानका विविध विषयलाई समेटेर लेखिएका लेखहरू पनि उतकृष्ट छन् । छोटा छरिता लेखहरू पठनीय अनि समयसापेक्ष छन् ।
अनेसास, केन्द्रीय समितिबाट सर्वश्रेष्ठ शाखाको पुरस्कार ग्रहण गरिसकेको विश्वनाथ नगर शाखाको यो सराहनीय कार्य हो । कुनै साहित्य संस्थाका शाखाहरूद्वारा मुखपत्र अथवा अन्य पुस्तक प्रकाशन गर्ने कार्य सम्पादन हुनु भनेको त्यो भाषा साहित्यको श्रीवृद्धिको सङ्केत हो । बालकहरूका निम्ति छुट्टै अङ्क निस्किनु भनेको साहित्य सङ्गठनले भविष्यको सर्जकहरूलाई प्रशिक्षण दिइरहेको कुरो बुझिन्छ ।
आजका शिशु भोलिका युवा हुन् । देश र जातिका भविष्यका धरोहर हुन् । मान्छेले जन्मिँदै जानेर आएका हुँदैनन् । परिवेशमा भेटेर र लगनशीलताको साथ अनुशीलन गरेर मात्रै कुनै व्यक्ति केही विषयमा दक्ष हुन सक्दछ । अनेसास विश्वनाथ शाखाले बालक-बालिकाहरूका निम्ति साहित्यिक माहोल तैयार गरिदिएर असमेली नेपाली साहित्यको घरेडी दरबिलो बनाउने काममा पाइला चालेको विषयले सबै साहित्यिक सङ्गठनलाई ऊर्जा दिएको छ ।

सुन्दर आवरण पृष्ठले आकर्षक बनिएको यो पुस्तक बढ्दैआएका बालक-बालिकाहरूका निम्ति प्रेरणा बनिएको छ । तसर्थ यसको जोरदार बिक्रीको व्यवस्था गरी अनेसासका प्रत्येक शाखामा पुर्याउन सके असमेली नेपाली साहित्यले भविष्यमा सर्जक र पाठक दुवैको अभाव अनुभव गर्ने थिएन जस्तो लाग्दछ । ‘थुँगा’ को उत्तरोत्तर कामना गर्दै मेरो छोटो पुस्तक परिचय यहीँ समाप्त गर्दछु ।