साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘डेटिङ र ब्रेकअप’बिच रुमलिएको अमेरिकन समाज

नयाँ ब्वाईफ्रेण्ड भएपछि नयाँ कुरा सिक्ने अवसर पाइन्छ । उसलाई भेट्न जाने भनेपछि त्यसै त्यसै शरीरमा उर्जा भरिएर आउँछ । झन् उसको हात समाउँदा, कुममा ढल्कँदा त बयान गरिनसक्नुको मज्जा आउँछ ।

Chovar Blues Mobile Size

ठ्याक्कै एक वर्ष अगाडिको मध्य हिँउद,  त्यो दिन बिहानैदेखि  मौसम खुलेको थियो । तर बाहिर खुलेको मौसमले कोठामा बसेकी  डेब्रालाई खासै लोभ्याउन सकिरहेको थिएन । कारण थियो चिसो  मौसम  र मान्छे नै उडाइदिने सिरेटो । तर पनि बेला बेला झ्यालबाहिर चिहाउँथी । उसका आँखाले घना बस्तीको एउटा मृत सहर लमतन्न परेको बाहेक केही पनि देखिरहेको थिएन । केही दिनअघि मात्रै ब्रेकअप भएकाले  वरपर मन चिहाउने कोही पनि  थिएन ।  उसको मनमा बसेको एउटा मान्छेसँग सम्बन्ध सकिएपछिको रित्तोपना भरिहाल्ने ठ्याक्कै अर्को मानिस फेला परिहालेको पनि थिएन । न त मनको पीडा पोख्ने कोही, न त ब्रेकफास्ट वा लन्चमा जाउँ भन्ने कोही, त्यसैले मेकअप गर्ने, ‘कुन लुगा र गहनाले सुहाउँछ ?’ भन्दै ऐनाअगाडि उभिएर दसपल्ट लगाउँदै फुकाल्दै गर्नुपर्ने चटारो पनि थिएन । उनको वरपरि बसिरहेका अरू ३० जना मानिसहरूमध्ये एक जनाले आफू तेस्रोलिङ्गी भएको कुरा सार्वजनिक गर्दै थियो भने अर्की रोजमेरीले चाहिँ आफू माइकल र पिटरको गर्लफ्रेण्ड नभएर अब अर्कैको प्रेमिका भइसकेको घोषणा गर्दै थिई । अर्की भेनेसाले चाहिँ जोनले  Mecy बाट किनेर ल्याएको चम्किलो हिराको औँठीले  भर्खरै इन्गेजमेण्ट गरेको देखाइरहेकी थिई ।

सबैले उनको साहिँली औँलामा चुम्बन गरेर  “यु आर भेरी लक्की“ भन्दै औपचारिकता  निभाइरहेका थिए । मैले भेनेसालाई बधाई नदिईकन उसको फियान्से जोनलाई “लेट मी सेयोर एङ्गेज्मेट रिङ“ भनेँ । उसले फलाम हो कि सिल्भरको अर्डिनेरी रिङ देखायो । भेनेसाले  प्रेमको नाटक गरेर जोनलाई ठग्नु ठगिछे भन्ने मलाई मात्र नभएर अरू सबैलाई  लागेकै  हुनुपर्छ । मैले जोन बसिरहेको ठाउॅमा गएर कानमै  खुसुक्क सोधेँ, “यत्रो हिराको औँठी किन्ने पैसा तैँले कहाँबाट पाइस् जो ? तँलाई केले मोटिभेट गर्यो तँभन्दा २० वर्ष जेठी अनि अनेक रोगले ग्रसित भैसकेर अहिले कि भरे नै नर्सिङहोमको बास गर्न  जानुपर्नेलाई यत्रो लगानी गर्न ?”

जोनले भन्यो, “मेरो यो भेनेसाप्रतिको पूर्ण बफादारी र सम्मान हो ।”

“आखिर जीवनमा हरेक कुराको मूल्य पर्छ । अमेरिकामा हावाबाहेक सबै कुरालाई मूल्य तिर्नुपर्छ । हामी दुबै जना एउटै कोठा सेयर गरेर बस्छौँ । उनीसँग म  अनेक विषयमा कुरा गर्छु । उनी सबै कुरा बुझ्न सक्छिन्, कुराकानीको बीचबीचमा हामी अङ्गालो हाल्छौं । चुम्बन पनि गर्छौ । उनले पनि मलाई ढुक्कसँग अघाउन्जेल चुम्बन गर्न दिन्छिन् । यो लुगाले सुहाउँछ वा सुहाउन्न भन्छिन्, केयर गर्छिन् । मेरा छरपस्ट लुगाहरू पट्याएर ठेगानमा राखिदिन्छिन्, माया गर्छिन् । कुनै पुरुष रुममेटसँग बस्नुभन्दा त उनीसँग नै ठीक छ नि ।”, जोनले कुरा टुङ्ग्यायो । मैले पनि प्रष्ट कुरा बुझेँ र टाउको हल्लाएँ ।

जोनकै छेउमा बसिरहेको एन्थोनीले किड्नी ट्रान्सप्लान्ट गर्न लाइनमा बसेको ६ वर्ष भएर पनि नपाएको अनि आफ्नो गर्लफ्रेण्डले किड्नी दिए पनि आफूसँग म्याच नगरेको गुनासो गरिरहेको थियो । कति दयालु गर्लफ्रेण्ड रहिछे, कस्ती होली ? मनमनै सोच्दै थिएँ, अर्की बारबराले चाइनिज फर्निचर राखेर पसल थापेर बसेका अमेरिकाका गरिब डाक्टरहरूले विभिन्न शीर्षक राखेर बीमाबाट कसरी रकम हसुर्छन् ? कसरी बिरामी ठग्छन् ? भनेर मसँग बयान गर्न खोज्दै थिई । हप्तैपिच्छे जँचाउन जाँदा जाँदा डाक्टरसँगै प्रेम गर्न थालेर डेटिङ जान थालेको लामो कहानी पनि सुनाउँदै थिई । हो, अमेरिकामा इन्सुरेन्स राम्रो हुनेलाई हरेक डाक्टरले प्रेम गर्छ, जसरी नेपालमा पैसावालाहरूलाई डाक्टरहरूले हतारहतार नमस्कार गरेजस्तै । मेरो एक त हतारो, अर्को मनमा जवाफ फर्काउने कुराहरू धेरै भए पनि बाहिर हँसिलो र खुसी मुद्रामा ठूला आँखा पारेर चाख दिएको जस्तो गरेर सुनेर बस्नुपर्ने बाध्यता ।

sagarmani mobile size

यतिकैमा म आफ्नो दिनभरको काम सकेर  घर पुगेँ । घर पुग्नासाथ बाथरूममा छिरेर करिब ५० मिनेट वाथटबमा तातोपानीमा  एप्समसाल्ट हालेर त्यसैमा डुबेर आफ्नो शारीरिक र मानसिक दुबै थकान मेटेँ । दिनभर अनेक किसिमका मानिसहरूका अनेक कुराहरूले शारीरिकभन्दा मानसिक थकान निक्कै हुन्छ । अनि  ओछ्यानमा पल्टेर सिरानमा रहेका  पुस्तकहरूमध्ये चौथो नम्बरको किताब पल्टाउन खोजेँ, तर मन गएन  । उता टिभीमा फ्याउरे न्यूज च्यानल “Fox News“ले रिपब्लिकनहरूको बखान गरिरहेको थियो । मेलानी ह्वाइटको Anxiety in Relationship भन्ने अडियो बुक सुन्न थालेपछि म भुसुक्कै निदाएछु ।

अर्को दिन बिहानै उठेर काममा पुग्दा फेरि डेब्राले  पुराना यादहरूलाई बिट मार्दै पीटरसँग पुन: डेटिङ  सुरु गरेको  हल्लाले पूरै माहोल तातिसकेको रहेछ । पीटर  र डेब्रा दुबै जनालाई एकअर्काप्रति कुरा मिलिरहेकै पो हो कि जस्तो लागिरहेको रहेछ । डेब्राको पीटरभन्दा अगाडि अरूहरूसँग पनि प्रेम सम्बन्ध रहेको कुरा पीटरलाई थाहा थियो । जब पीटरसँग सम्बन्ध स्थापित भयो अनि  उनले पछिल्लो ब्वाईफ्रेण्ड छाडिन् । पीटरलाई अब डेब्राले कतै पूर्वप्रेमीहरूलाई जस्तै धोका पो दिने हुन् कि भन्ने मनमा लागिरहेको रहेछ । “डेब्राले मलाई धोका  दिने चान्स कत्तिको छ ?”, एकाबिहानै पीटरले मलाई गोप्य कोठामा बोलाएर  सोध्यो ।

“पीटर, पहिलो कुरा त डेब्राले  अर्को  ब्वाईफ्रेण्डसँग सम्बन्ध टुटाएर  अहिले तिमीसँग सम्बन्ध विकसित गर्नु पनि तिम्रा लागि ठुलै उपलब्धि हो ।  प्रायः तिमीजस्ता धेरै पुरुषहरूको भागमा महिलाहरू परेकै हुँदैनन् । भविष्यमा बिग्रने सम्बन्धको चिन्ता गर्नुभन्दा पनि अहिलेको सम्बन्धमा आनन्द लिनु राम्रो हो ।“ मैले उसको जिज्ञासालाई टुङ्ग्याइदिएँ ।

“वास्तवमा मान्छेले एउटा धोकाबाट हजारौँ कुराहरू सिकेर नै मजबुद  हुने हो । मायाको खोजी गर्ने क्रममा सही व्यक्ति फेला नपरुन्जेल खोजी कार्य जारी राख्नुपर्छ । तिमीले नै  भरोसा  र विश्वासको वातावरण सिर्जना गरेउ र मन जितेउ भने सायद डेब्राले खोजेको सपनाको राजकुमार  तिमी नै पनि हुन सक्छौ, र धोका नहुन पनि सक्छ ।”, मैले सुझाव पनि दिएँ ।

‘हस् । म उनको भावनालाई बुझेर व्यवहार गर्नेछु, र उनका अहिलेसम्मका सबै ब्वाईफ्रेण्डहरूभन्दा उत्कृष्ट भएर देखाउनेछु ।”, पीटरले मलाई विश्वास दिलाउँदै भन्यो ।

मैले मनमनै भनेँ, “जे जे देखाउनु छ देखाउ, तर तिम्रो खल्तीको  डलर सकिएको भोलिपल्ट पनि डेब्रा तिमीसँगै देखेछु भने म ठोकुवा गर्छु कि केही वर्षलाई तिम्रो सम्बन्ध टिक्छ । र, म पनि त्यतिबेला तिमीहरू दुबैलाई शुभकामना दिन्छु ।”

पीटर एउटा  विद्वान् र परिपक्व मान्छे, उसले मेरो साइक्लोजी बुझेछ । “उसो भए म  के गरुँ त ?”, सोध्यो । मसँग उत्तर सहज थियो, मनोरन्जन  गर्न पनि त कम्पनी चाहिन्छ ।

“आफ्नी प्रेमिकाको खल्तीबाट अगाडि पैसा निकालेर रेष्टुराँको बील तिर्दा  वा सिनेमा हलमा टिकेट काट्दा पनि त निक्कै रमाइलो हुन्छ नि पीटर । तिमी  आत्मसम्मानले भरिन्न्छौ । गो अहेड पीटर ।”, पीटर मसँग दङ्ग पर्यो । यति भनिसकेर पनि प्रेम र डेटिङको कुरो भने टुङ्गिएन । अर्को कोठामा पुग्दा अर्की भर्खरै मात्रै  ९० वर्ष टेकेकी जेनिफर डेटिङ जान हतारोमा  थिइन् । टाइट जिन्स, टिसर्ट, कालो चश्मा अनि मगमग वास्ना आउने पर्फ्यूम लगाएर आफ्नो walker (वाकर)  घिसार्दै  हिँडे पनि कुनै जवान महिलाभन्दा कम देखिनन् थिइन् उनी ।

जेनिफर डेटिङमा के लुगा लगाउने ?  कुन रङको नङ्गपालिस लगाउने ? पर्फ्यूम कस्तो छर्कने ? कुन हेयर सैलुनमा कपाल रङ्ग्याउने ? भनेर केही दिनदेखि नै तयारीमा जुटेकी थिइन् । त्यतिमात्रै नभएर उनी आफ्नो ब्वाईफ्रेण्डलाई भूगोल र इतिहाँसका विषयमा बढी रुची भएकाले लाइब्रेरी गएर रिसर्च तथा अनुसन्धान गरेर प्रिन्टआउट निकालेर, मुख्य बुँदाहरूमा हाईलाइट गरेर कुराकानी गर्नका लागि प्रोजेक्ट नै तयारी गरिरहेकी थिइन् । उनको पुरानो ब्वाईफ्रेण्ड लण्डन बसाइँ सरेर गएपछि केही महिनाअघि मात्रै चर्च जानेआउने क्रममा नयाँ फेला पारेकी हुन्, र महिनामा एकपटक डेटिङमा निस्कन्छिन् ।

“नयाँ ब्वाईफ्रेण्ड भएपछि नयाँ कुरा सिक्ने अवसर पाइन्छ । उसलाई भेट्न जाने भनेपछि त्यसै त्यसै शरीरमा उर्जा भरिएर आउँछ । झन् उसको हात समाउँदा, कुममा ढल्कँदा त बयान गरिनसक्नुको मज्जा आउँछ ।”, उनले भनिन् ।

अमेरिकामा दैनिकजसो यस्तै यस्तै खालका नयाँ डेटिङ, प्रेम र बिछोडका कुराहरू  सुन्न पाइन्छन् । यहाँ  प्रेममा पर्नु, बिछोडिनु र नयाँ डेटिङ गर्नु सामान्य कुरा हुन् । किनभने यहाँ  मानिसहरू आफ्ना भित्री इच्छा र चाहानाहरू अरुसँग सेयर गर्न लाज पटक्कै मान्दैनन् । प्रेम, डेटिङलाई एक स्वाभाविक मानवीय दैनिक आवश्यकताको रुपमा लिने गर्छन् । प्रेम एउटा सुखानुभूति हुँदाहुँदै पनि कतिपय भने यस्तो  सुखानुभूतिबाट बन्चित भएर भर्जिन नै पनि बाँचिरहेका हुन्छन् । विभिन्न परिस्थितिले त्यस्तो अवसर नै जुराउँदो रहेनछ । प्रेम गर्ने, डेटिङ गर्नेहरू  जति उन्मुक्त हुन्छन्  जीवनमा,  कहिल्यै प्रेम  नगरेकाहरू  भने अत्यन्त सङ्किर्ण  सोच भएका र जीवन नै कता कता अधुरो र अपूर्णजस्तो लाग्ने खाल्का, दिक्कलाग्दा हुँदा रहेछन् । कतिपय भने अरुको प्रेमलाई भत्काएर नै भए पनि आफ्नो तिर्खा मेटिरहेका हुन्छन् ।

बिसौँ शताब्दीमा, औधोगिक क्रान्ति सुरु हुनुभन्दा अगाडि अमेरिकामा यस्तो चलन थिएन । बिहे हुन्थ्यो र त्यो पूर्णतः व्यापारिक र अनेक पारिवारिक राजनीतिसँग गाँसिएको हुन्थ्यो । तर अहिलेको संसार फरक छ । अचेल उमेर पुगेका किशोरकिशोरीदेखि बुढाबुढीसम्म सबै डेटिङमा जान्छन्, प्रेम गर्छन् र एउटा खुसी, रहस्यले भरिएको, सुखद् क्षण, कहिल्यै नसोचिएको र नचिताएको  बन्धनरहित अनन्य सम्बन्धको विस्तार गर्छन् ।

यी प्रेम वा डेटिङका प्रसंगहरूलाई  नियालेर हेर्दा मैले आफूले बुझेको भनौँ वा  समाज र संस्कारले मलाई बुझाएको, ‘डेटिङ‘ भन्ने शब्दचाहिँ  निक्कै फरक लाग्यो । प्रेमसँग अनिवार्य विवाह गर्नैपर्ने र कामवासनाले भरिपूर्ण हुन्छ वा त्यहाँ शारीरिक सम्बन्ध अगाडि आउँछ  भन्ने थियो । तर त्यो बिल्कुल फरक विषय रहेछ । कामवासनाका कारण प्रेम हुने पनि होइन रहेछ । जातपात, धनीगरिब, उँचोनिचोले प्रभाव पार्ने पनि होइन रहेछ । र, कसैसँग मित्रता छ र नियमित भेटघाट हुन्छ, बसउठ छ  भने पनि त्यहाँ प्रेम हुन वा शारीरिक सम्बन्ध जरूरी रहेनछ ।

प्रेम आफैँमा स्वतन्त्र रहेछ  । प्रेम एकले अर्कोलाई  काबूमा राख्ने वस्तु होइन रहेछ । डेटिङ गर्दा वा कसैसँग प्रेम गरिरहँदा भविष्यमा बिहे गर्ने र घरबार बसाउने अनि छोराछोरी जन्माउने भन्नेबारेमा मात्रै सोच्ने र कुराकानी गर्ने भन्ने पनि होइन रहेछ। आफूले डेट गरेको वा भेटेको व्यक्तिसँग आनीबानी, चालचलन, प्रवृत्ति, सोच, चिन्तन , उद्देश्य सबै कुरा मिलिसकेपछि मात्रै मनले वा भावनाले अपनत्व गर्ने  र आफूलाई खुसी राख्ने चिज रहेछ । किनकि प्रेम भनेकै नितान्त भावनात्मक कुरा हो । तर मान्छेका अरु अरु किसिमका सोचविचारले प्रवेश गरेपछि  प्रेमको सुखानुभूति गर्न नै  पाउँदैनन् । प्रेम गर्छौँ भन्नेहरू आफ्ना प्रेमी/प्रेमिकालाई आफूले देखेभोगेका र  दुईचारवटा रटेर थाहा पाएका कुराहरू थोपर्ने र आफूअनुसार, आफ्नो सोचअनुसार चल्नुपर्छ भनी हिँडाउने गर्छन् । एउटै छानामुनि रहेर वा आफ्नै भैसकेर पनि पराइजस्तै जिन्दगी बिताइरहेका हुन्छन् । यदि प्रेम वैचारिक सिकार नभएर स्वतन्त्र हुने  हो भने, प्रेम नै शक्तिको उपज रहेछ र यो अमर कुरा पनि रहेछ ।

संसारका अलिकति ठूला र खुल्ला देश भनिने अमेरिका र युरोपियनहरूको डेटिङ कल्चर हेर्दा अमेरिकनहरू बोलीले भन्दा हाउभाउ (body language) ले बढी इम्प्रेसन दिन चाहदा रहेछन्, र डेटिङ जाँदा ड्रेस पनि सजिला र रिल्याक्स हुने खाल्का लगाउँछन् । तर युरोपियनहरू बढ्ता खुल्न चाहदैनन्,  र  फर्मल लुगाहरू लगाएर डेटिङ गर्छन् । अमेरिकामा  There are countless “fish in the sea” भन्ठान्छन्, र जहिल्यै पनि अर्को पार्टनरको लागि backup plan  गरिरहेका हुन्छन् । उनीहरू प्रेम वा डेटिङबाट छुट्टी लिन नै चाहॅदैनन् । प्रेम भर्खरै छुटेको भए पनि त्यो छुट्टिएको  वा बिछड्डिएको विरक्त कहानी अरूलाई सुनाएर दिक्क पार्दैनन् । अनि पहिलेको प्रेमी/ प्रेमिकासँग  तुलना गरेर नयाँ सम्बन्धमा चिसोपन पनि थप्दैनन् । प्रशंग चलेको खण्डमा भने पहिलेका ब्रेकअपका कुराहरू इमान्दारपूर्वक नलुकाईकन सुनाउँछन् । तर युरोपमा दुबै जनाले इमान्दार हुन्जेल दोस्रो योजना बनाउँदैनन् ।

निष्कर्षमा भन्नुपर्दा,  अमेरिकी समाजमा यौन सामाजिक मर्यादाको विषय नभएर एउटा  प्राकृतिक आवश्यकता मात्रै हो । मानिसहरू विवाहमा खासै रुची राख्दैनन् । यहाँका प्राय: मान्छेको जीवन बट्टामा प्याक गरिएको  जामजस्तै अति व्यस्तताको जाममा फसेका पनि हुन्छ । यस्तो व्यस्ततामा जीवन व्यवस्थित पार्नु निक्कै चुनौतिको विषय हो, र  आफ्नो सिमामा रहेर कसैसँग डेटिङ गर्ने वा प्रेम गर्ने कुरा पनि एउटा सुखद् र शक्तिशाली अभ्यास रहेछ । बिहे वा यौनबिना नै पनि प्रेमको एकल अस्तित्व रहेछ र एकपटक मात्रै नभएर जीवनमा नमरुन्जेलसम्म पटक पटक आवश्यक परिरहने चिज प्रेम नै रहेछ भन्नेकुरा यहाँका मानिसहरूको व्यवहारले पुष्टि गर्छ ।

न्यूयोर्कस्थित विभिन्न साइकोथेरापिस्ट र सेक्सथेरापिस्टको भनाइअनुसार मान्छेले आफ्नो इच्छा र चाहना जानेर डेटिङ वा प्रेम गर्यो भने जीवनमा सकारात्मक उर्जा थपिननुका साथै भावनात्मक तरङ्गको स्थितिले दुःख-पीडालाई भुलाइदिन्छ । तर आक्रामक अधीरताले द्वन्द्व र तनाव बढाउने, यौनलतले आफ्नै व्यक्तित्वलाई  ध्वस्त गराउने र हिंसायुक्त सम्बन्ध स्थापित गराउने बताउँछन् । एक्लोपना र आत्मविश्वासको कमी भएका मानिसहरूसँग डेटिङ गर्यो र प्रेममा परियो भने उसको इमोसनको खेलौना बन्न पुगिन्छ र प्रेमको दु:खद् अन्त्य हुने पनि उनीहरू बताउँछन् ।

लेखक परिचय

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया
Loading...