पुरषोत्तमले मलेसियाबाट बिहानै फोन गर्यो, ‘के छ बड्डा ! हालखबर, के गर्दैछस् ?’

उसको बड्डा सहितको प्रश्नले स्वाठ्ठै दाङ पुर्यायो । भनौँ मुटुमै पुर्यायो । मुटुको पनि सेन्टरमै । मायाले मात्र पुर्याउँछ भन्छन् नि, हो त्यसैगरी । मलाई ‘बड्डा’ भन्ने शब्द बडो मायालु लाग्छ । ‘बड्डा’ शब्दसँग म अनि मसँग ‘बड्डा’ शब्दको अलिक बढी नै समीप नाता छ । कोहीकसैसँग अनि कहीँकतै बोल्दा ‘बड्डा’ शब्द प्रयोगमा नआए केही छुट्यो या केही भन्न बिर्सिएँ कि जस्तो लाग्छ । अझ बोलिएका हरेक वाक्यांशहरू पनि बेअर्थ र रिक्त भएको महसुस हुन्छ । म आफैमा अपूरो भएझैँ हुन्छु । पूर्णविराम लगाउन बाँकी भएको वाक्य झैँ हुन्छु ।

दाङको अलि चल्तीको शब्द हो, ‘बड्डा’ । म अपवाद हुने कुरै भएन । किनकि म पनि दङाली नै हुँ । त्यही भएर होला ‘बड्डा’ दङालीको पर्यायवाचजस्तै लाग्छ । पुरुषोत्तम सँगको त्यो कुराकानी सायद तीन÷चार वर्ष पछिको थियो । ऊसँग भेट नभएको करिब–करिब दश वर्ष नै भयो । केटो अहिले तिहारमा नेपाल जाँदै रहेछ । मलाई पनि तिहारको निम्तो दिन ‘कल’ गरेको रहेछ । सानोमा देउसी र भैलो खेल्दा ऊ र म धेरै मिल्थ्यौँ अनि सँगै खेल्थ्यौँ पनि । देउसी–भैलो खेल्दा उसले र मैले नै प्रायः थैलो बोक्ने गर्थ्यौ । देउसी÷भैलो खेल्दा हामीलाई कहिल्यै भोको बस्नु परेन । जतिखेर भोक लाग्यो त्यतिखेर थैलाबाट खानेकुरा झिकेर खाइहाल्थ्यौँ । यो पटक पनि केटाले पुरानो दिन फर्काउने सोच राख्याथ्यो होला । कहिलेकाहीँ हल्का रमाइलोको लागि तास पनि खेलिन्थ्यो, तैपनि लुकेर । पैसा नहुँदा पैसा हालिदिने पार्टनर पनि पुर्षेनै हुन्थ्यो । सानै उमेरबाट केटो लाउरे भयो । म नेपाल छँदै कहिलेकाहीँ दशैँ–तिहारमा आएको समयमा भेट हुन्थ्यो । ‘झन पोहोर साल नेपाल गएको थिएँ, तँ आइनस् । तँ अहिले जाँदैछस्, म आउन पाउँदिनँ बड्डा’, भनेर दवाव दिएँ,उसलाई।

खिम के.सी. (अमेरिका)

´समरमा आइजा,धेरै नखरा नदेखा भन्दै उल्टै मलाई डाइलग मार्यो केटोले। सानोतिनो भए नि स्वदेशमै ब्यवसाय सुरु गर्न पर्यो भन्ने सोचेको छु । मलेसिया फर्कन होला अब । ठाउँमा बसेको छ्स् रेखदेख त गर्लास् नि पर्या बेला भनेर जवाफी फायर गर्यो मतिरै।´ ´ त आउने बेला म काठमाडौ आउछु लिन है भन्दै हस्किदै थप्यो केटोले ।हरियो लाउडा चढन मन लाग्या छ के मलाई भन्दै आफ्नो रहर पोख्यो ।´ मलाई पनि पुरानो सम्झना याद दिलाइदियो पुर्षेले २१ नम्बरको किर्तिपुरे हरियो लाउडा ।

२०६३ सालमा मैले कीर्तिपुरमा मास्टर्सको तयारी गर्दै गर्दा क्षेत्रपाटीको पब्लिक युथ क्याम्पसमा परीक्षा केन्द्र परेको थियो । परीक्षा दिएर फर्कँदै थिएँ । कीर्तिपुरको हरियो लामो बस एक्काइस नम्बरको । सबैले त्यो ठूलो बसलाई लाउडा भन्थे । त्यो बसलाई लाउडा भन्नुको इतिहास त मलाई थाहा थिएन । तर सबैले भनेपछि मैले पनि लाउडा नै भन्थेँ । त्यो लाउडा चढ्न क्षेत्रपाटीबाट कालीमाटीसम्म पैदल कुद्नुपर्थ्यो । कालिमाटीबाट जेनतेन लाउडा चढेँ । भित्र खुट्टा राख्ने ठाउँ कहाँ, पूरै ठेलमठेल थियो । धन्न बसको गल्लीमा एउटा हातले बसको डन्डी समउन पाएँ । कुलेश्वर पुग्दै गर्दा दाङ्गबाट मित्र दुर्गालालको फोन आयो । फोन उठाउन गाह्रो थियो ।

भर्खरै मोबाइलको चलनचल्ती आएको थियो । मोबाइल राख्न पाए ठुलो मान्छेजस्तो लाग्ने के फेरि, त्यतिबेला । ठूल्दाइले मलेसियाबाट पठाइदिएको नोकिया मोबाइल थियो । अहिलेको समयको आइफोनभन्दा कम्ति थिएन, त्यो । फोन नआए पनि पकेटबाट झिक्दै राख्दै गरिन्थ्यो पनि । हाम्रो फोन अरुले पनि हेरुन् भन्ने पनि लाग्ने के फेरि, त्यो उमेरमा । यो पटक त साच्चै नै फोन आएकाले जसोतसो फोन उठाएँ । ‘परीक्षा कस्तो भयो बड्डा ?’, दुर्गाले सोधे, ‘ठिकै भएको छ बड्डा’, मेरो प्रतिउत्तर थियो । बसमा छु । घर पुगेर कल गर्छु बड्डा भनेर फोन काटेँ । फोन राख्न के पाएको थिएँ । छेउकै सिटमा बसेका अङकलकै उमेरको मान्छेले ‘बाबुको घर दाङ हो’, भनेर प्रश्न तेस्राए । किन र अङकल’, मेरो प्रतिप्रश्न । ‘बाबु ! मेरो घर पनि दाङको तुलसीपुर हो’, अङकलको जवाफ थियो ।
‘बाबुले फोनमा ‘बड्डा’ भनेको सुनेर घर पक्कै दाङको हो भन्ने लाग्यो’, उनले थपे । ‘हजुर अङ्कल !’, भनेर म मुसुक्क हाँसे मात्र ।

काठमाडौंमा लाउडा चढ्नुको मज्जा नै बेग्लै हुन्थ्यो । हाइसको यात्रा निकै गाह्रो । शरीर आधा भाँचेर कच्याक–कुचुक्क भएर यात्रा गर्नुपर्ने । मान्छेको सङ्ख्या पनि थोरै अट्ने । हावा छिर्ने चरोसम्म नहुने के, हाइसमा त । झ्यालमा बसेका बाहेक अरुले सास फेर्नै मुस्किल पर्थ्यो । थोरै मान्छे अट्ने भएपछि थोरैको मात्र अनुहार देखिन्थ्यो । लाउडामा उभिन परे पनि केही अप्ठ्यारो नलाग्ने । अग्लो भएकाले उभिएरै भए पनि लाउडाकै यात्रा ठिक । लाउडामा दुईवटा ढोका भएकाले चढ्न र ओर्लन पनि सजिलो हुन्थ्यो । हावा हल्का भए पनि भित्रसम्म छिथ्र्यो । उकुसमुकुस लाग्दैनथ्यो, लाउडामा । साच्ची ! गाउँ नै उठाएर गुड्थ्यो फेरि, लाउडा । धेरै थरिका अझ भनौँ थरि–थरिका मान्छ्या अनुहार बोक्थ्यो लाउडाले । फरक अनुहार भएकाहरूबाट अनेकन कुरा सुन्न पनि पाइन्थ्यो । कतिले आफ्ना योजनाका कुरा गर्थे । कतिले परीक्षाकै कुरा गर्थे । कतिले राजनीतिक बहसमै व्यस्त हुन्थे । कतिले भर्खरै रिलिज भएका सिनेमाको समीक्षा गरिरहेका हुन्थे । साँच्ची त्यो एउटा लाउडामा कति थरिका मान्छे हन्थे कुन्नि ! त्यो माहोल लाउडामा बाहेक अन्त कहाँ भेटिनु ? त्यही माहोलले नै हो, लाउडाप्रति मेरो अदभूत प्रेम । सायद, अरु धेरैको रोजाइ पनि त्यही भएर होला ।

एकपटक मेरो गाउँले दाइ अफिसको कामले काठमाडौं आउनुभएको थियो । दुई–चार दिन मेरै कोठामा बस्नुभयो । एकदिन मैले साँझको खाना बनाउँदै थिएँ । दाइ सहर जानुभएको थियो ।

कीर्तिपुरबाट बाहिर निस्कनेलाई सहर भनिन्थ्यो । किर्तिपुर गाउँजस्तै मानिन्थ्यो । ढोकामा ‘ढक–ढक !’ आवाज आयो । मैले ढोका खोलेँ, बत्तीस दाँत देखाउँदै दाइ भित्र छिर्नुभयो । ‘होइन दाइ के भो र त्यस्तो, बत्तीसै देखिने गरी हाँस्नु भा‘छ त ?’, दाइको हाँसो नै रोकिएन । सायद दाइको यो तेस्रो हाँसो थियो कि ! मान्छे तीन पटक हाँस्छ भन्छन् । पहिले नबुझेर, दोस्रो बुझेर र तेस्रो सुरुमा नबुझेको कुरा सम्झेर । दाइ एकछिनपछि शान्त हुनुभयो र बेलिविस्तार सुरु गर्नुभयो ।

खासमा कहानी के रहेछ भने दाइ पनि लाउडा नै चढेर आउँदै हुनुहुदोरहेछ । उही ठेलमठेलमै । सिटमा बसेका एकजना मान्छेलाई कुहिनोले हल्का धक्का लागेछ । यसो हेर्यो रे ! अनि सोधेछ । ‘हजुरको घर कता पर्यो नि, दाइलाई झोक चलेछ । रोल्पा भनिदिनुभएछ । सिटबाट अलि पर सर्दै आउनुहोस्, मिलेर बसौँ । यात्रा मिलेर गर्ने त हो नि भनेछ, त्यो मान्छेले । दाइका हड्डी र करङ हाँस्न सुरु गरेछन् । दाइलाई माओवादी आधार इलाकाको मान्छे भन्ठानेर सिट छोडिदिए अरे ! त्यसपछि मेरा पनि बतीस दाँत फुत्किने गरी नै हाँसोको फोहोरा निस्किए । त्यो पनि घोप्टो परि–परि ।

एक कालखण्ड थियो, काठमाडौं बाहिर राप्तीका सवारी साधन भनेपछि सरकारी पक्षबाट बडो निगरानी र कहिलेकाहीँ चाहिनेभन्दा बढी तनाव र यातना दिन्थे । काठमाडौंमा भने सिट नै छोडिदिन्थे । बसका सहचालकले कहिले अलिकति पछाडि सर्नु त भन्न छोडेनन् । हाम्लाई सधैँ हतार, अर्को गाडीमा सिटमा बसेर जाउँला भन्ने पनि कहिल्यै आएन । साच्चै मैले लाउडाको सिट पाएर बसेको रेकर्ड राख्नै सकिनँ । लाउडा सधैँ ‘फुल’ नै हुन्थ्यो । बस चाहिँ लास्टै बलियो । जति मान्छे राखे पनि घुइक्याएर ठाउँमा पुर्याउँथ्यो । यातायातको भरपर्दो साधन लाउडा नै थियो, त्यो बेला । कतिपयलाई त लाउडाको यात्रा उभिएरै गर्नुमा मज्जा अउने रहेछ । सिट खाली भए पनि बस्न मन पराउँदैनथे ।

बडो अचम्मको कुरा सुनायो एकजना साथीले । साथीलाई कीर्तिपुरबाट कुलेश्वरपारि झर्नुपर्ने रहेछ तर उसलाई ठेलमठेलमा रमाइलो लागेर बसको अन्तिम गन्तव्य रत्नपार्कमै पुगेछ । त्यो पनि रोडमा होइन पुरै अन्तिम बसपार्कभित्र गएर स्टार्ट बन्द नगुरुन्जेल लाउडामै उभिइरहेछ । बड्डाले लास्टै हँसायो । अहिलेसम्म पनि समय–समयमा सम्झेर हास्ने गर्छु । सायद त्यो उमेर त्यस्तै थियो । होस् भन्दा जोश बढी । मलाई पनि पब्लिक सवारी साधन चढ्न बडो मनपर्छ । धेरै पटक सात रूपैयाँमा कामै नभएर पनि चक्रपथ परिक्रमा गरेको याद छ, मलाई । लाउडा र हाइसको सत्ता पक्ष र प्रतीपक्षझैँ सधैँ यात्रु तानातान हुन्थ्यो । भित्र–भित्र हानाहान पनि । कहिलेकाहीँ त बाहिरै पनि हानाहान हुन्थ्यो, सार्वजनिक स्थलमै । एकले अर्कालाई देखि नसहने । हाइसवालाले यो लाउडाले समयमै गन्तव्य कहिल्यै पुर्याउँदैन जाममा पर्छ भन्थे । हाइस सानो छ छेउकुनाबाट पनि छिराउँदै समयमै गन्तव्य तय गर्छ भन्थे । हाइसवालाको यात्रु तान्ने ‘ट्रिक’ त होला नि ! कहिले त हातै समाएर अपहरण शैलीमा प्रायः हाइसका भाइहरूले तान्थे र हाइसमा बसाल्थे पनि ।

लाउडावाला बडो इमानदारीपूर्वक भन्थे, ‘ढिलो होला तर गन्तव्यमा अवश्य पुग्छ । हाइसको स्पिड र लापरबाहीले कहिल्यै नफर्कने गन्तव्यमा पुर्याउँछ, ख्याल गर्नुस् है’, भनेर डर देखाउँथ्यो । एकपटक टेकु हस्पिटलबाट हिडेर कीर्तिपुर पुगेको छु । दुईवटाको घम्साघम्सीले । उनीहरूको विवाद मिल्ने छाँटकाट देखिएन । अबेर भएकाले गाडी कुर्नुभन्दा हिंड्नु उत्तम लाग्यो । बरु बसमा तिर्ने पैसाले मःम खाने निधो गरेर हिँडेको हुँ । यस्ता घटना एकपटक होइन, कैयौँ पटक भएको छ । अहिलेको माहोल कस्तो छ कुन्नि ! काठमाडौं छोडेको पनि करिब–करिब १७ वर्ष पुग्यो । लाउडाको ‘रिप्लेस’ भयो होला कि नाइँ कुन्नि ? भएको भए पनि अबका लाउडा कस्ता छन् कुन्नि ? जेजस्तो भए पनि मलाई त्यै लाउडाप्रतिको प्रेम अझै पनि अदभूत छ । मलाई त्यो हरियो रङको २१ नम्बरको लाउडाको निकै याद आउँछ । त्यै २१ नम्बरको हरियो लाउडामा पुरोषत्तमलाई बोलाएर एकपटक पाङ्गा दोबाटोबाट रत्नपार्क जाने मन छ बड्डा हो ।