Chovar Blues Mobile Size

कथा मनुष्य जीवनको अभिन्न अदृश्य अङ्ग हो । बिना कथा बोकेको व्यक्तिको उपस्थिति नै सम्भव हुन सक्दैन । व्यक्ति परिवारमा रहन्छ, परिवार समाजमा,समाज जनपदमा, जनपद राज्यमा र राज्य देशमा निहित रहन्छ। यो मानवीय समाजिक परिवेशमा भाषा, संस्कृति, धर्म, पहिरन, खानपान, साहित्य, वाद इत्यादि क्षेत्रनुसार भिन्नता भेटिन्छ जसमा मान्छेले यसको विस्तार, विकास एवम् पतनमा प्रमुख भूमिका निवर्हन गर्दछ। यो क्रममा व्यक्तिले कुनै न कुनै रूपमा आफ्नो जीवन-चरित्रको भूमिका सृजन गरेको हुन्छ। उसको चरित्र एवम् पात्रले कथाको परिपाटी निर्माण गर्दछ। क्षेत्र, संस्कृति, जाति एवम् आर्थिक दृष्टिकोणअनुसार निर्मित हुने कथामा भिन्नाभिन्नै कथानक निर्माण हुन्छ। प्रत्येक व्यक्ति कथाको एउटा पात्र हो। दिनैपिच्छे हामीले कसै नकसैलाई कथा सुनाइरहन्छौँ या अरूबाट कथा सुनिरहेका हुन्छौँ। सुनाउनेले कथावाचकको भूमिका खेलिरहेका हुन्छन्। सैद्धान्तिक रूपमा लेखकले लिपिबद्ध गरेकोलाई मात्र हामी कथा ठान्ने गछौँ तर यथार्थमा किंवदन्ती, जनश्रुतिको रूपमा हेर्दा यत्रतत्र कथाको मैदान देखिन्छ। यस कारणले गर्दा पनि अरू विधाभन्दा कथा विधाको वृत्ति वृहद् एवम् सर्वव्यापी भएको देखिन्छ।

यस बखत मेरो हातमा असमका निवासी साहित्यकार कृष्णनील कार्कीको पहिलो कथासङ्ग्रह ‘जन्मदिनको उपहार’ छ। कृष्णनील कार्कीसँग मेरो पुरानो सम्बन्धछैन। साहित्यको निहुँले गर्दा छ-सात महिनाबाट परिचय साटासाट भएको हो। ऊ असम र म भारतको सुदूर सीमान्त राज्य मणिपुरबाट। मातृभाषा र संस्कृति एकै भए तापनि क्षेत्रीय भिन्नता हामीबिच छ। उनको उक्त कथासङ्ग्रह पढ्नु अगाडि मैले उनलाई पढेको थिइनँ। त्यही कारणले पनि कृष्णनील कार्कीको कथा पढ्ने प्रबल इच्छा थियो। पढेँ र प्रतिक्रिया लेख्ने प्रयास गर्दैछु।

‘जन्मदिनको उपहार’ हात परेपछि पुस्तकको पछाडिपट्टिको आवरण पानामा भएको परिचय-पत्रमा दृष्टिपात गर्दा कृष्णनील कार्कीले अन्य विधाहरूमा क्रमशः सन् २०१३ भाग्यवान (एकाङ्की सङ्ग्रह), २०१५ मा ‘छहारीको आडमा मनोरम सपना (कवितासङ्ग्रह)’, सन् २०१५ मा ‘सत्यमेव जयते (एकाङ्की सङ्ग्रह)’, सन् २०१९ मा ‘समयको भाग्यरेखा (कविता, गजल एवम् मुक्तकसङ्ग्रह)’ सन् २०२२ मा ‘जन्मदिनको उपहार- कथासङ्ग्रह’ कृतिको सृजना गरेर नेपाली साहित्यमा सृजनशील साहित्यकार भएको ठोकुवा गरेका छन्।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

कथाहरूको गाँजमा सोह्र कथा सङ्कलित रहेका छन्। कृष्णनील कार्कीले कथा लेख्दा अनि सङ्ग्रहित गर्दा विभिन्न कथावस्तुलाई समेटेर पाठकलाई भिन्नभिन्न रसस्वादन दिने अठोट गरेको प्रमाण पाइयो। यो त सर्वविदित नै हो कथाको पात्र अनि कथानकमा समाज एवम् देशको परिवेश नभित्री कथा अपूर्ण हुन्छ। यो दृष्टान्तमा कथाकारले आफ्नो सृजनशील कलम चारैपट्टि लम्काएका छन्। सङ्ग्रहित कथामा नारीको पीडा, पर्यावरण दोहन, राजनैतिक कुसङ्गति, सामाजिक कुरीति, जीवनका अप्रिय भोगाइ, प्रकृतिको चपेटमा भोगिने कष्टकारण जीवन, आञ्चलिक परिवेश, अन्धविश्वासले ग्रसित समाजजस्ता समसामायिक जीवन्त विषयलाई पात्रको काँधमा राखेर सबैको सामु छर्लङ्ग पार्ने सराहनीय प्रयास गरेको पाइन्छ। कथामा आएको कथ्य एवम् वर्णन शैलीले अपरिचित पाठकलाई पनि कथाकार शिक्षक भएको प्रष्टै थाहा लाग्ने छ। कथाकारले दैनिकी जीवनमा निहालेका दृश्य, परिदृश्य, भोगाइ एवम् अनुभव गरेका सन्दर्भलाई छानीछानी कथामा कल्पनाको बुई चढाएर पाठकसम्म पुर्याएका छन् । सङ्ग्रहित कथा सप्पै पढिसक्दा कथाकारले एउटा विशेष सन्देश दिएको भान लाग्छ। त्यो हो- विज्ञानको आधुनिकीकरणमा रमिएको संसारमा मान्छेले विज्ञानको महत्त्व बुझ्ने,आफ्नो धर्म र संस्कृतिलाई वैज्ञानिक एवम् सैद्धान्तिक रूपमा जान्ने एवम् अन्धविश्वासमा हुर्किएको सोचलाई त्यागेर सत्यनिष्ठ एवम् समानभावको ध्येयमा जीवन जिउने, सन्देश भेटिन्छ।

विकासको बाटोमा संसार अहिले अन्धो भएर तीव्रगतिमा दौडिरहेको छ। यो विकासको दौडमा पर्यावरणको क्षति भएको उसलाई ज्ञान भएन पनि आफ्नो पाइला त्यही गतिमा चालिरहेको छ। पर्यावरणको बचाउमा देश-विदेशमा राष्ट्रिय-अन्तराष्ट्रिय स्तरका बैठकहरू दिनै भइरहेका छन्। संघ-संस्था जनजागरणको कार्यमा लागि परेका छन्। यो मुहिममा साहित्यले पनि ठुलो भूमिका खेल्न पछि हटेको छैन। प्रमाण छ यही सङ्ग्रहमा ‘समाचारले दिएको कथानक’ शीर्षक भएको कथा जहाँ पर्यावरण दोहनप्रति चिन्तनशील भएको पात्र फेला पर्छ तथा यही कथामा वर्तमानमा सामाजिक सञ्जालको बढ्तो उपयोगिताको अंशलाई दर्साउँदै कथ्यमा रोचक वर्णन गरेको भेटिन्छ। यस कथामा पाठकले आफू उपस्थित भएको पनि महसुस गर्ने छ।

विकासकै क्रमलाई तन्काउँदा वर्तमान परिवेशमा शिक्षा, औद्योगिकरण एवम् सूचना प्रद्यौगिकीको अधिपत्य जमेको प्रमाण यत्रतत्र देखिन्छ तर कथाकारले आफू भएको आञ्चलिक परिवेशलाई औँल्याउँदै गाउँमा विकास भित्रिए पनि मान्छेको सोच एवम् विरचारमा अन्धविश्वासको बेडीले जकडेको अवस्थालाई सार्वजनिक गर्ने प्रयास गरेका छन्। ‘मेरो गाउँ जस्ताको त्यस्तै’ कथामा यो सन्दर्भ भेटिन्छ।

केही तीन दशक अगाडिको कुरा गरौँ भने प्रायः सबैतिरको समाजमा मागी-विवाहको प्रचलन अधिक थियो। बेहुला-बेहुली विवाह-मण्डप अथवा विवाह उपरान्त मात्र एकअर्कासँग देखा पर्थे। अहिले पनि प्रेम-विवाहभन्दा मागी-विवाह अधिक गरिएको देखिन्छ तर संचार-सेवा एवम् समाज शिक्षित भएको हुनाले प्रस्तावित युगल जोडीले एकअर्कालाई जान्ने अवसर पाएको देखिन्छ जहाँ सोच एवम् बानी-व्यहोरा नमिल्दा विवाह टुट्ने स्थिति पनि आएको भेटिन्छ। यही सन्दर्भमा नील कार्कीका ‘जन्मदिनको उपहार’ र अन्तर्निहित’ दुइटा कथामा परिवारको इच्छामा विवाह गरेउपरान्त पतिका लुकेका अपच्य कुरा एवम् चरित्र जान्दा पत्नीको जीवन शून्यता भइदिन्छ। कथाकारले समाजमा वृहद् सोच भएका व्यक्तिको सचरित्रलाई दर्साउँदै दुइटै प्रमुख पात्रलाई पुनः विवाह गराइदिन्छन्। कथाको यस्तो समाप्ति हुँदा नारीको स्वधीनता एवम् मौलिक अधिकारलाई सम्मान गरेको भान लाग्छ।

नेपालीभाषी भारतीयलाई नेपाली भन्ने या गोर्खाली भन्ने विषय नै हामीबिच ठुलो बहसको विषय भएको देखिन्छ। भारतमा बसोबास गर्ने गोर्खाली/नेपालीलाई स्थानीय अन्य निवासीले संस्कृति एवम् भाषाको आधारमा नेपालका नेपाली भनिदिएकाले गोर्खाली सधैँ उपाहस एवम् बेइज्जतको पात्र बन्दै आइरहेका छन्। कति ठाउँमा स्थानीय निवासीले लखेटेको पनि इतिहास छँदैछ। यही कष्टदायक गोर्खालीको पीडालाई कथाकारले ‘विदेशी मार्का’ कथामा भिन्न एवम् महत्त्वपूर्ण सन्दर्भ राखेका छन्।

कोरोनाकालको सुरुआती समयमा सरकारले लगाइएको लकडाउने गरिब मजदुरले पाएको कष्टदायक जीवन र अकाल मृत्युले परिवार विषादमा परेको अवस्थालाई सङ्ग्रहमा ‘आँसुको भेल’ कथामा पढ्न पाइन्छ।

भारतमा केही राज्य छन् जहाँ प्रकृतिको प्रकोपमा वर्षेनी पर्छन्। वर्षाको समयमा बिहार, असम जस्ता राज्य डुब्छन्, पहाडी क्षेत्रका राज्य भू-क्षरण जस्ता आपदाको चपेटमा पर्छन् भने समुद्री सीमान्त राज्य चक्रवादको प्रकोपका तहस-नहस हुन्छन्। यी प्रकृति आपदामा जनमानसको सुखी जीवन चिथोरिन्छ, जीवन अन्धकार बनिन्छ। कथाकारले असममा आउने बाढ अनि तमिलनाडू राज्यमा आउने चक्रवातको प्रकोपलाई आधारित गरेर ‘दुःखी जीवन’ एवम् ‘सुनामी’ बढो रोचक कथा रचेका छन्। कतिचोटि असममा हात्तीले मान्छे मारेको घटना सुनिन्छ। यो सन्दर्भ कथामा कृष्णनील कार्कीले उल्लेख गरेका छन्।

राजनैतिक गतिविधिले प्रत्यक्ष होस् वा परोक्ष सबैको जीवनमा प्रभाव पारेको हुन्छ। कथाकारले राजनैतिक गतिविधलाई अति सूक्ष्म रूपमा निहालेको जानिन्छ उनका ‘स्वप्न भङ्ग’ र ‘भाषण’ कथा पढेपछि । कथाकारले भ्रष्ट एवम् जनतालाई सपना देखाएर लुट्ने नेताको चरित्रलाई कथानकको माध्यमबाट उजागर गरेर सबैको अगाडि नङ्याउने जमर्को गरेका छन्।

सामाजिक एवम् राजनैतिक परिवेशबाट ल्याएका कथावस्तु बाहेक नील कार्कीले हामीले पढ्दै आएको अति सम्वेदनशील सन्दर्भलाई पनि यो सङ्ग्रहमा स्थान दिएका छन् । गाउँकी सोझी केटी अभिनेत्री हुने क्रममा मुम्बई जानु अनि माफियाहरूका लागि भोग-विलासको भेट चढेर जीवन बर्बाद हुनु- ‘पश्चताप’ कथामा भेटिन्छ ।

‘जन्मदिनको उपहार’ कथासङ्ग्रहको सकारात्मक पक्षलाई हेरिसकेपछि यस सङ्ग्रहमा कमजोडी पक्ष छैनन् भन्न सकिँदैन । कथाकार स्वयम् समीक्षक भएको हुनाले पनि उनले कमजोर पक्षलाई बुझेको हुनुपर्छ। कथाङ्सग्रह मेलैसित पढ्न लाग्दा सुरूका तीनटा कथा पढ्दा उत्कृष्ट लाग्छ, कथा सलल बगेको अनुभव लाग्छ तर जति पाना पल्टिँदै जान्छन् कथामा खल्लोपन मिसिँदै जान्छ। कथ्य शैलीमा पात्रभन्दा कथाकारको प्रभाव अधिक देखिन्छ। पात्रको दर्बिलो पात्रत्व निर्माणमा चूक भएको छ । कुनै पनि पात्रले आद्योपान्त गरेपछि दिमागमा छाप छोड्न असफल भएको भान लाग्छ। कथामा अधिक निबन्धात्मक वर्णन शैलीले कथाको रूप एवम् प्रवाहमा बाधा पुर्याएको सजक पाठकले औँल्याउने ठाउँ पाउने छन्। कथामा पात्रको चरित्रले उपदेश दिनुभन्दा बढी कथाकार उपदेश दिन अघि सरेका छन्। ‘सधैँ हतार’ कथा पढ्दा कथा नलागेर डायरी लेखन जस्तो पनि लाग्न सक्छ। विभिन्न विषयलाई उठाए तापनि पर्यावरणको विषयको नयाँ पाटोलाई छोडेर अरू कथावस्तुमा नवीनता कम्ती नै देखिन्छ।

कथाका यी केही कमजोडीलाई अधिक महत्व नदिनु भने कथा पठनीय छन्। शिक्षाप्रद छन् । प्रेरणादायी छन्।भाषामा शुद्धता देखिन्छ। केही प्रचलित अङ्ग्रेजी र हिन्दी शब्द छोडेर भुले-बिर्सेका नेपाली शब्द भेटिन्छन्। ‘मासु खान गएकी बुढी झोलमा डुबी’ जस्ता कताकता उखान भेट्दा पढ्नलाई रस अझ बढ्छ।

कृष्णनील कार्कीको पहिलो कथाङ्ग्रह ‘जन्मदिनको उपहार’ ले नेपाली साहित्यलाई थप धनवान् बनाएको छ। आशा मात्र नभएर विश्वास छ उक्त कथासङ्ग्रहले व्यापक सफलता पाउने छ।