टेलिभजनमा विभिन्न किसिमका रियालिटी सो हेरिरहँदा बेलाबेला लाग्ने गर्थ्यो, “कहिलेकाहीँ त यो कविता लेख्नेहरुका लागि पनि रियालिटी सो हुनु नि , कस्तो रमाइलो हुन्थ्यो होला ?” रियालिटी सोमा भाग लिएर अरु रातारात चर्चामा आएको देख्दा आफूलाई पनि त्यस्तै कुनै कार्यक्रममा भाग लिन पाए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक हो । तर मैले भाग लिन सक्ने रियालिटी सो बनेकै थिएनन् नेपालमा । न मलाई गाउन आउँछ, न त नाच्न नै । न त “हिमालय रोडिज” जस्तो साहसिक रियालिटी सोमा भाग लिने आँट छ । त्यसकारण मेरा लागि रियालिटी सो केवल सपनाको विषय थियो । तर जब नेपालमा पहिलो पटक “कमेडी च्याम्पियन” रियालिटी सो आयो, मलाई पनि थोरै आश पलाएको थियो । भलै मैले अहिलेसम्म कहीँकतै कमेडी प्रस्तुत गरेको छैन । तर कविता लेख्न सक्ने मान्छेले हाँस्यव्याङ्ग्य पनि लेख्न सक्छ भन्ने मेरो विश्वास हो । त्यही विश्वासले गर्दा होला “कमेडी च्याम्पियन” को दोस्रो सिजनमा मैले पनि “डिजिटल अडिसन” दिएँ । तर “फिजिकल अडिसन” का लागि मलाई काठमाडौँ बोलाइएन । अडिसनका लागि मैले पठाएको कमेडी भिडियो मेरा नजिकका केही साथीहरुलाई पठाएको थिएँ । सबैको एउटै प्रतिक्रिया थियो, “कन्टेन्ट राम्रो छ, प्रस्तुति भएन, कविता वाचन गरे जस्तो भयो ।” प्रस्तुति होस पनि कसरी ? त्यो भन्दा अघि कहिल्यै प्रयासै गरेको थिएन त । तर कम्तिमा मेरो लेखाइमा दम रैछ भन्ने चाहिँ महसुस भयो । प्रस्तुतिमा सुधार गर्न सकियो भने अर्को सिजनमा म पनि पक्कै छानिन्छु होला भन्ने आश पाल्दै बसिरहेँ । तर अहिलेसम्म कमेडी च्याम्पियनको तेस्रो सिजन घोषणा भएको छैन । सुन्दैछु यही मङ्सिरमा डिजिटल अडिसन खुल्दैछ ।

यसकारण पनि मेरो मनमा बेलाबेला कुरा खेलिरहन्थ्यो कि कसै न कसैले त कविताको पनि रियालिटी सो बनाए हुने नि । ताकि रियालिटी सोमा भाग लिने मेरो रहर पनि पूरा हुन्थ्यो । एक दिन यस्तै-यस्तै सोचिरहेको थिएँ । त्यो सोचेको कुरालाई फेसबुकमा स्टाटस बनाएर राख्नै लागेको थिएँ, फेरि राखिन । सोचेँ, यस्तो वाइयात स्टाटस के राख्नु ? भनेर पछि हटेँ । तर मलाई कुनै दिन वाइयात लागेको कुरा आज वास्तविकतामा परिणत हुँदैछ । कम्ता खुसी लागेको छैन ।

अमन प्रताप अधिकारी, निर्देशक

आखिर मेरै जस्तो सोच अमन प्रताप अधिकारीको पनि रहेछ । मैले सोचेजस्तै उहाँले सोच्नु भएको रहेछ र त आज कविता लेख्नेहरुका लागि पनि रियालिटी सो हुँदैछ । कवितामा कलम चलाउनेहरुका लागि योभन्दा ठुलो अवसर अर्को हुन्छ होला जस्तो मलाई लाग्दैन । त्यसकारण “द पोइट आइडल” हुँदैछ भन्ने समाचार सार्वजनिक भएदेखि नै मन फुरुङ्ग भएको छ । “द पोइट आइडल” को “डिजिटल अडिसन” मा मैले पनि आफ्नो सहभागिता जनाइसकेको छु । “फिजिकल अडिसन” का लागि छानिएर काठमाडौँ जाने अवसर मैले पाउँछु पाउँदिन, त्यसको कुनै टुङ्गो छैन । तर पनि मलाई द पोइट आइडल हुने कुराले बहुत खुसी दिलाएको छ । किन भने यो कार्यक्रम कविहरुका लागि बन्दैछ । त्यो पनि पहिलो पटक । कविहरु पनि अन्य कलाकार जस्तै सेलिब्रेटी हुन् अथवा हुन सक्छन भनेर केही कविहरुले प्रमाणित गरिसक्नुभएको छ । यस प्रमाणलाई अझै बलियो बलाउन र कविको परिचयलाई अझै माथि पुर्याउन, समग्रमा भन्नुपर्दा कवि र कवितालाई समाजमा अझै फराकिलो ढङ्गले चिनाउन/बुझाउन यो प्रतियोगिताले पक्कै पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास हो ।

नेपाली साहित्यकै इतिहासमा पहिलो पटक यस किसिमको कार्यक्रम हुन लागेकोले पनि यतिबेला साहित्य बजार तातिरहेको छ । यो स्वभाविक पनि हो । नकारात्मक र सकारात्मक दुबै किसिमका टिप्पणीहरुले कार्यक्रमको प्रचारमा भूमिका खेलिरहेका छन् । साहित्यभन्दा बाहिरकालाई पनि यो चासोको विषय बनेको छ । “कविताको पनि रियालिटी सो ?” धेरैको यस्तै प्रश्न सुनिन्छ । हो, अब कविताको पनि रियालिटी सो हुँदैछ । कविहरु पनि अब रातारात चर्चामा आउने दिन आउँदैछ । “अब दुनियाँले हेर्नेछ तपाईंको कविता” कार्यक्रमको नारा नै यही राखिएको छ । पृथ्वीको कुनै कुनामा बसेर कलम चलाइरहेका नेपाली भाषी कविलाई अब विश्व नेपाली समाजले हेर्नेछ र उसका कविता सुन्नेछ । त्यो पनि फरक शैलीमा । अन्य किसिमका रियालिटी सोमा भाग लिएर अरुले चर्चा बटुल्न हुन्छ भने कविहरुले नहुने भन्ने पक्कै हुँदैन होला । कवि नवराज पराजुली कविता कन्सर्ट गर्दै देश विदेश डुलिरहँदा नेपाली साहित्यमा अरु पनि नवराज पराजुलीहरु जन्मिनु पर्छ कि पर्दैन ? यदि पर्छ भने अब त्यो जन्माउने काम द पोइट आइडलले गर्नेछ । जसरी कवि पराजुलीले सेलिब्रेटी कविको छवि बनाउन सफल भएका छन, त्यसै गरी द पोइट आइडलले अब अन्य कविहरुलाई पनि सेलिब्रेटी बनाउन मद्दत गर्नेछ । “शब्द कोर्ने मान्छे पनि हिरो हो, उसलाई हिरोकै दर्जामा राखिनु पर्छ र उसलाई त्यही बोध गराउनु पर्छ” भन्ने यस कार्यक्रमका निर्माता तथा निर्देशक अमन प्रताप अधिकारीको सोचको उच्च सम्मान गर्नै पर्छ । आखिर कोही त रहेछ जसले कविलाई आम पाठकमाझ पुर्याउन दिलोज्यान दिएर लागिपरिरहेको छ । कविहरु एउटा कोठामा मात्र सिमित हुनु हुँदैन भन्ने निर्देशक अधिकारीको धारणा छ । यसअघि “हिमालय रोडिज” का तीन सिजन, “को बन्छ करोडपति” ? र “ऐना” जस्ता चर्चित फ्रेन्चाइज रियालिटी सोको निर्माण तथा निर्देशन गरेर अमनले रियालिटी सोको सफल निर्माता/निर्देशकको रुपमा आफूलाई प्रमाणित गरिसक्नु भएको छ । यसकारण द पोइट आइडल पनि सफल हुनेछ भन्नेमा विश्वास गर्न सकिन्छ । कविता प्रस्तुत गर्ने, त्यो प्रस्तुतिकरण हिट हुने, नहुने, कविता राम्रो लेख्ने, नलेख्ने भन्ने कुराको जिम्मेवारी स्वयम् कवि कै हो । तर उसको कवितालाई सुन्दर ढङ्गले प्रस्तुत गर्न लगाएर आम पाठकमाझ पुर्याउने काम मात्र द पोइट आइडलको हो । भोलिका दिनमा कविहरुले टिककमा कविता सुनाउँदै हिँडुन्, कविताबाटै आफ्नो जीविका चलाउन, कविले पाउनु पर्ने सम्मान पाओस् भन्ने निर्देशक अधिकारीको चाहना छ । त्यसको लागि द पोइट आइडलमार्फत एउटा बाटो बनाउने काम मात्र आफूले गर्न लागेको उहाँ स्पष्ट पार्नुहुन्छ ।

डिजी शर्मा (युएई)

फ्रेन्चाइज सो कुनै पनि देशमा बनाउँदा अन्तराष्ट्रिय रुपमा उनीहरूले तोकिदिएको गुणस्तरको मापदण्ड कायम राखेर मात्रै बनाउन पाइन्छ । उनीहरुको बेन्चमार्क मिट हुने गरी सेट तयार पार्नुपर्छ । अनि मात्र कार्यक्रम गर्ने स्वीकृति प्राप्त हुन्छ । कार्यक्रम प्रसारण अवधिभर पनि त्यसको निरिक्षण भइरहेकै हुन्छ । गुणस्तर खस्किने बित्तिकै कार्यक्रम बिचैमा स्थगित हुन सक्ने सम्भावना पनि रहन्छ । त्यसो हुँदा फ्रेन्चाइज सोका निर्माता निर्देशकहरुले एक किसिमको दबाब खेप्नुपर्छ कार्यक्रमको गुणस्तरलाई लिएर । पाँच ओटा फ्रेन्चाइज सो बनाइसक्नु भएका निर्देशक अधिकारीले पनि त्यो दबाब पक्कै झेल्नु भयो होला । त्यो दबाबलाई उहाँले कुशलताका साथ पूरा पनि गरिसक्नुभएको छ । तर द पोइट आइडल हाम्रो आफ्नै कार्यक्रम हो । ठ्याक्कै यस्तै बनाउनु पर्छ भन्ने कुनै किसिमको दबाब निर्मात निर्देशकलाई छैन । त्यसो हुँदा अन्य फ्रेन्चाइज रियालिटी सो जस्तो गुणस्तरीय नबन्ला कि ? भनेर हाम्रो मनमा शंका उब्जिन सक्छ । तर कार्यक्रमको गुणस्तरमा कुनै सम्झौता नगरिने निर्देशक अधिकारी विश्वास दिलाउनु हुन्छ । यसअघिको आफ्नो पहिचानलाई कायम राख्न पनि अबको कार्यक्रम गुणस्तरका हिसाबले अब्बल बनाउनु आवश्यक देख्नुहुन्छ उहाँ । “यति धेरै कार्यक्रम गरिसकेको अवस्थामा अब आएर यसको गुणस्तरमा कम्प्रमाइज गरियो भने त यतिका वर्ष लगाएर कमाएको नाम सकिन्छ त “, उहाँ हाँस्दै भन्नुहुन्छ । द पोइट आइडलको तयारी केही महिना पहिलेदेखि नै भइरहेकोले यसको नजिता पनि राम्रै हुने अपेक्षा गर्न सकिन्छ । हरेक कार्यक्रम बनाउँदा महिनौँ अघिदेखि त्यसको पूर्व तयारी गर्ने आफ्नो बानी भएका कारण ती कार्यक्रमहरु सफल भएको उहाँ ठान्नुहुन्छ । त्यो पूर्व तयारी द पोइट आइडमा पनि भइरहेको छ ।

सिधा भाषामा भन्नुपर्दा अलिक औडा-औडा खालका कार्यक्रम निर्माण गर्ने टेलिभिजनकर्मीको रुपमा उहाँ चिनिनुहुन्छ । त्यही औडापनको एउटा उदाहरण द पोइट आइडल पनि हो । अहिलेसम्म कसैले पनि कवितामा रियालिटी सो बनाउनु पर्छ भनेर सोचेका थिएनन् होला । अथवा कवितामा पनि रियालिटी सो बनाउन सकिएला भन्ने कसैलाई लागेको थिएन होला । सोचेको भए, त्यस्तो लागेको भए अधिकारीले भन्दा पहिले उनीहरुले बनाउँथे होलान् । अहिलेसम्म कसैको दिमागमा नआएको कुरा तपाईंको दिमागमा चाहिँ कसरी आयो ? उहाँलाई मेरो पहिलो प्रश्न नै यही थियो । विश्वमाझ चर्चाको शिखरमा रहेका अन्य कार्यक्रमलाई नेपालमा भित्र्याएर त्यही स्तरमा बनाउन सफल भइसकेकोले अब आफ्नै मौलिक केही गर्नुपर्छ भन्ने सोचले नै आजको द पोइट आइडल जन्मिएको उहाँ बताउनु हुन्छ । भोलिका पुस्ताले पनि सम्झिनेगरि केही छोडेर जान सकियोस् भन्ने उहाँको चाह छ । सामान्यतया हाम्रो ध्यान आयातीत ठुला कार्यक्रमहरुमा मात्र केन्द्रित भरहेको अवस्था हो । त्यसको क्रमभङ्गताका लागि पनि द पोइट आइडल आउनु जरुरी बनिदियो । कविता नलेखे पनि आफू काव्यिक माहोलमै हुर्किएकोले कवितामै केही गर्नुपर्छ भन्ने उहाँलाई लागेको हो । त्यसका लागि नेपाली मौलिक कार्यक्रमलाई विश्वले पत्याउने बनाउन अन्तराष्ट्रिय स्तरकै बनाउनु पर्छ भन्ने उहाँलाई थाहा छ र त्यो स्तरीयता कायम गर्न चाहिने सैद्धान्तिक ज्ञान पनि उहाँसँग छ ।

यसरी कविताप्रतिको प्रेम र आफ्नो सिपको संयोजन गराउन द पोइट आइडलको अवधारणा बन्दै आएको उहाँ बताउनु हुन्छ । ठ्याक्कै यही नाम नदिइए पनि कविता सम्बन्धी केही गर्नुपर्छ भनेर केही वर्ष पहिले नै योजना बनेको रहेछ । त्यतिबेला यस्तो योजना बनाउन सहयोग पुर्याउने शैलेश कण्डेल र विकास पाण्डेलाई उहाँ यतिबेला सम्झिनुहुन्छ । जसले यो आइडिया सुझाएका थिए । तर विविध कारणहरुले गर्दा त्यो योजना सफल हुन सकिरहेको थिएन । उहाँ आबद्ध टेलिभिजनले समेत उहाँको योजनालाई पत्याइदिएन । जसले गर्दा उहाँको योजना तत्कालका लागि स्थगित जस्तो नै भयो । तर पनि योजना बन्न भने छोडेन । अन्तत : एपिवान टेलिभिजनमा प्रवेश गरेपछि त्यही पुरानो योजनालाई नयाँ ढङ्गले बिउँताउने मौका पाउनु भयो अधिकारीले ।

कविहरुको आइडल खोज्ने कार्यक्रम भएकोले यो केवल कविता लेखन र वाचन प्रतियोगिता मात्र नभएको उहाँ सुरुमै स्पष्ट पार्नु हुन्छ । यसमार्फत यस्तो कविको खोजी गरिनेछ जो कविताका हरेक पाटोमा अब्बल होस् । चाहे त्यो लेखनको कुरा होस् अथवा त्यसको प्रस्तुतीकरण । यसको नामैले यसको आधा कथा भनिसकेको छ यो के हो भनेर ।

साहित्यिक परिवारमा जन्मिएका कारण लेखकहरुको कथाव्यथासँग परिचित हुनुहुन्छ निर्देशक अमन । लेख्ने मान्छेले कहिल्यै न्याय पाएन । लेख्ने मान्छेहरु एकदमै न्यून मात्रमा अघि आएका छन् । नत्र प्राय: पर्दा पछाडि नै छन् । सुरुवात शब्दबाटै हुन्छ । तर शब्द सिर्जना गर्नेले कहिल्यै न्याय पाएन । हामीले फल खायौँ तर जरालाई बिर्सियौँ । जरालाई पनि अगाडि ल्याउनु पर्छ । त्यसैको लागि आफूहरु लागिरहेको निर्देशक अमनको भनाइ छ । त्यसैले यसमा आलोचना गर्नुको साटो बरु आफ्नो अभियानलाई सफल पार्न सहयोग गरिदिन उहाँ सम्बन्धित सबैलाई अनुरोध गर्नुहुन्छ । लेख्ने मान्छे लेखेरै बाच्नु पर्छ भन्ने उहाँका बुबा क्षेत्र प्रताप अधिकारीको सोच थियो । त्यही सोच निर्देशक अमनको पनि छ । तर समय धेरै परिवर्तन भइसकेकोले अब लेखेर मात्र बाचिन्न भन्ने कुरा लेखकहरुले बुझ्न जरुरी छ । अब लेखेको कुरालाई सुन्दर ढङ्गले प्रस्तुत पनि गर्नु पर्ने समय आइसकेको छ । त्यही प्रस्तुतीकरणको जिम्मा द पोइट आइडलले लिने हो ।

यो साहित्यको रियालिटी सो, त्यो पनि पहिलो पटक हुन गइरहेकोले भनेजस्तो प्रायोजक/विज्ञापन दाताहरु नभेटिँदा आर्थिक रुपमा केही अप्ठ्यारो महसुस भइरहेको छ निर्देशक अधिकारीलाई । अरुबेला ठुला कुरा गरे पनि कविता भन्ने बित्तिकै प्रायोजकहरुबाट सधैँ नाक खुम्च्याइएको विषय हो यो । अधिकांश प्रायोजकहरुको रुची ग्ल्यामरका कार्यक्रममा मात्र रहन्छ । अरुबेलै पनि साहित्यका अन्य कार्यक्रमहरुमा सहयोगी दाताहरु पाउन गाह्रो हुने गरेको अनुभव थोर बहुत यस क्षेत्रका प्रायःलाई छ । तर द पोइट आइडल अन्य सामान्य कविता प्रतियोगिता जस्तो मात्र नभएर अन्य रियालिटी सो जस्तै भव्य कार्यक्रम भएकोले धक नमानी यस कार्यक्रममा प्रायोजन गर्न निर्देशक अधिकारी प्रायोजक/विज्ञापनदाताहरुलाई अनुरोध गर्नुहुन्छ । सुरुवाती चरणमा नपत्याए पनि कार्यक्रमको योजनाहरु सार्वजनिक हुँदै गएपछि भने प्रायोजकहरुले अहिले अलिक विश्वास गर्न थालेकोमा निर्देशक अधिकारी खुसी व्यक्त गर्नुहुन्छ ।

रियालिटी सो भनेपछि मान्छेले त्यसको निरन्तरता खोज्छ । द पोइट आइडलले भोलिका दिनमा निरन्तरता पाउँछ कि पाउँदैन होला ? भन्ने जिज्ञासा सबैको हुन सक्छ ।

यसको अर्को संस्करण आउला कि नआउला भनेर अहिले नै सोधिहाल्नु उपयुक्त हुँदैन थियो होला । तर पनि सोधेँ “यसलाई निरन्तरता दिने विषयमा चाहिँ के योजना बनाउनु भएको छ ?” कुनै पनि कुराले निरन्तरता पाउन त्यो क्रमिक रुपमा सफल हुँदै जानु आवश्यक हुन्छ । द पोइट आइडलको पहिलो सिजन नै प्रसारण भएको छैन । प्रसारण भएर यसको नतिजा हेर्न बाँकी नै छ । त्यसकारण यसको सिजन टु बन्ने नबन्ने भन्ने कुरा पहिलो सिजन कसरी टुङ्गिन्छ भन्ने कुराले नै निर्धारण गर्ने भयो । निर्देशक अधिकारीको चाहना भने यसलाई निरन्तरता दिने नै छ । त्यतिमात्रै होइन नेपाल बाहेक अरु देशहरुले पनि यसको सिको गरून् भन्ने उहाँ इच्छा व्यक्त गर्नुहुन्छ । त्यसको ढाँचा यस्तै हुनुपर्छ भन्ने उहाँ जरुरी ठान्नु हुन्न । जुन प्रारुपमा भए पनि यस किसिमको कार्यक्रम भइदियोस् भन्ने उहाँको आशय हो । यदि अरु देशले यही नाम राखेर कार्यक्रम गर्न चाहेको खण्डमा पनि यस कार्यक्रमको अधिकार निशुल्क दिने उहाँ वाचा गर्नुहुन्छ । जुन सोच र योजनाका साथ उहाँ अघि बढिरहनु भएको छ यसलाई कायमै राखेर जान सकेको खण्डमा भोलिका दिनमा यो अझै राम्रो भएर जानेछ भनेर यसका निर्णायक कवि उपेन्द्र सुब्बाले हौसला दिनुभएको रहेछ निर्देशक अमनलाई ।

गत भदौ २६ गते आइतबार पत्रकार सम्मेलन गरेर “द पोइट आइडल” को औपचारिक घोषणा गरिएको थियो । कार्यक्रम सार्वजनिक भएसँगै यसलाई लिएर थुप्रै नकारात्मक टिप्पणीहरु पनि आइरहेका छन् । वाक् स्वतन्त्रता भएको देशको नागरिक हुनुको फाइदा पनि यही हो । उसो त कुनै पनि कुरामा शतप्रतिशत सकारात्मक विचार अथवा एउटै विचार आउँछ भन्ने छैन । जतिसुकै राम्रो काम गरे पनि त्यसको आलोचना गर्नेहरु कहीँकतै भइ नै हाल्छन् । त्यसकारण आलोचनालाई पनि सकारात्मक रुपमै लिँदा ठिक होला भन्ने लागेको छ । हरेक कुराका नकारात्मक र सकारात्मक दुबै पाटो हुने भएकोले कसले कुन पाटोबाट हेर्यो र आफ्नो विचार राख्यो भन्ने मात्र मुख्य कुरा हो । यसकारण आलोचना गर्नेहरु गलत छैनन् र प्रशंसा गर्नेहरु पनि गलत छैनन् । किन भने उनीहरु दुबैसँग आ-आफ्नो बुझाइ र दर्शन छ । उनीहरुसँग आ-आफ्नो सत्य छ । आ-आफ्नो दृष्टिकोण छ । त्यही आ-आफ्नो बुझाइमै टेकेर कसैले समर्थन गर्छन् त कसैले विरोध । तर एउटा रमाइलो कुरा चाहिँ के देखियो भने अरुबेला २०/२५ हजार रुपैयाँको कविता प्रतियोगितामा भाग लिन मरिहत्ते गर्ने कविहरुले पनि द पोइट आइडलको विरोध गरेको देखियो । अन्य कविता प्रतियोगिता र द पोइट आइडलमा संरचनागत तथा प्रस्तुतिका हिसाबले भिन्नता भए पनि आखिरमा यी दुबै कविता प्रतियोगिता नै हुन । त्यसकारण अन्य कविता प्रतियोगिताको समर्थन र द पोइट आइडलको विरोध गर्नु अलिक नसुहाउँदो देखिँदो रैछ । विरोधका लागि विरोध मात्र गर्नेहरुले त कुकुरको पुच्छर बाङ्गो देख्दा पनि विरोध गर्छन् । यस्ता विरोधीहरुलाई “उपेक्षा भाव” को सिद्धान्त अपनाउनु नै उचित हुन्छ । यसैमा डा. योगी विकाशानन्दको एउटा भनाइ यहाँ राख्न उचित लाग्यो, “आलोचना मात्र गर्ने मान्छेले जहाँ-जहाँ गन्हाउँछ, त्यहाँ नाक छिर्याएर गन्हायो भन्छ, यो पतन हुने सङ्केत हो, नगन्हाउने ठाउँ पनि त धेरै हुन्छन् ।”

अर्को पनि रमाइलो कुरा के देखियो भने द पोइट आडलको समाचार सार्वजनिक हुँदाताका यसको विरोध गर्नेहरूले अहिले आफ्ना कविता पठाइरहेका छन्, प्रतियोगिताका लागि । मेरै फेसबुक सर्कलमा रहेका साथीहरूमा पनि त्यो देखियो । रमाइलो छैन त अनि ? कार्यक्रमलाई लिएर अरु पनि थुप्रै नकारात्मक टिप्पणीहरु आउनेक्रम जारी छ । भोलिका दिनमा यस्ता आलोचनाहरु निर्माण टिमले अझै खेप्न बाँकी नै छ । किन भने कार्यक्रम प्रसारण हुन बाँकी नै छ । प्रसारण नहुँदै आलोचना आइरहेका छन् भने भोलि प्रसारण हुन थालेपछि आलोचना नहोला भनेर अहिले भन्न सकिन्न । आलोचना गर्नेहरुले विशेष गरी यस कार्यक्रमका निर्णायकद्वय निर्देशक तथा रङ्गकर्मी अनुप बराल र नायिका सुरक्षा पन्तको विषयमा आपत्ति जनाएको देखिन्छ । कलाकारितामा अब्बल भए पनि कविताको कार्यक्रममा उहाँहरु किन हुनुहुन्छ ? अथवा कविताको कार्यक्रममा उहाँहरुलाई किन राखियो ? भनेर प्रश्न गर्नेहरु धेरै देखिए सामाजिक सञ्जालमा । उसो त कविता लेख्ने मान्छेले मात्रै कविता बुझ्न सक्छ भन्ने पक्कै होइन होला । फेरि निर्देशक तथा रङ्गकर्मी बराल र नायिका पन्तको लेखनसँग पनि सम्बन्ध छ भन्ने कुरा थाहा नभएर पनि यस किसिमको आलोचना आएको हुन सक्छ । निर्देशक बराल आफैँमा एउटा राम्रो लेखक हुनुहुन्छ । त्यसैगरी नायिका पन्त पनि कवितासँग कतै न कतै जोडिनु भएकै छ । कलाकारिताका कारण उहाँहरु दुबैको लेखनको पाटो ओझेल परेको मात्र हो । नत्र भने दुबैमा काव्यिक चेत राम्रो छ । त्यसकारण कार्यक्रमको निर्णायकमा उहाँहरु किन हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिइराख्नु पर्ने आवश्यकता देख्नु हुन्न यसका निर्देशक अधिकारी । द पोइट आइडलको निर्णायकमा नायिका पन्त रहने भनेर सार्वजनिक भए लगत्तै उहाँले ८/९ वर्ष पहिले वाचन गरेको कविताको एउटा भिडियो सामाजिक सञ्जालमा साथीहरुले अपलोड गरेको देखियो । यो पनि राम्रै कुरा हो । कम्तिमा नायिका पन्त पनि कविता लेख्न्छिन् भन्ने कुराको जानकारी त भयो । थाहा नपाउनेहरुले पनि थाहा त पाए ।

द पोइट आइडलको समग्र फर्ट्याटलाई नजिकबाट बुझ्दा यसमा निर्देशक बराल र नायिका पन्तको भूमिका कविताको शाब्दिक मूल्याङ्कन भन्दा पनि कविताको प्रस्तुतीकरणको मूल्याङ्कन मुख्य पाटो हो भनेर भन्न सकिन्छ । यो केवल कविता लेखन र वाचनको मात्र प्रतियोगिता नभएकोले यसमा कविले आफ्नो कवितालाई कसरी प्रस्तुत गर्छ त्यो हेर्ने जिम्मा कलाकार बराल र पन्तको रहनेछ । कविता पनि कलाको एउटा पाटो भएकोले अरु कलासँग यसलाई मिश्रण गरेर एउटा नौलो खालको प्रस्तुति दिने योजनामा समग्र टिम लागिरहेको छ । लेख्नेहरुको चर्चा थोरै मात्र भएको छ । थोरै कवि लेखककहरुको मात्र हामी चर्चा गर्छौँ । लेख्नेहरुको यात्रामा थोरै मात्र सफल भएका छन् । त्यसकारण फेरि एउटा मौका चाहिएको छ लेख्नेहरुलाई । जसरी हिजो लेख्नेहरुको समय थियो भने अब प्रस्तुत गर्नेहरुको समय आएको छ । त्यसैको खोजीमा द पोइट आइडल जन्मिन लागेको हो ।

कार्यक्रमका अर्का दुई निर्णायक कविद्वय उपेन्द्र सुब्बा र विप्लप प्रतिकका बारेमा भने खासै आलोचना आएको देखिएको छैन । उहाँहरु जस्तो कविताका हस्तिहरुको बारेमा आलोचना गर्ने आँट कसको पो होला र ? तर उहाँहरुको बारेमा एउटा आलोचना चाहिँ देखिएको थियो । त्यो आलोचना उहाँहरुको क्षमतासँग सम्बन्धित नभएको र अरु नै सन्दर्भको आलोचना भएकोले यहाँ उल्लेख गर्न उपयुक्त लागेन । कार्यक्रमलाई लिएर आलोचना गर्नेहरुले “छन्द कविता” को मूल्याङ्कन कसले गर्छ ? भनेर एक किसिमको चिन्ता पनि व्यक्त गरेका छन् । निर्माण टिमलाई भन्दा बेसी चिन्ता उहाँहरुलाई परेको देखिन्छ । तर त्यसको लागि पनि व्यवस्था गरिएको छ । छन्द कविता मात्रै होइन, कविताका हरेक पक्षलाई केलाउन सक्ने विज्ञ टिम द पोइट आइडलसँग छ । देखाउनको लागि मात्र अगाडि चार जना निर्णायक राखिएको हो । उहाँहरुको पछाडि उहाँहरुको मूल्याङ्कनलाई थप व्यवस्थित र सहज बनाउन विज्ञहरुको समूह बनाइएको छ । तर त्यो विज्ञ समूहमा रहनुभएकाहरुको नाम सार्वजनिक गरिने छैन । कार्यक्रमको दौरानमा कुनै पनि किसिमको दबाब नआओस् भनेर त्यसो गरिएको निर्देशक अधिकारीको भनाइ छ । “प्रतियोगितामा मेरो फलानो मान्छे पनि छ, यसो हेरिदिनु पर्यो” भनेर कहीँ कतैबाट सिफारिस आउला कि भन्ने चिन्ता छ टिमलाई । तर हरेक रियालिटी सोको चलन नै के छ भने एउटा ठूलो विज्ञ टिमले कार्यक्रमको पर्दा पछाडि बसेर काम गरिरहेको हुन्छ । चार जना जजहरुले मात्र कार्यक्रम चल्ने पक्कै होइन । सिङ्गो टिमले एक साथ काम गरिरहेको हुन्छ । उनीहरु पर्दामा देखिँदैनन् त्यति हो । त्यसकारण द पोइट आइडलमा कविताको कुनै पनि रुपलाई स्वीकार गरिनेछ । सामन्यतया कविता प्रतियोगिताहरुमा आदर्शवादी कवितालाई मात्र पहिलो प्राथमिकता दिने गरेका कारण द पोइट आइडलले पनि अरुले जस्तै फरक विचार धारा र विद्रोही चेतका कवितालाई पाखा लाउने हो कि ? भन्ने चिन्ता पनि धेरैले व्यक्त गर्नुभएको पाइयो । किन भने अन्य कविता प्रतियोगिताहरुको हविगत हामीले देख्दै र भोग्दै आइरहेका छौँ । तर द पोइट आइडल एउटा बृहत् सोचका साथ आएकोले हरेक कविताहरुले स्थान पाउने छन भन्नेमा विश्वास गर्न सकिन्छ । फेरि यो लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गर्न लागिएको कार्यक्रम हो । बढी भन्दा बढी दर्शकले हेरिदिऊन् भन्ने चाहना हुने नै भयो निर्माण पक्षको । त्यसकारण यसलाई रमाइलो र ग्ल्यामरस ढङ्गले प्रस्तुत गर्नु यसको आवश्यकता हो । त्यति सजिलो कहाँ छ र रियालिटी सो बनाउनलाई ? टेलिभिजनमा एउटा अन्तरवार्ता मूलक कार्यक्रम गर्न त कति थोक व्यवस्थापन गर्नुपर्छ । यो त झन रियालिटी सो ।

यस कार्यक्रमलाई लिएर अर्को पनि एउटा चिन्ता देखियो । विशेष गरी साहित्यका अग्रज पुस्ताबाट । द पोइट आइडलले जन्माउने कविहरुले भोलिका दिनमा प्रस्तुतीकरणमा मात्र ध्यान दिएर कविताको शाब्दिक गहनतालाई बिर्सिने पो हुन् कि ? भन्ने चिन्ता उहाँहरुको देखिन्छ । तर यो त कस्ता कविहरुले प्रतिस्पर्धामा भाग लिन्छन् त्यसैमा भर पर्ने कुरा हो भन्नुहुन्छ यसका निर्माता निर्देशक अधिकारी । आफूले साहित्यका सबै विधालाई उत्तिकै माया र सम्मान गर्ने गरेको र सबैको आ-आफ्नो क्षमता तथा विशेषता हुने भएकोले सबैले सबैलाई सम्मान गर्दै अघि बढ्नु पर्ने आवश्यकता औँल्याउनु हुन्छ उहाँ । त्यसमाथि अहिले दर्शक श्रोता आफैँमा चलाख भइसककोले कसैले सजिलै झुक्याउलान भन्नू पर्दैन । यसका साथै नयाँ पुस्ताको लेखन र बुझ्ने शैली नै परिवर्तन भइसकेकोले त्यसलाई सम्मान गर्दै अघि बढ्नु पर्ने हुन्छ । त्यो परिवर्तनलाई अग्रज पुस्ताले पनि बुझ्नु जरुरी छ । समयसँग बग्न सकिएन भने समयले आफैँ छोडेर जानेछ । त्यसकारण समयको गतिसँगै कवि लेखकहरु पनि परिवर्तन हुँदै जानु आजको आवश्यकता हो । त्यसैले कुनै राम्रो चिज बन्दैछ र त्यो अगाडि बढ्न खोजिरहेको छ भने त्यसलाई अगाडि बढ्न दिनु पर्छ भन्ने निर्देशक अधिकारीको मान्यता रहेको छ । यो एउटा विश्व स्तरीय रियालिटी सो भएकोले यसका पनि केही प्रावधानहरु छन् र त्यसै अनुरुप यो कार्यक्रम अघि बढ्ने उहाँले बताउनु भयो । कविता भनेको विचार र चेतना हो, यसको प्रस्तुतीकरण गौण विषय हो भनेर मान्यता राख्ने कविहरु थुप्रै हुनुहुन्छ नेपाली साहित्यमा अहिले पनि । उहाँहरुको यो मान्यतालाई द पोइट आइडलले केही हदसम्म भत्काइदिनेछ । किन भने यसले कविताको लेखनसँगै प्रस्तुतिलाई पनि प्राथमिकता दिएको छ । त्यसकारण “स्ल्याम पोइट्री” मा रुची राख्नेहरुले द पोइट आइडलको खुलेर प्रशंसा गरिरहेका छन् । यसले भोलिका दिनमा अरु थुप्रै नवराज पराजुलीहरु जन्माउने सम्भावना देखाइदिएको छ ।

कार्यक्रम समर्पण

गामबेसीका कविका रुपमा परिचित सुप्रसिद्ध कवि तथा गीतकार स्व. क्षेत्र प्रताप अधिकारीको सम्झनामा द पोइट आइडल निर्माण हुन लागेको हो । यसका निर्माता निर्देशक अमन प्रताप अधिकारी कवि/गीतकार क्षेत्र प्रताप अधिकारीका कान्छो सन्तान हुनुहुन्छ । साझा प्रकाशनको अध्यक्ष भएर लामो समय सेवा पुर्याउनु भएका क्षेत्र प्रताप अधिकारी पञ्चायत कालमा शिक्षा मन्त्री समेत हुनुहुन्थ्यो । वि.सं. १९९९ मा तनहुँमा जन्मनु भएका कवि अधिकारीको ७१ वर्षको उमेरमा २०७० सालमा काठमाडौँमा निधन भएको थियो । उहाँका दर्जनौँ कविता र गीत लोकप्रिय छन् । त्यसमध्ये उहाँका दुई गीत नारायण गोपालले गाउनु भएको छ । नारायण गोपाल आफैँले सङ्गीत गरेको “मलाई छोडी मेरो छाँया कतै झरेछ” र दिव्य खालिङको सङ्गीत रहेको “म त लालिगुराँस भएछु वनैभरी फुलिदिन्छु” यी दुई गीत नारायण गोपालको आवाजमा वर्षौँदेखि हाम्रा कानहरुमा गुञ्जिरहेका छन् उत्तिकै लोकप्रियताका साथमा । त्यसैगरी शिलाबहादुर मोक्तानको सङ्गीत र कुन्ती मोक्तानको आवाज रहेको “गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ”, चन्दन श्रेष्ठको सङ्गीत र रामकृष्ण ढकालको आवाज रहेको “जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ”, न्ह्यू बज्राचार्यको सङ्गीत र योगेश्वर अमात्यको आवाज रहेको “तिमी आइनौ क्या ! बोर भयो” जस्ता अन्य दर्जनौँ गीतहरुले क्षेत्र प्रताप अधिकारीलाई अमर बनाएका छन् । “जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ” यो गीत पहिले नारायण गोपालले गाउने कुरा थियो । तर गीत गाउनुभन्दा पहिल्यै उहाँ बित्नु भयो । नारायण गोपालको आवाजमा रेकर्ड गर्न नपाएपछि यही गीत अरुणा लामालाई गाउन अनुरोध गरिएको थियो । उहाँ पनि यो गीत नगाइकनै बित्नु भयो । पछि २०५६ सालमा रामकृष्ण ढकालका गुरु चन्दन श्रेष्ठले गायक ढकाललाई यो गीत गाउन रिफारिस गर्नुभएको रहेछ । गायक ढकालको “आरोह” एल्बममा यो गीत समावेश छ । कवि अधिकारीका एक दर्जन बेसी कृति प्रकाशित छन् ।

अमन प्रताप अधिकारी

“डन डाइरेक्टर”का रुपमा समेत परिचित निर्देशक अधिकारीको वि.सं. २०३० साल पौष ०७ गते तनहुँमा जन्म भएको थियो । कुनै समय राष्ट्रिय फुटबल खेलाडी समेत रहिसक्नु भएका निर्देशक अधिकारी पछिल्लो अढाई दशकदेखि टेलिभिजन कार्यक्रम सञ्चालन, निर्माण, निर्देशन, म्युजिक भिडियो तथा डकुमेन्ट्री निर्देशनमा सक्रिय रहँदै आउनु भएको छ । सन् १९९८ मा नेपाल टेलिभिजनबाट फिफा वर्ल्डकप सम्बन्धी कार्यक्रम सञ्चालन गरेर उहाँको टेलिभिजन यात्रा सुरु भएको थियो । नेपाल टेलिभिजनले फिफा वर्ल्डकप सम्बन्धी कार्यक्रम प्रसारणका लागि एउटा दक्ष मान्छे खोजिरहेको थियो । पढाइमा स्नातकोत्तर सकेको, अङ्ग्रेजी राम्रो भएको र खेल पनि राम्रोसँग बुझेको मान्छे टेलिभिजनलाई चाहिएको थियो । त्यतिबेला ए डिभिजन क्लबमा अमन मात्र यस्तो एक्लो खेलाडी हुनुहुन्थ्यो जसको यी तीनै कुरा पुगेको थियो । त्यसकारण उहाँलाई मौका मिल्यो टेलिभिजनमा आउने । त्यो पनि देशकै अग्रणी टेलिभिजनमा । त्यसदेखि यता उहाँले तराई टिभी, प्राइम टाइम टेलिभिजन, कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजनमा काम गरिसक्नुभएको छ । हाल उहाँ एपिवान टेलिभिजनको कार्यक्रम निर्देशक हुनुहुन्छ । निर्देशकमा नियुक्त भएसँगै एपिवानबाट केही नयाँ र विशेष कार्यक्रमहरु आउन सुरु भइसकेका छन् । त्यसैमा एउटा द पोइट आइडल पनि पर्दछ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाज शास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक अध्यन पूरा गर्नु भएको छ । नेपाल टेलिभिजनमा पाँच वर्ष र कान्तिपुर टेलिभिजनमा करिब अढाई वर्ष काम गरिसकेपछि उहाँ सन् २००५ मा टेलिभिजन र फिल्म निर्माण सम्बन्धी अयन गर्न बेलायत पुग्नु भयो । भविष्यमा टेलिभिजन क्षेत्रमै केही गर्ने हो भने यस सम्बन्धी अध्यनको पनि जरुरी छ भन्ने कुरा उहाँले महसुस गर्नुभयो र अध्ययनका लागि बाहिर जानु भयो । त्यतिबेला उहाँ २९ वर्षको हुनुहुन्थ्यो । अध्यनकै क्रममा उहाँले “बिग ब्रदर” जस्तो अन्तराष्ट्रिय रुपमै ख्याती कमाएको रियालिटी सोमा प्रशिक्षार्थीको रुपमा काम गर्ने अवसर प्राप्त गर्नु भयो । पढाइ सकेपछि त्यहीँ जागिर खाने अर्को अवसर पनि प्राप्त भयो । तर उहाँले त्यहाँ जागिर गर्नुभएन । बरु देशकै टेलिभिजनमा केही गर्नुपर्छ भन्ने भावले अधिकारीलाई नेपाल ल्यायो र अनवरत रुपमा उहाँ फरक-फरक टेलिभिजन कार्यक्रम निर्माण, निर्देशन र प्रस्तुतीकरणमा अढाई दशकदेखि व्यस्त हुनुहुन्छ । टेलिभिजनमा प्रवेश गरेदेखि यता उहाँले टेलिभिजन र फिल्म बाहेक अरु काम गर्नु परेको छैन । यसैमा भ्याइनभ्याइ छ उहाँलाई ।

कार्यक्रमको रुपरेखा

एपिवान टेलिभिजनबाट आगामी पौष ७ गतेबाट प्रसारण हुन लागेको यस कार्यक्रममा भाग लिन चाहने इच्छुक कविहरुका लागि डिजिटल अडिसन चलिरहेको छ । पौष ७ गते नै कार्यक्रमका निर्देशक अधिकारीको जन्मदिन पनि हो । जन्मदिनकै दिन कार्यक्रम प्रसारण सुरु हुनु यो संयोग मिलेको मात्र हो भन्नुहुन्छ उहाँ । गत भदौ २६ गते आइतबारबाट सुरुभएको डिजिटल अडिसन असोज ३१ गते सोमबारसम्म रहने छ । कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता भइरहेको निर्देशक अधिकारीले जानकारी गराउनु भयो । कार्यक्रमको उद्घोषकमा नायक दिव्यदेव र सामाजिक सञ्जालमा कथा वाचकका रुपमा चर्चित साइग्रेस पोखरेल पर्फमेन्स मेन्टरको रुपमा रहनु हुनेछ । द पोइट आइडलका विजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यो पनि सरकारी कर काटेपछिको १० लाख रुपैयाँ । यसका साथै यात्रा पब्लिसिङ हाउसको तर्फबाट ५ लाख रुपैयाँ बराबरको कविता सङ्ग्रह प्रकाशन सम्झौता प्राप्त गर्ने छन् । त्यसैगरी कार्यक्रमको अनलाइन मिडिया पार्टनरको रुपमा रहेको साहित्यपोस्टको तर्फबाट पनि विजेतालाई १२ हजार रुपैयाँ मूल्य बराबरको पुस्तक र हरेक हप्ता १ हजार रुपैयाँ मूल्य बराबरको पुस्तक उपहार प्रदान गरिने पत्रिकाका प्रधान सम्पादक अश्विनी कोइरालाले जानकारी गराउनु भयो ।

प्रतियोगिताको डिजिटल अडिसनबाट प्राप्त भएका कविताहरुमध्ये उत्कृष्ट कविताका कविहरुलाई अर्को चरणको अडिसन “फिजिकल अडिसन” का लागि काठमाडौँ बोलाइने छ । फिजिकल अडिसन तिहार लगत्तै हुने छ । फिजिकल अडिसनमा छानिएकाहरुले आफ्नै कविता चार जना जजहरुको सामुन्ने प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यो पनि द पोइट आइडलको स्टुडियोभित्र । फिजिकल अडिसनबाटै टेलिभिजनमा देखाउन सुरु गरिनेछ । जजहरुको मतका आधारमा फिजिकल अडिसनको पहिलो चरणबाट केही प्रतिस्पर्धी कविहरु छानिने छन् । पहिलो चरणको फिजिकल अडिसनबाट छानिएकाहरुलाई पुन: प्रतिस्पर्धा गराएर त्यसबाट उत्कृष्ट १४ जना कविहरु छानिने छन् र उनीहरुलाई क्लोज क्याम्पमा राखिने छ । यति बेलासम्म कविहरुले कुनै पनि विषयमा लेखेका आफ्नो कविता प्रस्तुत गर्नेछ्न् । भोटिङ राउण्ड यहीँबाट सुरु हुनेछ । यसमा आफूलाई मन परेका कविहरु छान्ने अधिकार दर्शकहरुलाई पनि दिइनेछ । यसअघि आफ्नो रोजाइको कविता प्रस्तुत गरे पनि उत्कृष्ट १४ पछाडि भने जजहरुले हरेक हप्ता एउटा विषय दिनेछन् । यसमा कुनै नाटकीय भिडियो अथवा कुनै विषयसँग सम्बन्धित भिडियो सामग्री देखाइने छ र त्यसैमा केन्द्रित रहेर केही दिन भित्रमा कविता लेखिसक्नु पर्ने हुन्छ । त्यस कवितालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा द पोइट आइडलको टिम र कवि बिच आपसी समझदारीमा तय गरिनेछ । हरेक हप्ताको प्रस्तुतिबाट एक जना कवि कार्यक्रमबाट बाहिरिँदै जानेछन् । अन्य रियालिटी सोमा जस्तो यसमा भोट मात्रै पनि सबैथोक हुने छैन । हरेक हप्ता सबैभन्दा कम भोट प्राप्त गर्ने दुई जना कविलाई जजहरुले त्यतिबेलै कुनै एउटा विषय दिनेछन् र त्यहीँ कार्यक्रम स्थलमै सो विषयमा कविता कोर्नु पर्ने हुन्छ । यसलाई “आँसु कवि राउण्ड” नाम दिइएको छ । त्यसमा राम्रो लेख्ने एक जना कवि अर्को चरणमा प्रवेश गर्नेछन् भने अर्को एक जना प्रतियोगिताबाट बाहिरिने छन् । यसको मूल्याङ्कन जजहरुको हातमा रहने छ । यसो गर्दा कुनै प्रतिस्पर्धीले भोट कम्ती भएका कारण मात्रैले पनि कार्यक्रमबाट बाहिने अवस्था रहने छैन । यसरी हरेक हप्ता एक-एक जना बाहिरिँदै जाने क्रममा अन्त्यमा बाँकी रहेका ४ जना कविहरुलाई अन्तिम प्रतिस्पर्धीको रुपमा राखेर ती चार जनाबाट भोटिङका आधारमा एक जनालाई विजेता घोषणा गरिनेछ । विजेता छनौटमा भने चारै जना जजहरुको कुनै भूमिका रहने छैन । जे गर्छ भोटले निर्धारण गर्नेछ ।

(साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना”मा गरिएको कुराकानीमा आधारित ।)