
२ डिसेम्बर २०२०, बुधबार:
रातभरि निदाउन सकिनँ म । सँगै सुतेका पन्तजी घुरेको सुन्छु, झन् ब्यूँझिन्छु । दिउँसो हेरेको ‘कोको डे मेर’कै झझल्कोले चिमोटेर सुत्न दिएन मलाई । प्रकृतिमा भेटिएको त्यो अद्भुत चिज स्पर्शको अलौकिक अनुभवले मन एक तमासको भइरह्यो । सुनिएका, पढिएका पौराणिक किम्बदन्तीले झस्काइरहे । भ्रमण वास्तवमा शिक्षाको एक महत्त्वपूर्ण र अत्यावश्यक कोर्स नै हो भन्दा अत्युक्ति नहोला । भ्रमणले मान्छेको ज्ञानकुण्डमा अनुभवको अमृत मिसाइदिन्छ र शिक्षा जीवन्त बनाइदिन्छ । हाम्रातिर विद्यालय र विश्वविद्यालयका चौघेराभित्र ज्ञान र शिक्षाको सिमा नापिन्छ। तर, पाश्चात्य मुलुकहरुमा सैद्दान्तिक र प्रयोगात्मक शिक्षा बराबरी दिइन्छ । भ्रमण र अवलोकनले पढेका र सुनेका कुराहरुको प्रत्यक्ष अनुभव दिलाउँछ । अनि मिथक र कल्पनाहरु यथार्थमा परिणत हुन्छन् । हिमाल कस्तो हुन्छ भन्ने कुरा बरफ छोएर अनुमान त गर्न सकिन्छ तर अनुभव गर्न सकिन्न । मैले समुद्रको बारेमा जति नै तालतलैया र नदीनाला हेरेर कल्पनाबाहेक अरु केही गर्न सकेको थिइनँ । आज प्रत्यक्ष साक्षात् समुद्रको स्वभाव कवितामा उतार्न सक्ने भएको छु । भ्रमणका सम्बन्धमा प्रसिद्द अङ्ग्रेजी लेखक बेकनको कथन छ- “युवा वर्गको लागि भ्रमण शिक्षाको एक महत्त्वपूर्ण अङ्ग हो । विद्वान वर्गले भ्रमणबाट नै ज्ञानको अनुभव प्राप्त गर्दछन् ।”
भ्रमणबाट हामी जे सिक्छौं नि, त्यो किताबी जानकारीले मात्र अधुरै हुन्छ। भनिन्छ- सिक्नको लागि आँखाको भूमिका अन्य ज्ञानेन्द्रीयको तुलनामा अधिक हुन्छ। जस्तै: किताबमा पढेको पशुपतिनाथ मन्दिर उहीँ नपुगी राम्रोसँग बुझ्न सकिँदैन । हनुमानढोकाको नौतले दरबार त्यहीँ पुगेर चढेपछि मात्र घुस्छ दिमागमा । किताबमा लेखेको तला गनेर मात्र यसको यथार्थ वस्तुस्थिति थाहा पाइन्न । कागजी फूलले न बासना दिन सक्छ न त चित्रमा हेरिएको बाघले झम्टिन नै सक्छ ! यिनीहरुको वास्तविक गुण र स्वभाव जान्न त नजिक पुग्नै पर्छ नि ! हो, भ्रमणबाट प्राप्त शिक्षा यस्तै ठोस हुन्छ, जीवन्त हुन्छ र विश्वासनीय हुन्छ । एउटा ज्वलन्त उदाहरण मै हूँ कि – टापुहरुका बारेमा पढियो । ज्ञान अल्प थियो, आज टापुमै बसेर कर्म गर्दैगर्दा यसको बारेमा किताबै लेख्ने आँट आउँछ । यही ‘कोको डे मेर’ कै बारेमा भनौं न- पहिला सुनेको, पढेको र आंशिक देखेको मात्र थिएँ । तर योपटक यसको उत्पादनस्थलमै गएर हेर्ने, छुने, छाम्ने र अन्वेषणसमेत गरेकाले यसको बारेमा प्रवचनै दिन सक्ने भएर आएँ । किताबै लेख्न सक्ने हिम्मत लिएर फर्किएँ ।
निद्रादेवी फकाउने मेरो प्रयास लगभग असफल हुँदै गर्दा बिहानीपख झुपुक्क निदाएछु तर एकदमै पातलो निद्रा । अन्यत्र बास बस्दा पनि बिहान उठेर हनुमान चालिसा जप्ने पन्तजीको दैनिकी प्रसंसनीय छ। कोठामा गुञ्जिएको उहाँको आवाजले थप सुत्ने प्रयत्न पनि ब्यूँझाइदियो । कुनै नेपाली आध्यात्मिक घरानामा भएको आभाससँगै नित्यकर्म सकेर बिहान आँखा पोल्दै ब्रेकफास्ट गरियो । अनिदोले जिउ खङ्ग्रङ्ग छ तर परेलीमा निद्राचाहिँ छैन । तैबरु इन्टरनेटले सबै कुरा बिर्साइदिन्छ र ज्यानले सित्तलता पाउँछ। सदाझैँ अन्जु बहिनीले नेपाली समयअनुसार नै बिहानको खाना पस्किन् । पन्तजी र म पाहुँना। खानेभन्दा काम छैन।
झन् नेपाली स्वादले जिब्रो रसाईरहन्छ। मनोज दम्पत्तिको आतिथ्यताले बेस्सरी पल्काइरहेको छ। अञ्जुले पस्केको खाना मनोजजीले टेबलमा सर्भ गरेपछि हात धोएर बस्यौं, खायौं र आत्मसन्तुष्टिले फुलेल भयौं। नेपाली हौं, काँटा-चम्चाले भन्दा हातैले आनन्द आउँछ खान । फ्रिगेट आइल्याण्डमा पनि कहिलेकाहीँ क्याफेटेरियाको कन्टिनेन्टल खानाले दिक्क हुँदा आफ्नो निवासमा सेल्फ कुकिङ्ग गरेर नेपाली स्वादमा हातैले दनक दिने गरेको छु मैले । खाना खाइसकेर एकछिन सुस्ताएपछि लेमुरिया रिसोर्ट अवलोकनका लागि प्रस्थान गर्यौं योजना मुताबिक ।
बाटामा थपिए भूमिराज र विवेक लामाहरु । थानेश्वर तिमल्सिना र हरी थापा लेमुरियाकै गेटमा पर्खिबसेका भेटिए । कन्सटेन्स लेमुरिया रिसोर्ट एक प्रसिद्ध पाँचतारे चेन होटेल हो । मालदिभ्स, माडागास्कार, मौरिसस, सेसेल्सलगायतका देशमा यसका आउटलेट प्रपर्टी छन् । सेसेल्सको हकमा सम्भवतः सबैभन्दा धेरै क्षेत्रफल ओगटेको हस्पिटालिटी उद्योग यही हो । त्यसो त सेसेल्समा यस्ता ठुला तारे होटेल थुप्रै छन् । यहाँको मुख्य आयश्रोत नै पर्यटन उद्योग हो । म कार्यरत् फ्रिगेट आइल्याण्ड पाँचतारे रिसोर्ट योभन्दा सुन्दर छ । यो पनि पाँचतारे नै हो, कमचाहिँ लागेन । ग्राहक शुल्कको हिसाबले चाहिँ फ्रिगेट नै सबैभन्दा महँगो होला सेसेल्समै । एकै रातको पाँचदेखि अठार हजार युरोसम्म तिर्छन् पर्यटकहरु । त्यो त एउटा भिल्लाको मात्रै । खानपिन त छुट्टै छ फेरि । सोच्छु, हाम्रो देशमा यस्ता, यति महँगा स्तरीय होटेलहरु कहिले बन्लान् र ह्वारह्वार्ती पर्यटकहरु ओइरेलान् ? ए,…लेमुरियामा आएर फ्रिगेटको बयान पो गर्न थालेछु म त !
मुख्य गेटमा डिजिटल थर्मामिटरले तापक्रम नाप्यो, हातमा सेनिटाइजर खसालिदियो । सेक्युरिटी थिए नेपालीहरु नै । विशाल गुरुङ, छवी श्रेष्ठलगायत । त्यो भीमकाय भूगोलमा मन नचोर्ने चिजबिज केही थिएनन् । जे हेर्यो त्यही राम्रो, जता हेर्यो उतै रमाइलो। पर्यटक लोभ्याउन सिँगारिएको सुन्दर प्रकृति । गफ गर्दै, फोटो खिच्दै अघि बढिरह्यौं हामी ।
काठमाडौँ, त्रिभुवन विमानस्थल छेउको गल्फ कोर्स हेरेको छु ओहोरदोहोर गर्दाबाटैदेखि । सडकपेटीबाट र कहिलेकहीँ ट्याक्सीको झ्यालबाट । आफ्नो घरेलु विश्वविद्यालयले दिएको बेरोजगारको लाइसेन्स बोकेर कामको खोजीमा देश-विदेश भौँतारिने क्रममा कुनै समय मलेसिया र सिङ्गापुरको सिमानामा पुगेको थिएँ। एउटा प्रसङ्ग यस्तो छ: जोहोर बाहरु राज्यमा अवस्थित पोण्डेरोसा गल्फ कोर्स एण्ड रिसोर्टमा एउटा डिनर खान भाग्यले जुराएको थियो। कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सबै स्टाफलाई गज्जबको डिनर पार्टी दिएको थियो। सम्झिँदा मेरो जीवनको पहिलो ठुलो कन्टिनेन्टल भोजन थियो त्यो। खान बस्नेबितिक्कै टेबलमा एकपछि अर्को खाद्य परिकार पेय पदार्थसहित आउँदा अचम्म लागेर झन्डै आत्तिएको थिएँ । त्यहीँमाथि दाम्चा उधारिएका केराका थामजस्ता सेता तिघ्रा थलथल पार्दै चाइनिज मूलका मलेसियन वेट्रेसहरु हातमा ट्रे बोकेर बारबार आऊजाऊ गर्थे। सर्पकाझैं आँखा चमचमाउँदै, ओठमा पोतिएको लाली मुस्कान हाम्रै प्लेटमा पोखिदिन्थे छेउमै आएर। त्यसै त काँटा-चम्चा राम्रोसँग चलाउन नजानेर हातै छोडौं कि जस्तो हविगत झेलिरहेको म, उसै ती शोडषीहरु अत्तरको चर्को राग छोड्दै लैबरी खेलिरहन्थे वरिपरि आएर । झन्, मेरो दायाँ-बाँया र सामुन्नेमै पनि महिला स्टाफहरु नै थिए। ती चाइनिज केटीहरु त मेहेनतले खिपेको बाँसका कप्टेराजस्ता सिन्काले बडो गज्जबले खाइरहेका थिए। म भने लोभ लाग्दा-लाग्दै पनि मासुका अंश हड्डीमै छोड्न बाध्य हुन्थें । लाजले रातोपिरो हुँदै मरेर मेन कोर्स सकिएथ्यो।
डेजर्टमा आएको आँपको आइसक्रिम भने चम्चाले धित मरुन्जेल खाइयो। अघि त आफूले खाएको होइन कसैका लागि खाइदिएको जस्तो गरेर कष्टले लेठा छिनिएथ्यो। अहिले भने आफ्नै पेटमा परेजस्तो भयो चिसो आइसक्रिम। डेजर्टका पनि अनेक भेराइटी आए। पालैपालो खाएर न्यापकिनले मुख पुछ्दा अरुको हाभाउ हेर्दै सिक्नु परेथ्यो। मेरो मात्र होइन, अन्य २८ नेपाली र सयौं भारतीय, पाकिस्तानी र बङ्गाली श्रमिकहरुको पनि मेरो जस्तै निरिह नियति थियो त्यहाँ। यतिबेला आफैं एक विश्वप्रसिद्ध पाँचतारे लक्जरी रिसोर्टको म्यानेजमेन्ट लेभलमा काम गर्छु। हस्पिटालिटी इण्डस्ट्रीसम्बन्धी काम नजाने त खैरातै छैन । कतिपय काम रहरले सिकिँदोरहेछ अनि कतिपय कहरले। त्यसो त नेपालीहरुले अन्तराष्ट्रिय स्तरमा अत्यावश्यक धेरै काम सिक्न बाँकी नै छ। वैदेशिक रोजगारमा जाने श्रमिकहरु मात्र किन- नेपाली राजनीतिज्ञहरु, कुटनीतिज्ञहरु र कलाकारहरुसमेत विदेश जाँदा अझै पनि गाल पारेर फर्किन्छन्। चाहे त्यो खाने कुरामा होस्, या त बोल्ने/व्यहोरा देखाउने कुरामा नै किन नहोस् !
अँ त, योभन्दा अघि गल्फ कोर्स मज्जाले देखेको त्यहीँ पोण्डेरोसा गल्फ कोर्स एण्ड रिसोर्टमा नै हो रेस्टुरेन्टको झ्यालबाट । आज प्रालिन आइल्याण्ड सेसेल्सको लेमुरिया रिसोर्टमा नजिकै आएर गल्फ कोर्स अवलोकन गरिन मात्र प्रत्यक्ष देखें, छोएँ, टेकें र धेरै बुझें पनि ।
यति ठुलो क्षेत्रफलमा फैलिएको रिसोर्ट होटेल पहिलोपटक देखें । मैले जिन्दगीमा कहिल्यै बुझ्न नसकेको खेल हो गल्फ कोर्स । मेरो जस्तै मनोदसा रहेछ अन्य साथीहरुको पनि । थानेश्वरजी त्यहीँ काम गर्ने भएकोले उनले जानेजति बुझाए । गल्फ कोर्सका अठारवटा प्वाल खोजीखोजी हेर्यौं । मैदानको मुलायम हरियो दुबो कुनै सम्भ्रान्त घरको बैठक कोठामा बिछ्याइएको मखमली गलैँचाजस्तै लाग्यो । जुत्ता फुकालेर टेक्यौं, पलेँटी मारेर बस्यौं, जिउ सुताएर लडिबुडी खेल्यौं, खित्का छोडेर हाँस्यौं अनि फनफनी घुमेर फोटो खिच्यौं । परबाट सेक्युरिटीको बग्गी पट्रोलमा आउँदै गरेको देखेपछि जर्याक्जुरुक उठ्यौं । विशाल गुरुङ र उनको स्थानीय सेसेल्वा म्यानेजर रहेछन् । नेपालीमात्र भए त केही थिएन – थानेश्वरले भने ।
हेलिप्याडभन्दा माथि रिसोर्टको सबभन्दा अग्लो चट्टाने चुचुरोमा समेत पुगेर फोटो खिच्न भ्यायौं । मैले आफ्नो युट्युब च्यानलको लागि भ्लग बनाएँ । ओरालो झर्दै गर्दा अर्को छेउको सामुद्रिक तटमा सेक्युरिटी पोस्टमा राखिएको मिनरल पानी विशालले उपलब्ध गराए । प्यास निक्कै लागेको रहेछ, पानी पियौं अनि त्यहाँबाट बाहिरिने बाटो समायौं । गेस्ट भिल्ला र प्रशासनिक भवन क्षेत्रबाहेक धित मरुन्जेल डुलेर फर्कियौं लेमुरियाबाट ।
समुद्र तटबाट चार मिनेट पैदल र प्रालिन आइल्याण्ड एयरपोर्टबाट पाँच मिनेट ड्राइभमा अवस्थित लेमुरिया गल्फ कोर्स एण्ड रिसोर्ट काठ र खरले निर्मित रहेछ। हेर्दा अत्ति सुन्दर देखिने उक्त क्षेत्रको फैलावट पनि विशाल लाग्यो। तीन तहका स्वीमिङ्ग पूलहरु, फराकिला सुइट र भिल्लाहरु अनि जताततै बगैँचा निक्कै रमणीय देखिन्थे। काष्ठनिर्मित भवनहरुका खरका झुरुम्म छाना देख्दा नेपाली कुनै तराई बस्तीजस्तो भान हुँदोरहेछ । तर अत्याधिक सुबिधासम्पन्न वातानुकुलित ती घरभित्र झुपडीका चित्कार होइन, सम्भ्रान्तिका अट्टहासहरु गुन्जिने नै भए । एउटा सम्पन्न लक्जरी रिसोर्ट र अर्को गरिब गाउँ आवरणमा दुरुस्तै देखिए पनि अन्तर्य भिन्न हुने नै भयो अवश्य पनि । अत्यन्तै सुन्दर ढङ्गले डिजाइन गरिएको चुनौतिपूर्ण अठार होलको गल्फ प्याराडाइज हेरेर मन्त्रमुग्ध भइयो । सामुद्रिक तटीय लगुनहरू, पाम रूखहरू र पहाडी परिदृश्यहरूबीच खेलिने यो संसारको महँगो खेल खेल्न संसारका धनाढ्यहरु आउँदा रहेछन् ।
विवेक र भूमिराजले बिहान खाना नखाई हिँडेका रहेछन् । बाटोमा एउटा चिटिक्क परेको चाइनिज रेस्टुरेन्टमा छिरेर पिजा अर्डर गरे । पिजा तयार हुन्जेल कोकाकोला पिउँदै गफियौं । त्यसपछि पिजा र मिनरल पानी कारमा घुसारेर हुइकियौँ । प्रालिन आइल्याण्डको निर्माणाधीन नयाँ बन्दरगाहमा आएर समुद्रको किनारमा बसी गिजा दुखुन्जेल पिजा खाएपछि हामी सबैको भोक मेटियो । खाना नखाई आउने साथीहरु त भोकै थिए नै, हामीलाई पनि भोक लागिसकेको रहेछ त्यतिबेलासम्म । किन-किन मलाई पिजाभन्दा कोदोको रोटी मन पर्छ । फापरको झन् उधुम रुचाएर खान्छु । गहुँको पनि उस्तै मिठो लाग्छ । कहिलेकहीँ आलो मकैको पनि खाइन्थ्यो ऊबेला । नढाँटीभन्दा जीवनमा पिजा राम्रोसँग देखेको र चाखेको पनि यही सेसेल्स आएर नै हो । विदेशीहरुको प्रिय खाद्यवस्तु मेरो लागि भने खासै रुचिकर लागेन सुरुमा । आजकल भने अभ्यस्त हुँदैछु पिजामा पनि । मिठो लाग्न थालेको छ। पिज्जा खाइसकेर मिनरल वाटर पियौं, त्यही पानीले हात धोयौं र गिजा पखाल्यौं। छेउमा कुनै सार्वजनिक धारो, पँधेरो थिएन । समुद्रको पानी नुनिलो हुन्छ, त्यो अक्टोपस र माछाको प्रजातिलाई बाहेक कामै छैन।
आफू काम गर्ने होटेलको सेतो कार लिएर पुरुषोत्तमजी पनि त्यहीँ झुल्किए । हामी त्यहाँ भएको जानकारी पन्तजीले फोनमार्फत गराएकोले । घामले आफ्नो बैजनी खुट्टा समुद्रको छातीमा तन्काउने तरखर गर्दैथियो । गोधुली साँझ समुद्रमा पोखिंदा द्वीपमालाको दृश्य गज्जब प्रकट भयो । त्यो मोहक दृश्य टिपेर क्यामेरामा कैद गर्न विवेक र म अर्को छेउमा गयौं । ढुङ्गाको चेपमुनी कुइनेटामा एक जोडी सेसेल्वा तन्नेरी आलिंगन र चुम्बनमा मस्त रहेछन् । उनीहरुका आधी खुट्टा समुद्रको पानीमा हल्लीरहेका थिए । देखेको नदेख्यै गर्नु त्यहाँको परिस्थितिजन्य अवस्थिति थियो । यहाँको खुल्ला संस्कृति यस्तै हो । मोबाइल बोकेर मेरो क्यामेराम्यान बनेका विवेकले उक्त दृश्य देखे-देखेनन्,मैले पनि भनिन । परै रहेका अन्य साथीहरुले झन् देख्ने कुरै भएन । हल्ला गर्नु उचित थिएन । हाम्रोमा हो भने त्यहि कारणले प्रहरी खोरमा जानु पर्थ्यो त्यो जोडीले । साँची बक्नु पर्थ्यो देख्नेले पनि । कुनै वयष्क युवा-युवती राजी-खुशीले प्रेमालाप गर्छन्, गोप्य रुपमा प्रेमको आमोदप्रमोद गर्छन् र दुबैको मन्जुरीमा स्वेच्छाले सुरक्षित स्थानमा गएर शारीरिक सम्पर्क राख्छन् । तर, हाम्रा प्रहरी प्रशासन र युट्युबरहरुको टाउको दुख्न थालिहाल्छ । ती सर्वथा निर्दोष जोडीको पिछा गर्नु र अनावश्यक दु:ख दिनु आफ्नो पेशागत पौरख र व्यवसायिक धर्म ठान्छन् उनीहरू । व्यक्ति स्वतन्त्रता र मानवाधिकारको योभन्दा भद्दा मजाक र निन्दनीय धज्जी अर्को के होला र ? समाजमा सचेतना नहुनुको सङ्गीन पिडा हो यो ।
समुद्रमा माछाको जोडी र किनारमा मान्छेको जोडी प्रकृतिलाई साक्षी राखेर स्वच्छन्द प्रेमालाप गरिरहे। उनीहरु निर्वाध आफ्नो कर्ममा तल्लिन थिए। हामीले पनि चुपचाप आफ्नो काम सक्यौं र बाटो मोड्यौं । मलाई थोरै शर्मानुभूति भयो। तर उनीहरुलाई बालै भएन, निसंकोच आफ्नो जबलाई निरन्तरता दिइरहे। आफूभन्दा मास्तिर कोही छ भन्ने जानेर पनि बेवास्ता गर्नु उनीहरुको प्रवृत्ति होला सायद। त्यसो त यहाँ कसैले कसैको वास्ता पनि गर्दैन र बाधा पनि। हरेक मान्छे आफ्नो इच्छानुसारको काम गर्न स्वतन्त्र छ, कानुनले वर्जित गरेको बाहेक। यहाँ कानुन मानवमैत्री छ, हाम्रोमा जस्तो वर्ग र समुदायमैत्री होइन।
जसरी समुद्र फैलिने क्रममा टापुहरु छोडिदै गए, त्यसरी नै केहि साथीहरु हाम्रो समुहबाट छोडिदै गए। थानेश्वरजी र हरीजी अघि लेमुरियामै रहे। विवेक र भूमिराज पनि पिज्जा खाइसकेपछि छुटे। हामी चारजना जेट्टीमा गयौं। रमेश खड्का र खड्ग पुन आए। अघिल्लो दिन जसरी नै समुद्र तटमा केहीबेर सुख्खा गफ गरेर उकालो लाग्यौं। भरे साँझ बरजया होटेलको पार्कमा भेट्ने मौखिक सहमति थियो। हामी सवार सुन्तले कार आज पनि बरजया होटेलको आउटर पार्कमा रोकियो। आजको साँझ पनि त्यहाँ दुई घण्टा जति बितायौं । हिजोभन्दा आज बढी नेपालीहरु भेटिए । दिउँसो हाम्रो भ्रमणमा सामेल र अन्य नयाँ साथीहरु पनि आए। मनोजजीको आमन्त्रण र आयोजना रहेछ । स्मरण रहोस् : मनोज बिक गैर आवासिय नेपाली संघ, सेसेल्सका तत्कालिन उपाध्यक्ष र वर्तमान अध्यक्ष हुन्।
बरजया होटलले आफ्नो प्रपर्टीभरि बिजुली बत्ति बाल्यो। बत्तिको प्रकाशले हामी बसेको चौर र छेउको समुद्र दुवै हरियो देखियो। घरिघरि छाल उर्लिंदा मात्रै समुद्र सेतो टल्किन्थ्यो । सन्ध्याकालीन पहिरनमा बरजयाका गेस्टहरु डिनरको समय छोप्न भित्रबाहिर गरिरहेका थिए। समुद्र किनारको बारमा पर्यटकहरु रङ्गिन भइसकेका थिए। बरजयामै काम गर्ने नेपालीहरु पनि ड्युटी पोशाकमै आए। सबैसँग परिचयको सुमधुर आदानप्रदान भयो । कुरा त उही एनआरएनए र अनेसासकै भए । आ-आफ्ना काम, कमाई र कर्मक्षेत्रको बारेमा पनि जानकारी साटियो। यो बसाइको माहौल भने विशेष सिर्जनशील बन्यो । मैले कविता सुनाएँ, पुरुषोत्तमले गीत । सबैले ताली बजाएर साथ दिए। मान्छे रमाउने अचूक साधन रहेछन् साहित्य र सङ्गीत।
म पलेटी मारेर धेरैबेर बस्न सक्दिन। अचम्मको बानी छ मेरो। भूँडी फुल्छ, घुँडा दुख्छन्। भात खान बस्दा नि टेबल-कुर्सी नै आरामदायी लाग्छ मलाई। चुप लागेर एकछिन बस्न सक्दिन, खुट्टा पसार्ने र खुम्च्याउने गरिरहनु पर्छ। नत्र केहि न केहि क्रियाकलाप गरिरहने आदत छ। हात-खुट्टा चलाईरहनु पर्ने। कुनै न कुनै चकचक चाहिँ गर्ने पर्ने केटाकेटी जस्तो। केहि नलागे नाक कोट्याएर, आँखा मिचेर अथवा हातका औंला पड्काएर भए पनि आफूलाई व्यस्त राख्नुपर्ने एक्टिभ आदत छ मेरो। जहाजहरुमा लामो दुरीका यात्रा गर्दा होस् अथवा बस या रेलका छोटा यात्रा, छटपटी भईरहन्छ, कि किताब पढ्छु कि टिभी हेर्छु। अझ पहिला-पहिला त सिनेमा हेर्न हलमा जाँदा प्वाल परेको सिट रहेछ भने त्यो प्वालमा औंला घुसारेर स्पन्ज झिकेर हातमा खेलाई बस्दो रहेछु। त्यो बानी भने धेरै पुरानो हो, अहिले छैन त्यस्तो। आजकल चाहिँ त्यत्ति हो, खाली बस्न सक्दिन। केहि न केहि क्रियाकलापमा व्यस्त राखिरहन मन लाग्छ आफूलाई। व्यसाशनमा बसेर घन्टौ पुराण भन्ने पण्डित र योगाशनामा साधनारत योगी कसरी आफूलाई संयम बनाउँदा हुन् सोच्ने गर्छु कहिलेकहीँ !
अघि यहीँ बस्दाबस्दै पिएको कोकाकोलाले पिसाब पनि लगाइरहेको थियो। अब त उठ्न पाए हुन्थ्यो भन्ने लाग्दैछ मनमा। नभन्दै कार्यक्रम सकिएको घोषणा गरे मनोजजीले। फेरि सबैजना आ-आफ्नो दर्गदिशा लाग्ने क्रम चल्यो। सेसेल्समा यसरी नेपाली समुदायसँग घुलमिल हुन पाइने कुरा मेरो कल्पना भन्दा टाढा थियो। तर क्रमशः त्यो सम्भव हुँदै गरेकोले म पुलकित हुँदोछु निरन्तर। झम्के साँझले प्राणीहरुलाई अब गुँड फर्किन आग्रह गरेको आभास मनमा आउन थाल्यो। फेरि भेट्ने बाचाकासाथ सबैसँग छुटेर हामी राफल्स होटेलको आवासक्षेत्र आयौं। अन्जु बहिनी खाना पर्खेर बसिरहेकी रहिछिन्। बेलुका सदाझैँ खाना खाएर अलिक चाँडो सुतियो । किनभने भोलि बिहान सबेरै उठेर जिम्बावे हाइटमा सूर्योदय हेर्न जाने योजना थियो ।
क्रमशः…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

