१. सोल्दाती गोर्खा मोल्तो ब्योनी – शमसेर अली

भारतीय मूलका नेपालीभाषी कथाकार शमसेर अली दोस्रो कथाकृति हो, ‘सोल्दाती गोर्खा मोल्तो ब्योनी’ । यस सङ्ग्रहमा अलीका १२ वटा कथाहरु सङ्ग्रहित छन् जसले पाठकलाई भिन्न–भिन्न किसिमले रसानुभूत गराउछन् । ऐतिहासिक विषयवस्तुहरुलाई शब्द–कलामा रुपान्तरण गरिएको यो पुस्तकको शीर्षकले नै पाठकमा कौतुहलता जगाउँछ ।

‘‘सन २०१० मा कथाकृति ‘बिउ भाले’को प्रकाशनपछि शमसेर अलीले आफूलाई भारतीय नेपाली साहित्यमा प्रतिभाशाली कथाकारका रुपमा स्थापित गराए ।’’, पुस्तकको भूमिकामा सजय विष्ट लेख्छन्, ‘‘… गोर्खाहरुको पर्याय बनिसकेका वीरता र युद्ध, हाम्रो संस्कार बनिसकेको पाराभौतिक विषयवस्तुप्रतिको आस्था, उदार हार्दिकताका कथा सुनाए । ‘बिउ भाले’मा हाम्रो साझा अनुभूतिको कलात्मक अभिव्यक्ति थियो । … ऐतिहासिक विषयहरुलाई कलामा रुपान्तर गने उनको पुरानो सोख यस सङ्ग्रहमा पनि पाइन्छ । अब ‘सोल्दाती गोर्खा मोल्तो ब्योनी’ले कथाकारको कथा लेख्ने सोख दायित्वमा परिणत हुनेछ । हामी यही आशा र विश्वास राख्छौं ।’’

पुस्तकलाई कालेबङस्थित उपमा प्रकाशनले बजारमा ल्याएको हो । १ सय ५४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ (भारु.) रहेको छ ।

 

२. इतिहासको बाडुली – राजेन्द्र भण्डारी

भारतीय मूलका प्रसिद्ध नेपाली कवि राजेन्द्र भण्डारीको कविताकृति हो, ‘इतिहासको बाडुली’ । सङ्ग्रहमा ३७ शीर्षकको कवितासहित ‘वासभूमिको अन्तर्कथा’ शीर्षकमा अनुशन्धानपरक निबन्ध पनि सङ्ग्रहित छ ।

‘‘एउटा त्रासद नियतिको उकुसमुकुसभित्र बन्दी बनेको छ गोर्खाहरुको वासभूमि अर्थात् दार्जीलिङ–बालेबुङ–डुवर्स क्षेत्र’’, पुस्तकमा कवि राजेन्द्र भण्डारी लेख्छन्, ‘‘यही उकुसमुकुस मेरो यस पुस्तकका कविताहरुका साक्ष्य हुन् । समयको प्रवाहसँगै वासभूमिको मुद्दा र आन्दोलन कति भङ्गालियो, कति बिथोलियो तर पनि जन–काल्पनिकीमा गोर्खाल्याण्ड बाँचिरह्यो, बाँचिरहेकै छ । विशाल भारतमा कतिपय जाति, समुदाय, क्षेत्रहरु दिनदिनै राजनैतिक उद्योगका निम्ति काँचा पदार्थ वा माल बन्दै गइरहेका छन् । आन्दोलन घरेलु उद्योग बनेको तिक्त यथार्थ पनि एकातिर छँदैछ । यी सबैको बकपत्र हो यो कवितासङ्ग्रह ।’’

पुस्तकलाई कालेपुङस्थित उपमा पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । १ सय ३५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ (भारु) रहेको छ ।

 

३. मनोभिराम – लुइस विष्ट

भारतीय मूलकी नेपाली सर्जक लुइस विष्टको गीतिसङ्ग्रह हो, ‘मनोभिराम’ । यस सङ्ग्रहमा ९९ वटा गीतहरु सङ्ग्रहित छन् । गीतहरुले जीवनका विभिन्न पक्षहरुलाई अङ्गालेका छन् ।सङ्ग्रहित गीतहरुमा लुइस कुशलका साथसाथै संवेदनशील देखिएकी छिन् ।

‘‘उनका (लुइस) प्रत्येक हरफहरु एक कुशल संवेदनशील गीतकारका अभ्यासबाट निस्किएका छन्, त्यस कारण मैले यी समग्र गीतहरुलाई पुनर्लेखन गर्ने धृष्टता छाडें ।’’, पुस्तकको भूमिकामा रुद्र पौड्याल लेख्छन्, ‘‘प्रथम प्रकाशन नै यति तीव्र हृदयस्पर्शिता बोकेका यी गीतहरुले कुमारी लुइस विष्टभित्र सुन्दर गीतकारको रुपमा बढ्दै जाने देखेको छु । यदि उनको कलम रोकिएन भने सिक्किमेली गीत लेखनमा कुमारी लुइस विष्टको छुट्टै र चम्किलो स्थान रहेन कुरामा म विश्वस्त छु । परिमार्जन साथै लगनशीलता प्रखर हुँदै जाओस् अनि उनीभित्र भएका सम्भावनाहरुले प्वाँस फुकाएर उड्न पाओस्, म कामना गर्दछु ।’’

पुस्तकलाई सर्जक स्वयंले प्रकाशनमा ल्याएकी हुन् । १ सय १२ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ (भारु) रहेको छ ।