कवि र लेखक अनि लेखक र कवि

यी नै हुन् साहित्यका उज्वल नक्षत्रका रवि

सधैंभरि जीवनभरि यिनले छर्दै जानेछन्

जहाँतहीँ जताततै देशको सुन्दर छवि !!!

कवि लेखक अनि साहित्यकार राष्ट्रका निधि हुन् । यिनको सम्मान गर्नु, प्रशंसा गर्नु अनि अभिनन्दन गर्नु राष्ट्रको दायित्व हो भने हामी सबैको पनि कर्तव्य हो । यस अर्थमा आज नेपाली भाषा अनि साहित्यका गौरव कवि हरिभक्त कटुवालको स्मृति दिवस मनाउने सत्कर्म अमेरिका नेपाल साहित्य प्रतिष्ठानले जुन यो सुन्दर आयोजना गरेको छ, म त्यसको मुरीमुरी प्रशंसा गर्दछु ।

हरिभक्त कटुवाल

भाषा, साहित्य, कला र संस्कृतिको कुनै भूगोल, कुनै सिमाना र कुनै देश पनि हुँदैन । यो सर्वव्यापी छ र यो पहिचानको एक कडी पनि हो । तसर्थ लोकप्रिय एक भारतीय नेपाली भाषी साहित्यकारको आज यस अमेरिकामा स्मृति दिवस मनाउदै छौँ । जो एक गर्विलो अनुभव र स्तुत्य कार्य पनि हो ।

आज हामी जसको स्मृति दिवस मनाइरहेका छौँ उनी नेपाली साहित्यमा अति नै लोकप्रिय थिए साथै उनको जीवन दुःख, व्यथा र पीडा र दर्दले भरिपूर्ण छ । उनका दुख र व्यथा मात्र होइन उनका साहित्यका कविता र लोकप्रिय गीतहरु नसुन्ने या थाहा नपाउने शायदै कोही नेपाली होलान् !

बेदनाको आँसु भरी रुझिदिने को छ र ?

भित्री मन किन रोयो बुझिदिने को छ र ?

मुख लुकाई पिर रुन एउटा न्यानो काख छैन

यति धेरै मानिस छन् आफ्नो कोही साख छैन !
(कटुवाल)

कवि हरिभक्त कटुवाल नेपाली भाषाका बीसदेखि तीसका दशकका एक मुर्धन्य कवि तथा गीतकार हुन्।

कवि हरिभक्त कटुवाल नेपाली साहित्यका पूर्ण तथा साझा बिम्बका श्रष्टा पनि हुन् ।

कवि हरिभक्त कटुवाल नेपाली भाषा साहित्यका प्रवर्धन गर्ने एक कुशल सम्पादक पनि हुन् ।

कवि हरि भक्त कटुवाल नेपाली वाङ्मयका एक बहुआयमिक प्रतिभा हुन् ।

वसन्त श्रेष्ठ (अमेरिका)

कवि तथा गीतकार हरिभक्त कटुवालको जन्म १९९२ साल आषाढ १८ गते भारतको डिब्रुगड आसामको अम्बिकापुर पेंग्रिमा बुबा बीरबहादुर कटुवाल र आमा बिष्णुमाया कटुवालको जेठा सन्तानको रुपमा भएको थियो । उनको वास्तविक नाम ओम बहादुर कटुवाल थियो । उनका पुर्खाहरु पूर्व नेपालको शंखुवासभा जिल्लाबाट आसाम बसाई गएका थिए । ज्यादै मिहिनेती र तीक्ष्ण स्वभावका उनी बीस वर्षको उमेरदेखि नै कविता लेख्न र चित्रकला कोर्न थालेका थिए । पारिवारिक दुखजिलो कारण भए तापनि मिहिनेती कटुवालले बिएसम्मको अध्ययन गरेका थिए । साहित्य सिर्जनामा उनले नामको पछाडि “प्रबासी” उपनाम समेत राख्ने गर्थे ।

२०२० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगिताक लागि उनको “आकाशका तारा के तारा” कविताका लागि सर्वश्रेष्ठ कवि ठहरिएका थिए । पुरस्कारको रुपमा एकेडेमी पदक र सम्मान पत्र प्राप्त गरेका थिए ।

२०२४ सालमा झापामा बरिष्ठ कवि केदारमान व्यथितको अध्यक्षता “नेपाली राष्ट्रवादी साहित्य सम्मेलन” को आयोजना गरिएको थियो । सो सम्मेलनमा आयोजित दोश्रो देशव्यापी साहित्य सम्मेलनमा उनी सर्वश्रेष्ठ कवि भए बापत उनले स्वर्ण पदक प्राप्त गरेका थिए । सो सम्मेलनमा प्रस्तुत उनका साहित्यिक सिर्जनाको प्रस्तुतिले उनी नेपाल भाषी नेपाल र भारतमा धेरै चर्चा, परिचर्चा र लोकप्रियता हासिल गरेको थियो ।

उनको साहित्यिक प्रतिभाको कदर र उनको कवित्त्व भावनालाई कदर गर्दै तत्कालीन प्रज्ञा प्रतिष्ठाका प्रथम जनता कुलपति केदारमान व्यथितले २०२६ सालमा कवि कटुवाललाई नेपाल आउन निम्ता गरेका थिए । कवि कटुवाललाई नेपाल बस्न सहज हुन सकोस भनेर कवि व्यथितले उनलाई प्रज्ञा प्रतिष्ठानमा जागिर लगाइदिएक थिए । उनले प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित “प्रज्ञा” पत्रिकाको प्रबन्ध सम्पादकको हैसियतमा काम सम्हालेका थिए ।

उनी नेपाल आउनअघि नै उनका एउटा कवितासङ्ग्रह, एउटा गीतसङ्ग्रह र एउटा खण्डकाव्य प्रकाशित भइसकेको थियो । लेखनमा अत्यधिक सक्रिय उनको उर्जाशील जीवन नेपालमा नै बितेको थियो । नेपालमा रहँदा नै उनले मान सम्मान मात्र होइन जीवनका आरोह र अवरोहका अनेकौँ घुम्ती पार गरेका थिए । जीवनमा आईपर्ने घात प्रतिघातप्रति कविता मार्फत दर्शाउनु सक्ने उनको खुबीको विशेष तारिफ योग्य मानिन्छ ।

२०२९ सालमा प्रकाशित उनका कवितासङ्ग्रह “यो जिन्दगि खै के जिन्दगी” ले उनलाई लोकप्रियता र चर्चाको शिखरमा पुर्यायो ।

२०३२ सालमा नेपाली साहित्य संस्कृति परिषद्को संस्थापक सदस्य भएका थिए । उनको साहित्य सिर्जनाका साथै चित्रकला, अभिनय र नाट्य निर्देशनमा समेत रुचि थियो । कवि तथा गीतकार कटुवालका कविताहरुमा स्वछन्दवादी प्रगतिवादी धारमा लेखेको पाइन्छ । उनका कवितामा देशप्रेम, प्रकृति प्रेम, मानवतावाद, र मानवीय जीवनका भोगाइका व्यथाहरुको उजागर गर्नुका साथै समाजमा व्याप्त विकृति र विसङ्गतिका विरुद्धमा कलम चलाएको भेटिन्छ ।

उनी भारतीय नागरिक भए तापनि उनको जातीय र भावनात्मक जरा भने नेपालमा नै गाडिएको थियो ।

२०३६ सालमा प्रजातन्त्र र स्वाधिनताको लागि नेपालमा चलेको सशक्त अभियान ”सडक कविता क्रान्ति” का एक सक्रिय सदस्य थिए ।

अत्यन्त प्रतिभाशाली र इमान्दार भएर पनि अत्यन्त छिटो बदलिने सोच र अस्थिरताको कारण उनको जीवनको उतरार्ध अलिक जटिलता, अन्यौलता र पीडादायीमै बित्यो भन्न सकिन्छ ।

उनका प्रकाशित कृतिहरुमा तिन कवितासङ्ग्रह – बदनाम मेरा आँखाहरु / भित्रि मान्छे बोल्न खोज्छ २०२० र “यो जिन्दगी खै के जिन्दगी” हुन् ।

म मरेको छैन – नाटक, स्पष्टिकरण – कथासङ्ग्रह, सुधा – खण्ड काव्य तथा सम्झना – गीतसङ्ग्रह हुन् । उनले ऐतिहासिक कथा सङ्ग्रहमा सह लेखन पनि गरेका थिए !

उनी बहुभाषिक थिए । उनी नेपाली, आसामी, हिन्दी, बंगाली र अंग्रेजी बोल्नमा सिद्धहस्त त थिए नै नेपालको काठमाडौँमा रहँदा उनले नेवारी भाषा पनि बोल्न सिकेका थिए ।

उनका थुप्रै लोकप्रिय गीतहरु नेपाली जन मानसमा अझै प्रचलित छन् । उनका गीतहरु नेपालका प्रख्यात गायक गायिकाहरु नारायण गोपाल, अम्बर गुरुङ, अरुणा लामा, माया ठकुरी, भक्तराज आचार्य, ओम बिक्रम बिष्ट, निर्मला श्रेष्ठ, अन्जु देवीको आवाजमा कालजयी बनेर सुरक्षित रहेका छन् । उनका अति लोकप्रिय गीतहरुमा “मलाई नसोध कहाँ दुख्छ घाउ”, पोखिएर घामको झुल्का, हाँगा हाँगा बनभरि चैत फुलेछ, लगायतका छन् ।

उनको स्मृति ग्रन्थ नेपाल र आसामबाट प्रकाशित भएका छन् ।

उनको जीवनीमा आधारित वृत्तचित्र “अनि हरिभक्त फर्केनन्” २०७२ सालमा प्रशारण भएको थियो ।

२०७४ सालमा उनको ८२ औं वार्षिक जन्मजयन्तीको अवसरमा उनको कवितामाथि सर्वनाम नाटक घरमा एउटा नाटक मञ्चन गरिएको थियो ।

उनले साहित्यिक पत्रिकाकाहरु मुक्ति / हिमालय/ प्रज्ञा / संगीत सरिता / बान्की / अभिव्यक्ति र डालीको सम्पादन गरेका थिए ।

जीवनका धेरै उकाली-ओराली गर्दै पीडा र व्यथाका आरोह-अवरोह छिचोल्दै उनी पिताको देहान्तपछि असम फर्के । त्यसपछि उनी क्षय रोग र अल्सरको बिरामी भएको पत्तो लाग्यो, र यिनै रोगका कारण ४५ वर्षको अल्पायुमै उनको विसं २०३७ साल भाद्र २५ गते आसाम स्थित दिब्रुगढ़ मेडिकल कलेजमा दुखद निधन भयो ।

अन्तमा लोकप्रिय कवि तथा साहित्यकार हरिभक्त कटुवालको जीवनमा साहित्यले जति चर्चित बन्न पुगे । त्यति नै उनको जीवनको उत्तरार्धमा उनले पाएको दुख, दर्द र पीडाको जीवन पनि त्यतिकै चर्चित छ । आफ्नो श्रीमती जयाको कारणले आफ्नो घर छोड्नु परेको उनले आफ्नो प्रेमिका रत्नाको कारणले आफ्नो देश नै छोड्नु परेको पनि भनिन्छ । त्यही जीवनको नमिठो दर्द पीडा र बिछोड भुल्न उनले अनेक उपाय र कोसिस गरे । त्यस उपायका अनेक अनेक उपाय प्रयोग गर्दै उनी नराम्ररी मदीरामय बाटोमा लाग्न अभ्यस्त भए । अन्तमा त्यही कारण नै उनको दुखद अन्त भो ।

तर मूल कुरा व्यक्तिको दैनिकी जीवन यापनको कारण नै आफ्नो जीवनको मूल बाटो या लक्ष्य कोरिने तथ्य हो । लेखक र लेखन कार्य व्यवसायिक नभएको कारणले गर्दा आत्म निर्भर बन्न नसकेका आम लेखक र साहित्यकार पूर्णकालीन लेखक बन्न असमर्थ भएका छन् । आम लेखकहरुलाई आत्मनिर्भर बनाउन र व्यवसायिक बनाउन आजको आवश्यकता हो । नत्र लोकप्रिय साहित्यकार हरिभक्त कटुवालको ४५ वर्षको उमेरमै र इलामका कवि बिष्णु नवीनको पनि अल्पायुमै त्यसरी नै निधन कदापि हुने थिएन ।

त्यसै सन्दर्भमा सन् २०१० सालमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले साहित्यकारहरुको समुन्नतिको लागि “साहित्यकार राहत कोष” स्थापना गरेको आज म यहाँ सम्झन चाहन्छु । विविध कारणवश त्यो कोषको सुचारु रुपमा सञ्चालन गर्न सकिएन । तर त्यस्तो कोषको आवश्यकता नेपाली भाषा साहित्यकारको सहयोगको लागि आजको चरम आवश्यकता हो भन्ने मेरो ठम्याइ छ ।

कवि हरिभक्त कटुवाल उनका कर्णप्रिय गीतहरुमा अनि समाजका विसङ्गति र बेथितिका बारेमा कोरिएका उनका लोकप्रिय कविताहरुमा सदैव अजर र अमर रहिरहने छन् । सम्पूर्ण नेपाली भाषिका मन मनमा उनका साहित्यिक सिर्जनाहरु दिलभित्र रहिरहेने नै छन् ।

अन्तमा उनै कटुवालका यी चार पङ्क्ति :

बदनाम मेरा आँखामा

सपना ककसको बोकी बाँचु

जिज्ञासा मेरै उत्कण्ठा मेरै

कुन ढुङ्गालाई ढोगेर हाँसु !!! (कटुवाल)

====

१० सेप्टेम्बर २०२२ का दिन अमेरिकाको भर्जिनिया राज्यस्थित थोमस जेफरसन पुस्तकालयको सभाकक्षमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा भएको “४२औं हरिभक्त कटुवाटल स्मृति दिवस” का अवसरमा वाचित लेख ।