साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

भोजपुरबाट काठमाडौँ आउनु नै ठुलो विजय थियो – श्रवण मुकारूङ

देशमा धेरै कुरा परिवर्तन भइसके । परिवर्तनका नाममा थुप्रै आन्दोलनहरू भए । तर अहिले पनि बेलाबखत राज्यलाई खबरदारी गर्नका लागि कवि-लेखकहरू कहिले कविता बोकेर त कहिले विचार बोकेर सडकमा आउनु परिरहेको छ ।

Chovar Blues Mobile Size

मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको
फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शीर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिरे छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक म बौलाएँ ।

(“बिसे नगर्चीको बयान”बाट पहिलो पंक्ति)

आफ्नो राज्य बिस्तारका लागि चाहिने हातहतियार र अन्य आवशकीय सामान खरिदका लागि पैसा छैन भन्दा बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई एक रुपैयाँ दान दिएका थिए । त्यसपछि हरेक घरधुरीबाट एक-एक रुपैयाँ उठाएर युद्धका लागि चाहिने सामान किनिएको थियो भन्ने इतिहास हामीले पढ्दै आएका छौँ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियानमा भौतिक र बौद्धिक रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दरबार निकट र दरबारका प्रिय पात्र मानिने तिनै बिसे नगर्चीलाई केन्द्रमा राखेर एउटा कविता लेखियो “बिसे नगर्चीको बयान” भनेर । ०६२/०६३ को जनआन्दोलनताका लेखिएको सो कविता त्योबेला सर्वाधिक चर्चामा रह्यो । त्यसको चर्चा अहिले पनि कम भएको छैन नेपाली कविताको क्षेत्रमा ।

श्रवण मुकारूङ

सडक आन्दोलनका क्रममा सुनाइएको यो कविताले श्रवण मुकारुङको कविको परिचयलाई एउटा अग्लो उचाइमा पुर्याइदियो । सडकमा सुनाइएको कविताले चर्चा पाएपछि उहाँले सयौँ ठाउँमा गएर सयौँ पटक सो कविता वाचन गर्नुभयो । त्यही कविता बोकेर उहाँ देशका विभिन्न ठाउँ हुँदै विदेशका कार्यक्रममा समेत पुग्नुभयो । जहाँ-जहाँ पुग्नुभयो त्यहाँ-त्यहाँ यो कविता सुनाउनु भयो । हरेक कार्यक्रममा यो कविता नसुनाई उहाँले धर पाउनु भएन । अहिले पनि कवि श्रवण मुकारुङ भन्ने बित्तिकै पाठक/श्रोताको दिमागमा यही कविता पहिले आउँछ । त्यस आन्दोलनमा अन्य थुप्रै स्रष्टाहरुले पनि भाग लिएर कविता सुनाउनु भएको थियो । उहाँहरुको पनि उत्तिकै योगदान छ त्यसमा । संयोगवश बिसे नगर्चीको बयान अलिक बेसी चर्चामा आएको मात्र हो भन्ने कवि मुकारुङको ठहर छ ।

उसो त कुन्ती मोक्तानको आवाज र शिलाबहादुर मोक्तानको सङ्गीत रहेको “माथि-माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई”, पवित्रा सुब्बाको आवाज र शान्तिराम राईको सङ्गीत रहेको “म त तारे भिर तिमी लहरा”, शम्भु राईको आवाज र शान्तिराम राईकै सङ्गीत रहेको “बाटो हेरे हुन्छ आमा म त आउँदैछु” जस्ता अन्य दर्जनौँ गीतहरुले मुकारुङलाई नेपाली साहित्यमा गीतकारको रुपमा पहिले नै परिचय दिइसकेको थियो । रेडियो नेपालबाट २०४७ सालमै सर्वश्रेष्ठ गीतकारको उपाधी पाइसक्नु भएको थियो । तर नेपाली कविताको क्षेत्रमा कवि मुकारुङलाई बिसे नगर्चीको बयानले चर्चाको जुन स्वाद चखायो सायदै अरु कुनै सिर्जनाले त्यसो गर्यो । यसकारण पनि कवि मुकारुङको जीवनमा सो कविताले ठुलो महत्त्व राख्छ । यसो भनिरहँदा अतिशयोक्ति पक्कै नहोला । उहाँको जीवनमा मात्रै होइन समग्र नेपाली कविताकै क्षेत्रमा यस कविताको चर्चा र महत्त्व अहिले पनि उत्तिकै छ । आधुनिक नेपाली गद्य कवितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनस्तरसम्म पुर्याउन पनि बिसे नगर्चीको बयानले ठुलो भूमिका खेलेको छ । कवि र कविता जनताको पक्षमा उभिन्छन् र उभिनुपर्छ भन्ने एउटा ठुलो प्रमाण पेश भएको थियो ०६२/०६३ को जनआन्दोलनमा ।

डिजी शर्मा (युएई)

१० वर्षकै उमेरबाट साहित्य लेखनको यात्रा सुरु गर्नुभएका मुकारुङले नेपाली साहित्यमा साधना गर्नु थाल्नुभएको चार दशकभन्दा लामो समय भइसकेको छ । कविता र गीतका अलवा नाटक र निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएका मुकारुङका एक दर्जन बेसी कृति प्रकाशित भइसकेका छन् । २०२५ साल जेठ २६ गते भोजपुरको दिल्पा ट्याम्के गाउँमा मुकारुङको जन्म भएको थियो ।

माता बिष्णुरेखा राई र पिता : स्व. घनश्याम किराँतका उहाँ जेठो सन्तान हुनुहुन्छ । अर्का चर्चित साहित्यकार राजन मुकारुङ उहाँका सहोदर भाइ हुनुहुन्छ । विद्यालयसम्मको पढाइ भोजपुरमै पूरा गर्नुभएका कवि मुकारुङले एसएलसी सकिएपछि २०४१ सालमा पहिलो पटक काठमाडौँमा पाइला राख्नुभयो । त्यो समयमा भोजपुरबाट काठमा आउनु नै आफैँमा एउटा ठुलो विजयजस्तो हुन्थ्यो । ४/५ दिनको पैदल यात्राबाट धरान चतारा झर्ने र त्यहाँबाट बस समातेर काठमाडौँ आउनु पर्ने अवस्था थियो । काठमाडौँमा बाँच्नका लागि नै ठुलो संघर्ष गर्नुपर्ने अवस्थामा यो साहित्य र सङ्गीत क्षेत्रमा लाग्ने भन्ने कुरा निक्कै परको कुरा हुन्थ्यो । जो कोहीको बसको विषय हुँदैन थियो । गाउँको विद्यालयमै छँदा महाकवि लक्ष्मीप्रसाद देवकोटा,गोपालप्रसाद रिमाल, भूपी शेरचन, इन्द्रबहादुर राई, शंकर लामिछाने, पारिजात लगायतका कृति पढ्ने मौका पाएको र त्यसैबाट प्रभावित भएर उहाँहरुजस्तै ठुलो साहित्यकार बन्ने सपना बन्यो मुकारुङको । अग्रजहरुकै बाटो पछ्याउँदै उहाँहरुजस्तै बन्ने सपनाले कवि मुकारुङलाई साहित्यमा तान्यो र त्यसैको मोहले काठमाडौँसम्म आइपुग्नु भयो । वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ कवि श्रवण मुकारुङका काका हुनुहुन्छ । जो त्यतिबेला रेडियो नेपालको जागिरे हुनुहुन्थ्यो । काका काठमाडौँमा हुनु, त्यसमाथि रेडियो नेपालमा हुनुले पनि कवि मुकारुङलाई काठमाडौँमा सिर्जनामार्फत फैलिन थोरै सहज भएको थियो ।

फेरि पनि त्यो बेला पत्रिका र सञ्चारका माध्यमहरु निक्कै सिमित थिए । रेडियो नेपाल र साहित्यका लागि “साहित्य संसार” भन्ने कार्यक्रम थियो । गरिमा , मधुपर्कजस्ता केही औँलामा गन्न सकिने पत्रिकाहरु थिए । ती पत्रिकामा रचना छापेर र साहित्य संसारमा कविता भनेर आफूलाई कवि बनाउनु पर्ने समय थियो । कविता पठाइसकेपछि पत्रिकामा छापिन कम्तिमा ३/४ महिना कुर्नु पर्ने हुन्थ्यो । कहिलेकाहीँ पत्रिकाको कार्यलयमै गएर भनसुन गर्नु पर्ने, सम्पादकलाई नमस्कार गर्नुपर्ने पनि हुन्थ्यो । कहिलेकाहीँ यति गर्दा पनि प्रकाशित हुने अवस्था हुँदैन थियो । संघर्षको एउटा ठुलो पहाड बोकेर हिँड्नु पर्थ्यो कवि/लेखकहरुले, विशेषगरी नयाँले । उसो त नयाँ कविहरुलाई पत्रिका सिधै ठाउँ दिइहाल्न पनि गाह्रो थियो सम्पादकहरुलाई । यसरी हेर्दा त्यो यात्रा स्मरणीय र रोचक लाग्छ कवि मुकारुङलाई अहिले । त्यही क्रममा काठमाडौँ आएको एक वर्षपछि २०४२ सालमा राजधानीबाटै प्रकाशित हुने ‘उत्साह’ त्रैमासिक साहित्यिक पत्रिकामा कवि मुकारुङको ‘आजकल रानीपोखरीमा’ शीर्षकको कविता पहिलो पटक प्रकाशित भएको थियो ।

०४६ सालको परिवर्तनपछि भने सञ्चारका माध्यमहरुमा अलिकति स्वतन्त्रता आयो । निजि सञ्चारका माध्यमहरु आउन थालेपछि भने परिस्थिति अलिक सजिलो हुँदै गयो । नत्र भने एउटा कवि हुनको लागि गरिमा र मधुपर्कमा छापिनुको विकल्प थिएन । त्यसमा पनि फेरि कविता राम्रो भएको खण्डमा मात्रै मान्छेले सम्झिने अवस्था रहन्थ्यो । ठिकैको भए कसले वास्ता गर्ने ? त्यो पनि नयाँलाई ।

यी तमाम कुराहरुका बाबजुद केही राम्रा पक्षहरु पनि थिए त्यो बेला । त्यो समयमा रचनालाई गम्भीरताकासाथ अध्यन गर्ने, पर्गेल्ने, पाठकहरु थिए । भलै ६ महिनामा एउटा कविता छापिन्थ्यो तर त्यसको तरङ्ग लामो समयसम्म रहन्थ्यो । समालोचक र कविताका विज्ञहरुले पनि हेर्थे । सिमित पाठक भए पनि बडो स्नेहकासाथ सिर्जनाहरुलाई हेर्ने चलन थियो । छापिनुमा कष्टकर भए पनि छापिएपछि रचनाको मूल्य हुन्थ्यो । तर अहिले त्यो अवस्था त्यति छैन । मिडियाहरु प्रसस्त छन् । दैनिक सिर्जनाहरु आइरहेका हुन्छन् । तर त्यसलाई पाठकहरुले कत्तिको गम्भीरताकासाथ पढिरहेका छन् भन्ने सवाल पैदा हुन्छ । आज पढ्यो भोलि बिर्सिने अवस्था छ ।

सुरुवाती दिनमा कठिनाइहरु झेल्नु परे पनि साहित्यप्रतिको रुचीले कवि मुकारुङलाई यसतर्फ तानिरह्यो । हरेक कार्यक्रम र गोष्ठीहरुमा सकेसम्म सहभागिता जनाउने काम गर्नुभयो । अग्रजहरुले कविता सुनिदिएर प्रशंसा गरिदिन्छन् कि दिँदैनन् ? आफ्नो नाम लिइदिन्छन् कि दिँदैनन् ? जस्ता कुराहरुले पनि ठूलो अर्थ राख्छ नव कवि/लेखकहरुलाई ।

काठमाडौँ आएर उहाँले पहिलो पटक आरआर क्याम्पसमा कविता सुनाउँदा प्रमुख अतिथिको रुपमा पारिजात हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दा पारिजातले कवि मुकारुङको नाम राम्रोसँग उच्चारण गर्न जान्नुभएन । तर पनि पारिजातले उहाँको कविताको प्रशंसा गर्नुभएको थियो । “कवितामा साधना गरिसकेको मान्छेको कविता हो” भनेर परिजातले भनिदिँदा त्यो रात कवि मुकारुङ रातभर निदाउन सक्नुभएन खुसीले । गाउँबाटै उहाँको नाम सुनेर, कृतिहरु पढेर आएको पारिजात जस्तो साहित्यकारको प्रशंसा पाउनु आफैँमा ठुलो उपलब्धि थियो कवि मुकारुङका लागि । त्यस्तै गाउँकै स्कुलमा डा. तारानाथ शर्माका पाठ्यक्रमका किताब पढेको, पछि उहाँसँग काठमाडौँमा भेटभयो । डा. शर्माले पनि कवि मुकारुङको प्रशंसा गर्नुभयो । मोहन कोइराला जस्ता कविको पनि मुकारुङले प्रेम पाउनु भयो । यी तमाम कुराहरुले कवि मुकारुङलाई हौसला दिइरह्यो । उसो त अग्रजहरुको माया पाउन पनि राम्रो लेख्नुको विकल्प थिएन । राम्रो लेखेपछि मात्रै उहाँहरुको पनि आफूमा नजर पर्ने हो । त्यसकारण कवि मुकारुङले सधैँ आफूलाई सुधार्ने कोसिस गरिरहनु भयो ।

सुदूरपूर्व भोजपुरको गाउँमा जन्मिएको मान्छे, त्यो ठाउँबाट यो साहित्यमा आउनु नै एउटा दुस्साहस हो भन्ने अहिले उहाँलाई लाग्छ । साहित्यको विशालता र यसको महत्त्व बिस्तारै बुझ्दै गएको, मानव सभ्यताको हरेक काल खण्डमा थुप्रै महान् स्रष्टाहरु जन्मिएको, उनीहरूले साहित्यमा पुर्याएको योगदान बुझ्दै जाँदा यो महासागरमा आफू कसरी आइएछ भन्ने पनि लाग्छ उहाँलाई । साहित्यका यी तमाम कुराहरु बारे पहिल्यै ज्ञान हुँदो हो त सायद आफू यता लाग्ने थिइन कि भन्नुहुन्छ । त्यसकारण कहिलेकाहीँ अल्पज्ञानले पनि मान्छेलाई सही बाटोमा आउन प्रेरित गर्दो रहेछ भन्ने कवि मुकारुङको अनुभव रहन गयो । लाहुरे परिवारमा जन्मिनु भएका मुकारुङ कवि नभएर लाहुरे पनि बन्न सक्नुहुन्थ्यो होला । तर उहाँ लाहुरे हुने समयमा भोजपुरमा लाहुरे छनौट प्रक्रिया नै बन्द थियो । लाहुरे लाग्ने क्रममै युवाहरु एक आपसमा झगडा गरेर लफडा गरेपछि करिब दुई वर्षजति भोजपुरमा त्यसको छनौट प्रक्रिया स्थगित गरिएको थियो । जसले गर्दा कवि मुकारुङको त्यताको बाटो बन्द हुन गयो ।

कलाका हिसाबले भोजपुर ऐतिहासिक जिल्ला हो । नेपाली साहित्यकै इतिहासमा फर्किएर हेर्दा मध्यकालीन ठुला लेखकहरुको ठाउँ भोजपुर हो । सांस्कृतिक हिसाबले उर्वर र राजनीतिक हिसाले सचेत भूमि हो भोजपुर । देशका ठुला राजनीति परिवर्तनमा भोजपुरको पनि महत्त्वपूर्ण योगदान रहँदै आएको छ । षडानन्द गुरु, योगमाया हुँदै राम प्रसाद राई, नारदमणी थुलुङ जस्ता व्यक्ति जन्मिएको ठाउँ हो भोजपुर । यसका अलवा राष्ट्रिय स्तरका अन्य थुप्रै व्यक्तित्व भोजपुरले जन्माइसकेको छ । आफू साहित्यमा आउनुमा त्यसको प्रभाव पनि परेको कवि मुकारुङ बताउनु हुन्छ । यसका अतिरिक्त उहाँ अध्यनरत अन्नपूर्ण माविमा कला साहित्यप्रति अलिक सचेत शिक्षकहरु हुनुले पनि ठुलो भूमिका खेल्यो मुकारुङलाई साहित्यमा ल्याउन । शिक्षकहरुले पाठ्यक्रमका किताब पढाउने मात्र नभएर नाटक खेलाउने, गीत गाउन लगाउने, कविता भन्न लगाउने जस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सक्रिय राख्ने गरेको मुकारुङ सम्झिनु हुन्छ । यो भन्दा पनि महत्त्वपूर्ण कुरा उहाँको जीवन कालमा घटेका ठुला राजनीतिक घटनाक्रम, राज्य व्यवस्था परिवर्तनका लागि गरिएका संघर्ष र देशमा भएका विभिन्न राजनीतिक उथलपुथलहरुले भर्खर जन्मिँदै गरेको एउटा कविलाई कवि हुन ठूलो प्रभाव पार्यो ।

कुनै समय कवि मुकारुङलाई गायक बन्ने रहर पनि थियो । यो चाहिँ उहाँको दोस्रो प्राथमिकतामा पर्थ्यो । काठमाडौँ आएपछि स्वर परिक्षाका लागि रेडियो नेपाल पुग्नु भयो । खासै केही तयारी नगरी दिएकोले उहाँ स्वर परीक्षामा उत्तीर्ण हुनु भएन र फेरि कहिल्यै प्रयास पनि गर्नुभएन । तथापि कलेजमा हुने विभिन्न गायन प्रतियोगिताहरुमा भाग लिएर पुरस्कार पाउँदै आउनु भएको थियो । गायनमै लागेको भए अहिले ठिकैको गायक भइन्थ्यो कि भन्ने पनि लाग्दो रहेछ उहाँलाई । त्यसले अलि बेसी नै साधना र अभ्याससँगै निरन्तरता खोज्ने भएकोले त्यसो गर्न नसकिएका कारण गायनसँगको आफ्नो सम्बन्ध टुटेको कवि मुकारुङको बुझाइ छ ।

तर साहित्य लेखन र यसबाट पाएका उपलब्धिहरुबाट कवि मुकारुङ सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँसम्म आइसक्यो कि अब आफ्नो कर्मप्रति गौरव गरिएन भने काम लाग्ने मान्छे भइँदैन । जानेर, नजानेर यति लामो यात्रा गरिसकेपछि अब मैले यसैमा गर्व गर्नुपर्छ र म गर्छु पनि । म यसैमा खुसी पनि छु । मैले मात्र होइन हरेक मान्छेले आफ्नो कर्मप्रति गौरव गर्न सिक्नु पर्छ । तनमनले काम गर्नुपर्छ । अनि मात्र ऊ सफल हुनसक्छ । नत्र ऊ दुर्घटनामा पर्न सक्छ । तसर्थ म जे छु यही सिर्जनाले मलाई बनाएको हो । त्यसो हुँदा म गर्व गर्छु ।”

वि.सं. २०४९ सालमा प्रकाशित “देश खोज्दै जाँदा” कविता सङ्ग्रह उहाँको पहिलो कृति हो । त्यसका अतिरिक्त “जीवनको लय” ‘बिसे नगर्चीको बयान’, ‘हिउँको दरबार’, ‘यलम्बर’, ‘तर्कहरुको विपक्षमा’, ‘फूलको आवाज’, ‘निष्कर्ष’, ‘गेसो मुभमेन्ट फर इक्वालिटी’, भावालय, सुन रे सियाराम, मितिनी लगायत उहाँका अन्य प्रकाशित कृतिहरु रहेका छन । त्यसै गरी क्वारेन्टिनबाट कविता, प्रज्ञा मिथक कोष, मातृभाषा साहित्यको इतिहास लगायत थुप्रै साहित्यिक कृतिको सम्पादन समेत गरिसक्नु भएका मुकारुङले “अनागरिक” नामक चलचित्र लेखन पनि गर्नु भएको छ ।

यसका साथै मुकारुङका ३ सय भन्दा धेरै गीत विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छन् । एक दर्जन चलचित्रमा उहाँले गीत लेखनको कार्य गरिसक्नु भएको छ । मुकारुङले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यको रुपमा रहेर सेवा पुर्याइसक्नुभएको छ । कवि मुकारुङलाई नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानका लागि नेपाल सरकाबाट प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कार, प्रवल जनसेवाश्री , मोती युवा वर्ष पुरस्कार, प्रतिभा पुरस्कार बेलायत, छिन्नलता गीत पुरस्कार, जीवन स्मृति पुरस्कार, विमल स्मृति पुरस्कार गरि दर्जनौँ पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपाली कवितामाथि सूक्ष्म विश्लेषण गर्न सक्ने अध्ययनशील कवि मुकारुङले मानविकी शङ्कायमा स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । कुनै समय विद्यार्थी राजनीतिमा सक्रिय मुकारुङ त्यसकै कारण जेल समेत पर्नुभएको छ ।

आजभन्दा ७/८ वर्ष पहिले अन्त कतै दिइएको एक अन्तरवार्तामा कवि मुकारुङले आफ्ना सिर्जनाहरुमाथि गम्भीर समालोचना नगरिएको भनाइ राख्नु भएको थियो । अहिले अवस्था के छ त ? भन्ने जिज्ञासामा मुकारुङ यस किसिमका गुनासा अधिकांश लेखकहरुमा हुने गरेको स्वीकार गर्नुहुन्छ । हरेक लेखकलाई आफ्ना सिर्जनाहरुमा समीक्षा ,समालोचना बहसजस्ता कुराहरु भइदिए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक पनि हो । नेपाली समालोचनाको क्षेत्रमा अग्रज पुस्तालाई मात्र अलिक बेसी हेर्ने, अलिक उमेर ढल्किँदै गएपछि मात्र स्रष्टाहरुको खोजिनीति गर्ने अझ भनौँ कतिपय सन्दर्भमा त मरेर गएपछि मात्र उसको खोजी गर्ने परिपाटी छ । यसले गर्दा युवा पुस्ताका कवि/लेखकहरु ओझेलमा परेका हुन सक्छन् । हुन त अहिले पनि थुप्रै अग्रज स्रष्टाहरु हुनुहुन्छ जसको बारेमा खोज अनुसन्धान गर्ने र उहाँहरुको योगदानको मूल्याङ्कन गर्ने काम बाँकी नै छ ।

नेपाली साहित्यमा आफ्नो यात्राले चार दशक नाघिसकेको र यो अवधिमा थुप्रै नयाँ स्रष्टाहरु आइसकेको भए पनि कविता पढाउनेहरुले अहिले पनि अग्रज पुस्तालाई मात्र प्राथमिकतामा राखेको कवि मुकारुङको गुनासो छ । साहित्यिक जगतमा राम्रै चर्चा पाएको भए पनि औपचारिक रुपमा पाठ्यक्रममा सिर्जना समावेश गर्ने सवालमा सम्बन्धित निकाय आफ्नो पुस्तासम्म पनि नआइरहेको अवस्थामा युवा लेखकहरुको मूल्याङ्कन कहिले होला ? भन्दै उहाँ प्रतिप्रश्न गर्नुहुन्छ । यी सबै कुरा हुनुको पछाडि समालोचकहरुमा समस्या देख्नुहुन्छ उहाँ । नयाँ पुस्तामा आउन समालोचकहरूले अध्ययनको दायरा बढाउनु पर्ने हुन्छ । तर उहाँहरूमा अध्ययनको सीमितता छ । अन्य देशका समालोचकहरूले जस्तो गर्ने अवस्था नेपाली साहित्यमा छैन । कतिओटा कलेज भ्याउनु पर्ने हुन्छ उहाँहरूले । अलिकति जोखिम पनि उठाउनु पर्ने हुन्छ । एउटाको मात्रै पढेर पनि भएन । एक समयमा आउने पुस्ताका सबैलाई पढ्नु पर्ने हुन्छ । यसरी हेर्दा समालोचकहरुको समयको सिमितताले गर्दा पनि नयाँ र युवा पुस्तासम्म उहाँहरुको नजर नपरेको हुन सक्छ । कतिपय अवस्थामा एउटाको बारेमा लेख्दा अर्को रिसाउने पनि हुन्छ । ‘मेरो परेन’ भन्ने समूह ठूलो हुन्छ सधैँ । त्यसकारण उहाँहरुले जोखिम उठान नसकेको/नखोजेको पनि हुन सक्छ । तर यसले समग्र नेपाली साहित्यलाई सही ढङ्गले मार्ग निर्देशन र आलेखन गर्ने काम कमजोर भएर जाने छ । त्यसो हुँदा कहाँ कसले के लेखिरहेको छ भनेर हेर्ने दायित्व समीक्षक, समालोचकहरुकै हो । अन्य देशको हेर्ने हो भने भर्खरै लेख्दै गरेका लेखकलाई पनि सम्बोधन गरिरहेका हुन्छन् भने अग्रज पुस्तालाई पनि समेटिरहेका हुन्छन् । तर त्यो परिपाटी हाम्रोमा अलिक कम छ । अर्को कुरा हाम्रोमा गुटबन्दी छ । राजनीतिक आस्थाले पनि काम गरिरहेको हुन्छ । यी यस्ता कुराहरुले गर्दा हाम्रो समालोचना अलिक कमजोर भएको हो भन्ने कवि मुकारुङको ठम्याइ छ ।

उसो त राम्रो काम र राम्रो सिर्जना छोडेर जान सकेको खण्डमा समयले भोलि त्यसको मूल्याङ्कन गर्ने नै छ । संसारको इतिहासले पनि त्यो कुरा देखाउँछ । चिहानबाट निकालेर पुजा गरेका स्रष्टाहरुको बारेमा हामीले पढ्दै आएका छौँ । जीवनकालभरि अबहेलना गर्ने तर पछि उसको मूल्य बुझेर, उनीहरुको सिर्जनाको महत्त्व बुझेर उनीहरुलाई सम्मान गरिएका इतिहास थुप्रै छन् । यसरी हेर्दा आफूहरुले पनि त्यतिधेरै गुनासो नै गरिहाल्नु पर्ने अवस्था नभएको उहाँलाई लाग्छ ।

देशमा धेरै कुरा परिवर्तन भइसके । परिवर्तनका नाममा थुप्रै आन्दोलनहरू भए । तर अहिले पनि बेलाबखत राज्यलाई खबरदारी गर्नका लागि कवि-लेखकहरू कहिले कविता बोकेर त कहिले विचार बोकेर सडकमा आउनु परिरहेको छ । कवि लेखकहरु सामाजिक अभियानता भएको र राजनीतिज्ञको जत्तिकै उनीहरुको पनि भूमिका हुने भएकोले त्यसो गरिनु आवश्यक देख्नुहुन्छ कवि मुकारुङ । कवि लेखकहरुको बाटो मात्र फरक हुने हो । त्यसैको माध्यमबाट एउटा लेखकले समाजलाई केही न केही योगदान दिइरहेकै हुन्छ । चेतनाको दृष्टिले सिर्जनाको क्षेत्रबाट दिइरहेको हुन्छ । त्यसले मार्गदर्शनको काम गर्छ । तर समय परिस्थिति सधैँ एकै रहँदैन र कहिलेकाहीँ जनताको आवाजलाई बुलन्द पार्न कवि लेखकहरु पनि सडकमा जानु पर्ने अवस्था आउँछ ।
लेखक पनि यही समाजको एउटा सदस्य हो । लेखेर मात्रै पनि उसको आफ्नो भूमिका निर्वाह हुँदैन । लेख्नु त उसको कर्म छँदै छ । तर ऊ समाजको सदस्य पनि भएको नाताले समाज कसरी हिँडिरहेको छ ? त्यो समाजको गतिसँग सँगै जान सकेको खण्डमा मात्र त्यो बेसी प्रभावकारी हुने भएकोले समयको मागअनुसार कहिलेकाहीँ सडकमा जाने हो । यो त फेरि अनन्त यात्रा हो । समाज बदल्ने , सभ्यतालाई विकसित गर्ने, चेतनाको खेती गर्ने भनेर हामीले आफूलाई भनिरहँदा समाजमा कहाँ कसरी अन्याय भइरहेको छ भन्ने कुरा लेखकलाई थाहा हुन्छ । यसकारण पनि “बिसे नगर्चीको बयान” जस्ता कविताहरु अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छन् ।

राज्यलाई खबरदारी गर्ने सवालमा कवि लेखकहरु सधैँ अग्रस्थानमै हुन्छन् । हरेक काल खण्डमा यो हुँदै आएको पाइन्छ पनि । प्रत्येक युगमा प्रतिभाहरु आइरहेका हुन्छन् । समयले ल्याइरहेको हुन्छ । तर चलायामान समयको मापन गर्ने कुरा एउटा राजनीति हो । यसरी चलिरहेको समयमा सबै स्रष्टाले योगदान गरिरहेकै हुन्छन् । कोही अलिक अघि देखिन्छन् त कोही अलिक पछि । तर एउटा युग हाँक्ने स्रष्टा जन्मिने कुरा प्रधानमन्त्री अथवा राष्ट्रपति फेरिएजस्तो एउटा जानसाथ अर्को आउने भन्ने चाहिँ यसमा हुँदैन । त्यस्ता स्रष्टा पाउन एउटा युग नै कुर्नु पर्ने पनि हुन सक्छ । शेक्सपियर पाउन समयले कति कुर्यो होला ? यसरी एउटा विलक्षण र विशिष्ट स्रष्टा पाउन कुनै राज्यले एउटा युग नै कुर्नु पर्ने पनि हुन सक्छ । यसका बाबजुद पनि नयाँ-नयाँ प्रतिभाहरु आफ्नो पहिचानसहित आइरहेका छन् । जसले गर्दा भोलिका दिनमा श्रवण मुकारुङजस्ता अन्य थुप्रै विशिष्ट कविहरु समयले जन्माउन सक्नेछ । तर त्यसका लागि हरेक समयका कवि लेखकहरुले एउटा चुनौतीको सामना गर्नु पर्ने हुन्छ । त्यो हो आफ्नो छुट्टै पहिचान बनाउने सवाल । अरुकोभन्दा फरक के दिइयो त ? नयाँ कुरा नयाँ ढङ्गले दिन सकियो कि सकिएन त ? भन्ने कुरा हरेक स्रष्टाको परिचयसँग जोडिन आइपुग्छ ।

त्यसकारण भोलिका दिनमा कोही कसैले कुनै कवि लेखकहरुलाई किन खोज्ने अथवा किन खोज्छन् त ? भन्ने कारण निर्माण गर्नु हरेक स्रष्टाका लागि चुनौतीको विषय हो र यो चुनौती सधैँ रहिरहने कवि मुकारुङ बताउनु हुन्छ । यसका लागि पाठक अथवा बजारलाई लक्षित गरेर लेख्ने कि आत्माविश्वासका साथा आफ्ना कुराहरु लेख्ने ? भन्ने सवाल पनि पैदा हुन जान्छ । किन भने यी दुबै ढङ्गले साहित्य लेखन भइरहेका छन् । पाठक अथवा बजारलाई मात्र लक्षित गरेर लेख्दा कहिलेकाहीँ लेखक दुर्घटनामा पर्न सक्ने सम्भावना रहन्छ । समाज र विश्वलाई हेर्ने दृष्टिकोण हरेक लेखकमा आ-आफ्नो हुन्छ । हरेक लेखकभित्र आ-आफ्नो दार्शनिकता हुन्छ । त्यही कुराले उसलाई लेखाइ रहेको हुन्छ । उसको सिर्जनलाई तिनै कुराहरुले मार्गदर्शन गरिरहेका हुन्छन् । यसर्थ जीवन र जगतलाई हेर्ने आफ्नो दृष्टिकोणप्रति सही ढङ्गले उभिएर कसैले साहित्य सिर्जना गर्छ भने उसका सिर्जना मन पराउनु र मन नपराउनुले खासै ठुलो असर पर्दैन । तर कसैले मनै नपराउने, कसैले वास्तै नगर्ने, कसैलाई कामै नलाग्ने लेखिरहेको छ भने लेखक स्वयंले आफैँमाथि शंका गर्नु पर्ने पनि हुन्छ । आफूमा केही कमजोरीहरु छन् कि ? भनेर त्यसको खोजी गर्नुपर्ने हुन्छ । किन भने एउटा लेखक पनि यही समाजको सदस्य भएको र उसले समाजकै लागि लेख्ने भएकोले समाजप्रतिको दायित्व लेखकमा जोडिन आउँछ । तसर्थ समाजको दायित्व र उनीहरुका रुचीसँग पनि लेखकको तालमेल हुनु आवश्यक देख्नुहुन्छ कवि मुकारुङ ।

लेखक परिचय

डिजी शर्मा साहित्यपोस्टका युएइ संवाददाता हुन् ।

प्रतिक्रिया
Loading...