यतिबेलासम्म त घर आइपुग्नु पर्ने हो ? घडीको सुईले एक घण्टा पहिले नै स्कुल छुट्टीको सङ्केत दिइसकेको थियो । मोबाइलको स्क्रिनमा छोरीको तस्बिर हेर्दै सन्दिपलाई फोन गरेँ । सन्दिप मेरो लोग्ने । श्रम अफिसका कर्मचारी हुन् । फोनको घण्टी बज्यो तर उठेन । एकछिन पछि सन्दिप आफैँले फोन गरे । मैले “हेलो” सँगै छोरी अझैसम्म स्कुलबाट नआएको बताएँ । सन्दिप आत्तिदै बोले– “के भन्छे यो पागल आइमाई ! अनि स्कूलमा फोन गरिस् त ?

मैले भनेँ, “छैन ।”

“हरे !”, सन्दिपले लामो स्वरमा भने ।

“अनि के हेरेर बसिरा छेस् त ? छिटो स्कूलमा फोन गरेर सोध् !,”

सन्दिपले फोन काटे । मैले स्कूलमा कल गरेँ । फोन खै कसले उठाएको हो, आवाज चिन्नै सकिनँ ।

मैले सोधेँ, “मेरी छोरी घर आइपुगेकै छैन ।”

“छोरी भन्नाले ? नाम के हो ? छोरीको..?”

“शान्ती परियार ।”

“स्कुल त दुई घण्टाअघि नै छुट्टी भएको हो त !”, बल्ल थाहा पाएँ, आवाज पाले दाइको रहेछ ।

म आत्तिएँ । आत्तिएको मन लिएर स्कूलतिर दौडेँ । दौडिँदै गर्दा फेरि सन्दिपको फोन आयो, “छोरी आइपुगी ?”

मैले “छैन” भनेँ । स्कुलमा पनि फोन गरेँ, छुट्टी भएको दुई घण्टा भइसक्यो रे । पालेदाइले भनेका । म स्कुलतिर जाँदै छु । सन्दिपले “म पनि आइहालेँ” भन्दै फोन काटे । मेरा आँखामा डरको आँसु जमिसकेका थिए । डरले खुट्टा लगलग काँप्दै थिए । स्कुलको गेटमै पालेदाइलाई देखिहालेँ । पालेदाइले मलाई देख्ने बित्तिक्कै भनिहाले– “विद्यार्थीहरू सबै गइसके । यहाँ त कोही पनि छैन । स्टापहरू पनि सबै गइसके । आज उसै त शुक्रबार । बाटोमा खोज्नु, कतै साथीहरू संग खेल्दै छिन् कि ! ” पालेदाइलाई बिन्ती गरेँ “लौ न स्कुलभित्र कतै छ कि हेरिदिनु न ! म त आत्तिसकेँ । शौचालय, क्लास, या अरू कतै छ कि ? लौ न छिटो न ! ”

पालेदाइ सँगसँगै म पनि स्कुलभित्र पसेँ । शौचालय, क्लासरूम हुँदै वरिपरि सबैतिर खोज्याँै तर कतै भेटेनाँै । पालेदाइले प्रिन्सिपल मेमलाई कल गर्दैगर्दा सन्दिप आइपुगे । हतार, निराश र डरले ओठ थर्थाराइरहेको थियो । मेरो हात खुट्टा लुलिँदै जाँदै थिए । सन्दिपले पालेदाइलाई थर्काउँदै बोले– “यस्तो लापर्बाही कसरी हुन्छ स्कुलमा ? मेरी छोरी जसरी भए पनि चाहिन्छ ।”

०००

रमेश दियाली

प्रिन्सिपल मेमले सन्दिपको आवाज फोनबाटै सुन्नु भएछ । पालेदाइले सन्दिपलाई शान्त स्वरमा भन्दै थिए, “स्कुलवरिपरि हँुदा सबैको ख्याल गर्छु तर छट्टी भएपछि त मलाई कसरी थाहा हुन्छ र ? तैपनि प्रिन्सिपल म्याम आउँदै हुनुहुन्छ, उहाँसँग कुरा गर्नुहोस् ।”

सन्दिप एकदम आत्तिएका थिए । मुखबाट के के शब्दहरू बर्बाइरहेका थिए । एकैछिनमा प्रिन्सिपल म्याम आइपुग्नुभयो । यतिबेला साँझ झमक्क पर्न लागेको थियो । मैले प्रिन्सिपल म्यामलाई हात जोडेर भनेँ, “म्याम, मेरो बच्चा ..!”

म बोल्दै गर्दा पालेदाइले स्कुलवरिपरि क्लासरूम हुँदै शौचालय सबैतिर खोजेको कुरा बताए । म्याम एकैछिन मौन रहनुभयो । एकैछिनको मौनतालाई तोड्दै बोल्नुभयो – “हेर्नुहोस् ! स्कुलको समयमा विद्यार्थीहरू हाम्रो रेखदेखमा हुन्छन् । स्कुलको जिम्मेवारी बन्छ । हाम्रो कर्तव्य पनि हो तर स्कुल छुट्टी भएपछि…”

“तर के म्याम..?”, सन्दिप रिसले बोल्न थाले– “स्कुलबाट मेरी छोरी हराएकी छ, तपाईँँहरू भाग्न खोज्दै हुनुहुन्छ । मलाई मेरो छोरी जसरी भए पनि चाहिन्छ ।”

“म बुझ्छु, तपाईँहरू रिसाउनु जाहेज छ । म भाग्न खोजेको होइन । यति मात्र भन्न खोजेको हो, स्कुलबाहिर हाम्रो जिम्मेवारीमा हुँदैन ।”, म्यामले बोलिन् ।

“जिम्मेवारी हुँदैन ! भन्नाले ! तपाईँहरूको दायित्व केही छैन ?”, मैले सन्दिपलाई रोक्न खोजेँ । सन्दिपले मलाई झड्कार्दै थपे, “अरे म्याम ! मानवता भन्ने कुरा त छ होला नि ?”

प्रिन्सिपल म्यामले लामो सास फेर्नुभयो ।

साँझका बत्तीहरू बल्न सुरु गर्दै थिए । कैयौँ घरहरू बत्तीले उज्यालो छर्दै थिए । म बिस्तारै अन्धकारमा धकिलिँदै जाँदै थिएँ । स्कूलअगाडिको रोडमा साना गाडी र मोटसाइकलहरू हर्न बजाउँदै बास बस्न जाँदै थिए । बिजुलीका खम्बाहरूमा बलेका बत्तीले रोड छेउको देवीको मन्दिर प्रष्टै देखिन्थो । म कुदेर मन्दिरमा गएँ ।

“लौ न भगवान्, मेरो छोरी भेटाइदेऊ !”, हात जोडेर मातालाई पुकारेँ ।

साँझको झिलिमिली बत्तीमा मन्दिरबाट देवीले हेरिरहेको जस्तो लाग्यो । म अन्धकारमा थिएँ । मेरा लागि चारैतिर अँध्यारो थियो । अँध्यारोमै रुमलिरहेको थिएँ । आँसु खस्दै थिए । छोरीको निर्दोष अनुहार आँखामा आएर रोकिन्थ्यो ।

म रुन थालेछु । सन्दिप र प्रिन्सिपल मेमले उठाए ।

“भगवान् बस्ने सहर होइन यो, किन ढोग्छेस् ? हिँड् छिटो ! पुलिसलाई खबर गरौँ !”, सन्दिपले उपाय खोल्यो ।

“पुलिसलाई !”, प्रिन्सिपल म्याम झस्किँदै बोल्नुभयो, “हैन, यताउति खोजौँ न पहिला । साथीको घरमा गएकी छ कि ? फेरि पुलिसकामा गएपछि स्कुलको बदनाम हुन्छ ।”

अब त अति भयो । मलाई पनि रिस उठिसकेको थियो । भनेँ, “के को बदनाम नि ? तपाईँलाई स्कुलको बदनामको चिन्ता छ, यहाँ हाम्रो छोरी हराएकी छ । अलिकति पनि लाजसरम छैन ? यो सबै तपाईँहरूकै कारणले हो… ।”, मेरो बोली नसकिँदै सन्दिपले “छिटो हिँड्” भन्दै हातमा समातेर ताने । प्रिन्सिपल म्याम पनि हाम्रो पछि–पछि आउनुभयो ।

….

नाम के हो ?

शान्ति परियार ।

उमेर ?

१४ वर्ष ।

“अनि तपाईँ चाँहि को हो ?”, प्रिन्सिपललाई देखाउँदै सोध्नुभयो ।

“म स्कुलको प्रिन्सिपल हो । मेरो नाम देवीका उपध्याय हो । कपनको मिलन चोकमा बस्छु ।”, मेमले आºनो परिचय दिनुभयो ।

“अनि किन यस्तो लापर्वाही त ? प्रिन्सिपल भएर आफ्नो विद्यार्थी स्कुलबाटै हराउँदा पनि थाहा नहुने ?”

“मैले त्यही भनेको सर !”, सन्दिपले म्यामलाई आँखा तरेर बोले ।

प्रहरीले हप्काइहाले, “तपाईँ चुप लाग्नुहोस् एकैछिन, मैले उहाँलाई सोधिरहेको छु ।”

“स्कुल समयसम्म त स्कुलमै थिइन् तर स्कुल छुट्टी भएपछि त हामीलाई कसरी थाहा हुन्छ र सर ?”, प्रिसिन्पलले भनिन् ।

“थाहा हुनुपर्छ । तपाईँहरूलाई थाहा नभए कसलाई हुन्छ ?”, सन्दिप फेरि बोले ।

प्रहरीले उसैगरि फेरि हप्काए, “तपाईँ चुप लाग्नुहोस् ।”

मैले शान्त र मलीन स्वरमा बिन्ती बिसाएँ, “लौ न सर, मेरो छोरी खोजिदिनुपर्यो ।”

“मैलै कोसिस गरिराको छु त, देख्नु भएन ?”, रुखो स्वरमा जवाफ फर्काउनुभयो ।

रातको नौ बजिसकेको थियो । बाहिर प्रहरीको गाडी साइरेन्स बजाउँदै आएर रोकियो । एक गाडी जवान केटाकेटीहरूलाई मेरै छेउ हँुदै भित्र लगे । मैले खासै ध्यान दिइनँ । आँखाले मात्र हेरेँ । एउटा केटाले चिया लिएर हामीलाई सोध्ने प्रहरीको टेबलमा राख्दै गर्दा फोनको घण्टी बज्यो । फोन प्रहरीको टेबलको लेन्डलाइनको थियो । प्रहरीले फोन उठाए । बोल्दै गर्दा अनुहारको रङ बदलिँदै गयो । हामीले सुनिरहेका थियौँ ।

“तुरुन्तै अस्पताल लानू, हामी आइहाल्छौँ ।”, प्रहरीले फोन राख्दै गर्दा हामी नतमस्तक भयाँै ।

अँध्यारो रातलाई पुलिसको गाडीको हेडलाइटले उज्यालो बनाइदिन्छ । एकैछिन फेरि उही अँध्यारो । गाडी कतातिर मोडियो पत्तै भएन ।

त्यो रात म डरले केवल थरथर काँपिरहेँ । रातभरि सुत्न सकिनँ । रातको समय भएकाले अरूकहाँ जाने आँट पनि गर्न सकिनँ । आत्तिएर, रोएर रात काटेँ । कसरी रात बित्यो ? त्यो मलाई मात्र थाहा छ ।

बिहानै काठमाडौँ घामको किरणसँगै उठ्दै थियो । मान्छेहरू दैनिक जीवनमा गरिने काममा लागिरहेका थिए । सन्दिपको आँखा खुलेको थिएन । म झ्यालमा बसेर छोरीको यादमा आँसुमा डुबेको थिएँ । एक्कासि फोनको रिङ बज्यो । म झस्कँे । फोन उठाएँ, “हेलो” ।

“तपाईँ शान्ति परियारको परिवार हो ?”, छोरीमान्छेको आवाज थियो । छोरीको नाम सुन्नेबित्तिकै भनेँ, “हो, शान्ति मेरो नै छोरी हो ।”

मन ढुकढुक गरिरहेको थियो । छाती तलमाथि गर्दै फुलिँदै जाँदै थियो । आत्तिएको शरिरलाई शान्त पार्दै सोधेँ – “मेरी छोरी कहाँ छिन् त अहिले ? अनि तपाईँ को हो ?”

“म डाक्टर कान्त शर्मा हो । ग्राण्डी इन्टरनेसनल अस्पतालबाट फोन गरेको हो । तपाईँकी छोरीलाई यहाँ उपचार हुँदै छ । चाँडो आउनुहोला ।”, यति भन्दै फोन काटियो ।

त्यसपछि होस नै हरायो मेरो । मैले सन्दिपलाई उठाएँ । देब्रे हातको चोर औँलाले आँखा मिच्दै सन्दिप उठे ।

मैले भनिहालेँ – “छोरी अस्पतालमा छ रे, डाक्टरकले फोन गरेका भर्खर ।”, मेरो बोलीसँगै सन्दिपको आँखा पूरै खुले ।

“जाऔँ, छिटो उठ्नू ।”, मैले सन्दिपको कमेज दिँदै हतार लगाएँ । सन्दिप कमेज लगाउँदै बाहिर आए । सँगै निस्कियौँ । जाँदै गर्दा जन्तरी बज्यैले देखिहालिन् । बज्यै हामी बसेको घरको मालिक्नी हुन् । सबैले जन्तरी बज्यै भनेको सुनेर हामी पनि जन्तरी बज्यै नै भन्थ्यौँ । हामी निस्कँदा, कौसीमा बसेर बत्ती काट्दै रहेछिन् ।

“कहाँ हिँड्यौ र बिहान बिहानै ?”, कौसीबाट जन्तरी बज्यैले सोधिहालिन् ।

सन्दिपले पछाडि नफर्की उत्तर दिए, “केही होइन, त्यही परसम्म बज्यै ।”

“बोल्न पनि पैसा लाग्छ झँै गर्छन् है ।”, फेरि एकैछिन पछि उही आवाज, “यिनीहरूको चुरीफुरी बढिरहेको छ आजकाल ।” बज्यैको सानो स्वर मात्र सुनेँ । खासै ध्यान दिइनँ ।

“कुन अस्पताल रे ?”, सन्दिपले ट्याक्सी रोक्दै सोधे ।

“ग्राण्डी इन्टरनेसनल अस्पताल भनेको थियो ।”, मैले ट्याक्सीमा चढ्दै उत्तर दिएँ ।

“ग्राण्डी इन्टरनेसनल अस्पताल हो ?”

“अँ..!”, भनेँ मैले ।

“बिहानै बोनीको समय छ, तीन सय दिनु है !”, ट्याक्सी दाइले पैसा मागिहाले ।

सन्दिपले ब्याग घरमै छोडेछन् । सायद मैले हतार लगाएकाले होला । मैले पाँच सयको नोट झिकेर दिएँ ।

“दिदी, मसँग त फिर्ता गर्ने पैसा छैन त ?”, ट्याक्सी दाइले ल्याङल्याङ गर्न थाले ।

“तपाईँ नै राख्नुहोस् पूरै, बरु छिटो जाऊ ।”, मैले रिसाएरै भनँे ।

ट्याक्सीदाइले गाडी बिस्तारै नयाँ बसपार्क हुँदै एभ्रेष्ट बैङ्कको पछाडिबाट टोखा रोडको ग्राण्डी इन्टरनेसनल अस्पतालमा रोके । ट्याक्सीदाइले “यही हे” भन्दै फुत्त हिँडिहाले ।

हामी हतारिँदै अस्पतालभित्र पस्याँै । भित्र पस्दै गर्दा पुलिसहरूलाई ढोकामा देखेँ । हामीलाई हेरे तर केही भनेनन् । ढोकाभित्रको कोठालाई छोडेर दाहिने कोठामा सोध्याँै, “मेरी छोरी… ?” अक्मकिँदै शब्दहरू बाहिर निस्किँदै थिए ।

सन्दिपले सान्त्वना दिँदै भने, “यहाँबाट फोन आएको थियो, हाम्री छोरी यहाँ ल्याएको छ रे ?”

“छोरीको नाम ?”, भित्रबाट नर्सले सोध्नुभयो ।

“शान्ति परियार ।”, सन्दिपले नाम भनेपछि भित्र बोलाए । भित्र जाँदै गर्दा माक्स लगाउनु भने । सिडी उक्लिँदै गर्दा डाक्टरलाई भेटिहाल्यौँ ।

सोध्नुभयो डाक्टरले, “शान्ति परियारको परिवार हो तपाईँहरू ?”

हामीले हात जोडेर “हो” भन्याैँ ।

डाक्टर लामो सास फ्याँक्दै बोल्नुभयो, “म डाक्टर कान्त शर्मा, मैले नै हो फोन गरेको ।”

सन्दिपले सोधिहाले, “कसरी डाक्टर मेरो छोरी यहाँ ? स्कुल गएकी मेरी छोरी ! कसरी ?”

डाक्टर भुँइमा हेर्दै बोल्नुभयो, “यो सबै कसरी मलाई थाहा छैन । हामीले हाम्रो काम गरिरहेका छाँै । भन्दा दु:ख लाग्छ, म माफि चाहन्छु तर मैले भन्नैपर्छ ।”

डाक्टरको कुरा बीचैमा रोक्दै मैले भनेँ, “किन कुरा घुमाउनु हुन्छ डाक्टर ! के भएको छ मेरी छोरीलाई ?”

सन्दिपले मेरो कुममा थपथपाउदै रोक्दै थियो । मैले सन्दिपको हात फ्याँक्दै बोल्दै थिएँ, “भन्नुहोस् न डाक्टर ! म्याम ! मेरो छोरीलाई के भएको छ ?”

“उफ्…” डाक्टरले भने – “तपाईँकी छोरीको सामूहिक बलात्कार भएको छ । हिजो राति यहाँ पुलिसले ल्याएको हो । होस आएको छैन । यौनाङ्ग पूरै रगतले पोतिएको छ । घाँटी र तिघ्रामा पनि नीलडाम छ । अहिले हेर्न मिल्दैन ।”

डाक्टर बोल्दै गर्दा म बेहोस भएछु । बिहोसमै चिच्याएछु । सन्दिप पनि भुइँमै ढलेछन् । सायद दुई घण्टापछि प्रहरीहरू आउँदा मात्र उठेछु । वरिपरि प्रहरीहरूले घेरेका थिए हामीलाई । हामी चुप थियाैँ । छोरीको एक झल्को हेर्न पाए पनि हुन्थ्यो भन्ने झिनो आशामा बसेका थियाैँ । डाक्टर फेरि आउनुभयो । मैले देख्नबित्तिकै सोधिहालेँ, “डाक्टर, मेरो छोरी ! बिन्ती एकचोटि हेर्छु नि !”

डाक्टरले लिएर रूममा लैजानुभयो । जहाँ छोरीलाई सुताएको थियो । मैले छोरीलाई देख्नेबित्तिकै अङ्गालो हाल्न गइहालेँ ।

डाक्टर, म्यामले रोक्नुभयो, “परै बसेर हेर्नुहोस् । म बुझ्छु आमाबाबाको माया तर उपचार भइरहेको छ । अँ … फेरि यो पुलिस केस हो ।”, डाक्टरको शब्द बुझिनँ मैले ।

आमाको ममताले रोक्न सकेन मलाई । छोरीको गालामा मुई खाएँ । छोरीको अझै होस आएको थिएन । मृतशरीरझैँ बेडमा लडेको शरीरलाई स्पर्श गरेँ । सन्दिपको मन फाटेछ क्यारे । नि:शब्द मौन उभिएका थिए । शब्दहरू दबिएका थिए । मनमनै रोए होला । टुलुटुलु छोरीको बन्द आँखा हेरिरहेका थिए । डाक्टरले बाहिर लिएर आए । हामी बाहिर जाँदै गर्दा नर्सले सलेनपानी लिएर भित्र पसिन् ।

पुलिसले आफ्नो परिचय दिँदै हामीसँग बोल्न थाले – “म प्रहरी सहायक निरीक्षक बसन्त श्रेष्ठ । यो घटनाप्रति हामी लजित छौँ । हामी छिट्टै अपराधीहरूलाई समात्नेछाैँ । कानुनलाई तपाईँहरूले सहयोग गर्नुपर्छ ।”

“कस्तो सहयोग सर ?” मैले हात जोडेर भनेँ ।

“घटना भएको रात तपाईँहरू कहाँ हुनुहुन्थ्यो ?”, प्रहरीको प्रश्न थियो ।

“सर, मेरो नाम सन्दिप परियार हो ।”, मेरो त होस नै उडिसकेको थियो । सन्दिप नै पुलिसलाई बयान दिँदै थिए, “म श्रम अफिसमा काम गर्छु । हामी बानियाँटारमा भाडामा बस्छौँ । घरचैँ दमौली हो । म अफिसमै थिएँ । यो मेरो बुढी हो । घरको काम गर्छे ।”

सन्दिप बोल्दै गर्दा प्रहरी सरले सोधिहाले, “कति भयो बानियाँटारमा बस्न थालेको ?”

“त्यही सात–आठ वर्षजति भयो होला सर ।”, सन्दिपले उत्तर दिए ।

“अनि छोरी अबेरसम्म घर नआउँदा पुलिसलाई खबर गर्नुभएन त ?”, प्रहरीले कडा आवाजमा सोधे ।

“गर्‍यौँ नि सर, किन नगर्नु ?”, सन्दिपको जवाफ ।

“कुन स्कूल पढ्थिन रे ?”, प्रहरीको अर्को प्रश्न ।

“बेबील्याण्ड स्कूल, सधैँ झैँ हाम्री छोरी स्कूल गएकी तर हिजो राति यी यसले फोन गर्दा बल्ल थाहा पाएको । राती नै पुलिसकामा पनि गएका हौँ । सबैतिर खोज्यौँ ।” भन्दै गर्दा सन्दिपको आँखाबाट पानी आउन थाल्यो ।

प्रहरी सहायक निरीक्षक र अरू प्रहरीहरूको भीड जम्मा भइसकेको थियो । सोधपुछ अझै बाँकी नै छ भन्दै प्रहरीहरू गए । प्रहरीहरू जाँदै गर्दा मैले हात जोडेर बिन्ती गरेँ, “मेरो छोरीलाई बचाइदिनुहोस् ! अरू केही चाहिँदैन सर ! बिन्ती ..!”, मेरो शब्दसँगै प्रहरीहरू देखिन छोडे ।

मलाई मेरो छोरीको पीर थियो । कलिली पुतलीलाई छुन मन थियो । चिल्ला गालामा मुई खान मन थियो । काखमा राखेर खेलाउन मन थियो । सुत्नेबेलामा हात समातेर छातीमा टाँसिने छोरी, तिमी कहाँ छौ ? आँसुले भिजेको झिनो शरीरले आशाको दियो बाल्दै थियो । ईश्वरलाई पुकार्दै थिएँ । ईश्वरले सुने या सुनेनन् ? थाहा भएन ।

सन्दिप एउटा कुनामा झोक्राएर बसिरहेका थिए । मेरो मन एक तमासले उडिरहेको छ । हातको चक्र हेर्दै गर्दा डाक्टर आउनुभयो ।

मैले सोधिहालेँ – “डाक्टर म्याम ! मेरी छोरीलाई कस्तो छ ?”

डाक्टर शान्त र मौन रहनुभयो ।

मैले फेरि चिच्याएर सोधेँ, “डाक्टर, मेरी छोरी… ?”

मेरो आवाजसँगै सन्दिप जुरुक्क उठेर मेरो नजिक आए । डाक्टरले मेरो कुममा हात राखेर लामो सास फ्याँक्नुभयो । एकैछिनको मौनतालाई तोड्दै बोल्नुभयो, “हामीले सक्दो कोसिस गर्‍यौँ । मैले भन्नै पर्छ, तपाईँहरूको छोरीलाई बचाउन सकेनौँ । माफ गर्दिनुहोस् !”

म बेहोस भई ढलेँ । सन्दिपले के गर्यो, मलाई थाहा भएन ।

बिउझिँदा साँझ झमक्क परिसकेछ । सन्दिप मेरै छेउमा बसिरहेको थियो । आँखा डम्म सुनिएका थिए । छोरीलाई पोष्टमार्टमका लागि लगिएको रहेछ । १४ वर्षकी छोरीको अबोध अनुहार छातीमा टाँसिन आइपुग्यो । म अस्तव्यस्त र शिथिल थिएँ । छोरीलाई छातीमा टसाउँदा लाग्छ, म रङहरूसँगै रङ्गिदै जाँदै छु । मेरी छोरी कुदेर आउँदै गरेको देखेँ । विस्तारै मैले छोरीलाई अनुहारमा हेर्छु । अनायास एउटा विश्वास उब्ज्यो मेरो मनमा । मैले यिनलाई माया गर्नैपर्छ । हो, मैले… । च्याप्प समात्छु र अङ्गालो हाल्छु । नलजाई म बर्बराईरहेकी थिएँ । अस्पतालका बत्तीहरू बलिसकेका थिए । हामी अँध्यारो बाटो हुँदै घर आयौँ ।

भोलिपल्ट प्रहरीहरू घरमै आए । भन्दै थिए, हामीहरू तपाईँहरूसँगै छाँै । पुलिसहरूका कुराले मलाई झनक्क रिस उठ्यो । अनायसै शब्दहरू निस्किहाले, “अपराधीहरू वरिपरि घुमिरहेका छन् । तपाईँहरू के हामीलाई साथ दिनुहुन्छ ? दिनहुँजसो महिलाहिंसा अनि देशमा बलात्कार हुँदा एक शब्द नबोल्ने तपाईँहरू ? बलात्कार जस्तो संवेदनशील विषयमा बेवास्ता गर्नु पनि एक अपराध हो ।”

मेरो कुरा नसकिँदै प्रहरी निरीक्षकले सान्त्वाना दिँदै भने, “हामी छिट्टै अपराधीलाई कानुनको कठघरामा उभ्याएर कडाभन्दा कडा सजाय दिन्छौँ, तपाईँ नआत्तिनू ।”

एकातिर प्रहरीको सोधपुछ, अर्कोतिर छोरीको दाहसंस्कार । हामी जिउँदै मरिसकेका छाैँ । पलपल मर्दै छौँ । पत्रिका र टिभीमा छ्यापछ्याप्ती समाचारहरू आइरहेका थिए । यता घरबेटीले ‘तल्लो जातका रहेछौ’ भनेर निकालिदिएका छन् । जात ढाँटेर बसेका थियौँ । काठमाडौँमा बस्नै गाह्रो ।

देशैभरि छोरीको नाममा नारा लाग्न थाल्यो । “बलात्कारीलाई फाँसी दे, फाँसी दे ! फाँसी दे ..! दोषीलाई कारबाही गर, कारबाही गर, कारबाही गर !”

पत्रकारहरू आएर हौसला थपिदिन्थे । समाजले यो बुझ्नुपर्दछ कि दोषी बलात्कार गर्ने हो, बलात्कार हुने होइन । सानो भए पनि आशा थियो । छोरी बचाउन नसके पनि छोरीले न्याय पाउने छिन् भन्ने कुरामा विश्वास थियो । प्रहरीहरूले अपराधी खोजिरहेका थिए । आफन्तहरूले कुरा काटिरहेका थिए । हामी एउटा लडाइँको मैदानमा थियौँ । एउटा झिनो आशा लिएर न्यायको पर्खाईमा छौँ ।