१. शब्दहरुको पुनर्वास – राजेन्द्र भण्डारी

नेपाली भाषामा पी.एच.डी. भारतीय मूलका वरिष्ठ नेपाली कवि राजेन्द्र भण्डारीको कवितासङ्ग्रह हो – शब्दहरुको पुनर्वास । नेपाली कविताको क्षेत्रमा भण्डारीलाई प्रयोगशील र समसामयिक धारका सफल कवि भन्दा अतियुक्ति हुँदैन । शब्दहरुको पुनर्वास कवितासङ्ग्रहकै आधारमा उनलाई उत्तरआधुनिक कवि मान्न सकिन्छ ।

“यो युग काव्य र काव्येतर विधाबीचको दूरी क्षीणतर बन्दै गइरहेको युग हो । यो युग साहित्यले विद्युतीय मनोरञ्जनसाधनासँग जुझ्नुपरेको युग हो ।”, पुस्तकको लेखकीयमा कवि भण्डारी लेख्छन्, “मानवमस्तिष्क अहिले उग्र बजारवादको ताण्डवभूमि बनेको छ । अनुभूतिहरु दोयम हुँदै गएका छन् । कष्ट, हर्ष, वीरता, विषाद, जय, पराजयका बोधहरुलाई टेलिभिजनले निर्धारित गरिरहेछ । प्रतिसंसार, प्रतिअनुभवहरुको बिम्बले मानवमस्तिष्कमा घरघडेरी बनाइसकेको छ । बौद्रिलाको आभासी यथार्थ (Simulacra) लाई झट्कारेर निक्खर मानवीय अनुभूतिहरुलाई स्थापित गराउनु कविहरुको दुर्वह दायित्व हो ।”

भण्डारीका यसअघि हिउँदै यी चिसा रातका पर्दाहरु (१९७९), यी शब्दहरु : यी हरफहरु (१९८६) र क्षर/अक्षर (१९९८) कवितासङ्ग्रहका साथै अङ्ग्रेजी, हिन्दी, पञ्जाबी, मणिपुरी, उडिया र असमियामा कविताहरु अनूदित–प्रकाशित छन् ।

शब्दहरुको पुनर्वासलाई शताब्दी प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।

२. अगेनाको धुवाँ – सरस्वती शर्मा

दार्जीलिङ निवासी सरस्वती शर्मा छेत्रीको कथासङ्ग्रह हो – अगेनाको धुवाँ । कथाकारले कथाको छोटो रुप, दैनिक जीवनको भोगाइमा तथा विभिन्न क्षणविशेषमा प्राप्त प्रभावित घटना र उपघटनालाई कथानकका रुपमा बुनेकी छिन् । कथाहरुमा विशेषत: नारीको पीर–व्यथा, उत्पीडन, पीडा, घरका चार भित्ताले छेकेका घरभित्र र बाहिर नारीहरुले भोग्नुपरेका परिस्थितिहरुलाई उद्घाटित गरिएको छ ।

“नारीलाई आमा, बुहारी, दिदीबहिनी एवम् स्वास्नीको रुपमा राखेर उनीहरुभित्रको उकुसमुकुस परेका यातना भोगाइमा समेटिएका कष्टहरु तथा उनीहरुको इच्छाविरोधी गरेका कर्महरुप्रति शर्माले पात्र–पात्रालाई परिस्थिति र स्थितिमा बोल्न लगाएकी छन् ।”, पुस्तकको भूमिकामा डा. सुकराज दियाली लेख्छन्, “पुरुषप्रधान समाजको हावभावलाई उदाङ्गो पारेर प्रकाशित गर्न खोजेकी छन् । छोरी–चेली कोमल, ममतामय भएर जीवन बाँच्छ भन्न भुलेकी छैनन् । कतिपय ठाउँमा पुरुषपात्रलाई पनि उच्च र सन्तभावको रुपमा प्रस्तुत गरेकी छन् । अगेनाको धुवाँ – भित्रका कथाहरुलाई हेर्दा मोटामोटी व्यङ्ग्य कथा, संस्मरणात्मक कथा, भावपूर्ण कथा, प्रेमजनित कथा, सामाजिक कथा आदि छन् । यी कथाहरुले गाउँ–घरको भूगोलमा प्राप्त विषयवस्तुलाई टिपेका छन् ।”

पुस्तकलाई धूम, दार्जीलिङस्थित इजा प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । १ सय २० पृष्ठमा फैलिएको कथाकृतिको मूल्य २ सय रुपियाँ रहेको छ ।

३. केही अनुभूति विवशताहरुको – लक्ष्मीप्रसाद गुरुंग

गुरुथांग बस्ती, पश्चिम सिक्किम निवासी लक्ष्मीप्रसाद गुरुंगको तेस्रो कथासङ्ग्रह हो – केही अनुभूति विवशताहरुको । सङ्ग्रहमा विश्वास हराएको रात, कर्तव्य, स्वैच्छिक अवकाश, त्यो प्यारो गाउँ, पार्थक्य गाउँ र शहरबिच, आदर, दोषी को ?, सपना, गुरुंग माइलालगायत छोटा आयतनका २२ कथाहरु सङ्ग्रहित छन् ।

“हामी प्रकृतिपूजक भएकाले संसारी पूजा गर्ने प्रथा थियो । प्रत्येक गाउँमा प्रतिवर्ष संसारी पूजा गर्ने । संसारी माई, सिमेभूमे, नागनागिनी, शिकारी, देवराली, भञ्ज्याङ, पहाड–पर्वत, खोलानालाको पूजा गर्दथे ताकि गाउँघरमा रोगव्याधि, महामारी, रतगमासी, हैजा आदि नलागोस्, अनिकाल नलागोस्, अन्नबाली सप्रियोस्, पशुधन फैलियोस् भनेर ।”, पुस्तकको भूमिकामा टेकबहादुर गुरुंग तामी लेख्छन्, “तर आजकल संसारी पूजा शायदै गर्छन् ! कथाकार स्वयंले संसारी पूजा गरेको रात पानी परेको बताउनु हुन्छ, साथै संसारी पूजा गरिन्थ्यो र यो प्रथा हाम्रो गाउँघरमा कल्पान्तसम्म रहिरहुन् भन्ने हेतु दस्तावेजको रुपमा हामी माझ पस्कनु हुन्छ – संसारी पूजा कथामार्फत ।”

पुस्तकलाई गेजिंगस्थित प्रति प्रमद कुशल कर्म प्रकाशनले प्रकाशनमा ल्याएको हो ।