साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

‘साहित्य सन्धान’ – एक समीक्षा

वर्तमान् समय प्रोपोगान्डा र मुद्दाको समय छ, जहाँ साहित्य सिर्जना एउटा उर्वर शौकको रूपमा रहेको छ। यस्ता हुरीले साहित्यलाई पनि नछोई रहन सकेको छैन । यद्यपि आफ्ना कर्मद्वारा नवीन पौड्यालले साहित्यभित्र आफैंलाई स्थापित बनाई सकेका छन् ।

Chovar Blues Mobile Size

१. प्रवेश:                                 

भारतीय नेपाली साहित्य मूलतः साहित्य सेवा मात्र नभएर यत्रो बहुभाषिक देशभित्र हाम्रो निम्ति एउटा आत्म-प्रकाशनको ठूलो अवसर अनि प्रयास पनि हो । देशका विभिन्न समस्याहरू लगायत हाम्रा आफ्नै समस्याहरुको सामना र चुनौती गर्दै अघि बढ्न पर्ने स्थितिहरू यहाँ यथेष्ट छन् । एक समय, नेपाली साहित्य भारतबाट पनि लेखिने अनि अध्ययन गरिने एउटा रमाहट र हर्षोल्लासको विषय  थियो । आजको बद्लिँदो समय अनि परिस्थितिमा भारतीय नेपाली साहित्य लेखिनु अनि यसका अध्ययन हुनु आफैआफमा एउटा अवस्था हो, एउटा सन्दर्भ हो। वर्तमान स्थिति भारतीय नेपाली साहित्य र समाजको निम्ति एउटा संवेदनशील स्थिति छ। यस्तो वस्तुस्थितिमा यहाँ सामाजिक अन्तर्क्रिया, भेटघाट र विचारको निर्माण, साहित्यको माध्यमद्वारा पनि हुने गर्दछ। जो एक सकारात्मक अवस्था हो। भारतीय नेपाली साहित्य फाँटमा यो उर्जा आजको सन्दर्भमा महत्वपूर्ण छ। यसै महत्वपूर्ण स्थितिहरूबाट साहित्य सृजनशीलता कायम छ। सर्वभारतीय स्तरमै साहित्य सिर्जन कार्यमा तल्लिन प्रा.नवीन पौड्याल मूलतः एक माझिएका समालोचक हुन् । उनका स्तरीय कृति सिर्जनालाई यस अध्ययनमा चर्चा गरिन्छ।

२. समालोचक नवीन पौड्याल:

अनवरत् परिश्रम, जन-सम्पर्क, अध्ययन र केही गरूँ भन्ने औडाहा लिएर नेपाली साहित्य सिर्जनामा लागेका नवीन पौड्याल स्व.रविचन्द्र पौड्याल र श्रीमती जानुकादेवी पौड्यालका कोखबाट जन्मिएका एक आत्मीय भद्र मानिस एवम् सकारात्मक उर्जा हुन्। आफ्नो जन्मथलो कालेबुङमै प्राथमिकदेखि महाविद्यालयसम्म अध्ययन गर्दै उनले उत्तर बङ्गाल विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेपछि सन् २००६ देखि यता दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली स्नातकोत्तर विभागका उप-प्राध्यापक रुपमा कार्यरत थिए। हाल कालेबुङ जिल्ला अन्तर्गत पेदोङमा नवस्थापित पेदोङ सरकारी महाविद्यालयका भारप्राप्त अधिकारी एवम् संस्थापक कार्यवाहक प्राचार्यका रुपमा उनी कार्यरत छन्।

यसभन्दा अघिल्ला उनका कृतिहरू नेपाली कथा समीक्षा (सहलेखन, सन् २००५), आख्यान अनुशीलन (सन् २०११), साहित्य अनुशीलन (सन् २०१४),र  उनका सम्पादनमा दुइवटा समालोचनात्मक पुस्तक कविता विमर्श (सन् २०१४) र कविता आलोकन (सन् २०१५) देखा परेका छन् । उनी अनुसन्धानात्मक पत्र-पत्रिका जस्तै- सन्धान -को सम्पादन कार्यमा सङ्लग्न छन्। विभिन्न महाविद्यालय साथै विश्वविद्यालयका आयोजनमा हुने गरेका राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका विभिन्न सङ्गोष्ठी एवम् कार्यशालाहरुमा भाग लिँदै अनेकौँ लेखहरू प्रकाशित गरिसकेका छन्।  आफु भन्दा अग्रजलाई सदैव श्रद्धा अनि आफ्ना बन्धु एवम् अनुजहरुलाई धेरै चोखो मनले प्रोत्साहन गर्न सक्ने ‘रियल’ व्यक्तित्व हुन्। उनका संसर्गमा ठुला, साना सबै खुशी रहन्छन् । अत: साहित्य सिर्जना र सामाजिक सम्बन्धमा सबैसँग एक रहन सक्ने चुम्बकीय व्यक्तित्वका धनी प्रा. नवीन पौड्याल स्तरीय साहित्य सिर्जनका दृष्टिले एक गम्भीर अनि अध्ययनशील समालोचक हुन् ।

उनी अनुसन्धानपरक, विश्लेषणात्मक, प्राज्ञिक, कृतिपरक समालोचनामा रुचि राख्ने अध्येता हुन्। उनका प्राय: समलोचानाहरू आख्यान, कविता, लोकसाहित्य, नाटक, गीत-गजल आदिमा आधार रहेका भेटिन्छन्। साथै पारम्पारिक समालोचाना परिपाटीलाई छोड़ेर केही गहन, वस्तुनिष्ठ समालोचनामा अग्रसर पनि देखिन्छन्। समग्रमा, विषयनिष्ठता, निष्पक्ष मूल्याङ्कनात्मकता, निर्भीकता, कृतिकेन्द्रितता, विश्लेषणात्मकता, वस्तुतथ्यात्मकता, सूचनात्मकता, सर्वेक्षणात्मकता आदि उनका समलोचनागत्  वैशिष्ट्य हुन् भन्न सकिन्छ।

प्रा. योगेश खाती (दार्जीलिङ)

३. ‘साहित्य सन्धान’को परिचय:

‘दार्जिलिङ सरकारी महाविद्यालय जस्तो विशिष्ट शैक्षिक संस्थानमा पूर्वमा भारप्राप्त अधिकारी पदमा पछि सोही संस्थानमा प्राचार्य जस्तो गरिमामय पदमा पुग्ने प्रथम नेपाली दक्ष नारी र संस्थानको कुशल प्रशासक लगायत नेपाली भाषा-साहित्यको गहन अध्येता तथा मातृवत्  स्नेह प्रदान गर्नुहुने स्व.डा.प्रा. ललिता राई अहमद (मार्च २०१६ महिनामा दिवंगत्) गुरुमा प्रति हार्दिक श्रदान्जली र चिर सम्झना सहित-’ समर्पित नवीन पौड्यालकृत ‘साहित्य सन्धान’- नई इन्डिया प्रकाशन, सिलगढीबाट प्रकाशित भएको हो। यो कृति  समालोचना विधा अन्तर्गत एउटा अनुसन्धानात्मक लेख सङ्ग्रह समालोचना कृति हो। ३०० सय भन्दा ज्यादा पृष्ठमा सजिएको यस पुस्तक ग्राफिक्स प्रिन्टर्स, मल्लागढ़ी, सिलगढ़ीबाट मुद्रण गरिएको छ। सुन्दर आवरण सुधीर छेत्रीले तयार गरेका छन् भने यसको बिक्री मूल्य केवल ३०० रुपियाँ राखिएको छ। जम्मा साना- ठूला गरेर १५ वटा गहकिला लेखहरू समावेश गरिएको यस कृतिभित्र गहन अध्ययनको अभिव्यक्ति भेटिन्छ। सहित्येतिहास सन्दर्भमा धेरै सर्वेक्षणात्मक लेखहरू देख्न पाइन्छ । यसैले यो कृति कुनै कृति वा व्यक्तिको मूल्याङ्कन र आलोचना भन्दा सहित्येतिहास र सर्वेक्षणात्मक ज्यादा भएको पाइन्छ।

४.’साहित्य सन्धान’ – एक समीक्षात्मक टिप्पणी :

साहित्य सन्धान कृति भारतीय नेपाली समालोचना परम्परामा एउटा थप उपलब्धिको रुपमा पाइन्छ । यसभित्र समाविष्ट प्राज्ञिक लेखहरूको अध्ययन अनि मनन गर्दा उनलाई भारतीय नेपाली साहित्य जगतमा एक स्थापित हस्ताक्षरको रुपमा भेटिन्छ । यस समालोचना कृतिभित्र रहेका उनका १५ वटा शोधपरक लेखहरुलाई अध्ययन गर्दा निम्न कुराहरू देखा परेका छन् । उनको लेख- भानुभक्तीय रामायणको आख्यानपरक अध्ययन– मा नयाँ ढङ्गको समालोचनाका सम्भावना देखिएको छ । भानुभक्त आचार्यद्वारा अनूदित रामायण नेपाली साहित्य युगमै एउटा ठूलो घटना साथै अमूल्य अभिप्राप्ति हो। यस काव्यको कथावस्तुलाई मात्र समेटेर समालोचक पौड्यालले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै रामायणको चेतनाको उत्कृष्ट नमूना प्रस्तुत गरेका छन्। रामायणलाई विविध दृष्टिकोणबाट धेरैले व्याख्या गरेको भेटिन्छ। यसै क्रममा उनले रामायणको आख्यानलाई मात्र समेटेर जर्मन समालोचक गुस्ताभ फ्रेटागका अध्ययनलाई आधार बनाएर कथानकको विकासलाई पिरामिडमा देखाएका छन्। कथानकलाई जर्मन समालोचक अनुसार आदि, मध्य र अन्त्य जस्ता आधार गरेर हेरिने प्रचेष्टा गरिएको देखिन्छ। रामायणको सात काण्डलाई लिएर यसको आधिकारिक कथावस्तुलाई सङ्क्षिप्तमा अध्ययन गरिएको छ। यस लेखभित्र आख्यानको सामान्य परिचय गरिँदै भानुभक्तीय रामायणको परिचय पनि गरिएको छ साथै यस कृतिको कथावस्तु योजनालाई आदिभाग, मध्यभाग र अन्त्यभाग गरेर समीक्षा गरिएको छ। विभिन्न प्रभागहरुमा सजाइएको यो लेखभित्र निक्कै लामो अध्ययन समावेश भएको छ। यस लेखभित्र पूर्वीय आख्यान सिद्धान्तका आधारमा रामायणको विवेचना, रामायणका केही प्रकरी कथावस्तुका अध्ययन, भानुभक्तीय रामायणका सहभागी र सहभागिता, भानुभक्तीय रामायणको परिवेश आदि पक्षहरुलाई समेटेर विस्तारसँग चर्चा गरिएको भेटिन्छ। समग्रमा, यस लेखमा कृति रामायणको पुन:पठन गरेर अध्ययनको भिन्न दिशा देखाइने प्रयास भएको छ ।

यस पुस्तकभित्र रहेको अर्को लेख- भारतमा नेपाली लोककथा-अभिप्रायगत अध्ययन –मा एउटा नयाँ दृष्टिकोण देख्न सकिन्छ। यस लेखमा ‘Motif’ अर्थात् ‘अभिप्राय’ अन्तर्गत भारतीय नेपाली लोककथाको चर्चा गरिएको छ। Motif  अर्थात् अभिप्राय लोकवार्ता अध्ययनको महत्त्वपूर्ण तत्त्व हो। यसलाई अंग्रेजीमा यसरी अर्थ्याइएको छ –‘A motif is a recurring symbol which takes on a figurative meaning. We see them in books, films and poems. In fact, almost every text commonly uses the literary device of the motif. A motif can be almost anything: an idea, an object, a concept, a character archetype, the weather, a colour or even a statement. Motifs are used to establish a theme or a certain mood; they have a symbolic meaning.’ यस विषयमाथि व्यापक अध्ययन गर्ने अमेरिकी लोकवार्ताका अध्येता स्टिथ थम्सनले अभिप्राय विषयगत अवधारणा विकसित गरेका हुन्। उनले लगभग पचास हजारवटा जति अभिप्रायहरूलाई खुट्याउँदै लोक साहित्यभित्र देख्न सकिएका अभिप्रायहरुलाई सूचीवद्ध गरेका छन्। यसैको चर्चा उनले सन् १९५५मा इण्डियना युनिभर्सिटी प्रेसबाट प्रकाशित (पुन:संशोधित) आफ्नो पुस्तक ‘Motif- Index Of Folk-Literature; A Classification of Narrative Elements in Folktales, Ballads, Myths, Fables, Medieval Romances, Exempla, Fabliaus, Jest-Books, and Local Legends.-भित्र व्यापक चर्चा गरेका छन्। यसै अध्ययनलाई आधार बनाएर उक्त लेखको परिचर्चा अघि बढेको छ। भारतबाट प्रकाशित साथै सङ्कलित नेपाली लोक कथा सङ्ग्रहहरुमा पाइने लोक कथाहरुको अभिप्रायगत अध्ययन प्रस्तुत गरिने क्रममा महानन्द पौड्यालद्वारा सङ्कलित हाम्रा केही लोककथा, प्रकाश प्रसाद उपाध्यायद्वारा सङ्कलित नेपाली लोककथा भाग १ र २, सुखनमद्वारा सङ्कलित नेपाली परिकथा आदिलाई राखिएको छ। यो अध्ययन भारतीय नेपाली साहित्यको लोककथा अन्तर्गत एउटा महत्त्वपूर्ण अध्ययनको रुपमा लिन सकिन्छ।

स्वातन्त्र्योत्तर दार्जिलिङका नेपाली उपन्यासमा नारीको बद् लिँदो परिदृश्य लेखअन्तर्गत दार्जिलिङका  नेपाली उपन्यासमा नारीको सामाजिक स्थितिमाथि सङ्क्षिप्त सर्वेक्षण गरिएको छ । यस अध्ययन अन्तर्गत दार्जिलिङबाट प्रकाशित उपन्यासहरु- भ्रमर (रुपनारायण सिंह), मुलुकबाहिरमाइतघर (लैनसिंह बाङदेल), लगन (अच्छा राई ‘रसिक’), चरणधूली (कृष्णसिंह मोक्तान), डाक बंगला (शिवकुमार राई, मंगली  (इन्द्र सुन्दास), आज रमिता छ (इन्द्रबहादुर राई), कलिलो फूल गुलाफको (रवीन्द्रकुमार मोक्तान), फेरि गुँडतिरै (रामलाल अधिकारी), गुलाफ र माटो (ज्ञानेश्वर गिरी), निलकण्ठ (मत्स्येन्द्र प्रधान ), भोलिको प्रतीक्षामामध्यान्तर (पुष्प राई), अथाहनिर्गमन (विन्द्या सुब्बा) आदिलाई  लिइएको छ । अध्ययनका क्रममा उनले दार्जिलिङका उपन्यासहरुमा नारीको अवस्था सम्बन्धी तथ्य र विशेषता पनि प्रस्तुत गरेका छन् ।

यस समालोचना कृतिभित्र उनका सर्वेक्षणात्मक लेखहरू धेर रहेका छन्। यसै सन्दर्भमा उनले –भारतबाट प्रकाशित नेपाली व्याकरण परम्परा र प्रवृत्ति – लेखमा भाषा शिक्षण अनि व्याकरणको महत्त्व उल्लेख गर्दै भारतीय व्याकरण लेखन परम्परा र प्रवृत्ति समावेश गरेका छन्। यस लेख अन्तर्गत स्वतन्त्रता पूर्व अनि स्वतन्त्रता उत्तर कालमा लेखिएका व्याकरणहरुको सर्वेक्षणात्मक चर्चा गरेका छन्। भारत स्वतन्त्र हुन अघिदेखि सन् १८२० को जेम्स ए एटन को ‘ग्रामर अफ् नेप्लिज ल्याङ्ग्वेज’ बाट शुरु भएर सन् १९२० को पारसमणि प्रधानको ‘नेपाली व्याकरण’ हुँदै स्वतन्त्रता उत्तर कालमा नगेन्द्रमणि प्रधानको ‘प्राथमिक नेपाली व्याकरण’ साथै अन्य शिवराज शर्मा, राजनारायण प्रधान, डा.घनश्याम नेपाल, डा.कविता लामा, पुष्कर पराजुली अनि धेरै अन्य लगायत केवलचन्द्र लामा, मन नारायण प्रधान आदिसम्मको बृहत् अध्ययन प्रस्तुत छ ।     

 भारतमा नेपाली नियात्रा साहित्यको सर्वेक्षनात्मक अध्ययन – लेखमा भारतबाट प्रकाशित नियात्रा सम्बन्धित पुस्तकहरू साथै नियात्रा सम्बन्धी लेखिएका तर पुस्तकाकारमा नरहेका धेरै लेखहरुको चर्चा गरिएको छ। नियात्रा साहित्य लेखन आजको लोकप्रिय साहित्य लेखन विधाको रूपमा देखिन्छ। भारतीय सन्दर्भमा सन् १९१३ को शेरसिंह राणाको मेरो लंदन राजतिलक यात्रा देखि शुरु भएर सन् २०१५ को लावण्य देवीको स्वदेश परदेश सम्मको नियात्रा साहित्यको सर्वेक्षणात्मक अध्ययन यहाँ प्रस्तुत गरिएको छ । यसबाहेक उक्त लेखभित्र नेपाली नियात्रा साहित्यको सामान्य प्रवृत्ति, विशेषता र उपलब्धि बारे पनि चर्चा गरिएको भेटिन्छ।

भारतमा लेखिएका नेपाली गजल परम्परा: सर्वेक्षण एवम् प्रवृत्तिगत अध्ययन अनि  भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति लेखभित्र, क्रमैले भारतबाट लेखिएका गजल परम्परा र गीत परम्परा बारे परम्परा र प्रवृत्तिको चर्चा भेटिन्छ । नेपाली गजल, गीत अनि संगीत नेपाली भाषिक समुदायका उत्कृष्ट सांस्कृतिक अभिव्यक्ति हुन्। स्वातन्त्र्योत्तर भारतमा नेपाली समुदायहरुले सबैभन्दा व्यापक सहभागिता र चासो देखाएका पक्ष नै गीत सङ्गीत हुन्। वर्तमानमा देखा परेका गीत सङ्गीत विषयक विविध प्रतियोगिताहरू पनि यहाँका समाज-राजनैतिक पक्षहरूसँग घरिघरि जोडिन पुग्छन् । यस प्रसङ्गमा गजल लेखन अनि गीत लेखनको परम्परा र प्रवृत्ति पनि सामूहिक आवाज एवम् अभिव्यक्तिलाई नै लिएर अघाडी बढेको अवस्था भेटिन्छ। समालोचक पौड्यालले यस लेखमार्फत् दुवै गजल र गीत विधाभित्र देखिएका विविध महत्त्वपूर्ण पक्षहरू प्रकाशनमा ल्याएका छन् । यो लेख उत्कृष्ट प्रस्तुति बन्न सकेको छ ।

भारतमा प्रचलित नेपाली लोकनाटक-सामान्य परिचयात्मक अध्ययन अनि  उत्तर-आधुनिकता र भारतेली नेपाली नाटक लेखभित्र क्रमैले परिचयात्मक एवम् सर्वेक्षणात्मक अध्ययन पाइन्छ। लोकनाटकको परिभाषा, परिचय र विशेषता साथै यसका वर्गीकरणका आधार उल्लेख भेटिन्छ। उत्तर आधुनिकताको प्रसङ्गमा नाटकलाई बुझाउने प्रयास रहेको भेटिन्छ। भारतका केही स्थानबाट प्रकाशित केही उत्तर-आधुनिक चेतना भएका नाटककार एवम् नाटकहरुको उल्लेख अध्ययन सम्बन्धित लेखभित्र देख्न सकिन्छ ।

भारतमा प्रचलित नेपाली लोकगीत-अध्ययन, संकलनको स्थिति –लेखभित्र भारतमा नेपाली लोकगीतको सङ्कलन कार्यको सर्वेक्षण, सङ्कलन कार्यहरुको सामान्य चर्चा, भारतमा नेपाली लोकगीतको अध्ययनको स्थिति, नेपाली लोकगीतको विषय र भावगत वर्गीकरण, भारतको नेपाली लोकगीतको वर्तमान स्थिति र मूल्याङ्कन गरेर एउटा गहन अध्ययन प्रस्तुत भएको पाइन्छ। वर्तमान विश्व मानचित्रमा नेपाली लोकगीत ‘हामी हुनु’ र ‘हाम्रो उपस्थिति’-को एक बृहत् प्रकटीकरण हो। यस प्रकटीकरणको अध्ययन र मूल्याङ्कनलाई समालोचक पौड्यालले भरपूर उपयोग र प्रस्तुति दिएका छन्।

उनका अन्य सर्वेक्षणात्मक लेखहरू जस्तै  दार्जिलिङका नयाँ पुस्ताका समालोचकहरू – एक अध्ययन अनि वर्तमान भारतका केही नारी समालोचकहरू – संक्षिप्त अध्ययन पनि यस पुस्तकभित्र परेका छन्। यी दुई लेखहरुभित्र व्यक्ति प्रसंशा, व्यक्ति विवरण र व्यक्ति केन्द्रित विचार जस्ता लेखहरू छैनन्। यी लेखहरुमा पुराना र नयाँ गरेर समालोचना विधामा लागिपरेका अध्येताहरुको उल्लेख भेटिन्छ। लेखकका अध्ययन र मूल्याङ्कन अनुसार वर्तमानमा देख्न सकिएका यतिका समालोचकहरू भारतीय नेपाली साहित्यको वर्तमान र भविष्य स्थितिको निम्ति शुभ सङ्केत हो ।

५.निष्कर्ष:

सिङ्गो नेपाली साहित्यमै स्थापित भइसकेका प्रा. नवीन पौड्यालका आजसम्म प्रकाशित भइसकेका कृतिहरुलाई आधार बनाएर हेर्दा उनमा समालोचकीय इमान्दारिता देख्न सकिन्छ। कुनै  विषयको व्यापकता र महत्त्वकाङ्क्षी उडानबाट अनियन्त्रित बनेर सिर्जना र पाठकको सम्मिलन असम्भव बनाउने स्रष्टा बनिने सोँचदेखि उनी टाडा देखिन्छन्। उनका यस सङ्ग्रहभित्र रहेका लेखहरुले वैयक्तिक, सामुदायिक अनि फराकिलो दृष्टिकोणको परिधिभित्र नै रहेर पाठकलाई स्पर्श गरेका छन्। भविष्यमा यस ग्रन्थले सामान्य पाठक लगायत शोध अध्ययनमा ध्यान दिने धेरै अध्येताहरुलाई सहयोग गर्न सक्नेछ भन्ने भरोसा गर्न सकिन्छ। उनले समग्र नेपाली साहित्यभित्र भारतीय नेपाली साहित्यको छुट्टै पहिचान र आवश्यकतालाई महसुस गरेर समालोचकीय धर्म निभाएका छन्।

वर्तमान् समय प्रोपोगान्डा र मुद्दाको समय छ, जहाँ साहित्य सिर्जना एउटा उर्वर शौकको रूपमा रहेको छ। यस्ता हुरीले साहित्यलाई पनि नछोई रहन सकेको छैन । यद्यपि आफ्ना कर्मद्वारा नवीन पौड्यालले साहित्यभित्र आफैंलाई स्थापित बनाई सकेका छन् । अनि केही जन्मजात् आलोचकहरुका मुख  बन्द गरिदिएका छन्। हाल उनी अनवरत् रुपमा साहित्यको मलजल गर्न उद्यमी भइ, उद्देश्य सफा लिइ, नेपाली साहित्य संसारमा सक्रिय देखिन्छन्। उनका समालोचना अध्ययनशील, शिक्षाप्रद, सहयोगी र प्रेरणादायक छन् । उनी विचार, प्रस्तुति र अभिव्यक्तिका नयाँपनमा उत्ताउलोपन देखाउने महत्त्वकाङ्क्षी विचारले मातिएका छैनन्। यस कृतिले भारतीय नेपाली साहित्य विषयक शोध गर्न चाहने धेरै साहित्यानुरागीहरुको अभावलाई पूर्ण गर्न सक्नेछ भन्ने कुरामा विश्वस्त रहन सकिन्छ।

प्रतिक्रिया
Loading...